ब्लग शुक्रबार, माघ १०, २०७६

९३ वर्षअघिको बजारभाउ

भैरव रिसाल

९३ वर्षअघिको बजारभाउ

पैसा सस्तो र वस्तु/सेवा अचाक्ली महँगो भएको आजको आँखाबाट हेर्दा वि. सं. १९८३ को बजारभाउ पत्याइनसक्नुको लाग्छ।

भैरव रिसाल

मुद्राको मूल्य महँगो भएको कस्तो जमाना थियो त्यो ! ९३ वर्षअघि अर्थात् १९८३ सालमा नेपालमा मिन्ट पातला सुन एक तोलाको २८ रुपैयाँ २५ पैसा पर्थ्याे। चाँदी प्रतितोला ७५ पैसा । अहिले भने गएको २ माघको मूल्य अनुसार छापावाल सुन प्रतितोला रु.७४ हजार ७०० र चाँदी प्रतितोला रु.८८५ पर्छ ।

सुन–चाँदी मात्र होइन, अन्य गहना र वस्तुको भाउ पनि असाध्यै सस्तो थियो । ९३ वर्षअघिको बजारभाउ त्यतिवेलाको गोरखापत्र मा छापिएको कुरा सरदार भीमबहादुर पाँडेको पुस्तक त्यस बखतको नेपाल बाट लिएको हुँ । जुन अहिले थेगिनसक्नुको महँगी भोगिरहँदा पत्याउनै मुश्किल पर्छ ।

त्यस वेला गोरखापत्र ले छापे अनुसार मट्टीतेल एक कुरुवा (दुई माना) को ५८ पैसा, तामाका भाँडा प्रतिधार्नी ५ रुपैयाँ ३६ पैसा, काँसका भाँडा पिटुवा ८ रुपैयाँ २५ पैसा र ढलुवा ६ रुपैयाँ ५० पैसा पर्ने रहेछ ।

१२ वर्षमाथिका पुरुष र महिलाले लगाउने लुगाको प्रति दुई जोर क्रमशः १० रुपैयाँ ४० पैसा र ५ रुपैयाँ ३२ पैसा पर्ने छापिएको थियो । एक जोरको हिसाब नगरी किन दुई जोर लेखियो, भेउ पाउन सकिएन ।

पुरुषको पोशाकको उल्लिखित मूल्य बाहिरी र भित्री कपडा, सन्जाप, धागो र सिलाइको ज्याला, दुइटा टोपी र पाँच गजको पटुका समेतको थियो । यस्तै, महिलाको पोशाकमा चोली दुई, सन्जाप, धागो, पाँच गजको छिट फरिया दुई थान, पछ्यौरा पालम दुई कोराको मूल्य जोडिएको हुन्थ्यो ।

वस्तु सस्तो, पैसा महँगो

त्यसवेला सुनलाई ६ स्तरमा विभाजन गरिंदो रहेछ । स्तर अनुसार मूल्य फरक । मिन्ट पातला सुन प्रतितोला २५ रुपैयाँ २५ पैसा, नेशनल ब्याङ्कको रहेछ भने २८ रुपैयाँ ४४ पैसा, कलदार डबल असर्फी एकको रु.३३, नेपाली पालिसदार असर्फी एकको रु.३५, नेपाली डबल एकको रु.३२ र गिनी सिक्का (२२ क्यारेट) एकको १७ रुपैयाँ ५० पैसा पथ्र्यो । कति सस्तोमा सामान पाइने युग, अर्को शब्दमा पैसा कति महँगो रहेछ ।

खानेकुरामा आलु प्रतिधार्नी १६ पैसा, मकैको पीठो २५ पैसा र मैदाको ४० पैसा रहेछ । गहुँ रु.१ को ३ मुरी रे ! भोटबाट ल्याइने नून रु.१ को ६ पाथी ५ माना आउँथ्यो । त्यतिवेला काठमाडौं खाल्डोमा बिजुली आइसकेको थियो । एक युनिट बिजुलीको २ आना पर्थ्याे। एक आनामा चार पैसा हुन्थ्यो । टेलिफोन गर्दा एक शब्दको एक पैसा पर्थ्याे।

१७ वर्षमा सुन ६० रुपैयाँ पुग्यो

वि.सं. १९९६ भदौमा शुरू भई ६ वर्षसम्म चलेको दोस्रो विश्वयुद्धको बाछिटा विश्वभरि नै फैलिएको थियो । युद्धभूमि नेपाल नभए पनि प्रभाव यहाँसम्म पर्दा बजारभाउ एक्कासी उकालो लाग्यो । वि.सं. १९८३ मा तोलाको रु.२८ हाराहारी पर्ने सुन १७ वर्षको अन्तरालमा दोब्बर भन्दा पनि बढी पर्न लाग्यो । वि.सं. २००० मा सुन प्रतितोला रु.६० पुग्यो । चाँदी भने अलि सस्तिएछ, १९८३ मा तोलाको ७५ पैसा पर्ने चाँदी २००० मा ६० पैसामा झरेछ ।

आलु पनि सस्तिएर धार्नीको १६ पैसाबाट १० पैसामा पाइन लागेछ । चामल महँगिएछ । मसिनु चामल पाँच मानाको रु.१ तथा मार्सी, मन्सरा, तौली चामल एक पाथीको रु.१ पर्न लागेछ । गहुँको पीठो र मैदा रु.१ को जम्मा एक पाथी मात्र आउन थालेछ ।

घ्यू एक पाउको २५ पैसा, तेल एक कुरुवाको ६० पैसा पुगेछ । २००० सालताका चिनी एक पाउको १० पैसा, कुखुराको फुल प्रतिगोटाको ४ पैसा पर्ने रहेछ । त्यस्तै, पेट्रोल एक ग्यालनको २ रुपैयाँ ५० पैसा र मट्टीतेल एक मानाको १० पैसा पर्न लागेछ । दूध पनि प्रति माना १० पैसा नै पर्दो रहेछ ।

सानो इँटको बोक्ने ज्याला समेत गरी एक हजारको रु.१०, देशी ठूलो इँट भने बोक्ने ज्याला सहित रु.१२ पर्ने रहेछ । पलाञ्चोके जुत्ता एक जोरको रु.१, फुलमार चुरोट एक खिल्लीको १ पैसा र खसीको मासु एक पाउको १० पैसा थियो । लुगा सिउने सियो एक पैसाको १२ वटा आउने रहेछन् ।

२००० सालमा देशको जनसंख्या ८५ लाख रहेछ । देशले वार्षिक आम्दानी रु.२ करोड ७० लाख गर्दो रहेछ । त्यो वेला कर्मचारी र कामदारले पाउने तलब वार्षिक रूपमा निर्धारण गरिएको हुन्थ्यो । कर्णेल र बडाकाजीले वार्षिक रु.७ हजार, टहलुशवाले रु.१००, गोठालाले रु.४२ पाउने रहेछन् । यस्तै, घरमा राखेको सयस, सुसारे, भान्सेले खाई–लाई वर्षको रु.१२ थाप्ने रहेछन् ।

प्रतिकृया दिनुहोस