रिपोर्ट शुक्रबार, माघ १०, २०७६

नर्भिक अस्पतालको गम्भीर त्रुटि, धन्न बाँचे नारायणकुमार

रामु सापकोटा

नर्भिक अस्पतालको गम्भीर त्रुटि, धन्न बाँचे नारायणकुमार
नारायणकुमार श्रेष्ठ

कुपन्डोलका ४७ वर्षीय नारायणकुमार श्रेष्ठलाई ४ असार २०७५ मा कार्यालयबाट फर्किएर सोफामा बसेपछि असहज महसूस भयो । उनी त्यहीं सुते । त्यसपछि अचेत भएका उनलाई परिवारले राति ११ बजे उठाउँदा मात्र होश खुल्यो ।

२०६५ सालमा उनको मुटुको शल्यक्रिया गरी धमनीमा ‘स्टेन्ट’ राखिएको थियो । त्यही कारण स्वास्थ्य समस्या आएको हुनसक्ने आशङ्कामा परिवारले भोलिपल्टै थापाथलीस्थित नर्भिक अस्पताल लगे ।

नर्भिकका मुटु रोग विशेषज्ञले श्रेष्ठलाई नसा रोग विशेषज्ञ डा.पंकज जलानतिर पठाए । त्यहाँ उनको टाउकोको एमआरआई र कन्ट्रास्ट एमआरआई हुँदा ट्युमर देखियो । शरीरको भित्री अङ्ग र रक्तनलीमा रगतको मात्रा विस्तृत रूपमा पहिचानका लागि गरिने जाँच कन्ट्रास्ट एमआरआई हो ।

डा.जलानले श्रेष्ठलाई न्यूरोसर्जन डा.राजीव झासँग परामर्श गर्न पठाए । डा.झाले टाउकाको तीन भागको एक भागमा मासु भएको बताए । ट्युमर बढ्दै गए अचेत हुने र कोमामा राख्नुपर्ने भन्दै तुरुन्त शल्यक्रिया गर्न सुझाए ।

नर्भिक अस्पतालमै १३ असारमा श्रेष्ठको शल्यक्रिया भयो । शल्यक्रिया सकिएपछि राति १० बजे श्रीमती रिन्जु र परिवारका अन्य सदस्यलाई बोलाएर डा.झाले १० देखि १२ प्रतिशतसम्म ट्युमर बाँकी रहेको जानकारी गराए । रिन्जुुले बाँकी रहेको ट्युमरका कारण हुने स्वास्थ्य समस्याबारे प्रश्न गरिन् । डा.झाले जवाफ दिए, “ढुक्क हुनुस्, उहाँलाई १५ वर्षसम्म केही हुँदैन ।”

टाउकाको शल्यक्रिया गर्दा आधाभन्दा बढी ट्युमर त्यसै छाड्ने र बिरामीका आफन्तलाई गलत सूचना दिने नर्भिक अस्पतालका डाक्टरमाथि अनुसन्धान गर्न पीडितको माग छ।

भोलिपल्ट बिहान ७ बजे नर्भिक पुगेकी रिन्जुले श्रीमान्लाई आईसीयूमा अचेत भेटिन् । उनको रक्तचाप घटेको थियो । तीन दिनसम्म आईसीयूमा राखेर उपचार गरेपछि नर्भिकले चौथो दिन जनरल वार्डमा सार्‍यो । शल्यक्रियाको ६ दिनपछि उनी डिस्चार्ज भए ।

तर, घर फर्केको दिन नै श्रेष्ठ बेहोश भए । केहीछिनमा उनको होश खुल्यो । त्यसपछि ठीकठाक नै थिए । १२औं दिनपछि भने उनको स्वभावमा परिवर्तन आउन थालेको श्रीमती रिन्जु बताउँछिन् ।

उनमा छिट्टै रिसाउने र घरमा आएका मान्छे आवाजले चिने पनि हेरेर चिन्न नसक्ने समस्या देखियो । विस्तारै आँखा कमजोर हुँदै जाँदा घरमा तल–माथि गर्न समेत नसक्ने भए ।

नर्भिकले शल्यक्रियाको झण्डै एक महीनापछि ‘फलोअप’ मा बोलाएको थियो । त्यतिवेला डा.झाले श्रेष्ठको शल्यक्रिया गर्ने क्रममा टाउकोबाट धेरै रगत बगेपछि आफूहरू डराएको र पूरा उपचार गर्न नसकेको बताए । तर, रिन्जुले दुर्लभ ‘ए नेगेटिभ’ समूहको आठ पिन्ट रगत जम्मा गरेकोमा शल्यक्रिया गर्दा पाँच पिन्ट मात्र चढाइएको थियो।

डा.झाले बाँकी रहेको ट्युमर निकाल्न ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा रेडियोथेरापी गर्न सुझाव दिए । रिन्जु श्रीमान्का सबै मेडिकल रिपोर्ट लिएर उक्त अस्पताल पुगिन् । रिपोर्ट हेरेपछि त्यहाँका डाक्टरले धेरै ट्युमर बाँकी रहेकाले हटाउन शल्यक्रिया नै गर्नुपर्ने बताए ।

दुई वटा अस्पतालका डाक्टरको दुई थरी सुझावले परिवार चिन्तित भयो । यता श्रेष्ठको दृष्टि खस्किंदै गयो । परिवारका सदस्यले उनलाई गौशालास्थित तिलगंगा आँखा अस्पताल लगे ।

रिन्जुले त्यहाँका एक चिनजानका डाक्टरलाई सबै रिपोर्ट देखाइन् । ती डाक्टरले टाउकोमा धेरै मासु बाँकी देखिएको भन्दै नर्भिकका डाक्टरले रेडियोथेरापीमा पठाएकोमा आश्चर्य व्यक्त गरे ।

रिन्जु श्रीमान्को स्वास्थ्य रिपोर्ट बोकेर फेरि ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पताल पुगिन् । त्यहाँका डाक्टरले श्रेष्ठको टाउकोमा ५० प्रतिशत मासु बाँकी रहेको र रेडियोथेरापी दिए क्यान्सरको जोखिम झनै बढ्ने बताए ।

रिन्जुलाई आफन्तले दिल्लीको एपोलो अस्पतालको नेपालस्थित सम्पर्क कार्यालयबाट परामर्श लिन सुझाव दिए । उनी एपोलोको बालुवाटारस्थित सम्पर्क कार्यालय पुगिन्।

उक्त कार्यालयले सबै रिपोर्ट दिल्लीस्थित अस्पताल पठायो । एपोलोले टाउकोमा धेरै मासु जम्मा भएको र त्यसै कारण मस्तिष्कमा ‘प्रेसर’ परेर दृष्टि कमजोर भएको जानकारी पठायो । उक्त रिपोर्टमा भनिएको छ, “श्रेष्ठको उपचारका लागि रेडियोथेरापी विधि उपयुक्त छैन । बिरामीको शल्यक्रिया गर्नुपर्ने आवश्यकता छ ।”

हेर्नुहोस् रिपोर्ट:

रिन्जु श्रीमान्लाई लिएर दिल्ली जाने भइन् । तर, त्यसअघि श्रेष्ठको शल्यक्रिया गर्ने डा.झालाई भेटिन् । डा.झाको भनाइ उद्धृत गर्दै रिन्जु भन्छिन्, “किन दिल्ली जानुहुन्छ ? त्यहाँको अस्पतालले नेपालका डाक्टरले केही जान्दैनन् भनेर शल्यक्रिया गर्न लगाउँछन् । उहाँको टाउको अब खोल्नै हुँदैन, जे पनि हुनसक्छ ।”

तर, उनलाई डा.झामाथि विश्वास भएन । उनी श्रीमान्लाई लिएर ३० साउन २०७५ मा दिल्ली उडिन् । दिल्ली गएकै दिन एपोलोमा एमआरआई गर्दा टाउकोमा ७० प्रतिशत ट्युमर बाँकी रहेको देखियो (हे.रिपोर्ट) । तत्काल उनको शल्यक्रिया भयो ।

त्यस क्रममा उनलाई एक पिन्ट पनि रगत दिनु परेन । शल्यक्रिया गरेको आठ घण्टापछि अस्पतालले आईसीयूमा रहेका श्रेष्ठलाई भेट्न आफन्तलाई अनुमति दियो। श्रेष्ठले परिवारका सदस्यलाई भेट्दा सबैलाई देखेरै चिने । श्रेष्ठ अहिले दृष्टिमा कुनै समस्या नभएको बताउँछन् ।

एपोलोमा उपचार गराएपछि एमआरआई र सिटी स्क्यानमा ट्युमर देखिएन । कात्तिक २०७५ मा ‘फलोअप’ गर्दा पनि ट्युमर देखिएन ।

श्रेष्ठको उपचारबारे जानकारी दिन एपोलो अस्पतालले गएको २६ पुसमा काठमाडौंमै गरेको पत्रकार सम्मेलनमा वरिष्ठ न्यूरोसर्जन डा.प्रणव कुमारले नर्भिकको शल्यक्रिया सफल नहुनु ‘दुर्भाग्यपूर्ण’ भएको बताए । उनले नै एपोलोमा श्रेष्ठको शल्यक्रिया गरेका थिए ।

‘घटनाको अनुसन्धान होस्’

श्रेष्ठ अहिले नियमित काममा फर्किसकेका छन् । उनी घरदेखि कार्यालयसम्म आफैं मोटरसाइकल चलाउँछन् । शल्यक्रियापछि नर्भिकका डाक्टरले ढाँटेकोमा श्रेष्ठ दम्पतीको चित्त दुखाइ छ ।

रिन्जु भन्छिन्, टाउकोमा आधाभन्दा बढी ट्युमर बाँकी हँदाहुँदै किन १५ प्रतिशत मात्र बाँकी छ भनेर ढाँटे ? यसको अनुसन्धान होस् ।”

नर्भिकको न्यूरो विभागमा शल्यक्रियाका क्रममा चाहिने भास्कुलर टोली नहुँदा शल्यक्रिया असफल भएको आफूले थाहा पाएको रिन्जु बताउँछिन् ।

उनी भन्छिन्, “उपचारको क्रममा केहीगरी रगत बग्न थाल्यो भनेर कसरी उपचार गर्ने भनेर काम गर्ने टिम त्यसवेला नभएको थाहा पायौं ।” आफूहरूको चाहना अस्पतालसँग ‘बार्गेनिङ’ गरेर रकम माग्ने नभएको उनी बताउँछिन् । उपचारमा भोगेको समस्याबारे नेपाल मेडिकल काउन्सिल लगायत कुनै निकायमा उजुरी पनि दिएका छैनन् ।

रिन्जु भन्छिन्, “अब हामीले जस्तो दुःख कसैले भोग्न नपरोस् । मेडिकल काउन्सिलले अनुसन्धान गर्न चाहन्छ भने सबै प्रमाण उपलब्ध गराउन तयार छौं ।”

‘मैले गलत गरेको छैन’

- डा.राजीव झा न्यूरो सर्ज, नर्भिक अस्पताल

नारायण श्रेष्ठको शल्यक्रिया गर्दा टाउकोबाट धेरै रगत बग्न थालेपछि जटिल भयो । त्यसैले ट्युमर निकाल्न छाडेर रगत बग्न रोक्ने उपचार गर्‍यौं ।

चार दिनसम्म कडा मिहिनेतका साथ उपचार गरेर उहाँको ज्यान बचाएका हौं । मैले केही ट्युमर पोलेर समेत घटाइदिएको थिएँ । कहिलेकाहीं एकै पटकमा सबै ट्युमर निकाल्न सकिंदैन । शल्यक्रियापछि जम्मा १५ प्रतिशत मात्र ट्युमर बाँकी थियो ।

त्यसपछि सुन्निएर पनि ट्युमर बढ्छ । त्यसैले अन्य अस्पतालमा गरिएको एमआरआईमा ट्युमर बढेको देखिएको हुनसक्छ ।

मैले उहाँहरूलाई बाँकी रहेको ट्युमर हटाउन रेडियोथेरापी एकमात्र उपाय भएको भनेको थिइनँ । यो वैकल्पिक विधि हो । उहाँहरूलाई भारत गएर उपचार नगर्नु भनेको पनि याद छैन ।

प्रतिकृया दिनुहोस