ब्लग मंगलबार, माघ ७, २०७६

नमस्कार कि ‘ह्याण्डशेक’?

कनकमणि दीक्षित

नमस्कार कि ‘ह्याण्डशेक’?
‘मरेको माछा’ पाराको हातमिलान (बायाँ) र ‘कर्‍याप्प’ पाराको हातमिलान ।

विविध संस्कार, पहिचान, भाषा भएको हाम्रो समाजमा अभिवादनका पनि विभिन्न तरिका छन्, तर सर्वस्वीकार्य भने ‘नमस्ते’, ‘नमस्कार’ नै छन् ।

संस्कृत भाषा मार्फत प्राप्त यस खालको अभिवादन अत्यन्तै वैज्ञानिक र सह–अनुभूति जगाउने खालको भएको तर्क गरिन्छ । एक त यसले अभिवादनकर्ता आफू सानो र अर्कालाई ठूलो बनाएको भाव दिन्छ — ‘म तपाईं सामु झुक्दछु’ अथवा ‘तपाईंको उपस्थितिप्रति आभार व्यक्त गर्छु’ । फेरि यसरी अभिवादन गर्दा, हात मिलाउँदा, अड्ढमाल गर्दा, नाक जुधाउँदा या गाला–गाला जोड्दा जस्तो रोगका कीटाणु सर्न सक्ने जोखिम पनि हुँदैन ।

‘नमन’ भन्ने चलन पनि संस्कृतबाट नआएको होइन, र पण्डितजीहरुले उहिल्यैदेखि नचलाएको पनि होइन; तर पछिल्लो पटक यो शब्दलाई एकाएक बोलीचालीमा ल्याउने काम भने भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गरे । १८ असोज २०७१ मा नेपालको संसद्मा धुवाँधार भाषण गर्दै उनले पटक–पटक ‘नमन’ को प्रयोग गरे र नजानिंदो हिसाबले कैयन् नेपाली बौद्धिक उनको प्रभावमा परे ।

हामी दुईहात जोडेर नमस्कार/नमस्ते भन्छौं, या ‘आदाव’ मुद्रामा ‘ज्यू’, ‘हजूर’ पनि भन्छौं । हात मिलाउने (‘ह्याण्डशेक’) भने आयातित तरिका हो ।

ह्याण्डशेकमा मुख्यतः एउटाको हात–छाला–औंला अर्काको तीनै तीन अङ्गसँग जोडिन पुग्छ । तर, यसको तरिका पनि थरीथरीका हुन्छन् । कसैले हातलाई कर्‍याप्प पारेर औंला नै भाँचिने गरी दबाउँछन् — द्वन्द्वकालमाझ रुकुमका एक माओवादी कमिसारले लालसलामको मुट्ठी कसेपछि यसरी नै च्याप्ने काम गरेको म सम्झन्छु ।

बेसोमत मानसिकता प्रदर्शन गर्दै डोनाल्ड ट्रम्प जस्ताले आफ्नो प्रभाव देखाउन हात च्याप्प समातेर अर्कोलाई आफूतर्फ झट्कार्छन् । कसैको ह्याण्डशेकको तरिका नै कमजोरपन दर्शाउँछ, जब हात मरेको माछा झैं लुलो गरी तेस्र्याउँछन् ।

जसरी होस्, हात मिलाउने चलन नेपाल भित्रिइसक्यो, राष्ट्रिय संस्कार बनिसक्यो । समस्या कहाँ छ त ? म भन्छु– ‘रिडन्डेन्सी’ मा । नमस्ते भनिसकेपछि फेरि हात अघि सार्नु किन पर्‍यो ? दोहोरो कामको अर्थ के रह्यो । यो अनावश्यक र निरर्थक मात्र छैन, अवैज्ञानिक पनि । 

खर्च हुने समयकै कुरा गरौं । नेपालभर दिनमा कति चोटि कसैले कसैलाई अभिवादन गर्दो हो ? नमस्कार गर्न त दुई सेकेण्ड जति लाग्छ । नमस्ते पछि फेरि हात अगाडि सार, ह्याण्डशेक गर, हात फिर्ता लेउ । औसतमा एक जनालाई यसरी ह्याण्डशेक गर्दा कुल चार सेकेण्ड लाग्ने भयो ।

कसैले तथ्यांक संकलन त गरेको छैन । तर, मानौं एक दिनमा देशभर नमस्कारपछिको ह्याण्डशेक १० लाख चोटि गरिन्छ । त्यसो हो भने दिनमा ४० लाख सेकेन्ड फजुल ह्याण्डशेकमै खर्च भइरहेको छ । एक दिनमा ८६ हजार ४०० सेकेण्ड हुन्छ, यसको आधारमा हिसाब गर्ने हो भने, औसतमा मुलुकको एक दिनमा ४६ दिन बराबरको समय त ह्याण्डशेकमै जाने रहेछ ।

अधिकांश हात मिलाउने र नमस्कार गर्ने काम राजनीतिक नेता कार्यकर्ताबाट हुने गर्छ । र यिनीहरुले हामी सबैलाई सिकाउँछन् । मैले एक नेतालाई सोधिहेरें — ‘नमस्ते मात्र गरे पुग्दैन, हात किन मिलाउनुपर्ने !’ एकसरो जवाफ आयो — ‘हात नमिलाउने हो भने होच्याएको ठान्छन्, हात त नमिलाई हुँदैहुँदैन !’

त समस्या ठूलै रहेछ, र ह्याण्डशेक त्याग्न नमिल्ने । यो ‘रिडन्डेन्सी’ को निकास के त ? सत्तासीन नेकपाका नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तरिका भने बेग्लै पाएँ, र निकास पनि त्यही । गत साता जलवायु परिवर्तनको ‘क्राइसिस्’ बारे भेट्न जाँदा कुर्सीबाट उठ्दै ज्ञवालीले मुखले ‘नमस्कार’ भने, र हात तेस्र्याएर ह्याण्डशेक गरे।

पाश्चात्य ‘आधुनिक’ संस्कार ह्याण्डशेक पनि नफालिने, मुखैले सही पूर्वीय नमस्कार पनि नमासिने ! छरितो तरिका, समयको पनि बचत ! तर, कीटाणुको जोखिम भने यथावत् !

 

प्रतिकृया दिनुहोस