कला/साहित्य मंगलबार, माघ ७, २०७६

तेजाबको प्रतिरोध, ‘छपाक’

शुष्मा बराली

तेजाबको प्रतिरोध, ‘छपाक’

बा, आमा र भाइको लालनपालन गर्ने पारिवारिक जिम्मेवारी, टेलिभिजन प्रस्तोता हुने कलिलो चाहना । मालतीको जीवनमा खासै ठूलो सपना छैन । तर सपना आखिर सपना हो, जसको कुनै आकार हुँदैन । केवल महत्व हुन्छ ।

त्यही सपना जब एक अन्जुली रसायनले पलभरमै तहसनहस पारिदिन्छ, त्यसपछि के हुन्छ ? दक्षिण एसियाली समाजमा विकराल रुप लिइरहेको एसिड आक्रमणले एक युवतीको अनुहार मात्रै होइन, सिंगो जीवनलाई कसरी क्षतविक्षत पारिदिन्छ ? कसरी जीवनभित्र जीवन खोज्नुपर्छ एक एसिड पीडित युवतीले ? पीडामाथि सहानुभुती कम सन्देह बढी किन हुन्छ समाजको दृष्टिकोणमा ? घटना एक पलको तर यातना जीवनभरको कसरी खप्नुपर्छ एउटी महिलाले ? समाजले पटकपटक निराश बनाएको जिन्दगीलाई कसरी बदल्छे आशामा ? अपहेलना र तिरस्कारलाई नै आत्मविश्वासमा कसरी बदल्छे ?

यस्तै प्रश्नहरुको उत्तर खोज्छ, मेघना गुल्जारले प्रोडक्सन तथा निर्देशन गरेको दीपीका पादुकोण अभिनित हिन्दी फिल्म ‘छपाक’ ले ।

भविष्य चम्काउने सुनौलो सपना बोकेकी मालतीलाई गीत गाउन निकै मन पर्छ । काम गर्ने बाहानामा गीत सिक्ने र परिवारलाई मनाउने सोचमा थिइन्, उनी ।

दिउँसोको समय, सडकमा गाडी पर्खिरहेकी मालतीलाई मोटरसाइकलमा आएका दु्ई जनाले छ्यापेको एसिडले क्षणभरमै जिन्दगीको बाटोलाई नै बदलिदिन्छ ।

आफ्नै साथीको दाइ बप्पु र एक किशोरीले बियरको बोटलबाट गिलासमा एसिड खनाएर उनको मुखमा छ्याप्दा मालतीको अनुहार मात्रै जलदैन, उनको सपना र उनीमाथिको सामाजिक दृष्टिकोण एकैपटक खरानी हुन्छ । एसिडले जलेर लडेकी युवतीको आर्तनादलाई देखेर उठाउने होइन भाग्नेहरुको भिड देखेर लाग्छ, मानविय संवेदना अब मात्र शब्दमा बाँकी छ ।

अस्पताल पुगिसकेपछिको दृश्यले देखाउँछ समाजको अर्को चेहेरा । अस्पतालको बेडमा एसिडको पीडाले छट्पटाइरहेकी मालतीको बुबाले प्रहरीमा उजुरी गर्न जाँदा उल्टै छोरीमाथी प्रहरीले गरेका शंकामिश्रीत प्रश्नले एसिड आक्रमण गर्नेको भन्दा आक्रमणमा पर्नेको गल्ती हो भन्ने भान गराउँछ । अपराधीले भन्दा बढी गल्ती छोरीले गरेको हुनसक्ने आशंका प्रहरीको व्यवहारले देखाउँछ । किनभने समाजले यसरी सोच्न सिकाएको छ कि एसिड छ्याप्नु अपराध होइन, बरु छोरी हुनु चाहीँ अपराध हो ।

दश हप्ता लामो अस्पताल बसाइपछि घर फर्केकी मालतीलाई कल्पना पनि थिएन कि एसिडले कति बिग्रेको छ आफ्नो अनुहार भनेर । जब ऐनामा आफ्नो अनुहार हेर्छिन्, त्यसपछि मालती चिच्याउँछिन् । पर्दामा उनी चिच्याएको आवाजले जसरी सींगो हल कंपित हुन्छ, एउटा पीडितको मनमा कस्तो आँधी चल्छ ?

फिल्मले घरदेखि अस्पताल र अस्पतालदेखि घर मात्रै पुर्‍याउँदैन । जीवनदेखि मृत्युको मुखसम्म र मृत्युको मुखदेखि पुनः जीवनको आशा कसरी भर्ने भनेर सिकाउँछ ।

एसिडले जलेको पीडाभन्दा भयानक हुन्छ समाजले दिएको घृणाको परिणाम र पीडा । पीडित मात्रै होइन परिवारले समेत सामाना गर्नुपरेका समस्या फिल्ममा निकै सहज तरिकाले बुझिने गरि पस्किएका छन् । छरछिमेक र साथीसंगीको बेवास्ताले उनलाई कसरी एक्लो बनाउँछ र एकलै लड्ने भनेर सिकाउँछ फिल्मले ।

कतिसम्म भने सहयोग र समवेदना देखाउनुपर्ने समाजको घृणाबाट जोगिनै आठ वर्ष घरबाट बाहिर निस्किदिनन्, मालती । उता तेजाब छ्याप्ने अपराधी भने एक महिना मै बेलमा छुटेर धुमधामले बिहेको तयारीमा लाग्छ । यसले एसिड पीडित महिलालाई समाजले गर्ने व्यवहार र भोग्नु परेको पीडालाई जस्ताको तस्तै देखाउँछ ।

अपराध गर्ने मान्छे खुलेआम हिडिरहेको छ, पीडीत लुकेर बस्नु परेको छ ।

फिल्मले मालतीको जीवनका चोटैचोट र निराशै निराशा मात्रै देखाउँदैन । प्रेम र आशा देखाउँछ, संघर्ष र जीवन पनि देखाउँछ । जुन एसिड पीडितका लागि सकारात्मक सन्देश हो, उर्जा हो । स्वयमलाई नजिकबाट बुझ्नु छ भने, कहिलेकाही सबैबाट टाढा पनि हुनुपर्छ, आत्मविश्वासले नै सफल हुन सकिन्छ भन्ने सन्देशका साथ छपाक, टुंङ्ग्याइएको छ । सुन्दर हुनु नजलेको अनुहार हुनु मात्रै होइन । बाहिरी आवरण हेरेर प्रेम हुँदैन । फिल्मले सक्दो सकारात्मक सन्देश दिन खोजेको छ ।

फिल्मको सुरुवात नै परिवारप्रतिको जीम्मेवारी निभाउँन आवश्यक खर्चको जोहो गर्न कुरुप अनुहार लिएर हिंडेकी एक युवतीको जागिरको खोजीबाट हुन्छ । जागिरको लागि आवश्यक दायराको प्रमाणस्वरुप एकेडेमिक सर्टिफिकेट, इच्छाशक्ति र क्षमता भएर मात्रै पुग्दैन ।

जागिर पाउन क्षमता र आत्मविश्वासले मात्रै पुग्दैन पुँजीवादले खोज्ने अरुनै रहेछ भन्ने दलिल पनि फिल्मले देखाउँछ । जति हुँदा पनि जीवनमा नथाक्ने आत्मबिश्वास जुटाएको दृश्यले जति खुशी बनाउँछ जागिरमा अन्तरवार्ता दिन जाँदा भोगेको व्यवहारले पलभरमै त्यसलाई तहसनहस पारिदिन्छ । र पनि त्यहीँबाट उठ्ने मालतीको कोशिस फिल्मको खास पक्ष हो ।

फिल्मको अर्को सकारात्मक पक्ष यसको विषयवस्तुको स्रोत हो । सत्य घटना र पात्रमा आधारित भएर होला, पूरा समय बितेको पत्तै हुँदैन ।


सन् २००५ मा १६ वर्षकी थिइन् लक्ष्मी अग्रवाल । जतिबेला उनीमाथि एसिड आक्रमण भयो । बाँकी फिल्मले भनेको कथा नै लक्ष्मी अग्रवालको जीवनको वास्तविक कहानी हो ।

‘जुन अनुहार तिमीले जलायौ, त्यो अनुहारलाई म माया गर्छु, म जीवित छु र म फक्रिरहेकी छु ।’ लक्ष्मीले सन् २०१४ मा साहसी अन्तराष्ट्रिय महिला पुरस्कारबाट सम्मानित हुँदा बोलेका वाक्य हुन् यी। । लक्ष्मीले समाजसँग भिडन्त गरिन् तर हार मानिनन् । लक्ष्मी अहिले देश विदेशमा आफूजस्तै पीडितहरुलाई जीवन सिकाउँछिन्, प्रेरणा दिने काम गर्छिन् ।

एसिड आक्रमणमा परेका पीडितको पुनस्थापनाका लागि काम गरिरहेकी छिन् । उनी ‘स्टप एसिड क्याम्पियन्’ मा आवद्ध भएको २०२० मार्चमा सात वर्ष हुन्छ । उनका प्रेरणदायी प्रवचन युट्युबमा पनि हेर्न सकिन्छ । लक्ष्मीले सन् २०१९ मा पनि अन्तराष्ट्रिय महिला सशक्तिकरण अवार्ड पाएकी थिइन् ।

फिल्ममा लक्ष्मीको जीवनशैली, उनले भोगेको, देखेको समाजको बिषय नै मुल विषयवस्तु हो । भारतको अमुख पात्रमाथि बनेको यो कथा नेपाली समाजसंग पनि दुरुस्तै मेल खान्छ । सम्झना दास (जस्को एसिड आक्रमणपछि मृत्यु भयो), सुस्मिता दास, संगिता मगर, सिमा बस्नेत, मुस्कान खातुन, जेनी खड्का, बसन्ती परियार, धनसरा बि.क, रिंकु मेहेता, रिता चौधरीजस्ता एसिड पीडितको कथा पनि हो, छपाक ।

फिल्मले तेजाब बेच्न बन्द गरियोस् भनी माग गरिएको कानून पीआइएल (पब्लिक इन्ट्रेस्ट् लिटिगेसन्) को विषय पनि उठाएको छ । दीपीका पादुकोणको अभिनयमा कुनै कमि छैन जसरी ‘फिलहाल’ र ‘तलबार’ जस्ता फिल्म बनाउनमा गरेको मेहनतमा कमि आउन मेघना गुलजारले दिएकी छैनन् । समग्रमा फिल्म छपाकले बक्स अफिसमा प¥याप्त रकम उठाउन नसके पनि दर्शकको मन जितेको छ ।

प्रतिकृया दिनुहोस