समाचार सोमबार, माघ ६, २०७६

राजीनामापछि शिवमायाले भनिन्– पितृसत्ताको परीक्षण भयो

लक्ष्मी बस्नेत

राजीनामापछि शिवमायाले भनिन्– पितृसत्ताको परीक्षण भयो
तस्वीरहरुः विक्रम राई

संसद सचिवालयमा उपसभामुख पदबाट राजीनामा बुझाए पछि डा.शिवमाया तुम्बाहाङफेले संसद भवनको शंकर हलमा पत्रकार सम्मेलन गरिन् । “म आज नयाँ अनुभूत गर्दैछु, र खुशी छु”, पत्रकार सम्मेलनमा उनले भनिन् ।

झण्डै २० मिनेट बोलेकी उनले पाँच वर्षे कार्यअवधि दुई वर्षमै सकिएकोमा खुशी भएको बताइन् । सभामुख पदकै लागि दाबेदार रहेकी तुम्बाहाङ्फेले पत्रकार सम्मेलनमा भने खुशी नभएको बताइन् ।

आफूले टेकेको धरातलको राम्रो याद भए पनि विधि र संसदीय रिक्ततता आउन नदिन अडान लिएको सांसदहरुलाई सम्बोधनका क्रममा बताएकी उनले पत्रकार सम्मेलनमा भने ‘यूटर्न’ हुने बताइन् ।

“एउटा कुराकाे परीक्षण गर्नु थियो । नेपालको सन्दर्भमा पितृसत्ताको कुरा गरिरहेका छौं । सोंच मात्र होइन, संस्थागत रुपमा याे अगाडि बढेको छ । एक/दुई जना लागेर मात्रै यो संस्था उन्मूलन गर्न सकिंदैन”, उनले भनिन् ।

“कामको ट्र्याक आजैबाट चेन्ज गर्दैछु, संस्था जोगाएरै पद त्यागें, त्यसैमा खुशी छु”, उनले भनिन् ।

यूटर्न के हो भन्ने प्रश्नमा उनले भनिन्, “युटर्न, नयाँ ट्रयाक र मेरो लक्ष्य यी तीन कुरा अहिले भन्दिन । कुनै बेला भन्ने दिन आउँछ, सँझेर राख्नुहोला ।”

ससर्त वा निसर्त राजीनामा भन्ने सन्दर्भमा उनले भनिन्, “मेरो राजीनामाको अडान संस्था जोगाउनु थियो । मैले लडाईँ जितें । यसलाई मैले लडाईं भन्न मन पराएँ ।” उनलाई मन्त्री बनाउने चर्चा चलेको थियो ।

उनलाई निर्वाचन गराउने नेकपासँग जोडेर गरिएको प्रश्नमा उनले भनिन्, “म दलको उपभामुख थिइनँ । मैले मार्ग प्रशस्त नगरे महाअभियोग लगाउने बाहेक अर्को बिकल्प पनि थिएन । तर, दलीय प्रणालीलाई सम्मान गरेँ ।”

पितृसत्ताको परीक्षण !

उपसभामुख भएपछि सार्वजनिक मन्तव्यबाटै ‘पितृसत्ता’, राजसंस्था भन्दा बलियो र डरलाग्दो रहेको बताएकी उनले पत्रकार सम्मेलनमा भने फरक ढंगले प्रस्तुत भइन् । “एउटा कुराकाे परीक्षण गर्नु थियो । नेपालको सन्दर्भमा पितृसत्ताको कुरा गरिरहेका छौं । सोंच मात्र होइन, संस्थागत रुपमा याे अगाडि बढेको छ । एक/दुई जना लागेर मात्रै यो संस्था उन्मूलन गर्न सकिंदैन”, उनले भनिन् ।

महिलालाई अगाडि बढ्न छेकबार लगाउने कुरा हटाउने गरी कलमहरु अझै धेरै चल्नुपर्ने आवश्यकता रहेकाले उनले पत्रकारहरुसँग आग्रह समेत गरिन् । भनिन्, “छेकबार हटाउँदै जानुपर्छ ।” नेकपा नेतृत्व समक्ष आफ्नो दावी स्वभाविक रहेको उनले बताइन् ।

उपसभामुख हुँदाको दुई वर्षमा संविधान र कानुन अनुसार गर्नुपर्ने काम गरेको तुम्बाहाङ्फेले बताइन् ।

आफ्नो बारे लेखिएका सकारात्मक समाचारले हौसला दिएको उनको भनाइ थियो । पत्रकार सम्मेलनस्थलमा तुम्बाहाङ्फे महिला सांसदहरु गोमा देवकोटा, विन्दा पाण्डे, विद्या भट्टराई, सरिता न्यौपाने लगायत सँगै आएकी थिइन् ।

 

प्रतिकृया दिनुहोस