समाचार शुक्रबार, माघ ३, २०७६

'सभामुखमा शिवमायाको विकल्प खोज्नु गलत'

लक्ष्मी बस्नेत

'सभामुखमा शिवमायाको विकल्प खोज्नु गलत'

यौन दुर्व्यवहारको आरोप लागेका तत्कालीन सभामुख कृष्णबहादुर महराले १५ असोजमा उपसभामुख डा.शिवमाया तुम्बाहाङफे समक्ष पदबाट राजीनामा दिए ।

महराले दिएको राजीनामाको भाषा ठीक नभएको भन्दै उपसभामुख तुम्बाहाङफेले फिर्ता पठाइन् । उपसभामुख हुँदा समाचारमा खासै नछाउने उनी महराको राजीनामा फिर्तापछि चर्चामा आइन् ।

गएको ४ पुसमा राष्ट्रपतिबाट हिउँदे अधिवेशन आह्वान भएपछि उक्त बैठकअघि सभामुख चयन नभए ज्येष्ठ सदस्य वा उपसभामुखमध्ये कसले अध्यक्षता गर्ने भन्ने विवाद भयो ।

प्रतिनिधिसभा नियमावली, २०७५ परिच्छेद २ को ६(४) मा सभामुखले प्रत्येक बैठकको प्रारम्भ तथा स्थगनको घोषणा गर्ने उल्लेख भएकाले यस्तो विवाद भएको थियो ।

तर, संविधानको धारा ९१ (४) ले सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्ने व्यवस्था गरेको छ । त्यसैमा टेकेर उपसभामुख तुम्बाहाङफेले आफूले बैठक चलाउने बताइन् ।

उपसभामुखको कदमपछि प्रतिनिधि सभा बैठक संचालन नियमावली संविधानसँग बाझिएको प्रष्ट भयो । उपसभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर बैठक सञ्चालन गरेपछि स्थगित भएको प्रतिनिधि सभा बैठक एक महीना बितिसक्दा पनि बस्न सकेको छैन ।

सभामुख चयनमा नेकपाभित्रको रस्साकस्सीले बैठक प्रभावित भएको हो । नेकपाभित्र भावी सभामुखबारे छलफल चलिरहँदा उनी पनि स्वाभाविक दाबेदारका रूपमा आएकी छिन् । उपसभामुख तुम्बाहाङफेका अनुसार उनले नेकपाका दुवै अध्यक्षलाई ३ पुसमै भेटेर आफू सभामुखको प्रमुख दाबेदार भएको बताएकी थिइन् ।

 “के मैले रेडियो, टीभीमा दिएको अन्तर्वार्ता सुनेर र पत्रिकामा आएको समाचार पढेर राजीनामा बुझाउन जाऊँ ? कि पत्रकारलाई बोलाएर राजीनामा दिऊँ ?”

त्यतिबेला उनले स्पष्ट जवाफ पाइनन् । बरु २६ पुसमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित नेकपा सचिवालय बैठकले उनलाई राजीनामा गर्न लगाउने निर्णय गरेको थियो।

पूर्वप्रधानमन्त्री समेत भइसकेका वरिष्ठ नेता झलनाथ खनालले १ माघ बेलुका बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा भने, “उहाँ हाम्रो पूर्वेली चेली, मेरो त बहिनी हो ।उहाँलाई तपाईंको यो लोकप्रिय माध्यम बीबीसी मार्फत बाटो खोलिदिन अनुरोध गर्दछु ।”

तर, सोही दिन दिउँसो पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि गोरखा पुगेर एक सार्वजनिक कार्यक्रममा उपसभामुखले राजीनामा दिनुपर्ने बताए ।

नेकपाबाट समानुपातिक सांसद बनेकी उनले भने सचिवालयको निर्णयलाई चुनौती दिइन् । सचिवालयको निर्णय समाचारमा आएपछि मात्र थाहा पाएको उनी बताउँछिन्।

तुम्बाहाङफे भन्छिन्, “के मैले रेडियो, टीभीमा दिएको अन्तर्वार्ता सुनेर र पत्रिकामा आएको समाचार पढेर राजीनामा बुझाउन जाऊँ ? कि पत्रकारलाई बोलाएर राजीनामा दिऊँ ?”

पूर्व माओवादी खेमाका नेकपा नेताले बारम्बार सार्वजनिक रूपमा नै उपसभामुख तुम्बाहाङफेले राजीनामा नदिँदा सभामुख चयन प्रक्रिया अड्किएको बताए । तर, तुम्बाहाङफे भने पदको लोभले नभई संसदलाई नेतृत्वविहीन हुनबाट जोगाउन राजीनामा नदिएको दाबी गर्छिन् ।

“पदको लोभले नभई संसदलाई नेतृत्वविहीन हुनबाट जोगाउन राजीनामा नदिएकी हुँ”, उनी भन्छिन्, “मैले पद्धति बसाल्न खोजेकी हुँ । ४ पुसको बैठक अघि नै मैले राजीनामा दिएको भए त संसद अहिलेसम्म नेतृत्वविहीन नै भइरहने रहेछ नि ।”

तुम्बाहाङफेको पक्षमा अभियान

नेकपाभित्र र बाहिर तुम्बाहाङफेको पक्षमा लबिङ पनि भइरहेको छ । ‘कृष्णबहादुर महराको गल्तीको सजाय शिवमायालाई दिन हुँदैन’ भन्ने तर्क विभिन्न तहमा उठिरहेको छ ।

उनलाई सभामुख बनाउने अभियान अन्तर्गत २ पुसमा आयोजित छलफलमा मानव अधिकारकर्मी चरण प्रसाईंले भने, “उहाँको विकल्प खोज्नै नहुने हो, यो बहस नै जरुरी थिएन । पार्टीले उही बेला तत्काल निर्णय गर्नुपर्थ्यो।”

झण्डै एक महीनादेखि सामाजिक सञ्जालदेखि विभिन्न कार्यक्रम मार्फत उनलाई समर्थन गर्ने र पार्टी नेतृत्वलाई दबाब दिने अभियान चलेको छ । जसमध्ये ‘मेन इन्गेज अलाइन्स’ का संयोजक माधव प्रधान तुम्बाहाङफेको विकल्प नेकपाले खोज्नु नै गल्ती भएको बताउँछन् ।

उनी भन्छन्, “उहाँ कानूनको विद्यार्थी मात्र नभई विद्यावारिधि हासिल गर्नुभएको योग्य नेता भएकाले सभामुखमा विकल्प खोजेर पार्टीले गल्ती गरिरहेको छ ।”

राष्ट्रियसभाकी सांसद डा विमला राई पौड्याल सभामुखका लागि तुम्बाहाङफे नै उपयुक्त भएको तर्क गर्छिन् । उनी भन्छिन्, “कानून बनाउने ठाउँ हो, कानूनको ज्ञाता शिवमाया नै हो, दुई वर्ष उपसभामुख भइसकेको र योग्यताको कुरा गर्ने हो भने अहिले नाम आएकामध्ये सबैभन्दा बढी योग्य उहाँ नै हो ।”

मोरङ जिल्लाका सबै स्थानीय तहका उपप्रमुखहरूले नेकपाको जिल्ला अध्यक्ष मार्फत २९ पुसमा ज्ञापनपत्र बुझाउँदै वर्तमान उपसभामुखलाई सभामुख बनाउन आग्रह गरेका छन् ।

महिला सुरक्षा दबाब समूह, महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय संजाल जस्ता नेटवर्कहरूले पनि करीब तीन महीनामा चार पटक विज्ञप्ति निकालेर तुम्बाहाङफेलाई सभामुख बनाउन आग्रह गरेका छन् ।

 

प्रतिकृया दिनुहोस