समाचार विहीबार, माघ २, २०७६

बलात्कारकाे जाेखिममा 'सडकका महिला'

नुनुता राई

बलात्कारकाे जाेखिममा 'सडकका महिला'

बाग्लुङकी पूजा (परिवर्तित नाम) को गाउँमा डोजर चलाउन पुगेका सिन्धुपाल्चोकका युवासँग प्रेमविवाह भयो । सिन्धुपाल्चोक नै बस्न थालेको केही वर्षपछि श्रीमान्को हत्या भयो । दुई छोराछोरी जेठाजुले राखे । उनी बाग्लुङ फर्किइन् । त्यसको केही समयपछि उनको बुवाको पनि मृत्यु भयो र आमाले दोस्रो बिहे गरिन् । गाउँकै व्यक्तिले उनलाई बच्चा भएको ठाउँमा पुर्‍याइदिने भन्दै काठमाडौं नयाँ बसपार्कमा छाडेर बेपत्ता भए ।

पसलमा सामान बेच्ने काम लगाइदिने प्रलोभन देखाएर एक व्यक्तिले बन्धक बनाएर दुई वर्षसम्म यौन व्यवसायमा लाग्न बाध्य बनायो । ग्राहकसँग जान नमान्दा शारीरिक तथा मानसिक यातना दिइएपछि मानसिक सन्तुलन गुमाइन् ।

त्यसपछि सडकमा छाडिएकी उनलाई मानव सेवा आश्रमले काठमाडौं, माछापोखरीबाट उद्घार गर्‍यो । केही दिनको उपचारपछि २३ वर्षीया ती युवतीले आफ्नो विगत त बताइन् तर, अलपत्र पार्नेहरूको नाम भन्न नसक्दै उनको मृत्यु भयो । उनलाई बचाउन धेरै कोशिश गरे पनि नसकेको आश्रमका प्रवक्ता सुमन बर्तौला बताउँछन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. सरोज वझ मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति पारिवारिक, सामाजिक, आर्थिक लगायत कारणले सडकमा पुग्ने बताउँछन् । उनका अनुसार मानसिक समस्या भएका व्यक्तिले परिवार र समाजलाई असहज हुने व्यवहार देखाउँछन् । उपचार अभावमा यस्तो व्यवहार झ्नै बढेर जाँदा परिवारका सदस्यले बोझ मान्छन् । उपचार गर्दा रोग निको हुन्छ भन्ने चेतना नहुनु नै सडकमा पुग्ने मुख्य कारण रहेको उनी बताउँछन् ।

मानसिक स्वास्थ्य समस्याको क्षेत्रमा काम गर्ने संस्था कोशिश नेपालका कार्यक्रम विकास संयोजक लक्ष्मण नाथका अनुसार कतिपय व्यक्ति चरम घरेलु हिंसाका कारण मानसिक रोगी हुन्छन् र परिवारले नै सडकमा पुर्‍याउँछन् ।

यसै क्षेत्रमा काम गर्ने स्नेही काखकी अध्यक्ष श्रीनेहा पोखरेल पनि मानसिक समस्या भएकालाई परिवारले हेरचाह नगर्दा सडकमा पुग्ने बताउँछिन् । उनी भन्छिन्, “दैनिक ज्यालादारी गरेर खानुपर्नेहरूले परिवारमा मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति भए हेरचाह गर्न सक्दैनन् । सम्पन्न परिवारकै पनि नियमित औषधि खुवाइदिने नहुँदा घरबाट विस्थापित भएका छन् ।”

मानसिक तथा मनोसामाजिक समस्या भएर सडकमा पुगेका व्यक्तिको आधिकारिक तथ्याङ्क कुनै निकायसँग नभएको मानव सेवा आश्रमका प्रवक्ता सुमन बर्तौला बताउँछन् । तर, उपत्यकाका सडकमा करीब ८० जना कडा मानसिक स्वास्थ्य समस्याका व्यक्ति भएको उनको अनुमान छ । उनी भन्छन्, “सडकमा बेसहारा तथा अशक्त व्यक्तिहरू ७०० भन्दा बढी होलान्, उनीहरूमा पनि मानसिक स्वास्थ्य समस्या हुने जोखिम धेरै छ ।”

मानव सेवा आश्रम, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले सडकमा पुगेका सबैको उद्धार गर्ने अभियान चलाइरहेको छ । सहयोगापेक्षी (जीवनयापन गर्न अरूको सहारा चाहिने) मानवमुक्त सडक बनाउन अभियान शुरू भएको र उद्धार गरिएकाको आवश्यकता अनुसार उपचार हुने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्य बताउँछन् ।

उद्घार गरेकामध्ये १२ जना कडा खालको मानसिक स्वास्थ्य समस्या भएकाहरू भेटिएको मानव सेवा आश्रमका स्वयंसेवक होमनाथ हुमागाइँ बताउँछन् । उनी भन्छन्, “उहाँहरूको उपचार भइरहेकोले पारिवारिक पृष्ठभूमि र कसरी सडकमा आइपुगेको भनेर थाहा पाउन केही समय लाग्छ ।”

बलात्कारको जोखिम

कल्पना (परिवर्तित नाम) झ्ण्डै आठ वर्ष दाङका विभिन्न सडकमा देखिइन् । सामूहिक बलात्कारमा परेर गर्भवती भएकी उनले हिलो खाइरहेको देखेर स्थानीय एक विद्यार्थीले स्नेही काख नामक संस्थालाई खबर गरिन् । उद्घार गरी काठमाडौं ल्याएको डेढ महीनापछि उनले जुम्ल्याहा छोरा जन्माइन् । उपचारको क्रममा रहेकी उनले ६ महीना पुगिसकेका बच्चाहरूप्रति चासो दिएकी छैनन् ।

सुशीला (परिवर्तित नाम) काठमाडौंको सडकमा जन्मिएर ललितपुर लगनखेल आसपासको सडकमा हुर्किइन् । स्थानीय शैलेश महर्जनका अनुसार उनकी आमालाई मानसिक स्वास्थ्य समस्या थियो । सुशीला करीब १० वर्षकी हुँदा आमा सडकमा देखिन छाडिन् । किशोर अवस्थामा पुगेपछि सुशीलालाई एकप्रकारको मानसिक स्वास्थ्य समस्या ‘सिजोफ्रेनिया’ ले च्याप्यो ।

फोहोरको थुप्रोबाट खानेकुरा खोजेर खाने उनलाई एक युवाले बारम्बार आफ्नो कोठामा लगी बलात्कार गरेर पुनः सडकमै छाडिदिन्थे । यो क्रम लामो समय चलेपछि उनी गर्भवती भइन् । उनको पेट देखिन थालेपछि ती युवा बेपत्ता भए । स्नेही काखले उद्घार गरेको दुई महीनापछि उनले छोरो जन्माइन् । अहिले सुशीलाको स्वास्थ्य सुधार हुँदै गएको छ ।

सडकमा आइपुगेका मानसिक स्वास्थ्य समस्या भएका महिला बलात्कारको जोखिममा छन् । बिरामी अवस्थाका कारण प्रतिवाद र पीडकको पहिचान पनि गर्न नसक्ने कारण बलात्कारी सजिलै उम्कने गरेका छन् । मानव सेवा आश्रमका प्रवक्ता बर्तौलाका अनुसार मानसिक समस्या भएका महिलाले आफू पीडित भएको थाहा नपाउँदा पीडक उम्किइरहेका छन् । मानव सेवा आश्रममा सडकबाट उद्घार गरिएका मानसिक समस्या भएका गर्भवती महिलाबाट जन्मेका १७ बालबालिका छन् भने स्नेही काखमा नौ जना ।

सडकमा आइपुगेपछि बलात्कारमा परेर बच्चा जन्माएका महिलालाई उपचारपछि पनि परिवारले नस्वीकार्ने समस्या रहेको मानव सेवा आश्रमका प्रवक्ता बर्तौला बताउँछन् । उनी भन्छन्, “निरन्तरको उपचारपछि अवस्था सामान्य भए पनि समाजले लगाउन सक्ने लाञ्छनाका कारण परिवारले स्वीकार्न हिच्किचाउँछन् । पीडित पनि पहिलेकै ठाउँमा जान डर मान्छन् । कतिपयले त बच्चा समेत स्वीकार गर्दैनन् ।” निरन्तरको उपचारपछि निको भएका सात जना महिलाले त बच्चा छोडेर भागेको बर्तौला बताउँछन् ।

स्नेही काखकी प्रमुख पोख्रेलका अनुसार मानसिक रोगीको उपचारपछि परिवारले स्वीकारे पनि बलात्कारमा परेर बच्चा समेत भएका मानसिक रोगी घर जान चाहँदैनन् र परिवारले पनि स्वीकार्दैनन् ।

पुनःस्थापनामा समस्या

मनोचिकित्सक डा.वासुदेव कार्की मानसिक स्वास्थ्य समस्या औषधिले मात्रै समाधान हुन नसक्ने हुँदा उपचारसँगै परिवारमा पुनःस्थापना गर्नुपर्ने बताउँछन् । समुदायसम्मै पुगेर पारिवारिक तथा सामाजिक पुनःस्थापनाको लागि पैरवी गर्ने कार्यक्रम चलाउनुपर्ने उनको भनाइ छ ।

गत आर्थिक वर्षमा विभिन्न संस्थासँगको साझेदारीमा मानसिक समस्या भएकाको उद्घार तथा उपचार गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत मानसिक स्वास्थ्य शाखा प्रमुख डा.फणिन्द्र बरालले जानकारी दिए । भौतिक पूर्वाधार तथा जनशक्ति अभावमा सरकार एक्लैले पुनःस्थापना केन्द्र सञ्चालन गर्न नसकेको उनी बताउँछन् ।

पुनःस्थापनाका लागि सरकारको सार्वजनिक तथा निजी संस्थाहरूसँगको साझ्ेदारी कार्यक्रम राम्रो भए पनि दीर्घकालीन समस्या समाधानको उपाय नभएको मनोविद् करुणा कुँवर बताउँछिन् । भौतिक पूर्वाधारको निर्माण तथा आवश्यक जनशक्ति तयार पारी राज्यले नै त्यस्ता व्यक्तिको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ ।

सडकसम्म पुगेका मानसिक समस्या भएकाको उद्घार गरी परिवारमा पुनःस्थापना गराउन कठिन रहेको कोशिश नेपालका लक्ष्मण नाथ बताउँछन् । उनी भन्छन्, “हामीले सडकबाट उठाएर ल्याएर औषधि उपचार गरेपछि परिवार भेटिएन वा परिवारले स्वीकार गरेन भने कहाँ राख्ने ? त्यसैले स्थानीय तहले पुनःस्थापना गराउने शर्तमा लिखित कागज गरेपछि मात्रै उद्धार गरी उपचार गर्छौं ।” कतिपय बिरामीको उपचार खर्च सम्बन्धित नगरपालिकाले दिने गरेको र केहीको संस्थाले नै बेहोर्ने गरेको उनी बताउँछन् ।

तथा आर्थिक अभावमा औषधोपचार नगराउँदा परिवारले नै बोझ ठान्ने गरी बढ्ने अस्वाभाविक व्यवहारले सडकमा पुगेका मानसिक स्वास्थ्य समस्यामा परेका महिलाहरू बलात्कारको ठूलो जोखिममा छन्।

स्वास्थ्य सेवा विभागले बनाएको ‘मानसिक रोगीहरूको लागि पुनःस्थापना कार्यक्रम सञ्चालन कार्यविधि, २०७५’ मा मानसिक र मनोसामाजिक समस्या भएका अशक्त, असहाय र बेवारिसे बिरामीलाई उपचारमा आर्थिक सहयोग गरिने उल्लेख छ ।

कार्यविधिमा त्यस्ता बिरामीको उपचार गर्ने अस्पताललाई प्रतिव्यक्ति दैनिक रु.६०० र पुनःस्थापना केन्द्रलाई रु.५०० दिने उल्लेख छ । चालु आर्थिक वर्षमा अशक्त, असहाय र बेवारिसे मानसिक स्वास्थ्य समस्या भएकाको उपचारका लागि करीब रु.७ करोड विनियोजन भएको मानसिक स्वास्थ्य शाखा प्रमुख डा.बराल बताउँछन् । उनका अनुसार उक्त रकम प्रत्येक प्रदेशमा रु.९० लाखका दरले सामाजिक विकास मन्त्रालयमा पठाइएको छ ।

सरकारले प्रत्येक व्यक्तिलाई दिने उपचार खर्च एकदमै न्यून रहेको कोशिश नेपालका नाथ बताउँछन् । उनी भन्छन्, “मानसिक समस्या भएका व्यक्तिको उपचार खर्च औसतमा दैनिक करीब रु.१८०० लाग्छ । सरकारले दिएको खर्चमा उपचार गर्न सकिएको छैन ।”

राज्यले मानसिक समस्या सम्बन्धी सचेतना फैलाउन पनि लगानी गर्नुपर्ने प्रा.डा. वझा बताउँछन् । उनीहरूको उद्घार, उपचार र निको भइसकेपछि भरणपोषणमा सहयोग गर्न तालिम दिनुपर्ने उनी बताउँछन् । प्रा.डा. वझा भन्छन्, “राज्यले विभिन्न संघसंस्था अथवा आफ्नै छाताभित्रको उपचार पद्घतिमा राखेर सही मार्ग प्रदान गर्न सकेमा सामान्य मानिससरह समाज र देश निर्माणमा उनीहरूलाई सहभागी गराउन सकिन्छ ।”

प्रतिकृया दिनुहोस