चिनियाँ राजदूतद्वारा मुख्यमन्त्री पोख्रेललाई माघीकाे शुभकामना, प्रदेशकाे विकासमा चीनले सघाउने
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग बुधबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत यान्छीले माघी पर्वको शुभकामना दिंदै प्रदेश पाँचले आर्थिक विकासमा हासिल गरेको उपलब्धि सकारात्मक रहेको बताइन् ।
राजदूत यान्छीले नेपालको विकास प्रयासमा चीन सधैं सहयोगी रहेको चर्चा गर्दै अहिले नेपाल द्रुत विकासको बाटोमा हिंडेको र त्यो प्रयासमा चिनियाँ साथ रहेको बताइन् । उनले केही महीना अघि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणले दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुगेको बताइन् ।
लुम्बिनी चिनियाँका लागि आउन चाहने एउटा प्रमुख ठाउँ भएको बताउँदै राजदूत यान्छीले सिचुवानको छेन्दु–भैरहवा सीधा उडानका लागि सहयोग र अभिप्रेरित गर्ने बताइन् । उनले छेन्दु–भैरहवा सीधा उडानले प्रदेश ५ र सिचुवानबीचको सम्बन्ध अझै राम्रो हुने बताइन् ।
मुख्यमन्त्री पोख्रेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको बताए । उनले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउने सोंचमा रहेको र त्यसका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताए ।
उनले प्रदेश ५ र सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको बताउँदै सिचुवानले गरेको कृषिको व्यवसायीकरण र औद्योगिक विकासको अनुभव हाम्रा लागि काम लाग्ने बताए । सिचुवानका गर्भनरलाई प्रदेश ५ भ्रमणको निमन्त्रणा दिएको र त्यसको आवश्यक प्रबन्ध मिलाउन महामहिम राजदूतलाई आग्रह गरे ।
मुख्यमन्त्री पोख्रेलले बीआरआई परियोजना अन्तर्गत केरुङ–काठमाडौं रेलमार्ग लुम्बिनी ल्याउने योजना पूरा गर्न सक्दा यो क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले यो प्रदेशमा रुपन्देहीको मोतीपुर, बाँकेको नौबस्ता र दाङको घोराहीमा ठूला औद्योगिक क्षेत्र बनाउने योजना अघि सारेको र तीमध्ये एक चिनियाँ मोडलको औद्योगिक क्षेत्र होस् भन्ने चाहेको बताए ।
बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालको स्तरोन्नति र सेवा सुधार गर्न लागेको र ती अस्पतालको सुधारमा चिनियाँ अनुभवबाट सहयोग पुग्ने बताए ।
उनले परम्परागत शिक्षाका लुम्बिनी बौद्ध विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालय यहाँ रहेका, ती दुई विश्वविद्यालय र चीनमा परम्परागत शिक्षाको महत्वपूर्ण मानिने कन्फ्युसियस विश्वविद्यालयबीच विद्यार्थी आदान प्रदान गर्न सकिने बताए ।
राजदूत यान्छीले लुम्बिनी, कपिलवस्तुको तिलौराकोट सहित बौद्ध सम्पदास्थलको भ्रमण गर्न लागेको र ती क्षेत्रको भ्रमण गर्न पाउँदा खुशी लागेको बताइन्।