समाचार मंगलबार, पुस २९, २०७६

क्यान्सर अस्पतालको विकासमा चीनको सहयोग जारी रहन्छ: चिनियाँ राजदूत

रासस

क्यान्सर अस्पतालको विकासमा चीनको सहयोग जारी रहन्छ: चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालको स्वास्थ्य क्षेत्रमा चीन सरकारको सहयोग निरन्तर जारी रहने बताएकी छन् ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा मंगलबार चिनियाँ मेडिकल सहयोगको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा अस्पतालको स्तरोन्नति र विकासमा सहयोग गर्न चीन दृढ रहेको बताइन् ।

चीन सरकारले अस्पताल बनाउन सहयोग गरेको र त्यसपछि निरन्तर सहयोग गर्न पाएकामा खुशी प्रकट गर्दै उनले नेपाली जनतालाई अर्बुद रोगको उच्चस्तरको उपचार दिन चिनियाँ चिकित्सक समूह सधैं प्रतिबद्ध भएको बताइन् ।

अस्पताल स्थापनापछि चिनियाँ चिकित्सक समूहलाई अस्पतालका चिकित्सक कर्मचारीले गरेको सहयोग र समन्वयप्रति उनले आभार प्रकट गरिन् । सो अवसरमा राजदूत होउले अस्पताललाई भिडियो एक्सरे र शल्यचिकित्सा उपकरण तथा अर्बुदरोगीलाई आवश्यक पर्ने औषधि उपलव्ध गराएकी थिइन्।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालको अहिलेको अवस्था र भावी योजनाबारे जानकारी दिँदै चिनियाँ सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । विसं २०५७ देखि सञ्चालनमा आएको सो अस्पताल चीन सरकारले निर्माण गरेको हो ।

अस्पतालका उपनिर्देशक डा निर्मल लामिछानेका अनुसार अस्पताल स्थापना भएयता निरन्तर रुपमा १४ चिनियाँ चिकित्सक र दुई सहयोगी यहाँ रहँदै आएका छन् ।

उनीहरूको तलबभत्ता चीन सरकारले बेहोर्दै आएको छ । शुरुमा एक सय शय्या रहेको क्यान्सर अस्पतालमा हाल ४५० शय्या छ । गत वर्ष एक लाख ३१ हजार बिरामीले अस्पतालबाट सेवा लिएका थिए । अस्पतालमा उपचारका लागि नेपाल र भारतका सीमा क्षेत्रबाट बिरामी आउने गर्छन् ।

प्रतिकृया दिनुहोस