व्यक्तित्व आइतबार, पुस २७, २०७६

पुरातत्वका पिता

वसन्त महर्जन

पुरातत्वका पिता
तारानन्द मिश्र (१९ जुलाई १९३९–४ जनवरी २०२०) । तस्वीरः हिमालिनी टीभी

प्राचीन कपिलवस्तु क्षेत्र नै बुद्ध जन्मस्थल भएको प्रमाणित गर्ने नेपाली पुरातत्व टोलीका नेतृत्वकर्ता तारानन्द मिश्र (८१) मुलुककै पहिलो प्रशिक्षित पुरातत्वविद् पनि थिए।

वसन्त महर्जन

कतिपय वरिष्ठहरूले चिनेर पनि नचिने जस्तो गर्दा कनिष्ठहरूलाई वेला–वेला समस्या उत्पन्न हुनेगर्छ । तर, तारानन्द मिश्रको व्यवहार भने फरक थियो ।

लुम्बिनीबारे रुचि राख्न थाल्दादेखि नै मैले मिश्रको नाम सुनेको थिएँ । त्यहीवेला भक्तपुरमा योगेशराजद्वारा स्थापित संस्था ‘सुथां’ द्वारा आयोजित एक कार्यक्रममा पहिलो पटक ‘काठमाडौंको नेवार संस्कृतिमा मैथिल संस्कृतिको प्रभाव’ विषयक उनको प्रवचन सुन्ने मौका पाएँ ।

पछि आफैं मैथिल क्षेत्र पुगेपछि मलाई उनको ज्ञान–गहिराइको छनक मिल्यो । ज्ञानको अभावमा कतिपय पुरातत्व क्षेत्रमा संलग्नहरूबाटै गलत व्याख्या हुने गरेको पाइन्छ । तर, मिश्र जे बोल्थे, आधिकारिक बोल्थे ।

शिक्षा प्रचारका क्रममा भारतको दरभङ्गाबाट वीरगञ्ज आएका थिए– जीवनेश्वर मिश्र । यहाँ उनले नेपाली विद्यार्थीलाई निःशुल्क ट्यूसन पढाए । तारानन्दको जन्म वीरगञ्जको बिर्ताबजारमै १९९६ सालमा भयो ।

कोलम्बो प्लान अन्तर्गत पटनाबाट ‘प्राचीन इतिहास’ विषयमा स्नातकोत्तर तथा पुरातङ्खवमा पोस्ट ग्राजुएट डिप्लोमा गरेका मिश्र १६ भदौ २०२१ मा पुरातत्व विभाग प्रवेश गरेका थिए । रोचक चाहिं के भने, २००९ सालमै स्थापित भएर पनि विभागले उनीभन्दा अघिसम्म प्रशिक्षित पुरातत्वविद् पाएकै थिएन ।

विभागमा रहँदा मिश्रले काठमाडौंको हाँडीगाउँ र धुम्बाराही लगायत विभिन्न ठाउँको उत्खनन् तथा अध्ययन गरे । हाँडीगाउँ उत्खनन्का क्रममा प्राप्त लिच्छविकालीन मूर्ति र अभिलेखबाट विशालनगर दशौं शताब्दीसम्म ‘राजधानी’ भएको प्रमाणित भएको उनको दाबी थियो ।

नक्सालस्थित हालको दूरसञ्चार भवनमुनि लिच्छवि राजा मानदेव निर्मित मानगृह दरबारको पर्खाल रहेको अवशेष भेटिएको पनि उनी बताउँथे । तर, यसबारे थप अनुसन्धान हुन सकेन । बरु त्यही अवशेषमाथि भवन ठड्याइयो ।

पुरातत्व विभागको जिम्मेवारी रमेशजङ्ग थापाको काँधमा आएको केही समयपछि २०२३ सालतिर कपिलवस्तुको तिलौराकोटको उत्खनन् गरियो । त्यसको दुई वर्षअघि मात्र भारतीय पुरातत्वविद् देवला मित्राले अपूर्ण अध्ययन गरी यो क्षेत्र प्राचीन कपिलवस्तु हुन नसक्ने निष्कर्ष निकालेकी थिइन्, जसबाट ठूलो विवाद निम्तिएको थियो ।

२०२३ सालको अन्त्यतिर मिश्रकै नेतृत्वमा नेपाली पुरातत्वविद्को टोलीले तिलौराकोटको थप उत्खनन् अनुसन्धान गर्‍यो । त्यस क्रममा कालो रङले चित्रण गरेको खैरो भाँडा (पेन्टेट ग्रेवर) प्राप्त भयो, जुन करीब इसापूर्व ७०० वर्षअघिको थियो ।

मिश्र संलग्न टोलीले उत्खनन्का क्रममा तिलौराकोटको पूर्वी र पश्चिमी द्वार पनि पहिचान गर्‍यो । मिश्र टोलीको यही प्रतिवेदनका आधारमा प्राचीन कपिलवस्तु नेपालमा नै रहेको तथ्य उजिल्याउन नेपाललाई ठूलो जोडबल मिल्यो । यसको श्रेय स्वाभाविक रूपमा मिश्रलाई जान्छ । अहिले बेलायतको डुर्हाम विश्वविद्यालय र पुरातत्व विभागले संयुक्त रूपमा कपिलवस्तु क्षेत्रमा थप अनुसन्धान गरिरहेको छ । देवला मित्राले अपुरो छाडेकै ‘ट्रेन्च’ लाई पुनः खन्ने कार्य भइरहेको छ ।

जीवनको उत्तरार्द्धसम्म पनि मिश्र पुरातात्विक उत्खनन्कै कर्ममा सक्रिय थिए । १२ वैशाख २०७२ को भूकम्पले ध्वस्त पारेको मत्स्येन्द्रनाथ मन्दिरको उत्खनन्मा उनी पनि सहभागी थिए । तर, मन्दिर उत्खनन्मा इन्जिनियरले कुरा नबुझेर गरेको गल्तीबाट ठूलो नोक्सानी भएको उनको गुनासो थियो । उनको स्वभाव भनौं वा कमजोरी, कुनै पनि कुरामा दृढतापूर्वक एकोहोरो अडान भने लिंदैनथे, सहज भइदिन्थे ।

मिश्रको लेखनीमा प्रामाणिकतासँगै परिष्कृत भाषा–शैली पनि पाइन्छ । उनका द लोकेशन अफ कपिलवस्तु एण्ड आर्कियोलोजिकल एस्काभेसन (१९७८), सर्वे अफ आइकोनोग्राफी अफ काठमाडौं भ्याली (१९८८), बुद्धिष्ट कलेक्सन अफ नेशनल म्यूजियम (१९९८) पुस्तकहरू यसका उदाहरण हुन् । यसका साथै उनले तेस्रो शताब्दीतिरै नेपाल आएका तिब्बती बौद्ध भिक्षु धर्मस्वामीको जीवनीको नेपाली अनुवाद र द कन्जरभेसन एन्ड हेरिटेल प्लानिङ अफ बौद्धनाथ स्तूप (२०५४) को सम्पादन पनि गरे ।

केही वर्षअघि धर्मादय सभाले लुम्बिनीको पुरातत्वसँग सम्बन्धित व्यक्तिहरूको एक भेला आयोजना गर्‍यो । मिश्र समेत उपस्थित यो भेलाले बुद्ध जन्मस्थलबारे बरोबर तरङ्गित भइरहने भ्रम निवारण गर्न लुम्बिनी र कपिलवस्तुबारे यथार्थ जानकारी दिने लेख विभिन्न भाषामा तयार पार्ने र यसको जिम्मा यो पंक्तिकारलाई दिने निर्णय गर्‍यो । तर, धर्मोदय सभाले त्यसपछि भने यो कामप्रति चासो देखाएन ।

कुनै पनि सभा, समारोहमा जब तारानन्द मिश्र बोल्न थाल्थे, कुरा उत्ति नै लम्बिंदै जान्थ्यो । आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्न उनी लालायित देखिन्थे । यसका लागि मिश्रलाई मात्र बोल्न दिने र बृहत् अन्तरसंवाद गर्ने एउटा कार्यक्रम आयोजना गर्नेबारे पंक्तिकारसँग छलफल पनि भएको थियो ।

उनको विशद ज्ञान र अनुभवलाई ‘टेप रेकर्ड’ मार्फत संकलन गर्ने पनि पंक्तिकारको योजना थियो । यसमा मिश्र पनि सहमत थिए । तर, ‘एकपटक भारत जानुपर्ने काम छ, फर्केर भेटौंला’ भनेर छुटेका मिश्रको १९ पुसमा निधनको दुःखद खबर सुन्नुपर्‍यो । विद्वान् पुरातङ्खवविद्प्रति हार्दिक श्रद्धाञ्जलि !

 

प्रतिकृया दिनुहोस