रिपोर्ट आइतबार, पुस २७, २०७६

साहुकारको राज: हजाराैं घरबार उठिबास

लक्ष्मी बस्नेत

साहुकारको राज:  हजाराैं घरबार उठिबास

सर्लाही, मूर्तियाकी शान्तिदेवी कुशवाह दम्पतीले आफूसँग भएको जम्मा दुई कट्ठा जग्गा बन्धकी राखेर २०५५ सालमा स्थानीय साहुकार रामबाबु राय यादवबाट रु.३५ हजार ऋण लिए । साहुकारले एक वर्ष नपुग्दै तिर्नुपर्ने रकम रु.१ लाख ५० हजार पुगेको बताए ।

खोजखाज गरेर ऋण तिरेपछि जग्गा फिर्ता माग्दा शान्तिदेवीका श्रीमान् एकाएक गायब भए । त्यसलगत्तै साहु आएर यो घर समेत श्रीमान्ले पास गरिसकेको भन्दै दुई साना छोरा सहित आफूलाई बलजफ्ती निकालेको उनी सुनाउँछिन् । “घर र जग्गा जबर्जस्ती पास गर्न लगाएर श्रीमान्लाई गायब पारे, बरहथवामा कोठा लिएर बस्दै आएकी छु”, उनी भन्छिन् ।

साहुकारबाट ऋण लिंदा चर्को मिटर ब्याजबाट ठगिएका शान्तिदेवी सहितका पीडितहरू २२ पुसमा न्यायका लागि सर्लाहीबाट काठमाडौं आएका छन् । उनीहरूले प्रहरी महानिरीक्षक, गृहसचिव, महान्यायाधिवक्तादेखि राजनीतिक दलका शीर्ष नेताहरूसम्मलाई भेटेर आफ्नो पीडा सुनाए । सर्लाहीका साहुकार रामबाबु राय, सञ्जय रौनियार र नागेन्द्र रायको शोषणमा परेकाहरूले वर्षौंसम्म ऋण तिर्दातिर्दै उठिबास लागेको सुनाउँदै गर्दा कतिपय डाँको छोडेर रोए ।

काठमाडौंमा शैलून चलाउने सर्लाहीको वाग्मती नगरपालिकाका कर्पुरी ठाकुर लाखको ऋण करोडभन्दा बढी तिरिसक्दा पनि साहुबाट छुटकारा नपाएको पीडा सुनाउँछन् । उनले तीन दाजुभाइ मिलेर जग्गा किन्न २०७० सालमा साहुकार रामबाबुसँग रु.४० लाख लिएका थिए । उनीसँग २०७५ सालसम्ममा रु.१ करोड १० लाख ५० हजार बुझाइसकेको हिसाब नै छ ।

तराईका जिल्लामा मिटर ब्याजमा ऋण लगाउने साहुकारको शोषणबाट हजारौंको घरबार उठिबास लागेको छ।

“हामीले ५ लाख, १० लाख गरेर रकम बुझाउँथ्यौं, तर लाख तिर्दा साहुले हजारमा हिसाब राख्दो रहेछ”, उनी भन्छन् । साहुले भनेजति रकम तिरिसक्दा पनि ऋण लिंदा पास गरेको एक बिघा जग्गा फिर्ता नपाएको उनको भनाइ छ । भन्छन्, “मसँग अझै १२ लाखको तमसुक गराएको छ, त्यो पैसा फिर्ता नदिए मुद्दा हाल्ने धम्की आएको छ ।” सम्पत्तिकै तनावका कारण गएको भदौमा ५५ वर्षीय बुवा बितेको उनी बताउँछन् ।

साहुकारहरूले गाउँका सोझसीधा व्यक्तिलाई चर्को ब्याजदरमा ऋण दिने, ऋण दिएको भन्दा बढी कागज गराई हजारको लाख र लाखको करोड रुपैयाँ असुल्ने, भनेजति रकम नबुझए अनावश्यक दुःख दिने धन्दा चलाउँदै आएका छन् ।

पीडितको पक्षमा सहजीकरण गरिरहेका सर्लाहीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इञ्चार्ज डाचाराज वाग्ले सर्लाहीका सर्वसाधारणको भोगाइ तराईका जिल्लाहरूको प्रतिनिधि घटना भएको बताउँछन् । “तराईमा यस्तो अभ्यास वर्षौंदेखि चलन जस्तै रहेको र साहुकारहरूको डर–धम्कीका कारण पीडितहरू यस विरुद्ध खुलेर बोल्न नसकेका हुन्”, उनी भन्छन् । (हे.बक्स)

पीडितहरूले काठमाडौं आएर गुनासो गरेपछि २३ पुसमा साहुकारमध्येका रामबाबु पक्राउ परेका छन् । अर्का साहुकार सञ्जय भने भारतको सीतामढी पुगेको र पक्राउ गर्ने व्यवस्था मिलाइरहेको प्रहरीले जनाएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) का केन्द्रीय सदस्य समेत रहेका रामबाबु पक्राउ परेपछि उनलाई छुटाउन सर्लाहीका पार्टी नेताहरूले प्रहरी–प्रशासनलाई दबाब दिएका छन् ।

यसअघि गाउँलेलाई चर्को ब्याजमा ऋण दिएर किर्ते कागज बनाई उठिबास लगाउने सर्लाहीकै श्याम परदेशी भनिने श्यामकृष्ण साह गएको १५ भदौमा पक्राउ परेका थिए । १२ भदौमा काठमाडौं आएका स्थानीय पीडितहरूको एक समूहले परदेशीले हदैसम्मको ठगी गरेको भन्दै न्यायका लागि गुहार लगाएपछि उनलाई पक्राउ गरिएको थियो । हाल उनी पुर्पक्षका लागि थुनामा छन् ।

जायजेथा हडप्न मान्छे गायब !

साहुकारहरूले ऋण दिंदा ३६ प्रतिशतसम्म ब्याज लिने, ऋण दिएको रकमभन्दा ५/६ गुणा बढीको कपाली तमसुक गराउने र भएका घरघडेरी राजीनामा पास गर्न लगाउने गरेको पीडितहरू बताउँछन् । कतिसम्म भने, साहुकारहरूले ऋण लिंदा कमिसन लिनेदेखि घरजग्गा पास/फिर्ता गर्दाको दस्तुर समेत ऋणीबाटै तिराउँछन् ।

लिएको ऋण भन्दा कैयौं गुणा रकम ऋणीहरूबाट त असुलिन्छ नै, सम्पूर्ण जायजेथा हत्याउन साहुकारहरू विभिन्न आपराधिक हर्कत गर्न समेत पछि पर्दैनन् । सर्लाहीको हरिपुर नगरपालिका–१ का रामविहारी महतोले २०६८ सालमा साहुकार रामबाबुसँग रु.३४ लाख ऋण लिएका थिए ।

काठमाडौं आएका सर्लाहीका पीडितहरु प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग समस्या राख्दै ।

त्यसवेला जग्गाको कारोबार गर्ने महतोबाट रामबाबुले जग्गा लिएर श्रीमती उर्मिलाको नाममा पास गरेका थिए । “त्यति हुँदा पनि राम्रो ठाउँको जग्गा नदिएको भन्दै मलाई अपहरण गरेर एक सातासम्म जङ्गलमा राखिएको थियो”, उनी सुनाउँछन् । २०७२ सालसम्ममा रु.९४ लाख तिर्दा आफ्नो सर्वस्व सकिएर सुकुम्बासी बनेको उनी बताउँछन् ।

ऋणको पासोमा परेर घरबार गुम्ने मात्र होइन, श्रीमान् बेपत्ता हुँदाको शोक सहँदै आएकी मूर्तियाकी शान्तिदेवी रामबाबुबाट ऋण लिएका अरू परिवारका सदस्य पनि बेपत्ता पारिएको बताउँछिन् । पीडितहरूका अनुसार, ऋणीको सम्पूर्ण जायजेथा उठाउन बेपत्ता बनाउने गरिएको हो । अपहरण र वर्षौं बेपत्ता पार्ने गरिए पनि प्रमाण नहुँदा र डरका कारण पीडितहरू उजुरी समेत दिन सक्दैनन् ।

सर्लाही सिसौटियाका नागेन्द्र रायबाट २०६५ सालमा रु.१२ हजार ऋण लिएकी लीलादेवी पण्डितका पनि दुई छोरा बेपत्ता भए । रु.७२ हजार तिरिसक्दा पनि अझै रु.५ लाख तिर्नुपर्छ भनेर डरधम्की दिइरहेको उनको गुनासो छ । ऋणकै पीरले श्रीमान् बितेको र दुई छोरा एकैचोटि बेपत्ता हुँदा एक्लो जीवन बाँचिरहेको उनी बताउँछिन् । उनका अनुसार, रु.३ लाख तिरिसके पनि घरको बन्धकी फुकुवा भएको छैन । उनी त्यही घरमा त्रासका बीच बसिरहेकी छिन् । आँसु झार्दै भनिन्, “जाने ठाउँ कतै छैन, पूरै रकम चुक्ता नगरे बलात्कार गरेर फाल्दिन्छु भनेका छन् ।”

ब्याङ्किङ सीमाले ऋणको पासोमा

साहुकारबाट चरम शोषण र ठगीमा परिने जान्दाजान्दै गाउँघरका विपन्नहरू किन उनीहरूसँग नै ऋण लिन्छन् ? यसमा धेरैको जवाफ हुन्छ– ‘आफूलाई चाहिएको जतिसुकै ऋण साहुबाट पाइन्छ ।’ अझ, मागेको रकम साहुकारले घरमै ल्याएर पनि दिन्छन् । ब्याङ्किङ प्रणालीबाट ऋण लिन विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएका कारण ग्रामीण बासिन्दामा त्यसतर्फ अनाकर्षण देखिएको हुनसक्ने जानकारहरू बताउँछन् । ब्याङ्क तथा वित्तीय संस्थामा कारोबार गर्ने १६ ग्राहकमध्ये एक जनाले मात्र ऋण लिने गरेको नेपाल राष्ट्र ब्याङ्ककै अध्ययनले देखाएको छ । 

राष्ट्र ब्याङ्कका अनुसार, ६१ प्रतिशत नागरिक ब्याङ्किङ पहुँचमा पुगेका छन् भने प्रदेश–२ का एउटा बाहेक सबै स्थानीय तहमा ब्याङ्क पुगेको छ । तर, राष्ट्रिय सभाका सदस्य रामप्रित पासवान गरीबीका कारण ऋण लिएरै छाक टार्नुपर्ने बाध्यता भएका विपन्नहरूले ब्याङ्कमा धितो राखेर ऋण लिने हैसियत नभएको बताउँछन् ।

वर्षौंदेखिको शोषण भोगेका पीडितहरू काठमाडौं आएर अन्यायबारे बोलेपछि सरकारले तराईका जिल्लाहरूमा साहुकारमाथि कठोर कदम चाल्ने तयारी गरेको छ ।

प्रदेश–२ सरकारले २३ पुसमा सार्वजनिक गरेको पहिलो पञ्चवर्षीय योजनाको आधारपत्रका अनुसार, प्रदेशको गरीबी २७.७ प्रतिशत छ । ब्याङ्कहरू पनि धनीमानीकै पकडमा रहेको बताउँदै पासवान भन्छन्, “ब्याङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर ३६ प्रतिशत ब्याजमा लगाउने साहु खोज्नुपर्छ, योसँगै धनाढ्यलाई मात्र ऋण दिने ब्याङ्कहरूबारे पनि राष्ट्र ब्याङ्कले छानबिन गर्नुपर्छ ।” उनी काठमाडौंमा पीडितले भनेका पीडक मात्र नसमाती ऋणको दुश्चक्रमा परेका पीडितहरू घरघरै खोजेर साहुकारहरू पत्ता लगाउन स्थानीय, प्रदेश र संघीय तीनवटै सरकार लाग्नुपर्नेमा जोड दिन्छन् ।

राष्ट्र ब्याङ्कका प्रवक्ता एवम् अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट भने ग्रामीण भेगका बासिन्दाले साहु–महाजनसँग ऋण लिनुमा ब्याङ्कको पहुँच नभएर वा वित्तीय साक्षरताको अभाव कारण नभएको तर्क गर्छन् । “व्यक्तिसँग ऋण लिने चलनकै रूपमा रहेको देखिन्छ”, उनी भन्छन् ।

वर्षौंदेखिको शोषण भोगेका पीडितहरू काठमाडौं आएर अन्यायबारे बोलेपछि सरकारले तराईका जिल्लाहरूमा साहुकारमाथि कठोर कदम चाल्ने तयारी गरेको छ । गृहमन्त्रीका सुरक्षा सल्लाहकार सूर्य सुवेदी पथिकका अनुसार उजुरी आएका घटनामा तत्काल छानबिन गर्न र तराईका सबै जिल्लामा मिटर ब्याजमा लगाउने साहु र पीडित खोज्न निर्देशन दिइसकेको छ । उनी भन्छन्, “यो घटनाले गृह मन्त्रालय, प्रहरी प्रमुखदेखि राजनीतिक नेतृत्वसम्मलाई चिन्तित बनायो, तराईका सबै जिल्लामा अनुसन्धान हुन्छ ।”

...

‘राज्यले न्यायको अनुभूति गराउनुपर्छ’

डाचाराज वाग्ले, नेकपा इञ्चार्ज, सर्लाही

तराईका सबैजसो जिल्लामा मिटर ब्याजबाट विपन्नलाई उठिबास लगाउने साहु–महाजनको अत्याचार छ ।

यो समस्याबारे हामीले केन्द्रीय नेतृत्वसँगको भेटघाट र बैठकहरूमा भन्दै आयौं, तर यस्तो पनि कतै हुन्छ र भनेर गम्भीरतापूर्वक हेरिएन । त्यसैले हामीले पीडितकै मुखबाट कुरा सुनाउने पहल गरेका हौं ।

सर्लाहीको समस्यालाई प्रतिनिधि घटना मानेर अब तराईको यो कुप्रथा हटाउने अभियानमा हामी निरन्तर लाग्छौं । यस क्रममा प्रदेश–२ सरकारसँग पनि छलफल गर्छौं ।

ऋण लिंदा साहुले आफूखुशी तमसुक बनाउने र जायजेथा सबै सुम्पिनुपर्ने पुरानै चलन हो भन्ने बुझाइका कारण अधिकांश पीडितहरू यस विरुद्ध बोल्नै सकिरहेका छैनन् ।

अशिक्षित मात्र होइन, पढेलेखेकाहरू पनि ऋणमा ठगिएका छन् । ऋणीहरूको परिवार बेपत्ता पार्ने, छोरी र महिलाहरूलाई यौन हिंसा गर्ने कुरा त अझै खुल्नै बाँकी छ ।

राज्यले पीडकलाई पक्राउ गर्ने मात्र होइन, पीडितको घरजग्गा र बढी तिरेको रकम फिर्ता गराएर न्यायको अनुभूति गराउनुपर्छ ।

प्रतिकृया दिनुहोस