घर वा कोठा सुन्दर बनाउन फूलको महत्वपूर्ण भूमिका हुन्छ । आफ्नो रुचि अनुसार फूल फुल्ने र नफुल्ने बिरुवा रोपेर घर तथा कोठा आकर्षक बनाउन सकिन्छ ।
पछिल्लो समय मौसमी फूलहरुले बगैंचा सजाउने क्रम बढ्दो छ । मौसमी फूलहरूले बगैंचाको सुन्दरतामा रौनक थप्ने मात्र होइन, मानिसलाई मौसम परिवर्तनको आभास पनि गराउँछ ।
मानिसहरूको सोचमा समय अनुसारको परिवर्तन आइरहेको ललितपुरको बङ्गलामुखी नर्सरीका सञ्चालक सागरलाल मुल्मी बताउँछन् । उनी भन्छन्, “आजभोलि घर भएकाले मात्र होइन कोठामा बस्नेले पनि उपलब्ध ठाउँ अनुसार कोठा र कौसीमा फूलहरू रोपेर सुन्दरता थपिरहेका छन् ।” मुल्मीका अनुसार मानिसहरूमा सौन्दर्यचेत बढिरहेकाले फूल रोप्ने प्रवृत्ति पनि फेरिदिएको छ ।
डेरामा बस्नेहरूले घर सरिरहनुपर्ने भएका कारण फूल रोप्ने रहर मारेर बसेका थिए । नर्सरी र विभिन्न प्रजातिका बिरुवाको उपलब्धतासँगै त्यो दबिएको सौन्दर्यचेत बगैंचामा प्रकट हुन थालेको छ । कोठा सर्दा गमला फुट्ने, फूल भाँचिने भएकाले त्यो व्यर्थको रहर ठान्थे, ललितपुर सानेपा बस्ने सागरराज थापा ।
“कोठा सर्ने क्रममा फूलको बेहाल हुन्छ भनेर रोपेको थिइनँ” उनी भन्छन्, “सर्नै परे ध्यानपूर्वक सार्छु भन्ने सोचले आजभोलि साना खालका फूलहरू रोप्न थालेको छु ।”
अहिले जाडो मौसममा हुने फूलहरू क्यालेन्डोला, पेन्जी, पिटुनिया, भ्यागुते, डेन्डस, गजनिया, क्रिसमस क्याक्टस, फ्लक्स, लालुपाते, बगमबेली आदिको राम्रो माग रहेको बङ्गलामुखी नर्सरीका मुल्मी बताउँछन् । यी फूलहरू मंसीरदेखि फागुनसम्ममा फुल्छन् ।
ललितपुर, जावलाखेलस्थित हाम्रो फ्लावर नर्सरीका सञ्चालक सोनाम योञ्जनका अनुसार पछिल्लो समय धेरै मानिसको रोजाइमा ‘इन्डोर प्लान्ट’ (कोठाभित्र सजाइने बिरुवाहरू) पर्न थालेका छन् । उनी भन्छन्, “फूल फुल्ने बिरुवाहरु मौसम अनुसारका भए पनि यी नफुल्ने बिरुवाहरू चाहिं बाहै्र महीना लगाउन सकिन्छ ।”
१४ वर्षदेखि गार्डेनरको काम गर्दै आएका भुवन थापा अहिले फूल रोप्ने ट्रेन्डमा धेरै परिवर्तन आएको बताउँछन् । उनका अनुसार अहिले बारी, बगैंचादेखि कौसी, कोठा हुँदै रुफटप गार्डेन लोकप्रिय हुँदै गएको छ । उनी भन्छन्, “गार्डेनरको सहयोग लिएर सुन्दर फूलबारी बनाउनेको संख्या बढेकाले धेरै गार्डेनरले रोजगारी पाएका छन् ।”
फूल नफुल्ने बिरुवाहरू रेबिस्पाम, रेक्सना, एरिकापाम, चामाडोरा, फिस्टेलपाम, टाइगरपाम लगायत रोपेर घर सुन्दर बनाउन सकिन्छ । यी बिरुवाहरू हावा प्रशोधन (एअर प्युरिफायर) को रुपमा पनि धेरैले रोप्ने गरेको गार्डेनर थापाको भनाइ छ । उनका अनुसार अहिले पानी धेरै लगाउनु नपर्ने (सकुलेन्ट) प्रजातिका बिरुवाहरू रोप्ने प्रचलन बढेको छ ।
आजभोलि फूलका बिरुवा भन्दा पनि नर्सरीमै फुलेका फूलका बोट किनेर घर, बरण्डा र कोठामा सुन्दरता थप्न चाहनेको संख्या बढेको बङ्गलामुखी नर्सरी सञ्चालक मुल्मी बताउँछन् ।
उनी भन्छन्, “बिरुवा लगेर स्याहार गर्ने समयको अभाव भएका कारण यस्तो गरेको हुनसक्छ ।” नर्सरी संचालकहरुका अनुसार, नेपालमा रोपिने धेरैजसो फूलहरू भारत, थाइल्यान्ड, नेदरल्यान्ड्स लगायतका देशहरूबाट आयात हुन्छ । फुल्ने बिरुवाको मूल्य प्रतिबोट रु.५० देखि र नफुल्ने फूलको मूल्य रु.२५० बाट शुरु हुन्छ । त्यसैगरी पोलिब्याग र गमलाको फूलको मूल्य पनि फरक हुन्छ ।