ब्लग शनिबार, पुस २६, २०७६

‘छपाक' : भारतमा महिलाविरुद्ध, नेपालमा नागरिक अधिकारविरुद्ध

शेखर खरेल

‘छपाक' : भारतमा महिलाविरुद्ध, नेपालमा नागरिक अधिकारविरुद्ध

२५ पुसमा रिलिज भएको हिन्दी चलचित्र ‘छपाक’ की अभिनेत्री दीपिका पादुकोण ‘रिल’ मा मात्र नभएर ‘रियल’ मा पनि नायिका अवतारमा उत्रिएकी छिन् ।

दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) को छात्रावासमा पसेर नकाबधारी समूहले विद्यार्थी युनियनकी सभापति आयसी घोष लगायत दर्जनौंमाथि २० पुस साँझ् सांघातिक हमला गरे । त्यसको दुई दिनपछि जेएनयू परिसरमा शिक्षक र विद्यार्थीले गरेको विरोधसभामा दीपिकाले ऐक्यबद्धता जनाइन् ।

दीपिकाको अप्रत्यासित उपस्थितिबाट अहिले उनको पक्ष र विपक्षमा जनमत बाँडिएको छ । खुला र बहुल समाज पक्षधरले दीपिकाको प्रशंसा गरेका छन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र हिन्दू राष्ट्रवादी जमात उनीप्रति कठोर देखिएका छन् । जसका कारण चलचित्र ‘छपाक’ भाजपा समर्थकको कोपभाजनमा परेको छ ।

नेपाल र भारतका सत्तााधारीहरू एकपछि अर्को विधेयक ल्याएर बहुलवाद र नागरिक हकमाथि ‘तेजाब’ खन्याउन उद्यत भइरहँदा ‘पब्लिक फिगर’ को हैसियत बनाएका नागरिकलाई मौन बस्ने सुविधा हुँदैन।

मेघना गुल्जार निर्देशित ‘छपाक’ मा दीपिकाले मालती नामकी तेजाबपीडित युवतीको भूमिका निर्वाह गरेकी छन् । मालतीको चरित्र लक्ष्मी अग्रवालको कथामा आधारित छ, जसलाई १५ वर्षको उमेरमा तेजाब हमला गरिएको थियो । उनी अहिले तेजाब पीडित महिलाको अधिकारका लागि सक्रिय छिन् । उनकै प्रयासबाट सर्वोच्च अदालतले भारतमा तेजाब बिक्रीमाथि नियमनको आदेश गरेको छ । तेजाब पीडकमाथि पनि कठोर कानून ल्याइएको छ ।

हिन्दीमा ‘छपाक’ को अर्थ छ्याप्नु हो । आउने दिनमा दीपिकाको करिअरमाथि अनुदारवादीले ‘तेजाब’ छ्याप्ने प्रष्ट छ । सिने करिअरको उत्कर्षमा रहेकी उनका निम्ति हिंसापीडित विद्यार्थीमाथि ऐक्यबद्धता जनाउनु कम जोखिमपूर्ण होइन ।

बलिउडका महानायक अमिताभ बच्चन, सुपरस्टार खानत्रय अमिर, सलमान र शाहरुख अनि वर्ष (सन् २०१९) कै सबैभन्दा बढी आम्दानी भिœयाउने अक्षयकुमार लगायतले मौनता साधिरहेको वेला दीपिकाको यो आँट प्रशंसनीय छ । उनले जेएनयूमा भएको घटनामा मात्र नभएर अरू पनि सामाजिक मुद्दाहरूमा आफ्नो मौनता भङ्ग गर्दै आएकी छिन् ।

सन् २०१४ मा करिअरको ग्राफ उँभो लाग्दै गरेको बखत दीपिकाले अनायासै आफूभित्र खोक्रोपना महसूस गरिन् । चलचित्रको सफलता र प्रसिद्धिका बाबजूद निराशा र चिन्ताको गर्तमा भासिंदै गरेको अनुभूति गरेपछि मनोचिकित्सकको सहारामा पुगिन् । उनलाई ‘डिप्रेसन’ भएको पुष्टि भयो । उनले आफ्नो ‘मनोरोग’ लाई निजी मामिला ठान्दै गोप्य राखिनन्, बरु मानसिक स्वास्थ्यबारे जनचेतनामा उत्रिइन् ।

‘तेजाब’ को नेपाल बाछिटा
भारतमा यसै वर्ष प्रचण्ड बहुमतका साथ दोस्रो कार्यकालका लागि निर्वाचित नरेन्द्र मोदी र नेपालमा दोस्रो पटक नै सत्तामा पुगेका केपी शर्मा ओलीबीच भाष्यमा भिन्नता भए पनि शासकीय शैलीमा समानता देखिन्छ । वंशवाद, क्रान्ति र राज्य विप्लव (कुदे’ता) मात्र नभई निर्वाचन मार्फत पनि अधिनायकवाद अभ्यास गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । संसद्मा सत्तापक्ष प्रचण्ड बहुमतमा हुँदा प्रतिपक्षी दल प्रतिरोध गर्न सक्ने अवस्थामा छैनन् ।

त्यसैले दुवै देशका सत्ताधारी एकपछि अर्को विधेयक ल्याएर बहुलवाद र नागरिक हकमाथि ‘तेजाब’ खन्याउन उद्यत छन् । भारतमा हालै मात्र नागरिक ऐन संशोधन (सीएए) मार्फत बहुलता र संविधानप्रदत्त धर्मनिरप्रेक्षतामाथि ‘तेजाब’ खन्याइए जस्तै नेपालमा पनि ओली सरकार स्थापनाको दुई वर्षयता आधा दर्जन विधेयक मार्फत नागरिकको मौलिक एवं नैसर्गिक अधिकारमाथि ‘तेजाब’ खन्याउने दुष्प्रयास भइरहेको छ ।

उदाहरणका लागि, राष्ट्रिय सभामा दर्ता गरिएको ‘नेपाल विशेष सेवा विधेयक’ मा नागरिकमाथि जासूसी र ‘फोन ट्यापिङ’ गर्न सकिने प्रावधान, सूचनाप्रविधि विधेयकमा सामाजिक सञ्जाल मार्फत गरिने आलोचना समेत फौजदारी अपराधसरह मानिने र एउटा सामान्य कसुर निम्ति जन्मकैद (१५ वर्ष) बराबरको अपराध करार हुने, मिडिया काउन्सिल विधेयकमा सरकारद्वारा गठित मिडिया काउन्सिलले पत्रकारलाई रु.१० लाखसम्म जरिवाना तोक्न सक्ने प्रावधानबाट आमनागरिक, बुद्धिजीवी र स्वतन्त्र मिडियाको ‘लिवरल स्पेस’ खुम्च्याउने प्रयत्न भइरहेको छ ।

आफ्ना नैसर्गिक र मौलिक अधिकार रक्षाका लागि सबै तह र तप्काका नागरिक गोलबद्ध हुनैपर्छ । दीपिका झै‌ं पर्दाका नायक–नायिका परिआउँदाका नायक बन्नु जरूरी छ ।

हामीकहाँ कानूनको शासन (रुल अफ ल) नभएर कानून समातेर शासन (रुल बाइ ल) गर्ने सरकारको स्वेच्छाचारी प्रयत्नको आलोचनात्मक चेत भएका ‘पब्लिक इन्टेलेक्चुअल’ र ‘पब्लिक फिगर’ बाट जति प्रतिरोध हुनुपर्ने हो, भइरहेको छैन । फगत अखबारका पानामा आफ्नो असन्तुष्टि प्रकट गर्दै वा गोष्ठी र अन्तरक्रियामा असहमति जनाउँदैमा बहुलता र उदार ‘स्पेस’ मास्ने यस्ता विधेयक ‘तुहाउन’ सम्भव छैन ।

आफ्ना नैसर्गिक र मौलिक अधिकार रक्षाका लागि सबै तह र तप्काका नागरिक गोलबद्ध हुनैपर्छ । दीपिका झै‌ं पर्दाका नायक–नायिका परिआउँदाका नायक बन्नु जरूरी छ ।

देशका लेखन, प्राध्यापन, कला, साहित्य आदिका ‘पब्लिक फिगर’ अब ‘पब्लिक स्पेस’ मा ऐक्यबद्ध हुन जरूरी भइसकेको छ । किनकि, कुनै पनि हैसियत बनाएका नागरिकलाई मौन बस्ने सुविधा हुँदैन ।

प्रतिकृया दिनुहोस