खेलकुद शुक्रबार, पुस २५, २०७६

करातेका ‘किङ’

निरञ्जन राजवंशी

करातेका ‘किङ’
तस्वीर: निरञ्जन राजवंशी

खेलजीवनबाटै संन्यासको सँघारमा रहेका मण्डेकाजी श्रेष्ठ (३५) ले १३औं सागमा दोहोरो स्वर्ण पदक जितेर नेपाली करातेमा इतिहास मात्र रचेनन्, परिचय पनि बदले।

१३औं दक्षिण एशियाली खेलकुद (साग) को दोहोरो स्वर्ण विजेता कराते खेलाडी मण्डेकाजी श्रेष्ठ अर्को साग खेल्न पाउनेमा आफैं ढुक्क छैनन् । ३५ वर्ष उमेर पार भइसकेका उनी खेलाडी जीवनबाट संन्यासको सँघारमा छन् । भविष्यको योजनाबारे उनी भन्छन्, “अहिले सोचिसकेको छैन । केही समय स्वर्ण जित्दाको आनन्द उठाऊँ, घरपरिवारमा बसौं, अनि सोचौंला ।”

मण्डेकाजी अहिले स्वर्ण सम्मान थाप्न व्यस्त छन् । भक्तपुरको नयाँठिमीस्थित शंखधर चोकका उनलाई मध्यपुर ठिमी नगरपालिकाले नगर परिक्रमा सहित रु.५ लाख ५० हजार दिएर सम्मान गर्‍यो । त्यति मात्र नभई उनले पाएका पदक राख्न नगरपालिकाले घरमा रु.५ लाख बराबरको काठका सामग्री र सजावट समेत गरिदिएको छ । स्थानीय माउन्ट सिनाई बोर्डिङ स्कूलले उनकी ठूली छोरीलाई कक्षा १० सम्म निःशुल्क पढाइदिने भएको छ ।

१३औं सागपछि मण्डेकाजीको परिचय फेरिएको छ । उनी १३औं सागमा स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी मात्र होइनन् करातेबाट दोहोरो स्वर्ण जित्ने अहिलेसम्मकै एकमात्र खेलाडी हुन् । यो उपलब्धिसँगै उनी नेपाली कराते इतिहासको सबैभन्दा सफल खेलाडी बनेका छन् । 

यो सफलता पाउन उनले संघर्ष र धैर्यको लामो शृंखला पार गरेका छन् । सागमा स्वर्ण जित्न उनले ३५ वर्षको उमेरसम्म आफूलाई ‘फिट’ राखे । उनी भन्छन्, “मैले सागलाई यति धेरै वर्ष कुरें कि अन्तिममा साग मेरै घरमा आइपुग्यो ।”

१३ वर्षको प्रतिफल

मण्डेकाजीको सफलताको अगाडि अनेकन् अड्चन आए । सन् २००६ मा श्रीलंकाको कोलम्बोमा भएको १०औं सागमा उनले पहिलो पटक सहभागिताको प्रयास गरेका थिए । काताको प्रारम्भिक सूचीमा परेका उनी अन्तिम सूचीमा अटाउन सकेनन् । दुई वर्षमा हुनुपर्ने साग चार वर्षको पर्खाइपछि सन् २०१० मा बल्ल बाङ्लादेशको ढाकामा हुनेभयो । मण्डेकाजी फेरि राष्ट्रिय टीममा छानिए ।

यसपालि उनको सहभागिता पक्कापक्की जस्तो थियो । टोलीलाई बन्द प्रशिक्षणका लागि थाइल्याण्डको बैंकक्मा राखिएको थियो । उनी त्यतिवेला छाँगाबाट खसे जस्तै भए, जब बन्द प्रशिक्षणमा राखिएका १५ मध्ये उनी सहित पाँच खेलाडीलाई तौल समूह नै हटाएको भन्दै नेपाल फर्काइयो ।

उनी यसलाई खेल जीवनकै दुखद् क्षण मान्छन् । भन्छन्, “निकै गाह्रो भएको थियो, तर फेरि मन बुझाएँ र सोचें १२औं सागमा पक्कै खेल्छु र पदक जित्छु ।”

प्रत्येक दुई वर्षमा हुनुपर्ने सागको १२औं संस्करणको आयोजना गर्न भारतले पाँच वर्ष लगायो । सन् २०१६ मा १२औं साग गुवाहटी र सिलोङमा भयो, तर भारतीय करातेमा भएको विवादले यो खेल समावेश नै गरिएन । मण्डेकाजीका लागि त्यो निराशाजनक समाचार थियो । किनभने ३२ वर्ष पुगिसकेका उनको उमेर ढल्कँदै थियो ।

साग पर्खेर बसिरहँदा उनले त्यहीबीच बिहे गरे । स्वर्ण जित्दा उनकी जेठी छोरी ९ वर्षकी र कान्छी आठ महीनाकी छिन् । प्रहरी हवल्दार उनी अहिले बढुवाको सँघारमा छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सदस्य भएकाले खेलाडीको हकहितमा लड्ने नेताको पहिचान बनाएका छन् ।

१३औं सागसम्म शरीरलाई फिट राख्नु चुनौतीपूर्ण थियो । तर, यसपालि पनि उनी डगेनन् । “शायद खेल्न छोडिन्थ्यो पनि होला तर, अब त नेपालमा नै साग हुँदैथियो । आफ्नै घरमा खेल्ने सोचाइले नै रोमाञ्चित बनायो । अनि धैर्यवान् भएर खेलमा लागिरहें ।”

आफ्नो जोशलाई उनले तीन वर्षसम्म कायम राखे । सातदोबाटोस्थित कराते हलमा आफ्नो खेल जीवनको १३ वर्षे लामो पर्खाइलाई सफलतामा परिणत गर्ने दिन कुरिरहे । उनले एउटा होइन दुई वटा स्वर्ण जिते, व्यक्तिगत काता र टीम कातामा । उनी भन्छन्, “दुई वटा स्वर्ण जित्दा ब्याजसहित पाए जस्तो भयो ।”

धैर्य नै उनको सफलताको मुख्य कारण भएको प्रशिक्षक गंगाराम महर्जन बताउँछन् । आठौं सागका स्वर्णधारी महर्जन भन्छन्, “मण्डेकाजीले यति धेरै मिहिनेत गरे कि, करातेको गौरव बन्नु उनको अधिकार नै थियो ।”

साग पर्खेर बसिरहँदा उनले त्यहीबीच बिहे गरे । स्वर्ण जित्दा उनकी जेठी छोरी ९ वर्षकी र कान्छी आठ महीनाकी छिन् । प्रहरी हवल्दार उनी अहिले बढुवाको सँघारमा छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको सदस्य भएकाले खेलाडीको हकहितमा लड्ने नेताको पहिचान बनाएका छन् । उनी भन्छन्, “खेल जीवन सकिएपछिका खेलाडीका दुःख देखेको छु । त्यसैले खेलाडीको हकमा बोल्न, लड्न कहिल्यै पछि पर्दिनँ ।”

मण्डेकाजी भर्सेस पर्शुराम

मण्डेकाजीको खेल जीवन पर्शुराम बाँस्तोलाको प्रसङ्ग विना अपुरो हुन्छ । व्यक्तिगत कातामा यी दुई प्रतिद्वन्द्वीबीचको प्रतिस्पर्धा गज्जबकै रह्यो । सन् २०१४ देखि २०१९ सम्म दुईजना प्रमुख प्रतिस्पर्धामा धेरैपटक आमनेसामने भए । कुनैमा पर्शुरामले त कुनैमा मण्डेकाजीले बाजी मारे ।

बाँस्तोलाले सन् २०१४ र २०१८ गरी दुई एशियाली खेलको छनोटमा श्रेष्ठलाई परास्त गरे । सिङ्गापुरमा भएको एशिया प्यासिफिक गेम्सका लागि भने श्रेष्ठले बाजी मारे । तर, नेपाल कराते महासंघले समयमा खेलाडीको दर्ता नगरेका कारण प्रतिस्पर्धामा छानिएका २१ जना सिङ्गापुर पुग्नै पाएनन् ।

सातौं राष्ट्रिय प्रतियोगितामा फेरि बाँस्तोला अगाडि आए । १३औं सागको मुख्य विधा भने श्रेष्ठको नाममा रह्यो । उनले शुरुमा आठौं राष्ट्रिय र त्यसपछि साग छनोट दुवैमा बाँस्तोलालाई पराजित गरे ।

प्रतिकृया दिनुहोस