रिपोर्ट बुधबार, पुस २३, २०७६

सम्भव छ ‘साइकल शहर’

नुनुता राई

सम्भव छ ‘साइकल शहर’
ललितपुरको ज्वागल–पुल्चोक सडक । तस्वीर: बिक्रम राई

सार्वजनिक यातायात प्रभावकारी बनाउँदै निजी सवारीको चाप घटाउने हो भने मात्र ललितपुरको ‘साइकल शहर’ बन्ने योजना सफल हुनेछ।

१४ मंसीरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आफ्नो ३३ वर्ष पुरानो साइकल चढेर ‘साइकल सिटी कार्यक्रम’ को उद्घाटन गरे । कार्यक्रममा उनले काठमाडौं महानगरपालिका र गोदावरी नगरपालिकासँग साइकल मार्ग विस्तारबारे कुराकानी भइरहेको पनि बताए ।

साइकल शहर बनाउने घोषणासँगै महानगरले सडकमा लाइन तान्ने, साइकलको संकेत बनाउने, ट्राफिक चिह्न राख्ने र सवारी साधनलाई यसबारे जानकारी दिने कामलाई तीव्र बनाएको छ । “अहिले कुपन्डोलदेखि लगनखेलसम्म र मङ्गलबजार क्षेत्रमा काम गर्ने भनेर शुरुआत गरेका छौं”, महानगरपालिकाका शहरी शाखा प्रमुख रामरतन साह भन्छन् ।

उनका अनुसार, ज्वागलदेखि पुल्चोक बस स्टप सडकको बायाँ र नबिल ब्याङ्कदेखि पुल्चोक बस स्टपसम्म सडकको दायाँ छुट्टै साइकल लेन बनाइएको छ, जहाँ अन्य सवारी साधन गुड्न पाउँदैनन् । पाटन अस्पतालमा साइकल पार्किङस्थल बनाउने तयारी पनि भइरहेको छ ।

साइकल लेनसँगै महानगरले लेन मिच्ने, लेनमै साइकललाई पेल्ने सवारी धनीलाई कारबाही गर्न ऐन बनाउने तयारी पनि गरिरहेको छ । “पुसभित्रै ऐन बनाउने तयारी छ, त्यसपछि साइकल सिटी बनाउने सपनाले थप गति लिनेछ”, महानगरपालिकाका प्रवक्ता राजु महर्जन भन्छन् ।

 साइकल शहरको अवधारणामा ललितपुर महानगरपालिकाका लागि परामर्शदाताका रुपमा खटिएका नेपाल साइकल सोसाइटीका अध्यक्ष रत्नमान श्रेष्ठ महानगरले अहिले साइकल शहरको आधार कोरिरहेको बताउँछन् । “तर, साइकल मार्ग भनेर धर्सा कोर्ने बित्तिकै सवारी चालकहरूले साइकललाई बाटो छोड्दैनन् । साइकल शहर बनाउन महानगरसँगै जनता पनि सचेत हुनुपर्छ”, उनी भन्छन् ।

प्रशंसनीय तर अपूर्ण

साइकल मार्ग १.५ मिटर चौडाइको हुनुपर्ने विश्वव्यापी मान्यता छ । व्यस्त समयमा एक घण्टामा हजार ट्रिप साइकल कुद्ने सडकमा अनिवार्य साइकल मार्ग बनाउनुपर्ने पश्चिमा अभ्यास पनि छ । नेपालमा साइकलका लागि अनुकूल सडक नै नभएका कारण साइकल प्रयोगकर्ता कम भएको अभियन्ताहरूको भनाइ छ ।

विश्व साइकल यात्री पुष्कर शाह उपत्यकाका सडक जनमुखी नभई कुलीनमुखी भएको तर्क गर्छन् । उनको भनाइमा, यहाँका सडकहरू साइकल–अनुकूल होइन, कार–अनुकूल हुने गरी निर्माण गरिएका छन् । “सडक जनमुखी हुनलाई पहिलो प्राथमिकता पैदल मार्ग, दोस्रो साइकल मार्ग र तेस्रो सार्वजनिक यातायात चल्ने सडक हुनुपर्छ” शाह भन्छन्, “तर कार, मोटरसाइकल चढ्न नसक्नेका लागि सडक पनि आफ्नो छैन ।”

साइकल अभियन्ता सौरभ ढकाल पनि ललितपुर महानगरले थालेको साइकल शहरको अभियान प्रशंसायोग्य भए पनि अपूर्ण भएको बताउँछन् । महानगरले साइकल मार्ग भनेर कोरेको धर्सामा साइकल कुदाउन नसकिने बताउँदै उनी भन्छन्, “मोटरसाइकल र कारलाई नै सडक साँघुरो भइरहेको छ । त्यसैले रेखा कोर्दैमा ती सवारीले साइकल बाटो छाड्दैनन् । दुर्घटना अझै बढ्न सक्छ ।”

साइकल मार्ग सुरक्षित बनाउनका लागि ट्राफिक प्रहरीलाई पनि सचेत बनाउनुपर्ने पुष्कर शाह बताउँछन् । उनी भन्छन्, “ट्राफिक प्रहरीले पैदल र साइकल यात्रीलाई प्राथमिकता दिनुपर्ने हो । तर, यहाँका सडकमा सवारीलाई पहिलो प्राथमिकता दिइन्छ । जसले गर्दा अहिले महानगरले बनाएको साइकल मार्ग सुरक्षित छ भन्न सकिन्न ।”

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठ त साइकल लेनबारे कतिपय प्रयोगकर्तालाई नै जानकारी नभएको बताउँछन् । “शुरुमा प्रयोगकर्तालाई नै साइकल लेनबारे जानकारी दिनुपर्छ, अनि विस्तारै अरुलाई”, उनी भन्छन् । 

१४ मंसीरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन आफ्नो ३३ वर्ष पुरानो साइकलमा।

जनचेतनाको लागि नेपाल साइकल सोसाइटीले साइकल लेनमा एकसाथ साइकल कुदाउने, साइकल यात्रीहरूलाई सेफ्टी लेग स्ट्राप, रिफ्लेक्टिङ स्टिकर बाँड्ने जस्ता कार्यहरू गरिरहेको छ । तर, यो पर्याप्त नभएको एसपी श्रेष्ठको भनाइ छ ।

पुष्कर शाहका भनाइमा साइकल शहरको अभियान सफल पार्न नगरी नहुने अर्को काम हो, भरपर्दो सार्वजनिक यातायात । ‘सार्वजनिक यातायात भरपर्दो र सुरक्षित नभएकै कारण निजी सवारी बढेका हुन् । निजीको संख्या नघटाई साइकल लेन सुरक्षित बनाउन सकिंदैन, साइकल शहरको कुरा त त्यसपछि मात्र हो”, उनी भन्छन् ।

सौरभ ढकाल भने साइकल शहरका लागि दीर्घकालीन कार्ययोजनाकै खाँचो औंल्याउँछन् । यसका लागि साँघुरा सडकलाई वान वे बनाउँदै फराकिला सडकमा क्रमशः पैदली यात्री, साइकल यात्री, सार्वजनिक यातायात र निजी सवारी साधनलाई प्राथमिकता दिनुपर्छ, यसैका आधारमा ‘सडक प्रयोग नीति’ बनाउनुपर्छ ।

शहरी योजना इन्जिनियर र नेपाल साइकल सोसाइटीका महासचिव राकेश महर्जन साइकल शहरका लागि पार्किङ व्यवस्थापन ठूलो चुनौती रहेको बताउँछन् ।

ढकाल पनि साइकल शहर बनाउने हो भने क्याफे, रेस्टुरेन्ट, अस्पतालहरूमा साइकल पार्किङस्थलको प्रबन्ध मिलाइहाल्नुपर्नेमा जोड दिन्छन् । उनी भन्छन्, “साइकल प्रयोगलाई शैलीकै रुपमा सारिएमा युवा वर्गलाई आकर्षित गर्न र छिट्टै साइकल शहर बनाउन सकिन्छ”, उनको भनाइ छ । 

निजी सवारीको जोखिम

ललितपुर महानगरले आफूलाई साइकल शहर बनाउने घोषणा गर्दा कतिपयलाई यो लोकप्रियतामुखी प्रचारबाजी पनि लागिरहेको छ । किनभने, साइकल शहरका रुपमा महानगरलाई स्थापित गर्न निजी सवारी विस्थापित गर्नुपर्छ । के त्यो सम्भव छ ?

शहरी योजना इन्जिनियर राकेश महर्जन भने सकारात्मक छन् । “साइकलले निजी गाडीलाई विस्थापित गर्दैनथ्यो भने आजको कोपनहेगन, आम्स्टर्डम, टोकियोमा निजी सवारी साधन बढी हुन्थे”, महर्जन भन्छन् । वातावरणीय प्रदूषण कम गर्नकै लागि डेनमार्कको कोपनहेगन, नर्वेको ओस्लो, फ्रान्सको पेरिस, जापानको टोकियो, नेदरल्यान्ड्सको आम्स्टर्डम साइकल शहरका रुपमा स्थापित भइसकेका छन् ।

नेदरल्याण्ड्समै अध्ययन गरेका अभियन्ता ढकाल पनि आम्स्टर्डमकै उदाहरण दिन्छन् । निजी सवारीले वातावरणमा प्रतिकूल असर पारेका कारण आम्स्टर्डममा साइकल शहरको परिकल्पना गरिएको थियो । “त्यहाँ सम्भव छ भने यहाँ किन नहुने ?” उनी भन्छन् ।

वातावरणविद् भूषण तुलाधर पनि सार्वजनिक सवारी साधन प्रभावकारी बनाउन सके ललितपुर मात्र नभई, पूरै उपत्यकालाई साइकल शहर बनाउन सकिने बताउँछन् । उपत्यकामा हरेक वर्ष पाँच प्रतिशतले जनसंख्या वृद्धि भइरहेको तर सवारी साधन भने १४ प्रतिशतले बढिरहेको बताउँदै उनी भन्छन्, “विकल्प भनेको साइकल शहर नै हो ।” यातायात व्यवस्था विभागका अनुसार, आर्थिक वर्ष २०७५/७६ सम्म मुलुकभर ३५ लाख ५८ हजार सवारी साधन दर्ता भएका छन् ।

मास्क लगाऔं, साइकल कुदाऔं

उपत्यकामा बढ्दो प्रदूषणका कारण साइकल यात्रा मुटुका लागि लाभदायक तर फोक्सोका लागि जोखिमपूर्ण हुने पनि कतिपयको भनाइ छ । छाती रोग विशेषज्ञ डा. प्रकाश पौडेल उपत्यकाको वायुमण्डलमा पाँच माइक्रोन भन्दा साना जीवाणु भएकाले साइकल चलाउँदा एम नाइन्टी वान मास्क प्रयोग गर्न सुझाउँछन् । “पैदल र साइकल यात्रा गर्दा वायु प्रदूषणले मात्रै असर गर्छ, अन्य कुनै हानि छैन”, उनी भन्छन् ।   

राकेश महर्जनको भनाइमा साइकल शहर हुनु भनेको हजार समस्याको एक समाधान हो । “बाटो सानो भए पनि हुन्छ । मन्दिर, सम्पदा जोगिन्छन्, पेट्रोलियम पदार्थको खपत कम भएसँगै प्रदूषण पनि घट्छ”, उनी भन्छन् । नेपाल आयल निगमको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७५/७६ मा मात्र रु.२ खर्ब ४६ अर्ब ७० करोडको पेट्रोलियम पदार्थ आयात गरिएको छ ।

वायु प्रदूषण रोक्न साइकल प्रयोगकर्ता युवाहरूको सक्रियता पनि प्रशंसनीय छ । स्वास्थ्यप्रति सचेत हुँदै कम्तीमा साताको एकदिन साइकल चढ्नेको जमात पनि बढ्दो छ । अभियन्ता ढकालका अनुसार, उपत्यकामा २५ हजारभन्दा बढी साइकल प्रयोगकर्ता छन् । 

वातावरणविद् तुलाधर प्रदूषणको मुख्य कारणमध्ये सवारी साधन पनि रहेकाले यसको चाप कम गर्न साइकल प्रयोगलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिन्छन् । “प्रदूषण नियन्त्रणकै लागि भए पनि भएका साइकल यात्रीलाई जोगाउँदै सार्वजनिक यातायात प्रभावकारी बनाउनुपर्छ”, उनी भन्छन् ।

 

 

प्रतिकृया दिनुहोस