रिपोर्ट शनिबार, पुस १९, २०७६

एमडीएमएस ठेक्का अयोग्यलाई

रामु सापकोटा

एमडीएमएस ठेक्का अयोग्यलाई

नेपालीको अवैध लगानी रहेको र नेपालकै दूरसञ्चार प्रदायक कम्पनीसँग कारोबार गर्ने सिङ्गापुरस्थित नमस्ते ग्लोबललाई झण्डै रु. ७७ करोडको एमडीएमएस ठेक्का दिएर नेपाल दूरसञ्चार प्राधिकरणले स्वार्थको द्वन्द्व खडा गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले अयोग्य कम्पनीलाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) को ठेक्का दिएको भेटिएको छ ।

भन्सार छलेर अवैध बाटोबाट नेपाल आयात गरिएका र चोरीका मोबाइल सेट नियन्त्रण गर्न प्राधिकरणले सञ्चालन गर्न लागेको एमडीएमएसको ठेक्का पाएको मध्ये सिङ्गापुरको नमस्ते ग्लोबल कम पीटीई एलटीडी कम्पनीले नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकम प्रालिसँग भ्वाइस ओभर इन्टरनेट प्रोटोकल (भीओआईपी) गर्छ । प्राधिकरणले नमस्ते र स्मार्ट टेलिकमबीच भएको उक्त सम्झाैतापत्र लुकाएर रु.७६ करोड ८० लाख २९ हजार ३८७ बराबरको ठेक्का दिएको छ ।

प्राधिकरणले सिङ्गापुरको नमस्तेसँगै मलेशियाको न्यूमेरा एसडीएन बीएचडी र भारतको ओएसआई कन्सल्टिङ प्रालिको जोइन्ट भेन्चर (जेभी) लाई ठेक्का दिएको हो ।

यसअघि ठेक्काको प्रस्ताव पेश गर्ने मोबिलियन ट्रेड इन्टरनेशनल प्रालि, ग्रीन आइटी सोलुसन्स् प्रालि र इन्फ्रा डाटा एनभीको जेभीलाई प्राधिकरणले अयोग्य ठहर गरेको थियो । मोबिलियनले नेपालको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको रिचार्ज कार्ड बिक्री गर्ने गरेको कारण ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट (सीओआई)’ हुने प्राधिकरणले जनाएको थियो । तर, नेपालकै दूरसञ्चार प्रदायक स्मार्टसेलसँग कारोबार गर्ने नमस्ते ग्लोबललाई ठेक्का दिंदा भने सीओआई हुने तथ्य लुकाएको छ ।

दूरसञ्चार प्राधिकरणले २५ मंसीर र १० पुस २०७५ मा गरेको अनुगमनबाट नमस्ते ग्लोबल र स्मार्ट टेलिकमबीच अन्तर्राष्ट्रिय कल बाइपास सम्बन्धी ‘रेसिप्रोकल भ्वाइस सर्भिस’ का लागि सम्झाैता गरेको भेटिएको थियो । उक्त सम्झाैता अनुसार नमस्ते र स्मार्टबीच अन्तर्राष्ट्रिय कल ट्रान्सफरको कारोबार हुने गरेको र त्यसबापत रकम ‘शेयरिङ’ हुने गर्छ ।

हिमाल लाई प्राप्त दुई कम्पनीबीच भएको आर्थिक वर्ष २०७४\७५ को कारोबारको अडिट रिपोर्ट अनुसार स्मार्ट टेलिकमले नमस्ते ग्लोबलसँग सो आवमा अघिल्लो वर्षको बक्यौता समेत गरी झण्डै ३ करोड ८१ लाख लिनुपर्ने देखिन्छ भने करीब ३ करोड ६६ लाख दिनुपर्ने देखिन्छ ।

दुई कम्पनीबीच २५ जुलाई २०१७ देखि १ जुलाई २०१८ सम्ममा विभिन्न पटक नेपाल इन्भेष्टमेन्ट ब्याङ्क मार्फत कारोबार भएको छ । स्मार्टले नमस्तेसँग भएको कारोबारबारे लेखा परीक्षण सम्बन्धी रिपोर्ट अर्थ मन्त्रालयको ठूला करदाताको कार्यालय ललितपुरमा पनि बुझाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल स्मार्ट र नमस्ते ग्लोबलबीचको सम्बन्धबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । मूल्याङ्कन समितिको सिफारिशका आधारमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले अन्तिम निर्णय गरेर एमडीएमएस ठेक्का सम्झाैता गरेको उनी बताउँछन् ।

अवैध कल बाइपास आरोपमा पक्राउ परेका नेपाली नागरिक कविन्द्रराज मल्लको नमस्ते ग्लोबलमा गैरकानूनी लगानी रहेको र अहिले सिङ्गापुरमा बस्दै आएका स्मार्ट सेलका लगानीकर्ता सतिशलाल आचार्य मार्फत नेपालका शक्ति केन्द्रलाई प्रभावमा पारेर एमडीएमएसको ठेक्का हत्याएको यसअघि नै हिमाल ले खुलासा गरिसकेको छ ।

मल्ल सहित थप तीन जना विरुद्धको अवैध कल बाइपास सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ विपरीत अवैध कल बाइपासको मुद्दा खेपिरहेका मल्लले नमस्ते ग्लोबलमा ५०० अमेरिकी डलर लगानी गरेका छन् ।

स्मार्ट र नमस्तेबीचको सम्बन्धले दूरसञ्चार प्राधिकरणको एमडीएमएसको ठेक्कालाई थप विवादित र शङ्कास्पद बनाएको छ । ई–टेन्डर नगरी परामर्शदाता कम्पनी छनोट गर्नु, विवादित र निष्क्रिय कम्पनीलाई ठेक्का दिनु अनियमितता र चलखेलका उदाहरण हुन् ।

नमस्तेको जोइन्ट भेन्चर कम्पनी न्यूमेरा पनि विवादित कम्पनी हो । उक्त कम्पनीमाथि मलेशियाका ४ करोड ६० लाखभन्दा बढी मोबाइल प्रयोगकर्ताको गोप्य सूचना चुहाएको आरोप छ । यसै कारण मलेशिया सरकारको कम्युनिकेशन एण्ड मल्टिमिडिया कमिसनले न्यूमेरासँगको एमडीएमएस जस्तै ठेक्का सम्झाैता १७ असोज २०७६ मा रद्द गरेको छ । कमिसनले गत वर्ष पनि मोबाइल प्रयोगकर्ताको गोपनीयताको सुरक्षा गर्न नसकेको भन्दै न्यूमेरालाई कारबाही गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला दूरसञ्चार प्राधिकरणको एमडीएमएस ठेक्कामा अनियमितता भएको भन्ने जानकारीका आधारमा अनुसन्धान भइरहेको बताउँछन् । 

प्रतिकृया दिनुहोस