ब्लग आइतबार, पुस २०, २०७६

नेपाली बिजुलीको विगत

भैरव रिसाल

नेपाली बिजुलीको विगत
फर्पिङ जलविद्युत आयाेजना ।

आजभन्दा १०८ वर्षअघि देशमै पहिलो पटक बिजुली बल्दाको उत्साह यस्तो थियो कि खुशियालीमा राणाशासकले काठमाडौंमा जुवा खेल्न २४ घण्टा फुकुवा गरेका थिए।

भैरव रिसाल

नेपालमा पहिलो पल्ट बिजुली ९ जेठ १९६८ सालमा बलेको हो । इतिहास हेर्दा देश त्यतिवेला विश्वसँग करीब सँगसँगै हिंड्न खोजेको रहेछ । संसारमा पहिलो चोटि जलविद्युत् परियोजनाबाट बिजुली बलेको १९३५ साल (सन् १८७८) मा हो, बेलायतको नर्थम्बरल्यान्डमा । त्यसको ३३ वर्षपछि नै यहाँ जलविद्युत् उपयोग गर्न थालियो ।

देशको पहिलो जलविद्युत् परियोजना राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्मित फर्पिङ जलविद्युत् हो । जसको क्षमता थियो, ५०० किलोवाट । निर्माण शुरू भएको साढे सत्र महीनामा काम सकिएछ, र त्यसमा जम्माजम्मी रु.७ लाख १३ हजार ३७३ खर्च लागेछ । उपत्यका बाहिरबाट काठमाडौंसम्म आउने मोटरबाटो समेत नभएको त्यो समयमा बिजुली बल्नु असाध्यै ठूलो कुरा थियो ।

चन्द्रशमशेरले फर्पिङमा विद्युत् आयोजना निर्माणको जिम्मा बेलायतका इन्जिनियर किलवर्नलाई दिएका थिए । त्यो कुरा तत्कालीन इन्जिनियर कुमारनरसिंह राणालाई चित्त बुझेनछ । उनले असन्तुष्ट भएर श्री ३ चन्द्रसँग ‘यति काम त हामी नै गरिहाल्छौं नि, विदेशी किन चाहियो ?’ भनेछन् । तर, चन्द्रशमशेरले उनलाई पत्याएनन् । प्रतिक्रिया स्वरूप कुमारनरसिंहले चन्द्रशमशेर बाँचुञ्जेल आफ्नो ठमेल दरबारमा फर्पिङको बिजुली नै बालेनछन् ।

त्यो विद्युत् परियोजना सञ्चालन र व्यवस्थापनको लागि सदर टुँडिखेलको उत्तरपूर्वी कुनामा ‘चन्द्र ज्योति प्रकाश बिजुली अड्डा’ स्थापना गरिएको थियो । त्यही अड्डामा आयोजित समारोहमा श्री ३ चन्द्रले स्वीच थिचेर विद्युत् परियोजनाको उद्घाटन गरे ।

खुशियालीमा जुवा फुकुवा

काठमाडौंमा बिजुली आएपछि सिंहदरबार, बागदरबार, वसन्तपुर दरबार आदि रातभर नै झिलिमिली भयो । त्यस वेलाको गोरखापत्र मा स्वर्गका इन्द्रको दरबार भन्ने उपमा दिएर सम्पादकीयदेखि समाचारसम्म छापियो । राणाशासनमा खुशियाली मनाउन जुवा फुकाउने गरिन्थ्यो । बिजुली बलेको खुशियालीमा पनि विशेष उत्सव जस्तै गरी २४ घण्टा काठमाडौंभरि जुवा फुकाइयो ।

फर्पिङ जलविद्युत् आयोजना काठमाडौं शहर र दरबारहरू उज्यालो पार्न निर्माण गरिएको थियो । बिजुली बाल्न छानोसहित सबै संरचना भएको पक्की घर मात्र योग्य हुने मापदण्ड तय गरियो ।

कच्ची छानो भएका घरमा बिजुली बाल्दा आगलागी हुने निर्णय गरेर सम्पन्न मानिसका घरमा मात्र उज्यालो पार्ने बन्दोबस्त गरियो । त्यसवेला घरघरमा विद्युत् जडान कसरी गरिएछ, परियोजना निर्माणमा किलवर्न एक्लै थिए कि अरू पनि विशेषज्ञ थिए, खुलस्त सामग्री कतै भेटिंदैन । यी सबै पाटोबारे खोजबिन र प्रकाशन आवश्यक छ ।

धेरै वर्षसम्म त्यही ५०० किलोवाट बिजुलीबाट निर्वाह गर्‍यो काठमाडौं खाल्डोले । त्यसपछि १९९१ सालमा ६४० किलोवाट क्षमताको सुन्दरीजल जलविद्युत् परियोजना सञ्चालन भयो । तेस्रो जलविद्युत् परियोजना भने उपत्यका बाहिर बन्यो ।

मोरङको लेटाङमा ६७७ किलोवाट क्षमताको मोरङ हाइड्रोइलेक्ट्रिक कम्पनी स्थापना भयो, १९९७ सालमा । त्यहाँको चिसाङ खोलाबाट विद्युत् उत्पादन र डिजल\थर्मल प्लान्ट स्थापना गरिएपछि सर्वसाधारणलाई पनि बिजुली आपूर्ति गर्न थालियो । यससँगै देशमा उद्योग र व्यापार बढ्न थाल्यो ।

परिवर्तनले थपेन उज्यालो

धेरै दशकसम्म देश १ मेगावाट ७७७ किलोवाट विद्युत् शक्तिकै आधारमा चल्यो । २००७ सालको राजनीतिक परिवर्तनपछि पनि जलविद्युत् विकासतर्फ खासै ध्यान जान सकेन । डिजल प्लान्ट भने चलाइयो । २०१३ सालमा १७२८ किलोवाट क्षमताको डिजल प्लान्ट स्थापना भएपछि काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि बिजुली उपभोग अलि सहज भयो ।

२००९ देखि २०१६ सालसम्मका सरकारहरूका कार्यकालमा मन्त्रालयको नाममा समेत विद्युत् जोडिन सकेन । आर्थिक वर्ष २०१४\१५ मा विद्युत् विभागसम्म बनाइएछ । पञ्चायती शासन शुरू भएपछि २०१७ सालमा बल्ल मन्त्रालयको नाममा विद्युत् जोडियो । समयक्रममा विद्युत् परियोजना निर्माण हुन थाले, कतिपय परियोजना शुरू भएर पनि अधुरै रहे ।

कोशी योजना अन्तर्गत विद्युत् परियोजनाको चर्चा नै भएन । गण्डक योजनासँग गाँसिएको १५ मेगावाटको सुरजपुरा जलविद्युत् परियोजना निष्क्रिय रह्यो ।

२०४६ सालको परिवर्तनपछिका सरकार र विद्युत् मन्त्रीहरूलाई यी अलपत्र परियोजनाबारे ध्यानाकर्षण गराउँदा चासो दिएको पाइएन । किन हो कुन्नि, सबै सरकार र सबैजसो सरोकारवाला मन्त्रीको ध्यान भइरहेका परियोजनाको मर्मतसम्भारमा भन्दा नयाँ परियोजनातर्फ बढी जाने रहेछ ।

लोडसेडिङको लामो कहर पार गरेपछि अहिले चारै प्रहर बिजुली खपत गर्न पाइएको छ । अहिलेको विद्युत् प्राधिकरणको नेतृत्वले अबको तीन वर्षभित्र सबै नेपालीका घरमा विद्युत् पुर्‍याउने भनेको छ । यो योजना सफल होस् । 

प्रतिकृया दिनुहोस