रिपोर्ट शुक्रबार, पुस १८, २०७६

अभिभावकको झगडा, दण्डित बालबालिका

लक्ष्मी बस्नेत

अभिभावकको झगडा, दण्डित बालबालिका
स्केच: भानु भट्टराई
बाबु–आमा बेमेलका कारण उचित अभिभावकत्व नपाएका बालबालिकामा आपराधिक प्रवृत्तिा, मानसिक समस्या र हिंसाको जोखिम सबैभन्दा बढी हुने पाइएको छ।

घटना १

काठमाडौं घर भएका सन्देश (नाम परिवर्तन) का बुबा वैदेशिक रोजगारीमा गएका वेला आमाले दोस्रो बिहे गरिन् । बुबाले पनि नेपाल फर्केर अर्को बिहे गरेपछि उनलाई होस्टल राखिदिए । एकपटक घर आउँदा बहिनी (सौतेनी आमाकी छोरी) सँग मोबाइल देखे । १४ वर्षका उनले आफूलाई पनि मोबाइल किनिदिन बुबासँग आग्रह गरे ।

बुबाले विदेशबाट सौतेनी आमालाई पैसा पठाए तर, उनले किनिदिइनन् । केही दिनपछि घरमा बहिनीको मोबाइल हरायो । आमाले सन्देश विरुद्ध प्रहरीमा जाहेरी दिइन् । अदालतले उनलाई दोषी ठहर गर्दै एक वर्ष बालसुधार गृह पठाउन आदेश दियो । गएको असोजमा सुधार गृहबाट निस्कने दिन उनलाई जिम्मा लिने कोही थिएनन् । सुधार गृहले संरक्षक बन्न इच्छुक तेस्रो व्यक्तिलाई बालक जिम्मा लगायो ।

घटना २

असोज २०७२ मा भाइ र बहिनीसँगै विद्यालयबाट फर्किएकी सुर्खेत वीरेन्द्रनगरकी ११ वर्षीया हिमा (नाम परिवर्तन) ले घर पुगेपछि आमालाई बोलाइन् । तर, उनीहरूलाई थाहै नदिई आमाले घर छाडेर हिंडिसकेकी थिइन् । पाँच वर्षअघि वैदेशिक रोजगारीमा गएका बाबु सम्पर्कमा थिएनन् । दुई भाइ र बहिनीको संरक्षक भएकी हिमाबारे हिमाल मै तीन वर्षअघि समाचार प्रकाशन भएपछि विभिन्न संघसंस्थाले सहयोग गरेका थिए ।

गत जेठमा उनै हिमा बलात्कृत भइन् । केही महीना उनलाई प्रहरी र विभिन्न संघसंस्थाले सुरक्षित आवास गृहमा राखे पनि भाइबहिनीको जिम्मेवारीका कारण उनी घर फर्किएकी छिन् । बलात्कारको घटना अदालत पुगेको छैन । हिमा भन्छिन्, “बाबुआमा भएको भए त यस्तो घटना पनि हुँदैनथ्यो होला, भए पनि न्याय पाउँथें ।”

घटना ३

सिन्धुपाल्चोक, मेलम्चीकी ९ कक्षामा पढ्ने सुमित्रा (नाम परिवर्तन) का बाबुआमा दुवै रक्सीले मातेर हरेक दिन कुटाकुट गर्छन् । एक–अर्कालाई दाउरा, ढुङ्गा लगायत जे भेट्टायो त्यसैले प्रहार गर्दा कहिले आफूहरूलाई पनि लाग्ने र कहिले भने रिस पोख्न छोराछोरी पिट्ने गरेको उनी बताउँछिन् । पटक–पटक सम्झाउँदा पनि केही नलागेपछि उनका दाजु ८ कक्षा पढ्दापढ्दै घरै छाडेर हिंडे । “म छोरी मान्छे कता जानु ? सधैं कुटाइ खानुभन्दा त मर्नै ठिक जस्तो लाग्छ”, सुमित्रा भन्छिन् ।

बाल गृह, बाल सुधार गृह वा सडकमा पुगेका अधिकांश बालबालिकाले बाबुआमाको अभिभावकत्व पाएका हुँदैनन् । पर्सास्थित बाल सुधार गृहकी परामर्शदाता मेलिना रिजालका अनुसार सुधार गृह आउने ९० प्रतिशत बालबालिकाले आमाबाबुको माया पाएका हुँदैनन् । आपराधिक क्रियाकलापमा संलग्न बालबालिकालाई अदालतले बाल सुधार गृह पठाउने गर्छ । उक्त सुधार गृहमा अहिले ९३ बालक छन् ।

बालिका समेत राख्ने एक मात्र भक्तपुर सानोठिमीको बाल सुधार गृहका सामाजिक कार्यकर्ता एवं परामर्शदाता अनिष पौडेल पारिवारिक विखण्डनका कारण बालबालिका आपराधिक क्रियाकलापमा लाग्ने बताउँछन् । उनी भन्छन्, “आपराधिक क्रियाकलापमा लागेका बालबालिका कसैका आमाबाबु छुट्टिएर बसेका हुन्छन्, कसैको आमाले छोडेर हिंडेका हुन्छन्, कतिको बाबुले अर्को बिहे गरेर हेला गरेका हुन्छन् र कतिको आमाबुबा सँगै बसे पनि मेलमिलाप हुँदैन ।”

करीब १० प्रतिशत बालबालिका भने पारिवारिक हैसियतभन्दा बढी खर्च गर्ने, साथीभाइको लहैलहै जस्ता कारणले घर छाड्ने गरेका हुन् । पौडेलका अनुसार उमेर नपुगी आफूखुशी बिहे गर्दा केटी पक्षले बलात्कारको मुद्दा हालिदिएको कारण पनि २० वर्षमुनिका कतिपय बालक सुधार गृह आइपुग्छन् ।

मुलुकभरका आठ वटा बाल सुधार गृहमा क्षमताभन्दा झण्डै दोब्बर बालबालिका छन् । ५३० जना क्षमताका ती सुधार गृहमा ९०० जना राखिएका छन् । सानोठिमीको बाल सुधार गृहमा १० जना बालिका राख्ने क्षमता भए पनि २८ जना राखिएको केन्द्रीय बाल न्याय समिति सचिवालयको तथ्यांक छ । सचिवालयका अनुसार अदालतमा जाने बालबिजाइँका मुद्दा पछिल्लो समय झण्डै २०० प्रतिशतले बढेका छन् । *(हे.इन्फो–१) *

गएको १ भदौदेखि लागू भएको बालबालिका सम्बन्धी ऐन २०७५ ले १८ वर्षसम्मलाई बालबालिका मानेकोले बालबिजाइँका मुद्दाको दर बढेको हो । यसअघि बालबालिकाको उमेर १६ वर्ष कायम थियो । सचिवालयका कार्यक्रम व्यवस्थापक विधान खनियाँका अनुसार १६ देखि १८ वर्ष उमेर समूहका बालबिजाइँमा बढी संलग्न छन् । खनियाँ भन्छन्, “बालबालिका नराम्रो काममा लाग्नुमा अभिभावक जिम्मेवार छन् । राम्रोसँग हुर्काइमा ध्यान नदिंदा तथा बाबुआमाको बिग्रँदो सम्बन्ध मुख्य छ ।”

पछिल्ला वर्ष बालविवाह विरुद्धका उजुरी पर्ने क्रम बढेकाले पनि बालबिजाइँको दर बढी देखिएको हो । आफूखुशी विवाहपछि बलात्कारको मुद्दा परेका बालक कतिपय पक्राउ पर्छन् भने कोही भागेर सडकमा पुग्छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत बाल अधिकार परिषद्ले सडक बालबालिका देख्नेबित्तिकै उद्धार गर्छ । विभिन्न कारणले बालगृह र पुनस्र्थापना केन्द्रमा पुग्नेको संख्या वर्षेनि बढ्दो छ ।

बढ्यो पारिवारिक विखण्डन

प्रहरीमा परेको उजुरी र अदालतमा परेको मुद्दाको तथ्यांक अनुसार पनि श्रीमान्–श्रीमती बीचको सम्बन्ध बिग्रने क्रम बढेको छ । प्रहरीको तथ्यांक अनुसार आव २०७४/७५ मा ११ हजार ६२९ लैंगिक हिंसाका उजुरी परेका थिए भने २०७५/७६ मा यो संख्या १४ हजार ९४८ पुगेको छ । लैंगिक हिंसामध्ये महिलामाथि भएका हिंसा करीब ८१ प्रतिशत रहेको प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको तथ्यांक छ ।

काठमाडौं जिल्ला अदालतमा आर्थिक वर्ष २०७५/७६ मा दुई हजार ५८६ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । तर चालु आवको मंसीरसम्मै सम्बन्धविच्छेदका एक हजार ९६६ मुद्दा परिसकेका छन् । १ भदौ २०७५ देखि लागू भएको मुलुकी देवानी (संहिता) ऐन अनुसार पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा हाल्न पाउने भएपछि पारिवारिक विखण्डनको दर बढेको अधिवक्ता शशि बस्नेत बताउँछिन् । यस्तो अवस्थामा पारिवारिक मुद्दा हेर्ने निकायले बालबच्चाको अवस्था ख्याल गर्नुपर्ने उनको भनाइ छ ।

अधिकांश सम्बन्धविच्छेदका मुद्दा घरेलु हिंसासँग जोडिएका छन् । श्रीमान् र परिवारबाट महिलामाथि गरिने दुव्र्यवहार, कुटपिट, मानसिक तनाव तथा आर्थिक समस्या सम्बन्धविच्छेदका कारण हुन् । वैदेशिक रोजगारी, श्रीमान्–श्रीमतीबीच जागिरका कारण हुने ‘अहं’ का कारण पनि बेमेल बढेको मनोविमर्शकर्ता विपन शाह बताउँछिन् ।

पारिवारिक विखण्डनकै कारण बालबालिकाले आमाबाबुसँग बस्ने अधिकार गुमाएका छन् । २०६८ सालको जनगणना अनुसार आमाबाबु दुवैसँग बसेका बालबालिका ८७.०७ प्रतिशत छन् । २.४५ प्रतिशत बालबालिका भने अलपत्र छन् । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक पाँच वर्षमा गर्ने नेपाल बहुसूचकाङ्क क्लस्टर सर्वेक्षण, २०७१ को प्रतिवेदनले भने जन्मेदेखि १७ वर्षसम्मका ९५.२ प्रतिशत बालबालिकाका आमाबाबु दुवै छन् भने ४ प्रतिशतको आमाबाबुमध्ये एक मात्र छन् । २०५८ सालभन्दा २०६८ मा आमासँग बस्ने बालबालिकाको दर भने थोरै बढेको छ । (हे.इन्फो–२)

३२ हजार ८६२ बालबालिकामा गरिएको सर्वेक्षणमा आमाबाबु दुवै भए पनि उनीहरूसँगै बस्ने बालबालिका भने ६९.४ प्रतिशत मात्र देखाएको छ । (हे. इन्फो–३) राष्ट्रसंघीय निकाय युनिसेफका अनुसार बालबालिका तीन वर्ष हुँदा ८० प्रतिशत मस्तिष्कको विकास भइसक्छ । यो वेला उनीहरूसँग आमाबाबु दुवैले सकेसम्म धेरै समय बिताउनुपर्छ । राम्रो अभिभावकत्व नपाए बालबालिकामा मानसिक र व्यावहारिक समस्या आउँछ ।

‘आमा वा बाबुको आर्थिक स्थिति, उमेर, सामाजिक प्रचलन, उनीहरूको मनोविज्ञान आदिले आमा वा बाबुमध्ये एकजनासँग मात्र हुर्कने बालबालिकालाई जोखिममा रहेको मान्न सकिन्छ’– नेपालमा अनाथ तथा आफन्तको संरक्षणमा रहेका बालबालिकाको स्थिति अध्ययन प्रतिवेदन २०७२ मा उल्लेख छ ।

प्रतिकृया दिनुहोस