रिपोर्ट मंगलबार, पुस १५, २०७६

नेपाल भ्रमण वर्ष २०२०: लक्ष्य ठूलो, पूर्वाधार तगारो

मुकेश पोखरेल

नेपाल भ्रमण वर्ष २०२०: लक्ष्य ठूलो, पूर्वाधार तगारो
कास्कीस्थित मर्दी हिमाल पदयात्राबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्वीर: युवराज श्रेष्ठ\हिमाल आर्काइभ

पर्यटन विकास र प्रवर्द्धन मार्फत देशको छवि सकारात्मक बनाउँदै अर्थतन्त्रमै ठूलो योगदान दिनसक्ने सम्भावना बोकेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को सफलतामा पूर्वाधार अभाव र व्यवस्थापकीय अक्षमता तगारो बनेको छ।

नेपालले विश्व पर्यटन बजारमा बनाएको ‘साङ्ग्रिला’ को छवि सन् १९९२ मा एकाएक धुमिल भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ‘गुडबाई साङ्ग्रिला’ शीर्षकमा समाचार नै सम्प्रेषण गरे । काठमाडौंको प्रदूषणलाई लिएर व्यापक नकारात्मक प्रचार भएपछि पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको होटल एशोसिएसन नेपाल (हान) का पूर्वअध्यक्ष एवम् पर्यटन वर्ष–२०११ का राष्ट्रिय संयोजक योगेन्द्र शाक्य बताउँछन् ।

त्यसवेला काठमाडौंमा बिक्रम टेम्पोले गरेकोे प्रदूषणले पर्यटन क्षेत्र डगमगाएको थियो । यो घटना सरकार र पर्यटन व्यवसायीका लागि चिन्ताको विषय थियो ।

अन्तर्राष्ट्रिय रूपमा फैलाइएको भ्रम निवारण गर्न र सकारात्मक सन्देश दिन ‘नेपाल भ्रमण वर्ष १९९८’ घोषणा गरिएको शाक्य बताउँछन् । पहिलो पटक घोषणा गरिएको भ्रमण वर्षले विदेशी आकर्षित त गर्‍यो नै नेपालीहरूको घुम्ने संस्कृतिको पनि विकास भयो । त्यसको २२ वर्षपछि दोस्रोपटक सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ घोषणा गरिएको छ । यसअघि सन् २०११ मा ‘पर्यटन वर्ष’ मनाइएको थियो ।

ललितपुर पाटन दरबार परिसरमा काेरियाली पर्यटक । तस्वीर: बिक्रम राई

दशक लामो माओवादी द्वन्द्व अन्त्य भई नयाँ संविधान निर्माणपछि स्थिर सरकार बनेकाले अहिले पर्यटन प्रवद्र्धनका लागि उपयुक्त समय भएको पर्यटन व्यवसायी वसन्त मिश्र बताउँछन् । उनी भन्छन्, “विदेशी मुद्रा आर्जन र रोजगारीका लागि पर्यटन हाम्रो प्रमुख स्रोत हो, विगतमा राजनीतिक अस्थिरता मात्र होइन भूकम्प र नाकाबन्दीले पनि पर्यटनमा नकारात्मक प्रभाव पारेको कारण यसलाई उठाउन भ्रमण वर्ष जरूरी छ ।”

अपेक्षाः २० लाख पर्यटक

नेपालको पर्यटन हिमालबाट शुरू भएको हो । सन् १९५० मा मौरिस हर्जोग र लुइस लाचेनलले संसारमै पहिलोपटक ८००० मिटरभन्दा अग्लो अन्नपूर्ण हिमाल (८०९१ मि.) आरोहण गरेपछि नेपालमा हिमालमा आधारित पर्यटन शुरू भएको थियो । सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेपछि पर्यटक झनै लोभिए ।

पर्यटन व्यवसायी मिश्रको भनाइमा हिमाल चढ्न आउने विदेशीसँग नातागोता र सहयोगी पनि आउँथे । उनीहरूका माध्यमबाट नै विश्वबजारमा हिमाली पर्यटनको ब्राण्ड विस्तार भएको हो । व्यवसायीहरू नेपाललाई स्वतः प्रवर्द्धन भएको गन्तव्य मान्छन् । समन्वय र राम्रो व्यवस्थापन गरे सन् २०२० मा सरकारले घोषणा गरे अनुरूप २० लाख पर्यटक भित्र्याउन सकिने मिश्र बताउँछन् । उनी भन्छन्, “पर्यटन क्षेत्रबाट राष्ट्रलाई योगदान पुर्‍याउने हो भने हामीलाई वार्षिक २० लाख पर्यटक चाहिन्छ ।”

अहिले राजनीतिक कारणबाट बन्द–हड्ताल न्यून छ । अपेक्षाकृत नभए पनि पूर्वाधार निर्माणमा पनि केही प्रगति भइरहेकै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको अन्तिम तयारी, सडक पूर्वाधार र होटलहरूको निर्माण भ्रमण वर्षका सुखद पक्ष हुन् ।

पर्यटन वर्ष २०११ का संयोजक शाक्यका अनुसार सन् २०११ मा ८ लाख पर्यटक नेपाल आउँदा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई धान्न धौ–धौ परेको थियो ।

पछिल्लो समय हवाईमार्ग भएर नेपाल आउने पर्यटकको संख्या बढेको छ । सन् २०१७ मा ७ लाख ६० हजार ५७७ र २०१८ मा ९ लाख ६९ हजार २८७ पर्यटक नेपाल आएका थिए । यो वर्षको अक्टोबरसम्म ९ लाख ७५ हजार पर्यटक आए ।

नेपाल पर्यटन बोर्डका अनुसार थप दुई महीनामा आएका पर्यटक समेत जोड्दा यो संख्या करीब ११ लाख हुन्छ । सन् २०१८ मा यहाँबाट अन्तर्राष्ट्रियतर्फ ४३ लाख ४२ हजार ४८६ र आन्तरिकतर्फ २८ लाख ४७ हजार गरी ७१ लाख ८९ हजार यात्रुले यात्रा गरेका थिए ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई भने सुधारिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक २० लाख पर्यटक धान्ने बताउँछन् । एअर ट्राफिकको कारण काठमाडौंको आकाशमा घण्टौंसम्म जहाज ‘होल्ड’ गर्नुपर्ने समस्या छ ।

आगामी जूनदेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालन हुने हुँदा जहाज ‘होल्ड’ को समस्या नहुने भट्टराई बताउँछन् । “दीर्घकालीन रूपमा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नै हो”, उनी भन्छन् ।

पर्यटन विकासको लागि विना अवरोध यात्रा गर्न सकिने सडक हुनुपर्ने व्यवसायीहरूको भनाइ छ । प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी, पोखरा, चितवनसम्म पुग्ने सडकको अवस्थामा पहिलाभन्दा सुधार आएको छ । पर्यटन व्यवसायी सुमन पाण्डे सडकमार्ग भएर नेपाल आउने पर्यटकका लागि चार लेनको सडक आवश्यक पर्ने बताउँछन् । उनी भन्छन्, “दिल्लीबाट बसमा विना अवरोध काठमाडौं आउने सडक हुनुपर्छ ।”

मन्त्री भट्टराई पनि सरकार पूर्वाधार निर्माणको प्रारम्भिक चरणमा रहेको स्वीकार्छन् । गुणस्तरीय पूर्वाधार निर्माणका लागि समय लाग्ने भएकाले अहिले उपलब्ध पूर्वाधारमै भ्रमण वर्ष सफल बनाउनुपर्ने उनी बताउँछन् । “सन् २०२० लाई भ्रमण वर्ष अभियानको प्रारम्भिक वर्षका रूपमा मनाउनुपर्छ” भट्टराई भन्छन्, “सन् २०३० सम्म नै हाम्रो अभियान सञ्चालन हुन्छ । त्यतिवेलासम्ममा विमानस्थल र सडक पूर्वाधार निर्माण पूरा हुन्छ ।”

पर्यटन व्यवसायी मिलन पाण्डे सन् २०३० सम्ममा वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्य लिनुपर्ने बताउँछन् । विश्व पर्यटन सङ्गठनका अनुसार एक पर्यटक बराबर प्रत्यक्ष र अप्रत्यक्ष गरी ८ देखि १३ जनाले रोजगारी पाउँछन् । वार्षिक ५० लाख पर्यटक भित्र्याउन सके बेरोजगारी समस्या समाधानमा पनि सघाउ पुग्ने पाण्डे बताउँछन् ।

नेपाललाई अवसर

दुई ठूला देश चीन र भारतबीचमा अवस्थित नेपाललाई पर्यटक खोज्न टाढा जानु नपर्ने हानका पूर्वअध्यक्ष शाक्य बताउँछन् । १ अर्ब ४० करोड जनसंख्या भएको चीन र १ अर्ब ३० करोड जनसंख्या भएको भारतबाट पर्यटन ल्याउने पहल गर्नुपर्ने उनी बताउँछन् । “मास टुरिजमका लागि भारत, चीन र दक्षिण एशियाका मुलुक नै हाम्रा मुख्य स्रोत हुन्”, शाक्य भन्छन् ।

पर्यटन व्यवसायी पाण्डे पनि भारत र चीनका नागरिक ठूलो मात्रामा आउँदा पर्यटन क्षेत्र व्यस्त हुने र बजारमा नगद प्रवाह बढ्ने बताउँछन् । दुवै छिमेकी देशमा मध्यमवर्गको आर्थिक अवस्था सुधार हुँदै गएकाले घुम्ने संस्कृतिको विकास भएको छ ।

विश्व ब्याङ्कका अनुसार सन् २०१० मा ४५०० डलर रहेको चीनको प्रतिव्यक्ति आय अहिले ८००० पुगेको छ । सन् २००० मा विदेश घुम्ने चिनियाँको संख्या १० लाख ५० हजार थियो । त्यसमध्ये २०१८ मा यो संख्या १३०० प्रतिशतले बढेर १४ करोड ९० लाख पुग्यो ।

विदेश भ्रमणमा उनीहरूले करीब १ खर्ब ३० अर्ब डलर खर्च गरे । नेपाल घुम्न आउने चिनियाँको संख्या भने १ लाख ५३ हजार मात्र थियो । घुम्नका लागि चीन बाहिर जाने १ प्रतिशत चिनियाँलाई नेपाल ल्याउन सके पनि ठूलो सफलता हुने व्यवसायी पाण्डे बताउँछन् ।

विश्व पर्यटन सङ्गठनका अनुसार सन् २०१७ मा २ करोड ३० लाख भारतीय देश बाहिर घुम्न गएका थिए । सन् २०१९ मा यो संख्या बढेर ५ करोड पुगेको छ । भारतको प्रतिव्यक्ति आय २००० डलर छ ।

नेपाल घुम्न आउनेमा सबैभन्दा बढी भारतीय र त्यसपछि चिनियाँ भएको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ । पर्यटन व्यवसायी पाण्डे दक्षिणएशिया र सार्क क्षेत्रमा मात्र अभियान केन्द्रित गरे पनि भ्रमण वर्षको लक्ष्य भेटिने बताउँछन् ।

सन् २०११ को पर्यटन वर्षमा पनि चीन, भारत केन्द्रित अभियान चलाइएको थियो । लामो दूरी, महँगो हवाई भाडा आदि कारणले गर्दा एशियाभन्दा बाहिरबाट पर्यटक ल्याएर घोषित संख्या भेट्न नसकिने पनि बताउँछन् । ५ लाखबाट उकालो लाग्न नसकेको पर्यटकको संख्या पहिलोपटक २०११ मा ८ लाख पुगेको थियो ।

नेपाल आउने पर्यटकका लागि हिमाल, पदयात्रा र वन्यजन्तुको ‘प्याकेज’ मात्र हुन्छ । त्यसलाई परिवर्तन गरेर संस्कृति र पर्व पनि पर्यटनका प्याकेजमा राख्नुपर्ने शाक्यको सुझव छ । उनी भन्छन्, “संस्कृति, चाडपर्व हाम्रा ‘ब्राण्ड’ बन्न सक्छन् । विविध संस्कृति भएको हुनाले १२ महीना नै नेपालमा केही न केही चाडपर्व परेकै हुन्छ । पर्वलाई पर्यटक तान्ने ब्राण्ड बनाउनुपर्छ ।”

लुम्बिनीमा २५६३ आ‍ैं बुद्धजयन्ती मनाउन सहभागी महिला । तस्वीर: भरतबन्धु थापा

चुनौती उस्तै

पर्यटकको संख्या हरेक वर्ष बढे पनि बसाइ अवधि भने घटेको छ । सन् २०१७ मा पर्यटकले प्रतिव्यक्ति ५४ डलर खर्च गर्ने पर्यटकले २०१८ मा ४४ डलर मात्र खर्च गरे । बसाइ पनि औसत १२.६ दिनबाट झरेर १२.४ मा पुगेको छ ।

पर्यटकको संख्या बढाएसँगै बसाइ लम्ब्याएर आम्दानी वृद्धि गर्नु प्रमुख चुनौती भएको ट्रेकिङ एजेन्सी एशोसिएसन नेपाल (टान) का पूर्वअध्यक्ष ज्योति अधिकारी बताउँछन् । विमानस्थलसम्म पुग्दा हुने सवारी जाम, सार्वजनिक सफा शौचालयको अभाव, सेवा बिक्री पर्यटकमैत्री नहुनु जस्ता कारणले नकारात्मक सन्देश जाने उनी बताउँछन् ।

लुम्बिनीस्थित मायादेवी मन्दिर । तस्वीर: भरतबन्धु थापा

संसारका धेरै देशमा कृत्रिम गन्तव्य निर्माण गरेर पर्यटन प्रवर्द्धन गरिएको छ । तर, नेपालका हरेक जिल्लामा पर्यटकीय गन्तव्य भए पनि व्यवसायीले सबै ठाउँमा पर्यटक पुर्‍याउन सकेका छैनन् । सरकारले एक वर्षअघि १०० स्थानलाई पर्यटकीय गन्तव्य घोषणा गरेको थियो । व्यवसायीको रोजाइमा पर्ने गन्तव्यमा पूर्वाधार नहुने र सरकारले घोषणा गरेका गन्तव्यमा व्यवसायीको रुचि नहुँदा पर्यटकीय क्षेत्रको विकासमा प्रभाव परेको छ ।

नेपाल घुम्न आउने अधिकांश पर्यटकको गन्तव्य पोखरा, चितवन र लुम्बिनी हुन्छ । सन् २०१७ मा ६ लाख ४ हजार ९१ जनाको गन्तव्य राष्ट्रिय निकुञ्ज थियो । सन् २०१८ मा यो संख्या ६ लाख ९९ हजार ५५२ थियो । वन्यजन्तु हेर्न जाने अधिकांश पर्यटक चितवन राष्ट्रिय निकुञ्ज जाने गरेका छन् ।

टानका पूर्वअध्यक्ष अधिकारी यसरी आउने पर्यटकलाई बर्दिया, शुक्लाफाँटा र कोशीटप्पु पुर्‍याउन नसकिएको बताउँछन् । चितवन बाहेकका राष्ट्रिय निकुञ्जमा पनि लैजाँदा पर्यटकको बसाइ लम्ब्याउन सकिने उनी बताउँछन् ।

डोल्पाको धो तराप महोत्सव ।

पदयात्राका लागि कञ्चनजंघा, मनास्लु, डोल्पा जाने पर्यटकको संख्या पनि न्यून छ । सेप्टेम्बर, अक्टोबर र नोभेम्बर तथा मार्च र अप्रिललाई पर्यटकीय सिजन मानिन्छ । यो वेला पर्यटकहरूको संख्या अघिपछिको तुलनामा बढी हुन्छ । पदयात्रा व्यवसायी ऋषिप्रसाद नेपाल १२ महीना नै भ्रमणका लागि उपयुक्त भएको बुझाउन नसकिएको बताउँछन् ।

सरकारले दुई वर्षअघि नै ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने तयारी थालेको थियो । त्यसका लागि सरकारले भ्रमण वर्ष संयोजकमा व्यवसायी सुरज वैद्यलाई १६ कात्तिक २०७५ मा नियुक्ति पनि गर्‍यो । तर यस अवधिमा उनले भ्रमण वर्ष सफल बनाउन सानादेखि ठूला व्यवसायीलाई विश्वासमा लिएर काम गर्नै सकेनन् ।

गत वर्ष १५ फागुनमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि लामो समय मन्त्रालय नेतृत्वविहीन भयो । जसले गर्दा भ्रमण वर्षको तयारीले गति लिएन । गत भदौमा मन्त्री नियुक्त भएका योगेश भट्टराई र वैद्यबीच तालमेल नहुँदा पनि तयारी प्रभावित बन्यो ।

कुनैवेला नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा पर्यटन क्षेत्रको योगदान २२ प्रतिशतसम्म थियो । तर, अहिले करीब ४ प्रतिशतमा झरेको छ । त्यसलाई फेरि वृद्धि गर्न राष्ट्रिय ध्वजावाहक विमानलाई पूर्ण रूपमा सञ्चालन गरेर नयाँ गन्तव्य थप्नुपर्ने व्यवसायीको सुझाव छ ।

कुल ४ लाख पर्यटक नेपाल आउँदा ६० देखि ८० प्रतिशतले नेपाल वायुसेवा प्रयोग गर्थे । तर, अहिले पर्यटक बढे पनि नेपाल वायुसेवा निगमबाट आउने पर्यटनको हिस्सा अत्यन्त न्यून छ । नेपाल वायुसेवा निगमको साख उठाउँदा भ्रमण वर्ष पनि सफल हुने व्यवसायी बताउँछन् ।

 

प्रतिकृया दिनुहोस