टिप्पणी आइतबार, पुस १३, २०७६

काठमाडौंमा ‘गुफा पर्यटन’

वसन्त महर्जन

काठमाडौंमा ‘गुफा पर्यटन’
पुरातत्वविद् शुक्रसागर श्रेष्ठ चोभार गुफाको अनुसन्धान गर्ने क्रममा । तस्वीर: प्रवीण श्रेष्ठ

जात्रा, पर्व, मन्दिर र तिनको ऐतिहासिकतासँगै काठमाडौं उपत्यकामा पर्यटक रिझाउन यहाँका प्राचीन गुफा नयाँ आकर्षण बन्न सक्छन्।

वसन्त महर्जन

जात्रा, पर्व र मन्दिरले काठमाडौंलाई ऐतिहासिक तथा सांस्कृतिक थलोका रूपमा चिनाउन थालेको धेरै समय भइसकेको छ । पर्यटन क्षेत्रमा यसको प्रयोग झनै बढी छ । यसबाहेक उपत्यकामा पर्यटकीय आकर्षणका लागि थप महत्वपूर्ण सम्पदा पनि छन्; ती हुन्– गुफा लगायतका प्राकृतिक बनावट वा भूसंरचना ।

कीर्तिपुर नगरपालिकास्थित चोभार क्षेत्र गुफाका लागि प्रसिद्ध छ । वाग्मती नदीको पानी निस्कने गल्छीमा रहेको यो गुफा क्षेत्र हाल एक संस्थाले व्यावसायिक प्रयोजनमा ल्याएको छ । यहाँ एकभन्दा बढी गुफा छन् ।

एक अध्ययनले गुफाबाटै वाग्मती नदी वारपार गर्न सक्ने बाटो पनि देखाएको छ । गुफाबाटै चोभारको आदिनाथ मन्दिरसम्म पुग्न सकिने जनविश्वास पनि पाइन्छ । गुफाहरूको पुरातात्विक अध्ययनका अनुभवी दिवंगत पुरातत्वविद् शुक्रसागर श्रेष्ठको नेतृत्वमा बीस वर्षअघि यस पंक्तिकार सहितको टोलीको अध्ययनमा यसको पुष्टि भने हुन सकेन ।

उपत्यकामा गुफाहरू रहेको अर्को क्षेत्र नागार्जुन पर्वत पनि हो । भारतीय सिद्ध नागार्जुन (शून्यवादका प्रवर्तक आचार्य नभएर ८४ सिद्धमध्ये एक) काठमाडौं आउँदा ध्यान, साधना गरेको उल्लेख छ । सिद्ध नागार्जुनकै सम्झनामा यो पर्वतको नामकरण गरिएको पनि स्मरणीय छ ।

नागार्जुन पर्वतको चुचुरोमा साना र ठूला दुई गुफा छन् । पर्वतको मुख्य स्थल स्तूपबाट दक्षिणतिर ठूलो गुफा छ । गुफामा ठूलाठूला बौद्ध मूर्तिहरू छन्, भग्न चैत्यका अवशेषहरू पनि देख्न सकिन्छ, जसको निर्माण शैली लिच्छविकालीन र मध्यकालीन जस्ता लाग्छन् ।

काठमाडौंमा खडेरी परेको वेला स्वयम्भूका बुद्धाचार्यहरू यो गुफामा पूर्वतयारी गर्ने र खडेरीको अन्त्य हुने बताइन्छ । गुफाभित्र गुरगुर आवाज आएमा तुरुन्तै पानी पर्ने लोकोक्ति पाइन्छ ।

नागार्जुन फेदबाट त्रिशूली जाने बाटोको छेवैमा रहेको गुफा स्थानीय नेवार बौद्धहरूमा धिकेपाक्व (धिकेपाकू) गुफाका नामले चर्चित छ । गुफाभित्र दुई वटा बाटो रहेको र एउटा गुफाबाट त स्वयम्भू चैत्यसम्म नै पुग्न सकिने बताइन्छ ।

काठमाडौंका वज्रयानी बौद्ध साधकहरूलाई यस गुफामा पनि ध्यान, साधना गराइने चलन थियो । बौद्ध मूर्तिहरू पनि रहेको यो गुफामा चैत्र पूर्णिमामा जानकार व्यक्तिहरू पनि पुग्ने गरेका छन् । यो गुफा प्रसिद्ध वज्रयानी साधक वाक्वज्रसँग पनि सम्बन्धित देखिन्छ । थँहिटीस्थित श्रीघः विहारका संस्थापक वाक्वज्रकै सम्झनामा उनका सन्तानहरूले धिकेपाकू गुठी राखेका छन् ।

नागार्जुन चुचुरोस्थित स्तूपको ठीक तल एकलटार नजिकै जर्हिल्वहंमा अलि साँघुरो ठाउँमा एउटा गुफा छ । निष्पट्ट अँध्यारोमा पनि गुफाभित्र झिलिमिली हुने ढुंगा भएका कारण स्थानीयले यसलाई जर्हिल्वहं नाम दिएका हुन् । ध्यान, साधनामा प्रयोग हुने यो गुफामा बौद्ध मूर्तिहरू पनि रहेका छन् ।

नागार्जुन पर्वत पश्चिम भीमढुङ्गा नजिकैको गुफा । तस्वीर: वसन्त महर्जन

नागार्जुन डाँडाकै पश्चिम भीमढुङ्गा नजिकै पनि एउटा गुफा रहेको छ । गुफाबाट बालाजु निस्कन सकिने पनि बताइन्छ । गुफाको २० मिटर जति भित्र शिवलिङ्ग स्थापना गरिएको छ । ठूलो एकादशीमा यहाँ मेला लाग्दछ । यहाँ पूर्वतर्फ मुख फर्किएको अर्को गुफा पनि छ । यो पंक्तिकार गुफामा प्रवेश गर्दा केही ठोस वस्तु पाइएन तर बनावट चोभार क्षेत्रका गुफाहरू जस्तै लाग्छ ।

स्वयम्भू महाचैत्य उत्तर शान्तिपुर नामको धार्मिक स्थल छ । बाहिरबाट हेर्दा एकतले भवन जस्तो देखिए पनि भित्र तह–तह हुँदै गएको ठूलो गुफा रहेको बताइन्छ ।

तान्त्रिक साधनापछि मात्र प्रवेश गर्नुपर्ने यो गुफामा राजा प्रताप मल्ल पसेको र नागको रगतले लेखिएको ग्रन्थ बाहिर घाममा सुकाउँदा काठमाडौंको खडेरी अन्त्य भएको कहावत छ । राजा रणबहादुर शाहले अटेर गरी गुफाभित्र प्रवेश गर्दा अचानक चिच्याउँदै बाहिर निस्किएको पनि बताइन्छ । यही घटनापछि राज्यकोषबाट प्रत्येक वर्ष शान्तिपुरको नाममा सुनको असर्फी चढाइने गरेको तर्क गरिन्छ ।

भक्तपुरको सुडालस्थित ल्हासापाक्व नामको बौद्ध स्थल चीनको पञ्चशीर्ष पर्वतबाट नेपाल आएका महामञ्जुश्रीका साथै बाह्रौं शताब्दीमा तिब्बतबाटै आएका सिद्ध मिलारेपासँग पनि सम्बन्धित छ ।

पौराणिक वर्णन अनुसार मिलारेपा यहाँकै गुफामा ध्यान बसेका थिए तर आज यहाँ ध्यान बस्न मिल्ने गुफा देखिंदैन । मञ्जुश्री स्थान भनिएको ठाउँमुनि भूस्खलनको अवशेष देखिएका कारण कुनै वेला उक्त गुफा भूस्खलनमा नष्ट भएको अनुमान गर्न सकिन्छ ।

त्यसैले उपत्यकाका मठमन्दिर तथा जात्रापर्व जस्तै गुफाको खोजी तथा अध्ययन हुनु आवश्यक छ । किनभने, यहाँको गुफा हाम्रा सभ्यता, संस्कृति र जीवनसँग जोडिएका छन् ।

 

प्रतिकृया दिनुहोस