समाचार विहीबार, पुस १०, २०७६

ग्रान्डी अस्पतालको गम्भीर त्रुटि, फितलो सजाय

रामु सापकोटा

ग्रान्डी अस्पतालको गम्भीर त्रुटि, फितलो सजाय
रिहान न्याैपाने । तस्वीरहरु: केशव थापा/कान्तिपुर

ग्रान्डी अस्पतालको गलत उपचारका कारण १८ महीने एक बालकको जीवन जोखिममा परेको छ । लैनचौर काठमाडौंकी एकता घिमिरेले ग्रान्डीमै सामान्य अवस्थामा जन्म दिएकी रिहान न्यौपानेको उपचारमा चिकित्सकले बढी डोजको औषधि चलाएको भेटिएको छ ।

नेपाल मेडिकल काउन्सिलको छानबिनले बालकको उपचारमा चिकित्सकले बढी डोजको पारासिटामोल दिएकोसहित गम्भीर त्रुटि भएको ठहर गरे पनि अस्पताल र चिकित्सकलाई निकै फितलो कारबाहीको निर्णय गरिएको छ ।

जन्मिएपछि शिशुमा अस्पतालजन्य संक्रमण फैलिएको र उपचार क्रममा चिकित्सकले बढी डोजको पारासिटामोल दिएको काउन्सिलको छानबिनबाट खुलेको छ । रिहानका बाबु सञ्जीव न्यौपानेका अनुसार, उपचारमा संलग्न चिकित्सकले ६६ एमएलको पारासिटामोल चलाएका थिए ।

काउन्सिलको छानबिन समितिको प्रतिवेदन अनुसार, रिहानलाई डा. दिपिका ढकालले बढी डोजको पारासिटामोल सिफारिस गरेकी थिइन् ।

छानबिन प्रतिवेदनले शिशुको उपचारमा संलग्न न्यूरो सर्जन डा. अमित थापालाई चिकित्सा विज्ञानको आधारभूत सिद्धान्तमध्येमा पर्ने सहानुभूति र करुणाको कमी देखिएको उल्लेख गरेको छ ।

संक्रमणका कारण रिहानको मस्तिष्कको एउटा भाग अविकसित भएपछि डा. थापाले पाँच पटक टाउकोको शल्यक्रिया गरेका थिए । न्यौपानेका अनुसार, छोरा जन्मिने बित्तिकै निमोनिया र मेनिनजाइटिस भएको थियो ।

काउन्सिलको इथिकल कमिटीका तत्कालीन सदस्य डा. ढुण्डीराज पौडेल नवजात शिशुको पाँच–पाँच पटकसम्म शल्यक्रिया गर्नु र त्यति गर्दा पनि बिरामीको वास्तविक अवस्थाबारे परिवारलाई जानकारी नदिनुले चिकित्सकमा मानवीय संवेदना हराएको देखिएको बताउँछन् । “डाक्टरले शुरुमै एमआरआई गरेर सम्बन्धित ठाउँमा पठाउनुपर्नेमा त्यसो नगर्नु कमजोरी थियो”, उनी भन्छन् ।

ग्रान्डीले शिशुको स्वास्थ्य परीक्षण गर्ने क्रममा समयमै सिटी स्क्यान वा एमआरआई नगरेको काउन्सिलको छानबिनले देखाएको छ। यस्तै, प्रतिवेदनमा शिशुको मस्तिष्कको भेन्ट्रिकल (पानी रहने ठाउँ) र सिस्टको आकारबारे उपचारमा संलग्न न्यूरो सर्जन र रेडियोलोजिष्टबीच बुझाइको अभाव देखिएको औंल्याइएको छ ।

बिरामीका बाबुका अनुसार, ८.८ सिएम (सेन्टिमिटर) को भेन्ट्रिकललाई न्यूरो सर्जन डा. थापाले ८.८ एमएम (मिलिमिटर) भएको दाबी गरेका थिए । तर, ग्रान्डीका डा. रुद्रप्रसाद उपाध्यायले रिहानको भेन्ट्रिकलको आकार ८.८ सिएम भएको रिपोर्ट दिएका थिए ।

काउन्सिलको छानबिनबाट गान्डी अस्पताल प्रशासनले चिकित्सकको राय विपरीत नवजात शिशुलाई आईसीयूमा राख्न लिखित निर्देशन नै दिएको देखिएको छ ।

रिहान न्याैपाने । तस्वीर: केशव थापा


फितलो कारबाही

ग्रान्डी अस्पतालको गलत उपचारका कारण रिहान मानसिक रूपमा अशक्त बनेको पीडित न्यौपाने दम्पती बताउँछन् । काउन्सिलको छानबिन प्रतिवेदनले अस्पताल र उपचारमा संलग्न चिकित्सकको कमजोरी र त्रुटि रहेको पुष्टि गरेको छ ।

बालकमा बढी डोजको औषधि चलाएको अस्पतालले स्वीकारिसकेको छ । काउन्सिलको निर्णयमा ‘स्वीकारोक्ति समेत गरिएको सन्दर्भमा अस्पताल निर्देशकलाई सचेत गराउने’ भनिएको छ । 

बढी डोजको औषधि सिफारिश गर्ने डा. दिपिका ढकाललाई काउन्सिलले कारबाही स्वरूप एक सातासम्म सिनियर डाक्टर मातहत रहने गरी काम गर्नुपर्ने निर्णय गरेको छ । डा. ढकाललाई ग्रान्डीले हटाइसकेको छ ।

चिकित्सा विज्ञानको आधारभूत सिद्धान्तकै कमी देखिएका डा. थापालाई भने काउन्सिलले अब उप्रान्त गम्भीर भई काम गर्ने गरी सचेत गराउने मात्रै निर्णय गरेको छ ।

रिहानका बाबु सञ्जीव न्यौपाने उपचारमा गरिएको यस्तो गम्भीर त्रुटिमा मेडिकल काउन्सिलले चिकित्सक र अस्पताललाई चेतावनी मात्र दिनु न्यायसंगत नभएको बताउँछन् । “मेरो छोराको उपचारमा अस्पताल र डाक्टरले गरेको गल्तीलाई आधार मानेर काउन्सिलले कडा सजाय दिन सकेन”, उनी भन्छन् । 

बिरामीका परिवारका अनुसार रिहानलाई २१ दिनसम्म आईसीयूमा राखेर उपचार गरिएको र २५ औँ दिनमा फलोअप उपचार गर्ने क्रममा अल्ट्रासाउन्ड गर्दा टाउकोमा पिप जमेको देखिएको थियो । तर, पिप जमेको दुई सातापछि अर्थात् ३९ औं दिनमा मात्र अस्पतालले एमआरआई गर्न भनेको रिहानका बाबु बताउँछन् ।

विज्ञ सम्मिलित टोलीले काउन्सिललाई बुझाएको प्रतिवेदनमा बिरामीको अवस्था र जटिलता पहिचान गर्न समयमा नै बिरामीको सिटी वा एमआरआई गर्नुपर्नेमा त्यसो नगरिनु यो घटनाको मुख्य कमजोरी भएको भनिएको छ ।

पीडित परिवारले ८ जेठ २०७६ मा मेडिकल काउन्सिलमा आफ्नो छोराको उपचारका क्रममा ग्रान्डी अस्पतालका चिकित्सकहरुले चरम लापरवाही गरेको र त्यसबारे छानबिन गरेर दोषीलाई कारबाही गर्न भन्दै निवेदन दिएका थिए ।

निवेदनमा शिशु जन्मेदेखि नौ महिनासम्म प्रत्येक महिना अल्ट्रासाउन्डसहित फलोअप गरेको र पाचौं शल्यक्रियापछि शिशुको मस्तिष्क विकास नभएको उल्लेख छ। तर प्रत्येक पटकको जाँचमा चिकित्सकले शिशुको अवस्थामा सुधार आइरहेको बताएका थिए।

अस्पताल बाहिरका अन्य चिकित्सकहरुको समेत परामर्श लिँदा शिशुको मस्तिष्कको एक भागमा पूरै पानी जमेकाले मस्तिष्कको अवस्था निराशाजनक भएको थाहा भएको र अहिले बच्चा घरमा जीवनसँग संघर्ष गरिरहेको परिवारले काउन्सिलमा दिएको उजुरीमा उल्लेख छ ।

न्यौपानेको उजुरीपछि काउन्सिलले तीन जना विज्ञ सम्मिलित छानबिन टोली गठन गरेको थियो । उक्त विज्ञ टोलीले ६ असोज २०७६ मा राय प्रतिवेदन पेश गरेको थियो । प्रतिवेदनका आधारमा काउन्सिलको ७ असोजको पूर्ण बैठकले निर्णय गरेर शिशुको उपचारका क्रममा देखिएका त्रुटीबारे उपचारमा संलग्न चिकित्सक र अस्पताल निर्देशकलाई स्पष्टीकरण सोधेको थियो ।

काउन्सिलले विज्ञसम्मिलित टोलीलाई स्पष्टीकरण मार्फत आएको जवाफ र शिशुको स्वास्थ्य उपचारसँग सम्बन्धीत थप कागजातको अध्ययन गरेर अन्तिम राय प्रतिवेदन पेश गर्न भन्दै २७ कात्तिक २०७६ को पूर्ण बैठक मार्फत निर्णय गर्‍यो ।

काउन्सिलको निर्देशन अनुसार शिशुको उपचारबारे छानबिन गर्न बनेको विज्ञ टोलीले ११ मंसीरमा अन्तिम राय प्रतिवेदन पेश गरेको थियो । यही प्रतिवेदन अनुसार काउन्सिलले २३ मंसीरमा गरेको निर्णय अनुसार रिहानको उपचारका क्रममा अस्पताल र चिकित्सकले त्रुटि गरेको प्रमाणित भएको हो ।

रिहानका बाबु अहिलेसम्म जे जस्तो भए पनि अगाडिको उपचारको व्यवस्था ग्रान्डीले मिलाउनुपर्ने बताउँछन् । “ग्रान्डीले उपचार क्रममा भएको गल्ती स्वीकार गरेर अब मेरो छोरालाई के कसरी उपचार गर्ने भनिदिनुगर्‍यो”, उनी भन्छन् ।

प्रतिकृया दिनुहोस