टिप्पणी विहीबार, पुस १०, २०७६

सिला बन्दै शिलालेख

वसन्त महर्जन

सिला बन्दै शिलालेख
तस्वीर: वसन्त महर्जन

सम्पदाको ऐतिहासिक र पुरातात्विक प्रमाण शिलालेख संरक्षणमा पर्याप्त चासो र चिन्ता नगरिंदा भएका अमूल्य शिलालेखहरु पनि हराउने/नष्ट हुने अवस्थामा छन्।

वसन्त महर्जन

विश्व सम्पदा सूचीमा रहेको विशाल बौद्ध स्तूप ‘खास्ति महाचैत्य’ को प्राचीनता दर्शाउन कोही यसलाई राजा मानदेव (प्रथम) सँग जोड्छन् भने कोही गौतम बुद्धको जन्मभन्दा अघि पुग्छन् ।

प्राचीनता पुष्टि गर्न धेरैले धार्मिक कथा पनि उल्लेख गरेका छन् । तर ऐतिहासिक प्रमाणहरू खोजी गरेको देखिंदैन । गोपाल राजवंशावलीमा यस महाचैत्यको निर्माताका रूपमा राजा शिवदेव प्रथम (इ.सं. ५९०–६०४) को नाम उल्लेख छ तर पुरातात्िवक शिलालेख लगायत कुनै पनि प्रमाण पाइँदैन ।

खास्ति महाचैत्य तीन वटा विशाल मण्डलाकारमाथि बनेको छ । केही वर्ष अघिसम्म तेस्रो तहको मण्डलाकारसम्मै सर्वसाधारणलाई चढ्न दिइए पनि आजभोलि पहिलो तहसम्म मात्रै जान दिइन्छ । उत्तर दिशाको प्रवेशद्वारबाट दोस्रो तहको मण्डला चढ्ने खुड्किलाको देब्रेपट्टि ध्यान मुद्राको बुद्ध मूर्ति छ ।

दायाँबायाँ दुई वटा शिलालेख छन् तर चुना पोतिएका कारण शिलालेखका अक्षर पढ्न सकिंदैन । यो सही कार्य होइन । अन्य सम्पदा क्षेत्रको तुलनामा यहाँ थोरै मात्र अभिलेखहरू छन् । भएका पुरावस्तुहरू पनि यथास्थानमा नभएकाले यताउताबाट ल्याइएको भन्ने जानकारी पाइन्छ । ती पुरावस्तु पनि रङरोगनले छोपिएको हुँदा यसको ऐतिहासिक पक्ष अध्ययन गर्न कठिन छ ।

सम्पदा क्षेत्रका शिलालेख इतिहासको पुरातात्विक प्रमाण हुन् । यसलाई विभिन्न समयका वेग्लावेग्लै सूचना पनि मान्न सकिन्छ । यिनै सूचनाका आधारमा सम्बद्ध सम्पदा क्षेत्र र त्यसको इतिहास पाइन्छ । किंवदन्ती र काल्पनिक आख्यानहरूलाई नै इतिहास मान्ने प्रवृत्तिले सम्पदाको अध्ययन तथा अनुसन्धानमा भ्रम छर्ने काम गरिरहेको छ । 

इतिहास बताउने अमूल्य प्रमाणका रूपमा रहेका कतिपय शिलालेखहरू प्रकाशमा आएकै छैनन् । अझै कति मन्दिर र घर टहराको छिंडीमा शिलालेखहरू मिल्काइएका छन् । जमीनमा पुरिएका शिलालेखको उद्धार हुनै सकेको छैन । सडक छेउमा ठड्याइएका शिलालेखहरू सडकको उँचाइ बढेसँगै पुरिंदै गएका छन् । कतिपय शिलालेखमाथि पोस्टर या पम्प्लेट टाँस्नेसम्मका कुकाम पनि भइरहेका छन् ।

विश्व सम्पदा सूचीमा रहेको स्वयम्भू स्तूप क्षेत्रको हालसम्म प्राप्तमध्ये सबैभन्दा पुरानो शिलालेखको अहिले अत्तोपत्तो छैन । स्वयम्भू स्तूपको उत्तर दिशातिर चुना घोल्ने खाल्डोमा रहेको उक्त शिलालेखमा ‘...रदेव’ अंकित थियो । यसअघि र पछिका धेरै अक्षरहरू खण्डित थिए तर ती राजाले स्वयम्भू विहारका लागि जग्गा दान दिएको कुरा उक्त शिलालेखमा उल्लेख थियो ।

हेमराज शाक्यले आफ्नो पुस्तक ‘श्रीस्वयम्भू महाचैत्य’ मा यो शिलालेखको उतार तस्वीर सहित प्रकाशित गरिसकेका छन् । लिच्छविकालमा ‘...रदेव’ नाम आउने राजा शंकरदेव (राजा मानदेवका बाजे) मात्रै भएको हुँदा यसलाई स्वयम्भू क्षेत्रको मात्रै नभएर नेपालकै सबैभन्दा पुरानो शिलालेख भन्न सकिन्छ । तर यो अभिलेख अहिले यथास्थानमा छैन । यो लगायत अन्य शिलालेखको अभावमा स्वयम्भू महाचैत्यको सही इतिहास पर्गेल्नै सकिएको छैन । 

नेपालको इतिहासबारे जानकारी दिने केही महत्वपूर्ण लिच्छविकालीन शिलालेखहरू काठमाडौं उपत्यकाबाट दक्षिणपश्चिमतिर चित्लाङ–टिष्टुङ क्षेत्रमा पाइएका छन् ।

राजा अंशुवर्माको शेषपछि गद्दीमा को बसेका थिए भन्ने विवाद सुल्झाउन राजा उदयदेवको एउटै मात्र अभिलेख चित्लाङमा पाइएको छ तर त्यो पनि असुरक्षित छ । यसरी नै भेटवाल गाउँको खेतमा रहेको लिच्छविकालीन अभिलेख पनि अलपत्र छ । लिच्छविकालीन अर्को शिलालेख टिस्टुङको एउटा स्कूलको कक्षाकोठाभित्र थन्किएको छ । सम्पदा संरक्षण भनेको मन्दिर, स्तूप लगायतका भव्य संरचनाहरूको प्रस्तुति मात्रै नभएर सम्बन्धित पुरातात्विक वस्तुहरूको सुरक्षा पनि हो ।

खास्ति महाचैत्य परिसरबाट एउटै पनि लिच्छविकालीन शिलालेख प्राप्त नहुनु आश्चर्य हो । महाचैत्य निर्माण गर्नेले शिलालेख अवश्य राखेको हुनुपर्छ किनभने त्यसवेला स–साना निर्माण कार्यमा पनि अभिलेख राख्ने चलन थियो । महाचैत्य परिसरभित्र ढुङ्गाका स–साना लिच्छविकालीन चैत्यहरू पाइन्छन् तर तिनमा पनि चुना पोतिएको हुँदा नयाँ र पुरानो छुट्याउन गाह्रो छ ।

सम्पदाको महत्वमाथि जोड दिंदै स्थापित संघसंस्था तथा व्यक्तिहरू केही सचेत देखिए पनि ऐतिहासिक तथा पुरातात्विक महत्वका प्रमाणहरू बारे भने खासै चिन्तित देखिएका छैनन् । यस अवस्थामा किंवदन्ती तथा काल्पनिक आख्यानहरूलाई भन्दा पुरातात्विक प्रमाणलाई महत्व दिनुपर्ने कुरा सिकाउनु अत्यावश्यक छ ।

 

प्रतिकृया दिनुहोस