ब्लग बुधबार, पुस ९, २०७६

‘भगवान्’ गणेश: उमेर १५०० वर्ष !

भाेगीराज चाम्लिङ

‘भगवान्’ गणेश: उमेर १५०० वर्ष !
भाेगीराज चाम्लिङ

रैथाने देउताबाट ‘एशियाको भगवान्’ सम्म गणेशको यात्रा निकै रोचक छ । ‘भगवान्’ गणेश मान्छेभन्दा त धेरै कान्छो हुन्, ‘भगवान्’ हरूमध्ये पनि कान्छो हुन् तर लोकप्रिय छन् । पशुपक्षी, वनस्पति, पृथ्वी, हावा, पानी, ब्रह्माण्ड आदिलाई मानव स्वरुपमा प्रस्तुत गर्ने प्राचीन अवधारणाको पछिल्लो प्रमाण हुन्– टाउको हात्तीको, शरीर मान्छेको भएका गणेश ।

विख्यात इष्ट एण्ड वेष्ट जर्नलमा छापिएको वाइ. कृष्णन्को ‘इभोलुसन अफ गणेश’ आलेखका अनुसार, ऋग्वेद, कृष्णयजुर्वेद, तैतरीय आरण्यक जस्ता संस्कृत ग्रन्थमा गणेशको लोकप्रिय नाम ‘गणपति’ अर्थ दिने ‘ब्रह्मणस्पति’ शब्द थुप्रै पटक प्रयोग भएको छ ।

तर, यो शब्द माटोको घैलाजस्तो पुटुक्क पेट भएको गणेशका लागि भने प्रयोग नभएको अर्का प्राध्यापक कालीकुमार दत्तको अध्ययनमा उल्लेख छ । अथर्ववेदमा मानवलाई राम्रो र नराम्रो दुवै गर्ने देउ–देउताहरू मित्र, प्रजापति, इन्द्र, बृहस्पति, वरुण, राहु, धूमकेतु, रुद्र, वासु, आदित्य आदिको नाम लिइएको छ तर गणेशको नाम कतै उल्लेख छैन ।

‘कत्थक संहिता’ मा ब्रह्मणस्पति शब्द अग्नि र विष्णुका लागि प्रयोग भएको छ । ‘तैतरीय संहिता’ मा गणपति र ब्रह्मणस्पति शब्द अग्नि, मरुत, वरुण, इन्द्र, सोम, रुद्र आदिका लागि प्रयोग भएको छ । ‘ऐतरेय ब्राह्मण’ मा बृहस्पतिका लागि प्रयोग भएको छ ।

‘शतपथ ब्राह्मण’ मा चाहिं गणपतिलाई ‘भगवान्लाई स्वर्ग पुर्‍याउन सक्ने’ घोडासँग देखाइएको कृष्णन्को मत छ । इसापूर्व ३०० वर्षभन्दा अगाडिको ‘याज्ञवल्क्य स्मृति’ मा गणेशलाई विनायक नामबाट सम्बोधन गरिएको छ, जसलाई महागणपति पनि भनिएको छ । तर, ती पनि पार्वतीको मयलबाट जन्मिएका गणेश नभई अम्बिकाका छोरा भएको प्राप्त प्रमाणहरूको निष्कर्ष छ ।

संस्कृत ग्रन्थमा इसाको प्रथम शताब्दीदेखि मात्र हात्तीको टाउको भएको गणेशको फाट्टफुट्ट चर्चा शुरू भएको हो । प्रथम शताब्दीको मानिने ‘गाथा–सत्तसइ’ मा गणपति र सूँडको पूजाबारे उल्लेख छ ।

चौथो शताब्दीको ‘वाणी पुराण’, चौथो–पाँचौं शताब्दीको ‘नरसिंह पुराण’ मा पनि गणेश पूजासँग सम्बन्धित हेरम्बको चर्चा गरिएको छ । पाँचौं शताब्दीको ‘विष्णुधर्मोत्तर’ मा हात्तीको अनुहार भएको भगवान्बारे उल्लेख छ । छैटौं शताब्दीको ‘भागवत पुराण’ मा भने हात्तीको अनुहार भएको गजाननको चर्चा गरिएको छ । सातौं शताब्दीका भवभूतिले पनि हात्तीको टाउको भएको गणपतिको कुरा गरेका छन् ।

संस्कृत ग्रन्थहरूमा उल्लेख नाम जस्तै गणेशको मूर्ति पनि भारतमा पाँचौं शताब्दीदेखि मात्र फेला परेको देखिन्छ । मध्यप्रदेशको भुमारामा हात्तीको अनुहार भएको सन् ५०० ताकाको गणेश मूर्ति रहेको छ । र, हात्ती द्रविडहरूले विकास गरेको हडप्पा सभ्यताको देउता हुनसक्ने सम्भावना छ ।

अध्येता कृष्णनका अनुसार, मरैह, जैपुर, राजस्थानमा फेला परेको इसापूर्व प्रथमदेखि इसाको प्रथम शताब्दीको हात्तीको टाउको र दुई हात भएको महिलाको माटोका स–साना मूर्तिहरूले पनि यसैको संकेत गर्छन् । गुप्तकाल (चौथो शताब्दी) मा पनि गजशीर्ष अर्थात् हात्तीको टाउको भएका मातृकाहरू रैथाने देवी–देउताकै रूपमा रहेका छन् ।

हालै मात्र द्रविड समुदायको सघन बस्ती रहेको आन्ध्रप्रदेशमा गणेशका माटोका स–साना प्रतिमा फेला परेका छन् । कुर्नूल जिल्लाको वीरपुरम्मा फेला परेका उक्त प्रतिमा इसापूर्व ५० देखि सन् ३०० को मानिएको अध्येता एमके धवालिकरको ‘गणेशः मिथ एण्ड रियालिटी’ आलेखको तर्क छ । यसले गणेश पूजाको आदिम सम्बन्ध द्रविडहरूसँग रहेको देखिन्छ ।

छैटौं शताब्दीको ‘भागवत पुराण’ देखि दशौं शताब्दीको ‘मीताक्षर’ नलेखिंदासम्म विनायक (गणेश) भनेको विघ्नराज अर्थात् बाधा–अड्चन ल्याउने देउता मात्र हुन् । ‘मीताक्षर’ मा चाहिं ‘विघ्नेश्वर’ भनेर पहिलो पटक गणेशलाई ईश्वरका रूपमा लिइएको छ ।

देवयज्ञ, भूतयज्ञ र पितृयज्ञ जस्ता वैदिक संस्कारमा गणेशको नाम पुकार गरिंदैन । यसले पनि गणेश वैदिक देवता होइनन् भन्ने तर्कलाई आधार दिन्छ । प्रारम्भिक संस्कृत ग्रन्थहरूमा पनि गणेश अर्थात् विनायकलाई विघ्नकर्ताका रूपमा मात्र लिइएको छ । छैटौं शताब्दीको ‘भागवत पुराण’ देखि दशौं शताब्दीको ‘मीताक्षर’ नलेखिंदासम्म विनायक (गणेश) भनेको विघ्नराज अर्थात् बाधा–अड्चन ल्याउने देउता मात्र हुन् । ‘मीताक्षर’ मा चाहिं ‘विघ्नेश्वर’ भनेर पहिलो पटक गणेशलाई ईश्वरका रूपमा लिइएको छ ।

नेपालको स्वयम्भू पुराणमा पनि विनायकलाई विघ्न–बाधा गर्ने भगवान्कै रूपमा लिइएको छ । यसले पनि गणेश रैथाने देउता हुन् भन्ने नै देखिन्छ । विद्वान्हरूले मातृ (मातृका) लाई पनि अवैदिक रैथाने ग्रामदेवता मान्दछन् र गणेशको सम्बन्ध मातृकाहरूसँग रहेको तर्क गर्छन् ।

केही भाषाशास्त्री र मानवशास्त्रीहरूले गणपति पूजाको उद्भव बाली उठाउने कृषि पर्वबाट भएको देखाएका छन् । गणपतिलाई ‘मुश्शक वाहन’ भनेर सम्बोधन गरिन्छ जसमा ‘मुश्शक’ को अर्थ हुन्छ चोरी । नागोया, जापानको नान्जान विश्वविद्यालयबाट प्रकाशित हुने ‘एशियन फोकलोर स्टडिज’ जर्नलमा एसएम माइकलको ‘द ओरिजिन अफ द गणपति कल्ट’ शीर्षकको अनुसन्धानात्मक लेखमा गणेशले मुसा वाहनमा चढेर बाली चोरी गर्ने अर्थमा यसो भनिएको उल्लेख छ ।

गणपतिलाई सूर्पकर्ण र एकदन्ता पनि भनिन्छ । एकदन्ताको अर्थ ‘एउटा दाँत’ हो । गणेशको एकदन्ता हलोको प्रतीक हो । यही भएकोले गणपति सम्प्रदायको जन्म कुनै न कुनै रूपमा बाली उठाउने पर्वसँग छ । त्यस्तै द्रविडहरूमा गणेशको वाहन मुसालाई उर्वरा र उब्जाउको प्रतीक मानिन्छ ।

गणपतिका थुप्रै नाममध्ये धूम्रवर्ण (पहेंलो) पनि एक हो । पाकेको अन्नको झुप्पाको रङ पनि पहेंलो नै हुन्छ । त्यसैले गणेशलाई अन्नबाली उठाउने कामलाई मानवीकरण गर्दै मुसामा चढेको देखाइएको हो । गणपति उत्सवका वेला अनन्त चतुर्थीका दिन गणपतिको मूर्तिलाई नदी या पोखरीछेउमा लगेर एकमुठी हिलो या बालुवा उठाएर अन्न भण्डार या भकारीमा छरिन्छ ।

यसरी छरेपछि मुसाले अन्न खाँदैन भन्ने जनविश्वास रहेको माइकलको भनाइ छ । उनी लेख्छन्– पुज्ने क्रममा पनि चामलको पीठो, उखुको लाँक्रा र नरिवलको गुदी जो चढाइन्छ त्यसले पनि गणेशलाई बालीनाली उठाउने कार्यसँग नै जोड्दछ ।

द्रविडहरूको बसोबास रहेको दक्षिण भारतीय राज्य महाराष्ट्रको रत्नगिरि जिल्लामा मुसाको सम्मानमा विशेष पर्व नै मनाइन्छ जसलाई उन्दिर बी अर्थात् मुसाको दोस्रो दिन भनिन्छ । पर्वमा मुसाको मूर्तिमा विशेष परिकारहरू चढाइन्छ । सँगसँगै गणेशको पनि पूजा हुन्छ । अन्तिममा मुसाको मूर्ति र खानेकुरा सबै बालीनालीमा छरिन्छ । यसो गरियो भने मुसो प्रसन्न हुन्छ र बालीनाली बिगार गर्दैन भन्ने विश्वास छ ।

महाराष्ट्रमा पर्ने कल्वान तलुकमा गणपतिको प्रतीकका रूपमा ढुङ्गा र हलोमाथि अन्नको रास थुपारेर पोथी या बाख्रा भोग दिइन्छ । यो संस्कारले पनि गणेशलाई बाली उठाउने कृषि कर्मसँग नै सम्बन्ध रहेको देखाउँछ ।

संस्कृति केलाउने हो भने, मुसा द्रविड जातिमा पर्ने ओराउँहरूको टोटेम अर्थात् गणचिह्न पनि हो । ठीक यहाँ चाहिं भारतीय इतिहासकार, दार्शनिक देवीप्रसाद चट्टोपाध्यायको भनाइ सान्दर्भिक हुन्छ ।

उनका अनुसार भारतमा हात्ती र मुसा गणचिह्न भएका दुई द्रविड गण थिए । हात्ती गणचिह्न भएकाले मुसा गणचिह्न भएकालाई पराजित गरे, जसका कारण हात्तीको सवारी मुसा हुन पुग्यो । गण अर्थात् सर्वसाधारण जनताका मुखियालाई गणपति भनिन थालियो । अनि गण (जनता) को ईश (देवता) को अर्थमा गणेश भनियो ।

दक्षिण भारतकै कर्नाटकको कनर क्षेत्रमा पाक्ने वेलाको अन्नका थुप्रै नामहरू छन् अरी, होलिगट्ट, बेनप्पु । यसमध्ये बेनप्पु चाहिं गणपति (गणेश)को पर्यायवाची शब्द हो । महाराष्ट्रमा पर्ने कल्वान तलुकमा गणपतिको प्रतीकका रूपमा ढुङ्गा र हलोमाथि अन्नको रास थुपारेर पोथी या बाख्रा भोग दिइन्छ । यो संस्कारले पनि गणेशलाई बाली उठाउने कृषि कर्मसँग नै सम्बन्ध रहेको देखाउँछ ।

देवराज सर्मा, हजारा, एलिस गेट्टी, थानीनयगम, क्रुक लगायतका प्रायः विद्वान्हरू गणपतिलाई द्रविड देउता नै मान्दछन् । क्रुकको विचारमा गणपतिको कथा आदिवासी मिथकबाट लिइएको हो जुन मूल रूपमा पशु सम्प्रदायसँग सम्बन्धित छ ।

आर्टिबस एसियाई जर्नलमा बालाजी मुन्दकुरद्वारा लिखित ‘द इनिग्मा अफ विनायक’ शीर्षकको लेखमा गणपति सम्प्रदायलाई इसाको पाँचौं शताब्दीभन्दा पुरानो मान्न सकिंदैन । उनको यो तर्क पुरातात्विक प्रमाणमा आधारित छ । अध्येता बी.सी. मजुमदार चाहिं हिन्दूहरूले इस्वीको छैटौं शताब्दीदेखि मात्र पार्वतीको छोराका रूपमा गणेशलाई पुज्न थालेका हुन् भन्ने मान्यता राख्छन् ।

जेहोस् इसाको पाँचौं–छैटौं शताब्दीदेखि नै गणेशपूजा शुरू भएको भन्नेमा प्राज्ञिकवर्ग प्रायः एकमत छ । रोबर्ट एल ब्राउनको सम्पादनमा अमेरिकाबाट प्रकाशन गरिएको ‘गणेशः स्टडिज अफ एन एशियन गड’ पुस्तकमा ‘गणेशः अ प्रोटोहिस्ट्री अफ द आइडिया एण्ड द आइकन’ शीर्षकमा लेख छपाएका अनुसन्धानदाता एके नारायण पनि यी अनेक प्रमाण, तथ्य र तर्कका आधारमा हिन्दूहरूले गणेशको पूजा थालेको करीब १५०० वर्ष जति मात्र भएको बताउँछन् । यस हिसाबमा गणेश ‘भगवान्’ को उमेर १५०० वर्ष जति मात्र पुगेको देखिन्छ ।

(चाम्लिङले मुन्धुम संस्कृतिमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका छन् ।)

प्रतिकृया दिनुहोस