रिपोर्ट आइतबार, पुस ६, २०७६

दिल्ली काेठीमा सात वर्ष, भन्छिन्: "कसैले मारिदिए पनि हुन्थ्याे जस्ताे लाग्थ्याे"

लक्ष्मी बस्नेत

दिल्ली काेठीमा सात वर्ष, भन्छिन्: "कसैले मारिदिए पनि हुन्थ्याे जस्ताे लाग्थ्याे"

काका–काकीबाटै भारु १० हजारमा बेचिएकी १४ वर्षीया बालिकाको झन्डै सात वर्षपछि भदौ २०७५ मा माइती नेपालले उद्धार गरेको थियो।

उनलाई युवती झैं देखाउन सुई र औषधि दिइएको थियो। जिल्ला अदालत काठमाडौंले २५ मंसीरमा उनका काका–काकीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। उनले हिमालकर्मी लक्ष्मी बस्नेतलाई आफ्नो पीडा सुनाएकी छिन्।

मैले थाहा पाउँदा म बुबा र सानिमा (सौतेनी आमा) सँग थिएँ । आमाबारे थाहै पाइनँ । बुबाको गरीबीका कारण पढ्न नपाएपछि नुवाकोटबाट आफन्तसँग काठमाडौं आएर होटलमा भाँडा माझें । एक वर्ष जति काम गरेपछि काकी आएर गाउँमा नै पढाउने भन्दै लिएर हिंडिन् । म खुशी हुँदै गएँ ।

गाडीमा मलाई बान्ता आउने हुनाले काकीले दिएको औषधि खाएपछि निदाएँ । मलाई जङ्गलबीचका एक दुई होटल भए ठाउँमा बिउँझाएर खाना खान झारे । त्यहाँबाट एकैपटक दिल्ली पुर्‍याएपछि मात्र चाल पाएँ । मलाई हेमा भन्नेको कोठामा छाडेर काकी एक महीनापछि आउने भन्दै भोलिपल्ट बिहानै हिंडिन् ।

म काकीसँगै जान खोज्दा लक्ष्मी तामाङ भन्ने अर्की नेपालीले नै कुटपिट गर्दै कोठामा थुनिन् ।

एकदिन टाउको दुखेर सुतिरहेकी थिएँ । उनीहरूले नै अस्पताल लगे । दुई दिनसम्म राखेर सुई र औषधि दिए । अस्पतालबाट फर्किएको एक दुई दिनपछि मलाई असाध्यै भोक लाग्न थाल्यो । एक महीनासम्म जे खान मागे पनि दिए ।

त्यसपछि हेमाले लक्ष्मीसँग नयाँदिल्लीस्थित कोठी नं. ५११ कश्मिरी बिल्डिङमा पठाइन् । त्यहाँ सिमरन भन्ने मेनेजरले केटासँग जान भनिन् । मैले नमान्दा लक्ष्मीले नराम्रोसँग पिटिन् । त्यहाँ केटाहरूले केटी छानेर कोठामा लग्दा रहेछन् । पहिलो दिन नै मसँग तीन जना ग्राहक पठाए ।

शुरूमा दैनिक सात जनासम्म पठाउने मेनेजरले पछि २०\२५ जनासम्म पठाउँथिन् । कहिले त रातभरि पनि निदाउन पाउँदिनथें । कोही अलि धेरै बेर बस्यो भने मैले नै गाली खानुपर्थ्याे ।

करीब दुई वर्षपछि कश्मिरी बिल्डिङका सबैलाई कोठी नं. ६४ मा सारे । नयाँ कोठीमा सारेपछि ग्राहकलाई नयाँ केटी भनेर ढाँट्न पाउने रहेछन् । अनि विभिन्न कोठीमा सारेर सात वर्षसम्म राखे । कोठी नं. ६४ मा हुँदा एकपटक धेरै बिरामी भएँ । पेट दुख्ने, पोल्ने, ज्वरो आउने भयो । तर, न औषधि दिए न अस्पताल नै लगे ।

महीनावारी हुँदा हरेकपटक ५\६ दिनसम्म सहनै गाह्रो हुने गरी पेट दुख्थ्यो, रगत धेरै बग्थ्यो । आराम गर्न पाइँदैनथ्यो । मर्न पाए पनि अथवा कोही आएर मारिदिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो ।

एकपटक भारतमा गाडी चलाउने, गोरखा घर भएको अर्जुन कोठीमा आयो । त्यसपछि महीनाको एकपटक आउन थाल्यो । बिरामी हुँदा औषधि लुकाएर ल्याइदिन्थ्यो । म पुरानो भएकाले मोबाइल चलाउन छुट थियो । उसँग मोबाइलमा लुकेर कुरा गर्थें । उसलाई मैले त्यहाँबाट भगाउन बिन्ती गरें ।

अर्जुनले भागेर आफूसँग बिहे गर्न भन्थ्यो तर, जताततै सिसीक्यामेरा हुनाले भाग्न सजिलो थिएन । पुरानोलाई कहिलेकाहीं बाहिर जान छुट हुन्थ्यो । एक दिन अर्जुनलाई फोन गरेर म कोठीबाट निस्किएँ । उसको कोठामा दुई महीना जति बसें । त्यति वेला बिरामी थिएँ । अर्जुनले नै भात पकाएर खुवायो, औषधि उपचार पनि गरिदियो ।

एक दिन पूजा भन्ने मिल्ने साथी भेट्न आई । आफू सुर्खेतस्थित घर जान लागेको बताई । म पनि २०७५ सालको तीज मनाउन पूजासँगै सुर्खेत आएँ । अर्जुनले सुर्खेतबाट फर्केपछि बिहे गरेर नेपाल आउने भनेको थियो । तीज मानेर पूजासँगै फर्किंदा अर्जुन पनि नेपालगञ्जको सीमासम्म लिन आएको थियो ।

सीमामा माइती नेपालका दिदीहरूले सोधपुछ गर्दा ढाँट्न सकिनँ । प्रहरीले अर्जुनलाई पनि वारि ल्याएर सोधपुछ गर्‍यो । यथार्थ बुझेपछि छाडिदियो तर, ऊ कता गयो थाहा पाइनँ । मलाई भने माइती नेपालमै राख्नुभयो ।

भारतमा हुँदा अब कहिल्यै घर पुग्छु जस्तो लाग्दैनथ्यो तर, यसपटकको दशैं घरमै मनाएँ । अचेल स्कूल फर लाइफ भन्ने अनौपचारिक कक्षामा पढ्न थालेकी छु ।

दिमागमा भने घुस्दो रहेनछ । बिरामी भइरहन्छु, वेलावेला पेट दुख्छ, प्रेसर हाई छ । दिमागमा घरिघरि त्यही कोठी आउँछ अनि रुन मन लाग्छ । अर्जुनलाई सम्झ्रिहन्छु । हाम्रो बिहे त हुँदैनथ्यो होला तर, मेरो जीवन बदलिदिने ऊ नै हो ।

माइती नेपालका दिदीहरूको सहयोगमा मुद्दा हालेपछि मलाई बेच्ने काका र काकीलाई पक्रिएको छ रे ! पुलिसले छाडिदिने हो कि भन्ने डर लाग्छ । उनीहरू जेलबाट निस्किएर मेरो बाटो नछेके हुन्थ्यो ।

प्रतिकृया दिनुहोस