बालसुधार गृहमा क्षमताभन्दा झण्डै दोब्बर र कतिपयमा तेब्बर बालबालिका बस्न बाध्य भएका छन् ।
देशभरका ८ वटा बालसुधार गृहमा ५३० जना राख्ने मिल्ने क्षमता भए पनि ९०० जना बसिरहेको बाल न्याय समन्वय समितिको सचिवालयले जनाएको छ ।
सबैभन्दा बढी भक्तपुरको सानाेठिमीमा रहेको बालसुधार गृहमा एकसय बालक र १० जना बालिका राख्ने क्षमताको हो, तर २२९ बालक र २८ जना बालिका रहेका छन् ।
सानोठिमी बालसुधार गृह बालिकाहरु राख्ने देशकै एक मात्र सुधार गृह हो । तर यहाँ सुधार गृहको क्षमताभन्दा झण्डै तेब्बर बालिका राखिएको छ ।
केन्द्रीय बाल न्याय समन्वय समिति सचिवालयको मंसीर तेस्रो सातासम्मको तथ्यांक अनुसार मोरङमा रहेको सुधार गृहमा १५३ जना रहेका छन् । यो जम्मा ५० जनाको क्षमताको हो ।
२५ जना क्षमताको डोटीमा ४७ जना छन् भने ६० जना क्षमताको रुपन्देहीस्थित बालसुधार गृहमा ९६ जना बालकहरु राखिएका छन् ।
त्यस्तै कास्कीमा ५० जनाको क्षमतामा ८०, बाँकेमा ७५ जना राख्नुपर्नेमा १२१ र पर्सामा ८० जनाको क्षमता भएकोमा ९३ जना रहेका छन् । मकवानपुरमा रहेको सुधारगृहमा भने ८० जनाको क्षमतामा ५३ जना रहेका छन् ।
सचिवालयका कार्यक्रम व्यवस्थापक विधान खनियाँका अनुसार बालबालिकाको उमेर १६ वर्षबाट बढाएर १८ वर्ष पुर्याएका कारण पनि बालबिज्याइँका घटना बढिरहेको तर सुधार गृहको संख्या नबढ्दा यस्ता अवस्था भएको हो ।
खनिया भन्छन्, “एकातिर उमेर बढाइएको छ, धेरैजसो बालबिज्याइँका घटनामा १६ देखि १८ वर्षसम्मका संलग्न हुँदा रहेछन् र संख्या बढ्यो, अर्को, बालबिज्याइँका घटनाको रेसियो पनि बढिरहेको छ ।”
खनियाका अनुसार यदि कोही सुधार गृहमै हुँदा १८ वर्षमा लागे भने उनीहरुलाई १८ वर्ष मुनिका बालबालिकाभन्दा छुट्टै राख्नुपर्ने प्रावधान छ तर त्यो पनि संभव भएको छैन । खनियाँ भन्छन्, “अहिलेकै रेसियोलाई हेर्दा पनि तत्काल एउटा प्रदेशमा कम्तीमा एउटा बालसुधार गृह स्थापना गर्न संघीय र प्रदेश सरकारहरुले ध्यान दिनुपर्छ ।”
८ वटा सुधार गृह मध्ये ४ वटा सरकारले र चारवटा सरकारको अनुमतिमा गैरसरकारी संस्थाले व्यवस्थापन गरेका छन् ।
बालन्याय समन्वय समितिका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि ०७३/७४ को दुई वर्षमा ३७३ बालबिज्याइँका घटनाको मुद्दा परेकोमा आब २०७४/७५–०७५/७६ को दुई वर्षमा १०३३ मुद्दा परेका छन् ।