रिपोर्ट आइतबार, मंसिर २९, २०७६

लगानी विनाको गौरव

प्रकाश गुरागाईं

लगानी विनाको गौरव

चार वर्षअघि ट्रायथलन खेल्न शुरू गर्दा सोनी गुरुङसँग पुरानो साइकल थियो । बारम्बार पन्चर हुन्थ्यो । खिइएको टायर चिप्लिरहन्थ्यो ।

उनलाई १३औं दक्षिण एशियाली खेलकुद (साग) सम्ममा नयाँ साइकल आइपुग्ने आश्वासन दिइए पनि त्यो साइकल प्रतियोगिताको दिनसम्म आएन । यसका बाबजूद उनले देशका निम्ति स्वर्ण पदक जितेरै देखाइन् । मिक्स्ड रिलेमा भने उनको टीमले रजत जित्यो ।

सोनी लगायत ट्रायथलनका सबै खेलाडीले पुरानो साइकलबाटै प्रतिस्पर्धा गरे । सबैका साइकल आल्मुनियमले बनेका पाँच वर्षभन्दा पुराना थिए । अरू देशका खेलाडीसँग भने कार्बनका हलुका साइकल थिए । नेपाली खेलाडीका लागि पनि ट्रायथलन संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिमा ताइवानबाट कार्बनकै साइकल मगाएको थियो ।

तर, बजेट निकासाको ढिलाइले समयमै भुक्तानी गर्न नसक्दा साइकल आइनपुगेको प्रशिक्षक युवराज सुनुवार बताउँछन् । उनी भन्छन्, “सोमवार (१६ मंसीर) बाट प्रतियोगिता शुरू हुन लागेको थियो, साइकल किन्ने बजेट शुक्रवार मात्र आयो । बजेट पाउने बित्तिकै हामीले भुक्तानी गर्‍यौंं, तर कार्गो गरेर आइपुग्न सम्भव थिएन ।”

आवश्यक खेल पूर्वाधार विना नै १३औं सागमा खेलाडीले दिलाएको ऐतिहासिक सफलताले सरकारलाई खेलकुदमा व्याप्त ‘राजनीति’ अन्त्य गर्दै लगानी र व्यवस्थापकीय चुस्तता बढाउन दबाब दिएको छ।

१३औं सागमा नेपालले ट्रायथलनका पाँच स्वर्णमध्ये दुई वटा जित्यो । बजेट समयमै पाएको भए स्वर्ण अझ्ै थप्न सकिने सुनुवार बताउँछन् ।

ट्रायथलनका खेलाडीको यो भोगाइ देशमा खेल पूर्वाधारको अभाव र अन्य थुप्रै असहजताका बीच खेल्नुपर्ने बाध्यताको उदाहरण हो, जुन यस पटकको सागमा पनि दोहोरियो । प्रतियोगिताको सफल आयोजना र खेलाडीहरूले दिलाएको ऐतिहासिक सफलता (५१ स्वर्ण) ले तमाम कमजोरी छोपे पनि खेल क्षेत्रमा पर्याप्त लगानी र कुशल व्यवस्थापनको प्रश्न उठेको छ ।

लापरबाहीको हद, हेपिएका खेलाडी
कठिनाइबीच खेलेर राम्रो प्रदर्शन गर्नुपर्ने दबाबमा रहने नेपाली खेलाडीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि व्यवस्थित प्रशिक्षण र रेखदेख पाउँदैनन् । कुस्ती त्यस्तै उपेक्षित खेल थियो ।

२१ खेलका खेलाडीलाई तालिमका लागि विदेश पठाउँदा कुस्तीका खेलाडीले भने त्यो मौका पाएनन् । सागका अघिल्ला संस्करणहरूमा कुस्तीमा नेपालले रजत समेत नजितेका कारण यो खेललाई हेपिएको कुस्ती संघका अध्यक्ष राज मोहम्मद अन्सारी बताउँछन् । भारतमा भएको १२औं सागमा कुस्तीले जम्मा दुई काँस्य मात्र जितेको थियो ।

कुस्तीकी संगीता धामीले यस पटक पहिलो अन्तर्राष्ट्रिय स्वर्णको कीर्तिमान बनाइन् । नेपालले एक स्वर्ण र चार रजतसहित १३ पदक जित्यो ।

पाँच स्वर्णसम्म जित्ने लक्ष्य भए पनि वैदेशिक प्रशिक्षण नहुँदा एउटामा सीमित हुनुपरेको अन्सारी बताउँछन् । उनी भन्छन्, “खेलकुद मन्त्री र राखेप सदस्य–सचिवकै निर्देशनमा खेलाडीलाई प्रशिक्षणका लागि इरान लैजाने तयारी गरेको थिएँ, तर खेलकुदकै कतिपय व्यक्तिले पदक नजित्ने खेलमा घुम्न मात्र विदेश पठाउनुहुँदैन भनेर भाँडिदिएछन् ।”

स्वदेशमै भएको प्रशिक्षणमा समेत खेलाडीलाई आवश्यक पोषणका लागि बजेट दिइएको थिएन । खेलाडीको व्यायाम शुल्क पनि संघले नै तिरेको उनी बताउँछन् ।

विदेश प्रशिक्षणमा जान नपाएका कुस्ती खेलाडीले काठमाडौंमा प्रशिक्षण स्थल पनि पाएनन् । उनीहरूलाई संघले हेटौंडा उपमहानगरपालिकाको कभर्ड हलमा तयारी गराएको थियो । सरकारको कम प्राथमिकतामा परे पनि खेलाडीले सक्दो मिहिनेत गरेर इतिहास बनाएको कुस्ती प्रशिक्षक राजेन्द्र चन्द बताउँछन् ।

भारोत्तोलनमा भने प्रशिक्षणका लागि दुई समूह बनाएर आठ खेलाडी कोरिया र १२ खेलाडी उज्वेकिस्तान गएका थिए । तर, १० दिनको छोटो अभ्यासमा आफूहरूको क्षमता विकास नभएको स्वर्ण विजेता सञ्जु चौधरी बताउँछिन् ।

उनी भन्छिन्, “हामीले एकदेखि डेढ महीनाको प्रशिक्षण गराउन भनेका थियौं, तर १० दिन मात्र प्रशिक्षण हुँदा खानपान मिलेन, यता र उताको समय नमिलेर निद्रा बिग्रिंदा खासै फाइदा भएन ।”

१३औं साग शुरु हुनु केही घन्टा अघिसम्म भौतिक पूर्वाधार बन्दै गर्दा नेपाली खेलाडीलाई आफ्नै मैदान बिरानो भयो । चार महीनाअघि मात्र बन्द प्रशिक्षण राख्दा पनि प्रशिक्षक र खेलाडीले आफ्नै बुतामा गौरवपूर्ण इतिहास रचे ।

खेल सामग्री थोत्रा हुँदा शूटिङका खेलाडीले प्रतिस्पर्धा स्थलमा नै बेइज्जती सहनुपर्‍यो । २५ मिटर सेन्टर फायरमा भाग लिने तीन नेपाली खेलाडीका लागि एउटा मात्रै पेस्तोल थियो । सुमन तुलाधर र अनिल ठकुरीले एकैसाथ प्रतिस्पर्धा गर्नुपर्ने भयो । उनीहरूले एउटा पेस्तोल पाकिस्तानी खेलाडीसँग र गोली भारतीय खेलाडीसँग मागेर प्रतिस्पर्धा गरे । अर्का खेलाडीले श्रीलङ्काका खेलाडीसँग पेस्तोल मागेका थिए ।

अझ् दुःखद त, प्रतिस्पर्धामा उत्रिएका खेलाडीले हतियार नपड्किंदा रुँदै शूटिङ रेन्ज छाडेका थिए । १० मिटर एअर पेस्तोलतर्फ भाग लिएकी श्रेया श्रेष्ठ २० मंसीरमा सातदोबाटोस्थित रेन्जमा भएको प्रतिस्पर्धामा पेस्तोल नपड्किंदा ६० मध्ये १४ पटक फायर गर्न नपाई रुँदै खेलस्थल छाडिन् ।

१८ मंसीरमा भएको २५ मिटर स्पोर्टस् प्रतिस्पर्धामा पनि पेस्तोल नपड्किएकै कारण सीमा तुलाधर रुँदै बाहिरिएकी थिइन् । १३औं सागमा शूटिङतर्फ नेपालले कुनै पनि पदक जित्न सकेन ।

२० वर्षअघि काठमाडौंमा भएको आठौं सागका लागि चीनले अनुदान दिएका सहित अधिकांश हतियार पुरानो भएकैले नपड्किएका हुन् । तर, शूटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ भने खेलाडीले हतारमा गोली ‘लोड’ गर्दा ‘लक’ नभएकाले नपड्किएको बताउँछन् ।

“तिनै हतियारले यही वर्ष जापानमा गएर खेलाडीले प्रतिस्पर्धा गरे, दिल्ली र दोहाको वल्र्ड च्याम्पियनसिपमा भाग लिए । पुराना भएर नपड्किएको सत्य होइन”, उनी भन्छन् ।

जुत्ताको व्यथा
भारोत्तोलनबाट आशा गरिएका खेलाडीले कस्ट्युम र जुत्ता नहुँदा यस पटकको सागमा स्वर्ण नै गुमाए । सन् २००६ को १०औं सागमा पहिलो पटक स्वर्ण जितेका कमलबहादुर अधिकारी पुराना जुत्ता चिप्लिएपछि काँस्यमै सीमित भए ।

अभ्यासमा समेत चिप्लिएर भार उठाउन समस्या भएपछि नयाँ जुत्ता मागेका अधिकारीलाई प्रतिस्पर्धाका लागि नयाँ आइपुग्ने भनिएको थियो । प्रतियोगिताभन्दा दुई दिनअघि नयाँ जुत्ता र कस्ट्युम त आयो, तर साइज मिलेन । पुरानै लगाएर प्रतिस्पर्धामा उत्रिएका उनलाई अभ्यासमा झै जुत्ताले धोका दियो ।

स्वर्णको आश गरिएका अर्का खेलाडी विशालसिंह विष्टले रजतमा चित्त बुझउनुपर्दा तारादेवी पुन काँस्यमा सीमित भइन् । ३८ नम्बरको जुत्ता लगाउने पुनलाई ४५ नम्बरको जुत्ता दिइएको थियो । त्यही कारण उनले कैयौं पटक ग्लुले टाँसिएको नौ वर्ष पुरानो जुत्ता लगाएर प्रतिस्पर्धा गर्नुपर्‍यो ।

कसैले साथीको पुरानो मागेर काम चलाए भने कसैले स्थानीय बजारमा अभ्यासका लागि किनेको कस्ट्युम लगाए । स्वर्ण विजेता सञ्जु चौधरी भन्छिन्, “म ३८ नम्बरको जुत्ता लगाउँछु, तर ३५ नम्बरको पाएँ । नयाँ जुत्ताले झ्नै अप्ठ्यारो भएपछि पुरानै लगाएँ ।”

तेह्रौं सागमा नेपालले पाएको स्वर्ण–प्रतिफल जोगाउँदै गरिने थप लगानी र सुशासनले खेल क्षेत्र मात्र होइन, मुलुककै भविष्य सुनौलो बन्ने सम्भावना छ ।

अन्तिम समयमा हतारमा काम गर्ने प्रवृत्ति कस्तो भने, प्रतियोगिताको १६ दिनअघि २९ कात्तिकमा मात्र खेल सामग्री व्यवस्थापन समिति संयोजक पुरेन्द्रविक्रम लाखे भारत गएका थिए । तर, साइक्लिङ, शूटिङ लगायत खेलका सामग्री नै आइपुगेनन् । कतिपय खेलका कस्ट्युम र जुत्ता हतारमा ल्याइँदा खेलाडीलाई ठीक भएन ।

‘घरको बाघ !’
सन् १९९९ मा नेपालमै आयोजित आठौं सागमा करातेका गंगाराम महर्जनले स्वर्ण जिते । तर, सन् २००४ मा पाकिस्तानमा भएको नवौं सागमा उनी काँस्यमा सीमित भए । आठौं सागमा करातेबाट १४ स्वर्ण जितेको नेपाल नवौं सागमा एउटैमा सीमित भयो ।

आठौं सागमा ३१ स्वर्ण पदक जितेर पदक तालिकामा दोस्रो स्थान कब्जा गर्नु नेपालको सबैभन्दा ठूलो उपलब्धि थियो । त्यसलाई उछिन्दै घरैमा भएको १३औं सागमा ५१ स्वर्ण जितेर नयाँ इतिहास बनेको छ ।

यी दुवै सागको अंक तालिकामा दोस्रो स्थानमा रहेको नेपालले घर बाहिर भने यो स्थान हासिल गर्न सकेको छैन । सागको १३औं संस्करणसम्ममा देशले जम्मा १२२ स्वर्ण जितेको छ । जसमध्ये घरैमा भएका तीन वटा सागमा ८६ स्वर्ण जित्दा बाँकी १० संस्करणमा ३६ स्वर्ण मात्र जितेको छ ।

१३औं राष्ट्रिय टिम तयारी समितिका संयोजक रिम रानाभाट घरेलु दर्शकबाट पाइने ऊर्जाबाट खेलाडीको मनोबल उच्च हुने भएकाले देशभित्र आयोजित प्रतियोगितामा राम्रो नतिजा आउने बताउँछन् ।

“घरेलु मैदानको सहजता मात्र होइन, नेपालको ‘हाइ अल्टिच्युड’ अन्य मुलुकका खेलाडीका लागि प्रतिकूल हुने र विदेशमा खेल्दा अत्याधुनिक खेल सामग्रीमा हाम्रा खेलाडीलाई बानी नपर्ने भएकाले प्रदर्शनमा फरक पर्छ”, उनी भन्छन् ।

देश बाहिर पराजित हुनुको अर्को कारण हो, कुनै खेलमा पनि पकड नहुनु । १३औं सागको आर्चरीका सबै १० स्वर्ण बाङ्लादेशले कब्जा गर्‍यो ।

भारतले टेबलटेनिसका सातवटै, शूटिङका २० मध्ये १८ र पौडीका ३७ मध्ये २६ स्वर्ण जित्यो । कुस्ती, बक्सिङ, ब्याडमिन्टन लगायत खेलमा भारतको परम्परागत वर्चस्व छ भने एथलेटिक्समा श्रीलंकाको । नेपालले भने कुनै खेलमा पनि वर्चस्व राख्न सकेको छैन ।

२० वर्षअघिको आठौं सागमा नेपालले कराते र तेक्वान्दोका ३२ मध्ये २८ स्वर्ण जितेको थियो । यस पटक करातेका १९ मध्ये १० र तेक्वान्दोका २९ मध्ये १२ स्वर्ण मात्र जित्न सफल भयो । देश बाहिर भएका सागमा यी दुवै खेलमा प्रदर्शन फितलो भयो ।

नवौं सागमा तेक्वान्दोले जितेको ६ स्वर्ण र ११औं सागमा करातेले जितेको तीन स्वर्ण घर बाहिरको सबैभन्दा ठूलो उपलब्धि हो । १२औं सागमा कराते समावेश थिएन भने तेक्वान्दोले कुनै पनि स्वर्ण जित्न सकेन ।

आठौं सागमा नेपालले बक्सिङतर्फ दुई स्वर्ण जितेको थियो । त्यसयता बक्सिङमा स्वर्ण जित्न घरैमा आयोजित १३औं साग कुर्नुपर्‍यो । यस पटक नेपालले पौडीको व्यक्तिगत स्पर्धा, एथ्लेटिक्सको १० हजार मिटर दौड, कुस्ती, साइक्लिङ, गल्फ र ट्रायथलनमा पहिलो पटक स्वर्ण जितेको छ ।

साइक्लिङको डाउन हिल र क्रस कन्ट्रीका सबै चार स्वर्ण पनि जित्यो । कबड्डी, महिला भलिबल र महिला बास्केटबलमा पहिलो पटक फाइनल पुग्दै रजत जितेको छ । घर बाहिर हुने अबका प्रतियोगितामा यो विजय कायम राख्ने चुनौती छ । 

१३औं सागमा स्वर्ण जित्ने अधिकांश खेलाडी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विभागीय टोलीका छन् । विभागीय टोलीका खेलाडीले ३८ स्वर्ण जितेका छन् ।

स्वर्ण जित्ने फूटबल टोलीमा तीन वटै विभागीय क्लबसहित अन्य खेलाडी पनि सामेल छन् । त्यसबाहेक १२ स्वर्ण विभागीय टोली बाहिरका खेलाडीले जितेका छन् । सागको १० हजार मिटर दौडमा पहिलो पटक स्वर्ण जितेर चर्चा बटुलेकी सन्तोषी श्रेष्ठ र कुस्तीमा ऐतिहासिक स्वर्ण जित्ने संगीता धामी भने विभागीय टोलीमा छैनन् ।

पलायनको जोखिम
ट्रायथलन खेलाडी हिमाल टमटा वैदेशिक रोजगारीका लागि दुबई जाने तयारीमा थिए । नेपाली सेनाका हबल्दार उनको सुरक्षा गार्डमा जान गत भदौमै भिसा लागेको थियो । उनलाई प्रशिक्षक राजीव चन्दले सम्झइबुझइ १३औं सागका लागि रोके, तर उनीसँग न खेल्ने साइकल थियो न कस्ट्युम नै ।

अभ्यासका लागि आफैंले रु.१ लाख ५० हजार तिरेर माउन्टेन बाइक किनेका थिए । ट्रायथलनमा लगाइने वान पिस कस्ट्युम नेपालमा नपाइने हुनाले साइक्लिङमा लगाउने टु पिस लगाएर प्रशिक्षण गरिरहेका थिए ।

अर्की ट्रायथलन खेलाडी सोनी गुरुङलाई केही समयअघि प्रायोजकले भूलवश पुरुष खेलाडीले लगाउने कस्ट्युम दिएको थियो । टमटाले मागेर लगाएको त्यही कस्ट्युम र ट्रायथलन संघले उपलब्ध गराएको करीब सात वर्ष पुरानो साइकलकै भरमा दुआथलनमा स्वर्ण जिते ।

टमाटाको अबको लक्ष्य एशियन गेम्समा पदक जित्नु हो । तर, उनीसँग न उपयुक्त साइकल छ, न आवश्यक आहारामा नियमित खर्च गर्ने क्षमता नै । खेलमा लागिरहन धेरै खर्च हुने भएकाले तलबले नपुग्ने उनी बताउँछन् । भन्छन्, “नयाँ साइकल किन्ने पैसा छैन । ऋण पनि तिर्न सकेको छैन । सरकारले सहयोग नगर्ने हो भने वैदेशिक रोजगारीमा जानुको विकल्प हुँदैन ।”

टमटा झै‌ं पदकको आशा गरिएकी एथ्लेटिक्स खेलाडी तुलसा खत्री भने साग शुरू हुनु ठीक दुई दिनअघि कतार उडिन् । खत्रीले ४०० मिटर दौड, ४०० मिटर रिले र हडल्समा भाग लिएकी थिइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा ४०० मिटर दौडमा १० वर्ष पुरानो राष्ट्रिय कीर्तिमान तोड्दै स्वर्ण जितेकी थिइन् ।

मार्सल आर्टस्, कुस्ती, एथ्लेटिक्स लगायतका खेलाडी अधिकांश निम्न र निम्न मध्यम वर्गीय परिवारका छन् । खेलेर गुजारा चल्ने अवस्था नभएपछि वेलावेला पलायनका समाचार आइरहन्छन् । एथ्लेटिक्समा धेरै कीर्तिमान बनाएकी केशरी चौधरी वैदेशिक रोजगारीका लागि दुबईमा छिन् ।

एथ्लेटिक्सकै सविता चौधरी र फूटबलकी सजना राना पनि दुबईमा छन् । तेक्वान्दोमा ११औं सागमा काँस्य र १२औं सागमा रजत जितेकी यानकुमारी चौलागाईं र १२औं सागमा रजत नै जितेकी ज्ञानी चुनाराबाट १३औं सागमा स्वर्णको आशा थियो । सन् २०१६ को रियो ओलम्पिक खेलेकी तेक्वान्दो खेलाडी निशा रावलबाट पनि स्वर्णकै आशा थियो । तर, तीनै जना अमेरिका पलायन भइसकेका छन् ।

‘धनीको खेल’ भनिने गल्फमा यस पटक दोहोरो स्वर्ण जित्ने सुवास तामाङ निम्न वर्गीय परिवारका हुन् । तीन कक्षासम्म मात्र पढेका उनी गल्फरहरूको सहयोगी ‘क्याडी ब्वाई’ को काम गर्दागर्दै खेलाडी बनेका हुन् ।

१३औं सागमा भारोत्तोलनतर्फ स्वर्ण जितेपछि सञ्जु चौधरीले आफूलाई पुरस्कार भन्दा जागिर दिन सरकारसँग आग्रह गरिन् । खेलमा मात्र लागेर जीवन नधानिने उनको गुनासो छ । “खेलाडीलाई कमाउने चिन्ता हुँदा राम्रो खेल्न सक्दैन”, उनी भन्छिन् । 

आफ्नै मैदान बिरानो

नेपालको अन्तर्राष्ट्रियस्तरको एक मात्र खेलमैदान दशरथ रङ्गशाला २० वर्षअघि आठौं साफको वेला चीन सरकारले मर्मत गरिदिएको थियो ।

तर, २०७२ सालको भूकम्पले भत्किएपछि समयमै पुनर्निर्माण नसकिंदा १३औं सागको आयोजना एक वर्ष ढिला भयो । नेपाली खेलाडीले घरेलु मैदानमा कुनै पनि खेलको अभ्यास गर्न पाएनन् । दशरथ रङ्गशाला फूटबल, एथ्लेटिक्स, भलिबल लगायत खेलको आयोजनास्थल तोकिएको थियो ।

साग शुरू हुनु दुई दिनअघि मात्र फूटबल टोलीले दशरथ रङ्गशालास्थित घरेलु मैदान टेक्न पाएको थियो । त्यतिवेलासम्म पनि रङ्गशालाको भीआईपी पारापिटतर्फको छाना हालिसकिएको थिएन । भलिबल खेलाडीले पनि रङ्गशालास्थित कभर्डहलमा अभ्यास गर्न पाएनन् । निर्माण सामग्री थुपारिएको र ढिला गरी मर्मत गरिएका कारण एथ्लेटिक्स खेलाडीलाई घरेलु ट्र्याक नै अपरिचित थियो ।

उता सातदोबाटोस्थित पौडीपोखरी सागको एक साताअघिसम्म निर्माण नसकिने आशंका गरिएकोमा प्रतियोगिताको अघिल्लो दिन मात्र पानी भरिएको थियो । करातेका खेलाडीले पनि सातदोबाटोस्थित हलमा अभ्यास गर्न पाएनन् । काठमाडौंको गौशालास्थित होटल शिवम् प्लाजामा बसेका खेलाडीले त्यही होटलको एउटा कोठामा पुरानो म्याट राखेर अभ्यास गरेका थिए ।

उता पोखरा रङ्गशाला मर्मत पनि अन्तिम समयमा मात्रै सकिएको थियो ।अन्तिम समयमा नयाँ दुबो फेरि रोप्नुपरेको थियो । जसका कारण स्वर्णको अपेक्षा गरिएको महिला फूटबल टीम घरेलु मैदानमा एकैपटक प्रतिस्पर्धाका लागि उत्रिनु पर्‍यो । रङ्गशालामा १० हजार कुर्सी राख्ने भनिए पनि समय अभावमा ६ हजार कुर्सी अटाउने पारापिट मात्र राखिएको थियो ।

चीनले २०७२ सालको भूकम्पपछि पुनर्निर्माण गरिदिएको सातदोबाटोस्थित अत्याधुनिक शूटिङ रेन्जमा पनि खेलाडीले अभ्यास गर्न पाएनन् ।

साग आउनु करीब दुई साताअघि मात्र चीनले खेलस्थल हस्तान्तरण गरेकाले अभ्यास गर्न नपाएको शूटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ बताउँछन् । उक्त शूटिङ रेन्ज सन् १९९९ को आठौं साफमा चीनले नै बनाइदिएको थियो ।

 

खेलाडीलाई पारिवारिक साथ

 

प्रतिकृया दिनुहोस