ब्लग सोमबार, मंसिर ३०, २०७६

हिंडेरै काठमाडौं–बुटवल

भैरव रिसाल

हिंडेरै काठमाडौं–बुटवल

अखिल नेपाल विद्यार्थी फेडरेशनको शाखा विस्तार गर्न सीमित खर्चबर्चमा हिंडेका दुई ठिटा पैदल नै बुटवल पुगेका थियौं।

भैरव रिसाल

कुरा हो २०११ सालको । युवावयको जोशमा काठमाडौंबाट हिंडेरै बुटवल पुगेको हिजै जस्तो लाग्छ । सडक सुविधा नभएको त्यो जमानामा पैदल हिंड्नुको विकल्प पनि थिएन । नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ सङ्गठन अखिल नेपाल विद्यार्थी फेडरेशनमा आबद्ध थिएँ, म । फेडरेशनको सङ्गठन विस्तार गर्न पुण्यप्रताप राणा र म पश्चिम नेपालतर्फ हिंडेका थियौं।

एक–एक वटा झाेला भिरेका थियौं । झाेलामा एक जोर कपडा, एउटा पातलो बर्को, दाँत माझ्ने र दाह्री काट्ने सामान थिए । फेडरेशनले हामी दुईलाई बाटो खर्च जम्मा पाँच रुपैयाँ दिएको थियो । पाँच–पाँच सुकाको एकुन्टा झाेला किन्यौं र सोह्रखुट्टेबाट मुड्खुको डुग्रने पानी हुँदै लम्कियौं । खल्तीमा बाँकी थियो दुई रुपैयाँ १० पैसा, छिचोल्नु छ, धेरै ठाउँ।

साँझ नुवाकोटको रानीपौवामा बास बसियो । बास बसेको घरमा एकजनाका लागि चामलदेखि नुन भुटुनसम्म र दाउरा किन्न पाँच सुका पर्दो रहेछ, खाना आफैंले पकाउनुपर्ने।

बस्ने ठाउँमै खानेकुरा किनेको हो भने सुत्न एकुन्टा गुन्द्री र सिरानीका लागि पिर्का पाइने । तर, हामीलाई ४० पैसा अपुग भयो । तै तीनधारा पाकशालाका साथी कृष्णप्रसाद गौतमसँग अकस्मात् भेट भयो । उनले ५० पैसा सापट दिएपछि त्यहाँको सङ्कट टर्‍यो।

भोलिपल्ट त्रिशूली बजारको त्रिभुवन त्रिशूली निम्न माविमा पुगेर मात्र खान पाइयो । साथीहरूले दही–च्यूरा दिए । विद्यार्थीको एउटा सभा गरेर फेडरेशनको शाखा गठन गर्‍यौं । फेडरेशनको अधिवेशनका लागि प्रतिनिधि छान्यौं र विद्यार्थी साथीहरूबाट बाटो खर्च पाएर गोरखातिर हिंड्यौं । धादिङको सल्यानटारबाट आरुघाट, खानचोक हुँदै चौथो रात गोरखा बजार पुगियो।

गोरखामा कम्युनिष्ट पार्टीका नेता वैकुण्ठ कट्टेल थिए । भोलिपल्ट उनीसहित विद्यार्थीको बैठक गर्‍यौं । कट्टेलले नै जौबारी नगई हुँदैन भनेपछि गयौं । जौबारीमा २०११ सालमै हाईस्कूल थियो । शाखा गठन गरी अधिवेशन प्रतिनिधि छानेर दोस्रो रात गाईखुर पुगेर बास बसियो।

२ माघको अपराह्न तनहुँको बन्दीपुर पुगेर डा.मथुरा श्रेष्ठ र कानून व्यवसायी कुसुम श्रेष्ठकी आमाको मातृवात्सल्यमा सुस्ताउन पायौं । आमाले ताजा घ्यूसँग भात मस्तसँग खान दिनुभयो । त्यहाँबाट तनहुँकै टुहुरे पसल हुँदै साँझ लमजुङको कुञ्छा पुगियो।

भोलिपल्ट बिहानै दुराडाँडाको च्यानपाटा हाईस्कूल गयौं । कांग्रेसको बाहुल्य भएको र श्रीकान्त अधिकारीहरूले अखिलको शाखा खोल्न जोड नगर्नू भनेकोले त्यो ठाउँमा प्रयासै गरिएन।

पोखरामा बीपीसँग भेट

१२औं दिनमा पोखरा पुग्यौं । एउटा घरको पिंढीमा बास बस्यौं । तै ओढ्ने ओछ्याउने र खान पनि दिए । त्यत्तिका दिनसम्म नुहाउन र लुगा धुन पाएको थिएन । फेवाताल गयौं र मस्तसँग नुहाईधुवाई गर्‍यौं।

बस्ने ठाउँमै खानेकुरा किनेको हो भने सुत्न एकुन्टा गुन्द्री र सिरानीका लागि पिर्का पाइने । तर, हामीलाई ४० पैसा अपुग भयो । तै तीनधारा पाकशालाका साथी कृष्णप्रसाद गौतमसँग अकस्मात् भेट भयो । उनले ५० पैसा सापट दिएपछि त्यहाँको सङ्कट टर्‍यो।

बास बसेको घरतिर फर्कंदैथ्यौं, कसले हो नेपाली कांग्रेसका सभापति विश्वेश्वरप्रसाद कोइराला हवाई ग्राउण्डमा हुनुहुन्छ भने।

पुण्यप्रताप र म धोएका लुगाको पोको बोकेरै बीपीलाई भेट्न गयौं । हवाई मैदानमा घेराबार नभएकाले जो पनि पस्न सक्थे।

दुई वर्ष जतिअघि भक्तपुरको कटुञ्जेमा बीपीलाई भेटेर छलफल गरिसकेकोले उनले सजिलै चिने । हामीले यात्राको प्रयोजन सुनाउँदै अब स्याङ्जा, पाल्पा, बुटवल हुँदै नेपालगञ्ज जाने र कलैया भएर काठमाडौं फर्कने बतायौं । सुनेर बीपी खुशी भए । फर्केपछि काठमाडौंमा भेटौं भने।

भोलिपल्ट स्याङ्जाको नुवाकोट डाँडा हुँदै पुतलीखेत, वालिङ, राम्दी, पाल्पाको चिदिपानी हुँदै तानसेन पुग्यौं । पाल्पाबाट दिनभर लगाएर बुटवल झर्‍यौं । बुटवलमा तरुलता (उनले पछि केशरजङ्ग रायमाझीसँग विवाह गरिन्) का पिताले हाईस्कूल चलाउँथे।

त्यहाँबाट नेपालगञ्ज जाने खर्च उनैले दिए । हामी भारतीय भूमि हुँदै नेपालगञ्ज गएर विद्यार्थी सम्मेलन गर्‍यौं र फर्केर बारा कलैयाको हाईस्कूलमा पनि शाखा खोली २६औं दिनमा काठमाडौं फर्कियौं।

बीपी काठमाडौं फर्केपछि कांग्रेसको भ्रातृ सङ्गठन नेपाल छात्र संघका नेताहरूलाई भैरव र पुण्यप्रतापले जस्तै जिल्ला जान भनेछन्।

विद्यार्थीले हवाईजहाजको टिकट मागेछन् । उनले रिसाउँदै ‘विद्यार्थी फेडरेशनका ठिटाहरू पैदलै जान सक्ने, छात्र संघलाई चाहिं हवाईजहाज चाहिने !’ भन्दै झपारेछन्।

पैदल यात्रा त्यो वेलाको बाध्यता भए पनि समाज र परिवेश बुझ्ने अवसर थियो । यस्तो यात्रामा देश र परिस्थिति यति धेरै पढिन्छ र त्यो प्रायः बिर्सिंदैन । मेरा अचेलका लेख र अभिव्यक्ति त्यस्तै भ्रमणका प्रतिफल हुन्।

प्रतिकृया दिनुहोस