रिपोर्ट विहीबार, मंसिर २६, २०७६

दाेभाषेका आफ्नै दु:ख

नुनुता राई

दाेभाषेका आफ्नै दु:ख
नेपाल टेलिभिजनमा सांकेतिक भाषाको समाचार प्रस्तुत गर्दै शिलु शर्मा । तस्वीर: शिलु शर्माकाे फेसबूकबाट

सार्वजनिक निकाय र कार्यालयहरूमा मात्र होइन बजेट भाषण, संसदमा हुने छलफल लगायत महत्वपूर्ण कार्यक्रमको प्रत्यक्ष प्रसारण हुँदा पनि दोभाषेको व्यवस्था हुनुपर्ने कानून छ। तर, देशभर जम्मा २० जना दोभाषे हुँदा बहिराहरू अधिकारबाट बञ्चित छन्।

समाचार प्रसारण गर्ने राष्ट्रिय टेलिभिजनले प्रत्येक दिन कम्तीमा एकपटक सांकेतिक भाषामा समाचार प्रसारण गर्नुपर्ने अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका, २०६९ मा उल्लेख छ ।

निर्देशिका अनुसार हरेक समाचार बुलेटिनको मुख्य समाचारलाई समानान्तर रूपमा सांकेतिक भाषामा पनि प्रसारण गर्नुपर्छ । तर, नेपाल टेलिभिजनमा नै हप्ताको एक पटक मात्र सांकेतिक भाषामा समाचार आउँछ ।

हरेक प्राइम टाइमको समाचारमा सांकेतिक भाषा पनि राख्न आग्रह गर्दा नेपाल टेलिभिजनले छुट्टै क्यामेराको व्यवस्था गर्न नसक्ने जनाएको राष्ट्रिय बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बताए । उनी भन्छन्, “निर्देशिकामा उल्लेख भएजस्तो सबै राष्ट्रिय टीभीमा प्रत्येक दिन सांकेतिक भाषाको समाचार दिन पर्याप्त दोभाषे छैनन् ।”

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ अनुसार बहिराहरू अन्य नागरिक सरह सूचना लिनबाट भाषाको समस्याकै कारण वञ्चित हुनुपरिरहेको अधिकारी बताउँछन् । प्रधानमन्त्रीको वक्तव्य, बजेट भाषण, संसदमा हुने छलफल लगायत महत्वपूर्ण कार्यक्रमहरू संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्दा दोभाषेको व्यवस्था हुँदैन ।

पहिलो संविधानसभामा तत्कालीन नेकपा संयुक्तबाट सभासद् भएका राघववीर जोशीका लागि संसद सचिवालयले राधा बोहोरालाई दोभाषे नियुक्त गरेको थियो । उनका स्वकीय सचिव दिनेश श्रेष्ठ पनि दोभाषेको काम गर्थे । त्यस यता संसदमा दोभाषे राखिएको छैन ।

ऐनमा अपाङ्गता भएका व्यक्तिले सबै ठाउँमा सहज सेवा सुविधा प्राप्त गर्न सक्ने उल्लेख छ । त्यसका लागि भौतिक र संचार पहुँच निर्देशिका पनि बनेको छ तर, कार्यान्वयन नभएको अधिकारी बताउँछन् । उनी भन्छन्, “पर्याप्त दोभाषे नहुँदा सबै ठाउँमा सुविधा दिन तत्काल सम्भव नभए पनि अस्पताल, विद्यालय, प्रहरी कार्यालय जस्ता ठाउँमा व्यवस्था गर्नु अति जरूरी छ ।”

कति छन् दोभाषे ?

२०६८ सालको जनगणना अनुसार नेपालमा ७९ हजार ३०० बहिरा भएकोमा अहिले बढेर तीन लाख हाराहारी पुगेको राष्ट्रिय बहिरा महासंघको अनुमान छ । यीमध्ये करीब ३० हजारले मात्र सांकेतिक भाषामा संचार गर्न सक्ने अध्यक्ष अधिकारीले बताए । तर, उनीहरूका लागि करीब २० जना मात्र दोभाषे छन् ।

पर्याप्त जनशक्ति नहुँदा सांकेतिक भाषामा संचार गर्न सक्नेमध्ये करीब २० प्रतिशतले मात्रै दोभाषे सुविधा उपयोग गर्न पाएको अधिकारीको भनाइ छ ।

सांकेतिक भाषा दोभाषे संघमा ६० जना सदस्य छन् । सदस्यता लिएकामध्ये धेरैले पेशा परिवर्तन गरेको अध्यक्ष शिलु शर्माले बताइन् । उनी भन्छिन्, “दोभाषेले प्रोजेक्टको आधारमा काम गर्नुपर्छ । प्रोजेक्ट सकिएपछि बेरोजगार हुने हुँदा पेशागत सुरक्षा नै छैन ।”

नानु श्रेष्ठ जयना नेपाल टेलिभिजनमा सांकेतिक भाषाको समाचार प्रस्तुत गर्थिन् । १३ वर्षभन्दा बढी दोभाषे भएपछि उनले आफ्नै व्यवसाय चलाउनतिर लागिन् । “नियमित काम पाइँदैन, अहिले पनि कसैले सहयोग मागे निःशुल्क पनि गरिदिन्छु तर, त्यही पेशामा अडिन सकिएन”, उनले भनिन् ।

महासंघ अध्यक्ष अधिकारी दोभाषेको तालिम लिन आउने धेरै भए पनि सामाजिक सुरक्षाका कारण कामलाई निरन्तरता दिने थोरै भएको बताउँछन् । भन्छन्, “हामीले ६ महीनाको तालिम दिएर सांकेतिक भाषा सिकाउँछौं, प्रोजेक्टमा जागिर पनि पाउँछन् । प्रोजेक्ट सकिएपछि अर्को आएन भने बेरोजगार हुने हुँदा पेशा नै छाड्छन् ।”

महासंघमा दुई जना दोभाषे मात्र भएकाले आवश्यक परेका व्यक्तिले माग गर्नासाथ उपलब्ध गराउन नसकेको उनले बताए । स्वतन्त्र दोभाषेहरू आवश्यक पर्नेवित्तिकै जान सक्दैनन् । “हरदम दोभाषे साथमा हुनु नै सबै समस्याको समाधान नभए पनि धेरै समस्याको समाधान हो”, उनले भने ।

दोभाषेका आफ्नै समस्या

दिनेश श्रेष्ठले दोभाषे काम गर्न थालेको १२ वर्ष भए पनि उनीसँग प्रमाणपत्र छैन । उनले बहिरा महासंघबाट चार महीनाको तालिम लिएका थिए । “तालिम लिएको प्रमाणपत्रबाहेक मसँग दोभाषेको परिचयपत्र छैन । कसैले मागिहाले मेरो काम प्रमाणित हुने कागजपत्र देखाउन सक्दिनँ”, उनी भन्छन् ।

केही देशमा दोभाषे प्रमाणित हुन दुई वर्ष अध्ययन गरेपछि एक वर्षको अनुभव हुनुपर्ने व्यवस्था छ । छिमेकी देश भारतमा पुनस्र्थापना परिषद्ले अपाङ्गता भएका व्यक्तिलाई सघाउन दिइने विभिन्न तालिमहरूलाई प्रमाणित गर्ने हुनाले दोभाषेको प्रमाणपत्र पनि दिन्छ । नेपालमा यस्तै प्रकारको संस्था गठन गरेर दोभाषे लगायत अन्य जनशक्तिलाई प्रमाणित गर्नुपर्ने श्रेष्ठ बताउँछन् ।

अपाङ्गता भएका व्यक्ति सम्बन्धी विषय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको कार्यक्षेत्रमा पर्ने हुनाले आफूहरूलाई पनि त्यहींबाट प्रमाणपत्र दिनुपर्ने दोभाषे सानु खिम्बाजा बताउँछन् । तर, दोभाषे प्रमाणित गराउन जाँदा आफ्नो विषय नभएको भन्दै शिक्षा मन्त्रालयमा पठाइएको थियो । तर, शिक्षाले महिला, बालबालिका र ज्येष्ठ नागरिक मन्त्रालयकै कार्यक्षेत्रमा पर्ने भन्दै उनलाई फर्काएको थियो ।

ऐनमा अपाङ्गता भएकाको हकहितका लागि राष्ट्रिय निर्देशक समितिले गठन गर्ने र उक्त समितिले विषय विज्ञहरूको प्रमाणित गर्ने उल्लेख छ । तर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पहल नगरेका कारण अहिलेसम्म समिति नै गठन नभएको खिम्बाजा बताउँछन् ।

दोभाषेलाई पर्याप्त तालिमको पनि अभाव छ । दोभाषेको पहिलो भाषा सांकेतिक नभएकाले सामान्य तालिमको भरमा काम गर्दा बहिरासँगको कुराकानी धारा प्रवाह नहुने उनले बताए । “संकेत ढिला हुँदा कहिलेकाहीं त अर्थको अनर्थ लागेर संचारकर्ता र दोभाषेबीच द्वन्द्व हुन्छ”, उनी भन्छन् ।

जन्मजात बहिरा र पछि बहिरा भएकाको संकेत गर्ने तरिका फरक हुँदा पनि दोभाषेलाई समस्या भएको छ । सांकेतिक भाषा दोभाषे संघकी अध्यक्ष शिलु शर्माका अनुसार जन्मजात नै बहिरा भएकाको संकेत छोटो हुन्छ भने पछि बहिरा भएकाहरू मुख पनि चलाउने हुनाले केही लामो संकेत गर्छन् ।

त्यसरी नै अन्तर्राष्ट्रिय सांकेतिक भाषा फरक हुन्छ । उनीहरूले अंग्रेजी वा आफ्नो भाषा अनुसार संकेत गर्छन् । शर्माका अनुसार नेपालका दोभाषेले थप तालिम नलिई अन्तर्राष्ट्रियस्तरमा काम गर्न सक्दैनन् । अन्तर्राष्ट्रियतरमा विभिन्न देशका भाषाका केही शब्द मिलाएर बनाइएको सांकेतिक भाषा प्रयोग हुन्छ ।

शर्माका अनुसार सांकेतिक भाषामा संकेत शब्दहरूको पनि अभाव छ । विषय र क्षेत्र अनुसार शब्दको अर्थ र संकेत फरक हुने हुँदा ती शब्दलाई बुझाउन दोभाषेलाई नै समस्या हुन्छ । उनी भन्छिन्, “म टेलिभिजनमा पनि काम गर्ने भएको हुनाले कहिलेकाहीं संकेत नै नभएका शब्द आउँछन् । त्यस्ता शब्दलाई हिज्जे गर्छौं तर, हिज्जे बहिराले बुझे वा बुझेनन् थाहा हुँदैन ।” विशेषगरी ठाउँ र नामहरूको संकेत नहुने उनी बताउँछिन् ।

तत्कालीन सभासद जोशीका दोभाषे श्रेष्ठ राजनीतिक र कानूनी शब्दको संकेत नभएको बताउँछन् । त्यस्ता शब्द हिज्जेबाट संकेत गर्दा लक्षित व्यक्तिलाई बुझाउन समस्या हुने उनको भनाइ छ ।

बहिरा महासंघले सांकेतिक भाषाको विकास, संकलन, शब्दकोश प्रकाशन, सांकेतिक भाषाको प्रशिक्षण तालिम जस्ता कार्यक्रम गरिरहेको छ । महासंघ अध्यक्ष अधिकारीका अनुसार २०७४ सालमा ४ हजार ७०० सांकेतिक शब्द भएको नयाँ शब्दकोश पनि प्रकाशित भएको छ ।

सांकेतिक भाषाको शोधकर्ता

शिलु शर्मा (४७) ले २०५७ सालदेखि दोभाषेको काम गरिरहेकी छिन् । उनी नेपाल टेलिभिजनमा हरेक शनिवार दिउँसो १ बजे र प्राइम टेलिभिजनमा हरेक दिन साँझ ६ बजेको सांकेतिक समाचार भन्छिन् । सांकेतिक भाषाको अनुसन्धानकर्ता समेत रहेकी उनले ‘नेपाली सांकेतिक भाषाको उत्पत्ति, विकास र स्वरुप’ शीर्षकमा शोधपत्र (हे. तस्वीर) तयार गरेकी छिन् । सांकेतिक भाषामा गरिएको यो नेपालकै पहिलो शोधपत्र भएको उनको दाबी छ ।

परिवारका लागि दोभाषे तालिम

परिता सिं (५०) का देवर बहिरा भएकोले उनले देउरानीसँगै सांकेतिक भाषा तालिम लिइन् । चार महीने तालिमपछि केही समय काठमाडौं बहिरा संघमा दोभाषे भइन् । अहिले उनी ‘बहिरा महिलाका सिर्जनशील हातहरू’ नामक गैरसरकारी संस्था चलाउँछिन् । उनले यो संस्था मार्फत सांकेतिक भाषा सिकाउनुको साथै विपन्न बहिरा महिलालाई जीवन निर्वाह गर्न सकिने सीप पनि सिकाउँछिन् ।

‘ज्ञानको दायरा बढ्यो’

सानु खिम्बाजा (३१) का दाइ बहिरा भएकाले दाइका साथीहरूको घरमा आउजाउ भइरहन्थ्यो । दाइ र साथीहरूले बोलेको नबुझेपछि उनले सांकेतिक भाषाको तालिम लिए । अहिले उनी बहिरा महासंघमा कार्यक्रम संयोजक र दोभाषे छन् । दोभाषे भएपछि आफूले अधिकारको विषय, ऐन र नियमावली बन्ने प्रक्रिया लगायत धेरै ज्ञान हासिल गरेको उनको भनाइ छ ।

‘साथीलाई बुझ्न दोभाषे भएँ’

दिनेश श्रेष्ठ (३०) का ११ र १२ कक्षामा बहिरा साथीहरू थिए । श्रेष्ठ उनीहरूको भाषा बुझ्दैनथे । १२ कक्षाको परीक्षा सकिएपछि उनले तालिम लिएर बहिरा महासंघमै दोभाषेको काम गर्न थाले । अधिकांश मान्छे बहिरालाई बुझ्न नचाहने प्रवृत्तिका हुने उनको अनुभव छ । बहिरा साथीले संकेत गरेको भन्ने मात्र नभई दोभाषेले उनीहरूको रिस, खुशी, दुःख जस्ता भावना पनि व्यक्त गरिदिनुपर्छ ।

 

प्रतिकृया दिनुहोस