रिपोर्ट विहीबार, मंसिर २६, २०७६

मन्दिर र सत्तल पुनर्निर्माणमा अवरोध

नुनुता राई

मन्दिर र सत्तल पुनर्निर्माणमा अवरोध
माघ २०७२ सालबाट शुरु त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माण कार्य पाँच वर्षभित्र सक्ने सम्झौता गुठी संस्थान र काठमाडौं विश्वविद्यालयबीच भएको थियो । नेपाली लोकबाजा संग्रहालय रहेको सत्तल (रा

त्रिपुरेश्वर मन्दिरको उत्तरी सत्तल भाडामा लिएर बसिरहेको नेपाली लोकबाजा संग्रहालय सम्झौता अवधि सकिएपछि पनि हट्न नमान्दा तोकिएको समयमा पुनर्निर्माण नसकिने भएको छ।

काठमाडौं विश्वविद्यालय (केयू) ले त्रिपुरेश्वर महादेव मन्दिरको सत्तल जीर्णोद्धार १२ वैशाख २०७२ को भूकम्पअघि नै थालेको थियो । काम थालेको केही दिनमा नै भूकम्प गएर सत्तलमा थप क्षति मात्र पुगेन मन्दिरको गजुर पनि ढल्यो । गुठी संस्थानको आग्रहमा केयूले मन्दिरको समेत जीर्णोद्धार थाल्यो । तर, उत्तरपट्टिको सत्तलमा बसेको नेपाल लोकबाजा संग्रहालयले त्यहाँबाट नसर्ने अडान लिएपछि विवाद भयो । उक्त सत्तल टेकोले अड्याइएको छ ।

केयूले गुठी संस्थानसँग पाँच वर्षभित्र मन्दिर, वरिपरिका चार वटा सत्तल, पुजारी घर, मन्दिर परिसरको बगैंचा र पोखरी पुनर्निर्माण गर्ने सम्झौता गरेको छ । सम्झौता गरेको तीन वर्षमा केयूले त्रिपुरेश्वर मन्दिरको पुनर्निर्माण सकेर गजुर राखिसकेको छ । सत्तलहरूको पुनर्निर्माण पनि धमाधम भइरहेको छ । संग्रहालयले उत्तरको सत्तल खाली नगरे सम्झौता अवधिसम्ममा पुनर्निर्माण नसकिने केयू सङ्गीत विभाग प्रमुख डा.लोचन रिजाल बताउँछन् ।

त्रिपुरेश्वर महादेवको मन्दिर १८७५ सालमा राजा रणबहादुर शाहको सम्झ्नामा उनकी श्रीमती ललित त्रिपुरासुन्दरीले निर्माण गरेकी थिइन् । सत्तलको निर्माण १८७७ सालमा भएको थियो । १९९० सालको भूकम्पले क्षति पुर्‍याएपछि १९९४ सालमा मन्दिर र सत्तलकै पुनर्निर्माण भएको ‘टेकू थापाथली रिसर्च गु्रप’ को रिपोर्ट (२०५१) मा अध्येता जोन स्यान्डेले उल्लेख गरेका छन् । त्यसयता मन्दिरको सामान्य मर्मत मात्र भएको संस्थानले जनाएको छ ।

मन्दिर परिसर अतिक्रमणमा समेत परेको छ । परिसरको पश्चिम भागमा अतिक्रमण गरी कम्पाउन्ड लगाइएको छ । १२ वर्षदेखि सत्तलमा बसिरहेका अतिक्रमणकारीलाई आफूले नचिनेको तर, उनीहरूको मन्दिरसँग कुनै सम्बन्ध नभएको गुठी संस्थान काठमाडौं शाखाका पूर्वप्रमुख बैकुण्ठप्रसाद रेग्मीले बताए । यस्तै दक्षिणपट्टिको सत्तलमा पनि केही परिवार अनधिकृत रूपमा बसेको रेग्मीको भनाइ छ ।

यसरी पायो केयूले जिम्मा

दाताहरूले त्रिपुरेश्वर मन्दिरको जीर्णोद्घारका लागि गुठी राखेका छैनन् । जीर्ण सत्तलहरूको मर्मत हुन नसकेपछि महानगर, पुरातत्व विभाग र गुठी संस्थानबीच भूकम्पअघि नै एउटा–एउटा मन्दिरको सत्तल जीर्णोद्धार गर्ने सहमति भएको थियो । त्रिपुरेश्वर मन्दिरको सत्तल जीर्णोद्धारको जिम्मा गुठी संस्थानले लियो । प्रारम्भिक अध्ययनले करोडौं खर्च हुने देखिएपछि संस्थानले पुनर्निर्माणका लागि केयूसँग सम्झौता गरेको सूचना अधिकारी सरोज थपलिया बताउँछन् ।

उनी भन्छन्, “हामीले खर्च गर्न सक्ने अवस्था थिएन, काठमाडौं विश्वविद्यालयले सत्तलहरूको जीर्णोद्घार गरेर धार्मिक तथा सांस्कृतिक महत्व नखल्बल्याई सङ्गीत कक्षा चलाउने प्रस्ताव गर्‍यो । पुरातत्व विभागको स्वीकृति विना संस्थान र केयूले मात्र पुनर्निर्माण गर्न नसक्ने हुँदा विभागसँग समन्वय गरेर सम्झौता गरेका हौं ।” तर, जीर्णोद्धार शुरू नहुँदै भूकम्पले सत्तलहरूमा थप क्षति पुग्यो भने मन्दिरको गजुर नै खस्यो ।

पुरातत्व विभागबाट स्वीकृत नक्शा अनुसार नै मन्दिर र सत्तल पुनर्निर्माण हुने थपलिया बताउँछन् । पुनर्निर्माणका लागि रु.२७ करोड खर्च हुने पुरातत्व विभागले लगत निकालेको छ । केयू आफैंले छुट्याएको रु.२ करोड र सङ्गीत विभागले साङ्गीतिक कार्यक्रम मार्फत उठाएको रु.१९ लाखबाट काम शुरू गरेको थियो । पुनर्निर्माण प्राधिकरणको अनुरोधमा थाइल्याण्ड सरकारले रु.१७ करोड सहयोग गरेको छ ।

केयूले पाँच वर्षभित्र मन्दिर र सत्तलहरूको पुनर्निर्माण गर्नेछ भने थप २५ वर्ष भाडा तिरेर प्रयोग गर्नेछ । केयूले सत्तल प्रयोग गरेबापत मन्दिरमा पूजापाठका लागि मासिक रु.१५ हजार दिनेछ । यो रकम हरेक दुई वर्षमा १५ प्रतिशतले बढ्ने सम्झौतामा उल्लेख छ ।

मन्दिर र सत्तल अतिक्रमण गरी बनाइएको कम्पाउन्ड (रातो घेरामा)।

पुनर्निर्माणपछि त्यहाँ मौलिक सङ्गीत अर्थात् इथ्नोम्युजिकोलोजीका कक्षा संचालन गर्ने सङ्गीत विभाग प्रमुख डा.रिजाल बताउँछन् । उनका अनुसार पुजारीहरूको बसोबास र भजनकीर्तनका लागि आवश्यक ठाउँ व्यवस्थापन गरेर बाँकी भाग केयूले उपयोग गर्नेछ । उनी भन्छन्, “सम्पदा तथा संस्कृतिमा प्रतिकूल प्रभाव नपर्ने गरी अध्ययन अध्यापनसँगै हराइसकेका लोकसंस्कृति र बाजाहरूको खोजी पनि गर्छौं ।” त्रिपुरेश्वरको संस्कृतिलाई पुनर्ताजगी गर्न ‘त्रिपुरासुन्दरी स्टडिज’ अध्यापन समेत शुरू गर्ने डा.रिजालले बताए ।

लोकबाजा संग्रहालयको भाँजो !

नेपाली लोकबाजा संग्रहालयले गुठी संस्थानसँग उत्तरतिरको सत्तल १५ वैशाख २०६४ देखि प्रत्येक पाँच वर्षमा नवीकरण गर्नुपर्ने गरी भाडामा लिएको हो । अन्तिमपटक १५ वैशाख २०७१ मा गरिएको नवीकरणको अवधि नसकिंदै संस्थानले केयूसँग सम्झौता गरेर भाडामा दिएको संग्रहालयका संस्थापक अध्यक्ष रामप्रसाद कँडेलको भनाइ छ ।

सम्झौता करार परिपालनको माग गर्दै असार २०७४ मा कँडेलले संग्रहालयका तर्फबाट गुठी संस्थान र केयूलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा हाले । अदालतले संग्रहालयको दाबी नपुगेको भन्दै गुठी संस्थान र केयूको पक्षमा फैसला गरिसकेको छ । संग्रहालयले संस्थानलाई मासिक रु.६ हजार ५०० भाडा तिर्छ ।

सत्तल पुनर्निर्माणपछि फेरि त्यहीं फर्किने र त्यतिन्जेलसम्म अर्को पक्की भवन खोजेर संग्रहालय सार्ने केयू र संस्थानसँग सहमति भइसकेको कँडेल बताउँछन् । उनी भन्छन्, “सहमति भए अनुसारको सम्झौता नभएसम्म सत्तलबाट संग्रहालय हटाउँदैनौं, जबर्जस्ती गरे त्रिपुरेश्वरको सडकमा पाल टाँगेर राख्छौं ।”

सम्झौता नवीकरण नभए पनि वैशाख २०७५ देखिको भाडा आफूले माछापुच्छ्रे ब्याङ्कमा रहेको संस्थानको खातामा जम्मा गर्दै आएको कँडेलले बताए । मन्दिरमा पूजा नरोकियोस् भनेर पुजारी र कर्मचारीका चार परिवारलाई भने आफूले सत्तलमा संरक्षण गरेर राखेको पनि उनको दाबी छ ।

गुठी संस्थानका सूचना अधिकारी थपलिया भने कर्मचारीलाई मन्दिरका सत्तलमा बस्ने व्यवस्था नगरिने बताउँछन् । यसअघि पनि कर्मचारीले मन्दिरमा बस्ने माग गर्दै निवेदन लिएर आएको तर, आफूले अस्वीकार गरेको उनले बताए । उनी भन्छन्, “मन्दिरमा काम गर्ने कर्मचारी सबैलाई निश्चित तलबको व्यवस्था छ । उनीहरू अब आफ्नै घरबाट कार्यालय धाउनुपर्छ ।”  

संग्रहालयका लागि पक्की भवन खोजिदिने र पुनर्निर्माणपछि त्यहीं बस्ने सम्झौता पनि नभएको थपलिया बताउँछन् । संग्रहालय सर्नुको विकल्प नरहेको भन्दै उनले त्यसका लागि पुनर्निर्माण प्राधिकरणले संस्कृति मन्त्रालय मार्फत छलफल चलाइरहेको बताए ।

उनी भन्छन्, “राज्यको सम्पत्ति ओगटेर बसिरहन पाउने नियम छैन, भाडामा दिएका थियौं, अवधि सकिएपछि फिर्ता लिएका हौं । त्यसबाहेक अरू सहमति केही भएको छैन ।” केयूसँग सम्झौता गरेपछि संग्रहालयलाई भाडाका लागि ताकेता नगरिएको र रकम जम्मा गरेको जानकारी पनि नपाएको उनले बताए ।

कँडेल सत्तलको निर्माण रानी त्रिपुरासुन्दरीले शिवको ध्यान गर्न बनाइएकाले धार्मिक कार्यवाहेक अन्य उद्देश्यका निमित्त भाडामा दिन नहुने बताउँछन् । संस्थान र केयू मिलेर संस्कृति जोगाउने नाममा सम्पदा मास्न लागेको उनको आरोप छ ।

केयू सङ्गीत विभाग प्रमुख डा.रिजाल आफूहरूले सम्पदा मास्न नभई लोकसंस्कृति संरक्षण र संवद्र्धनमा लागेको बताउँछन् । उनी भन्छन्, “लोकसंस्कृतिलाई पुस्तान्तरण गर्दै लैजानका लागि पनि यो क्षेत्रमा काम शुरू गरेका हौं, त्रिपुरेश्वरको हराइसकेको पुरानो परम्परालाई पुनर्जागृत गर्ने उद्देश्य लिएका छौं । त्यसैले हामीले सम्पदा मास्ने प्रश्नै आउँदैन ।”

 

प्रतिकृया दिनुहोस