व्यक्तित्व आइतबार, मंसिर २२, २०७६

भाषा–मिसनरी बर्क जसले सिक्न सिकाए

केदार शर्मा

भाषा–मिसनरी बर्क जसले सिक्न सिकाए
विल्यम जे. बर्क (सन् १९२५ – २०१९)

६५ वर्ष अघि, सन् १९५४ को अक्टोबर ३१ को बिहान भुईंमा झरेका मेपलका राता पातहरूमा टेक्दै आफ्नो निवासबाट निस्किएका थिए विल्यम जे. बर्क । बन्दरगाहमा पुगेर उनले आफ्ना साथी र स्वजनसित अङ्कमाल गरे ।

केदार शर्मा

बाबुआमाले अश्रुपूरित नजरले आशीर्वाद दिए र उनलाई ईश्वरको सेवामा टाढाको ‘इण्डिया’ पठाए । कसलाई थाहा थियो र त्यस दिन, जहाजको डकबाट हात हल्लाउँदै हिंडेका ती युवक फेरि कहिल्यै क्यानाडा फर्किंदैनन् भनेर ? कहिल्यै नसुनेको ‘नेपाली’ भाषाको सेवा गरेर अमर हुन्छन् भनेर ?

२८ मे १९२५ मा जन्मेका बर्क १५ वर्षका हुँदा सन् १९४० मा क्यानाडाका अंग्रेजीभाषी इसाईहरूलाई उत्तर बङ्गालमा गएर १८८८ मा बेल्जियन इसाईहरूले थालेको काम अघि बढाउने आह्वान भयो । त्यसैवेलादेखि उनी मिसनरी जीवनतिर आकृष्ट भए ।

छिटो छिटो

दार्जीलिङको सेन्ट रोबट्र्स हाईस्कूलका तत्कालीन हेडमास्टर फादर जोन प्रिन्डरगास्ट क्यानेडियन इसाईहरूलाई दार्जीलिङ बारे बताउन क्यानाडा गएका थिए । उनको वक्तव्यका क्रममा स्लाइड प्रोजेक्टर चलाउने जिम्मा बर्कले पाएका थिए । जतिवेला बर्क ढिलो हुन्थे प्रिन्डरगास्ट कराउँथे, ‘छिटो छिटो’ । बर्कले पहिलो पटक सुनेको र सिकेको नेपाली शब्द त्यही ‘छिटो छिटो’ थियो ।

बर्क लामो बाँचे, धेरै काम गरे । तर लाग्छ, उनको सुदीर्घ जीवनमा ‘छिटो छिटो’ ले कहिल्यै छाडेन । उनले छिटो छिटो अनेक भाषा सिके, छिटो छिटो अनेक काम गरे र ९४ वर्ष पुगेपछि, छोटै व्यथाबाट गए ।

सन् १९४८ मा इसाई मिसनरी समुदायका सदस्य भएका बर्कले १९५२ मा धर्म–दर्शनको आधारभूत डिग्री जुनिओरेट पूरा गरे ।

मन्ट्रियलमा दर्शनशास्त्र पढे । १९५४ अगस्टमा अध्ययन पूरा भएपछि त्यसै साल अक्टोबरको अन्त्यमा केही साथीहरूका साथ क्यानाडा छाडे र सात हप्ताको यात्रा पूरा गरेर क्रिसमसको अघिल्लो साँझ दार्जीलिङको नर्थ पोइन्टस्थित सेन्ट जोसेफ स्कूल आइपुगे ।

त्यसको एकसाता पछि १९५५ को पहिलो दिनदेखि नै उनी खर्साङको सेन्ट मेरिज कलेजमा नेपाली भाषा पढ्न थाले । साढे चार महीनाको कोर्स सकिएपछि केही समय उनले खर्साङकै सेन्ट अल्फान्सस स्कूलमा नेपाली नै पढाए ।

उनले धर्मशास्त्र (थियोलोजी, जसलाई इसाई शब्दावलीमा ‘ईशशास्त्र’ भनिन्छ) को थप अध्ययन गरे र १९५९ मा प्रिस्ट पदवी पाए । त्यसपछि उनी ‘ब्रदर’ बाट ‘फादर’ सम्बोधित हुन थाले ।

१९६०/६१ मा बर्कले राँचीमा प्रसिद्ध हिन्दी भाषाका विद्वान् र कोशकार फादर कामिल बुल्केसित काम गर्ने मौका पाए । कतै लेखिएको छैन, र जीवनकालमै फादर बर्कसित सोध्न पनि मिलेन, तर लाग्छ, नेपाली भाषामा कोश (पर्यायवाची) को काम गर्न उनलाई फादर बुल्केबाटै प्रत्यक्ष–परोक्ष प्रेरणा प्राप्त भएको हुनुपर्छ ।

फादर बुल्केसितको छोटै सङ्गतबाट उनले हिन्दी सिके । र, हिन्दी माध्यमको स्कूलमा पढाउन सक्ने पनि भए । पढाउँदा पढाउँदै उनलाई शिक्षाशास्त्रको अध्ययन गर्न आवश्यक छ भन्ने लाग्यो र ‘फादर’ भइसकेपछि, ३८ वर्षको उमेरमा, १९६३ मा कलकत्ता गएर बीएड पढे ।

नेपाली शब्दसागरमा खेल्ने उनको रहरले १९९० को मईदेखि अक्टोबरसम्ममा आकार र गति लियो । सन् १९९४ मा प्रकाशित ‘सही शब्द’ ले उनलाई नेपालको प्रतिष्ठित साहित्यिक पुरस्कार ‘मदन पुरस्कार’ समेत जितायो ।

बर्कले क्यानाडा छाडेको ११ वर्षपछि १९६५ मा एकैसाल आमाबाबु बिते । उनका तीन दिदीबहिनीले भने विभिन्न समयमा उनलाई भारत आएर भेटे ।

५५ वर्ष नाघेपछि उनले बङ्गाली भाषा सिके । लगभग त्यही उमेरदेखि अर्को दश वर्ष (सन् १९९० सम्म) उनी दार्जीलिङको सेन्ट रोबट्र्स स्कूलका प्रधानाध्यापक रहे ।

सही शब्द

नेपाली शब्दसागरमा खेल्ने उनको रहरले १९९० को मईदेखि अक्टोबरसम्ममा आकार र गति लियो । सन् १९९४ मा प्रकाशित ‘सही शब्द’ ले उनलाई नेपालको प्रतिष्ठित साहित्यिक पुरस्कार ‘मदन पुरस्कार’ समेत जितायो ।

नेपाली वाङ्मयमा उनको काम ५२६ पृष्ठको ‘सही शब्द’ मा मात्र सीमित छैन । फादर विल्यमको जाति, राष्ट्रियता र मातृभाषा केही पनि नेपाली थिएन, तर सेन्ट जोसेफ स्कूलका नेपाली शिक्षक कमल रेग्मीका अनुसार “उहाँका लागि नेपाली भाषा र संस्कृति कहिल्यै पनि ‘अर्काको’ थिएन । त्यसैले पर्यायवाची शब्दकोश र उखान जस्ता भाषाका प्राण रहने विषयहरूमा उहाँले काम गर्नुभयो ।”

उनले पीके क्षेत्रीसित मिलेर ‘उखानहरू आजका निम्ति’ (सन् २००६) नामक ५२५ पृष्ठभन्दा ठूलो नेपाली–अंग्रेजी किताब पनि निकालेका छन् ।

फादर फ्रान्सिस फारेल नेपाली क्याथोलिक बाइबलमा काम थालेर विते । १९७० को दशकमा शुरू भएको त्यो काम पूरा गर्ने अभिभारा पनि बर्कका काँधमा आयो । ‘रातो बाइबल’ भनिने त्यो किताब १९९९ मा प्रकाशित भयो ।

२०५१ सालको मदन पुरस्कार पाएपछिको आफ्नो सम्भाषणमा “... हामीले उँभो आउँदै गरेको यो नयाँ पिंढीलाई ती सही शब्दहरूद्वारा सम्बोधन गर्नुपर्छ जसले नेपाली संस्कृति र भाषालाई उच्च दर्जा दिलाउन सकिन्छ” भन्ने, ‘गैरनेपाली’ फादर बर्क अब हामीसित छैनन् ।

सेप्टेम्बरमा दाहिने हात लुलिएको डाक्टरी जाँच गर्दा ‘स्ट्रोक’ भएको पत्ता लागेपछि उपचारकै क्रममा बर्क २९ नोभेम्बरका दिन स्वर्गे भए ।

आज बर्कको जीवन र कर्मप्रति विहङ्गावलोकन गर्दा लाग्छ, ती क्यानेडियन इसाई मिसनरी नेपाली भाषाका अभियानी पनि थिए । उनका शब्द र कर्मबाट प्रेरणा लिनु नै समस्त नेपालीभाषीको उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

 

प्रतिकृया दिनुहोस