ब्लग शनिबार, मंसिर २१, २०७६

शाह–राणा वैवाहिक सम्बन्ध

भैरव रिसाल

शाह–राणा वैवाहिक सम्बन्ध

राजसिंहासनमा आफैंले बसाएको गुन सम्झाउँदै श्री ३ जङ्गबहादुरले राजा सुरेन्द्रलाई शाह र राणा खलकबीच बिहेबारी शुरू गर्ने प्रस्ताव राखेका थिए।

भैरव रिसाल

१९०५ वैशाखमा राजा सुरेन्द्रले जङ्गबहादुरका वंशज भारत चित्ताौरगढका राजपूत राणा रहेको प्रमाण भएकाले जङ्गबहादुर र उनका वंशलाई ‘राणाजी’ भन्नू भन्ने लालमोहर लगाएछन्। त्यसपछि जङ्गबहादुरका खलक राणाजी भएछन्।

कोत पर्व र भण्डारखाल पर्वपछि प्रधानमन्त्री जङ्गबहादुर कुँवर राणाको चहकमहक बढ्न थाल्यो । उनले दरबारमा पनि प्रभुत्व जमाउँदै गए । दरबारलाई हातमा लिएर आफू अनुकूल निर्णय मात्र गराएनन्, राणा शासनकै सुव्यवस्थित जग समेत खने । त्यसैको एउटा कडी हो, शाह र राणा खलकबीच विवाह गर्ने थितिको थालनी ।

यी दुई खलकबीच वैवाहिक सम्बन्ध नचलिसकेको समयमा राजा सुरेन्द्रले जङ्गबहादुरलाई भनेछन्, “युवराज र शाहजादीहरूको विवाह गरिदिनुपर्‍यो, वर–बधु खोज ।” त्यो मौका पाएर जङ्गबहादुरले तुरुन्तै बिन्ती गरे रे, “सरकार, वर–बधु किन खोजिरहनु पर्‍यो ? युवराजहरूको बिहे मेरा छोरीहरूसँग र शाहजादीहरूको विवाह मेरा छोराहरूसँग होस् ।”

त्यो कुरा सुनेर राजा सुरेन्द्र तिलमिलाएछन् । उनी ठूल्ठूला आँखा पारेर कड्किए, “तँ खसले हाम्रा शाहजादी ताक्ने ?” जङ्गबहादुरले भने तर्क सहित भनेछन्, “सरकारले आफूलाई कत्रो जातवाला सम्झिबक्सेको छ ? के सरकार तिरहुतिया विधवा ब्राह्मणीतर्फका सन्तान होइबक्सन्न र ?”

यति मात्र होइन, श्री ३ जङ्गले पुरानो कुरा पनि स्मरण गराए, “मैले नै सरकारलाई राजसिंहासनमा राखेको हुँ । अन्यथा सिंहासनमा काहिंला साहेबज्यू रणेन्द्र विक्रम शाह बस्ने थिए ।”

सुरेन्द्रको आँखा खुल्यो । उनले भनेछन्, “तैंले भनेको साँचो हो जङ्गे । अब तैं चूप मै चूप । तेरा छोरीहरू मेरा शाहजादाहरूलाई दे । मेरा छोरीहरू तेरा छोराहरूलाई दिएँ ।”

राजा सुरेन्द्र र जङ्गबहादुर निकटता

विवाहबारे जङ्गबहादुरको प्रस्ताव राजा सुरेन्द्रले अस्वीकार गर्न नसक्नुको पछाडि राजनीतिक विगत नै कारण थियो ।

जङ्गबहादुरले राजा राजेन्द्रले आफू विरुद्ध षड्यन्त्र गरेको बुझेपछि उनलाई सिंहासनबाट हटाउने रणनीति बुनेछन् । राजा विरुद्ध जनअभिमत देखाई युवराज सुरेन्द्रलाई राजगद्दीमा राख्ने उनको योजना रहेछ ।

अन्ततः ३१ वैशाख १९०४ मा सम्पूर्ण भाइभारदार, रैती दुनियाँका साथै जङ्गी–निजामती जवानहरूलाई टुँडिखेलमा भेला गराए । उनले सबैलाई सम्बोधन गर्दै भनेछन्, “राजा राजेन्द्रबाट मलाई मार्नू भन्ने लालमोहर समेत गरी तिमीहरूलाई हुकुम मिलेको छ । यो सजाय भोग्न जङ्गबहादुर यहाँ खडा छ ।” तर, सैनिक जवानहरूले जङ्गबहादुरको जयजयकार गरेछन् ।

त्यही मौकामा खरीको बोटको चौतारोमा उक्लिएर जङ्गबहादुरले राजा राजेन्द्रले राजीनामा दिएकाले युवराज सुरेन्द्र राजा भएको घोषणा गरेछन् ।

सुरेन्द्रलाई तुरुन्तै हनुमानढोका राजदरबारबाट झ्किाएर २१ तोपको सलामी दिई राजगद्दीमा राखिएछ । त्यही गुनका आधारमा राजा सुरेन्द्रले श्री ३ जङ्गका चाहना र प्रस्तावहरूमा नाइँनास्ति गर्नै सकेनन् । पछि त शाह–राणा विवाहका कारण राजा सुरेन्द्र र जङ्गबहादुरबीच अझै निकटता भयो ।

राणाहरू ‘ठ्या’ र मठ्या’ दुईथरी थिए । विवाहिता स्त्रीतर्फका सन्तान ‘ठ्या’, अविवाहिता ल्याइतेतर्फका ‘मठ्या’ । जङ्गबहादुरका छोरा–नातिहरूलाई उत्तराधिकारीको रोलक्रममा अगाडि बढाउन राणाहरूलाई तीन श्रेणीमा विभाजन गरी मठ्यातर्फका श्री ३ हुन नपाउने नियम बनाइयो । पछि तिनै हटाइएकाहरू राणा शासन विरुद्ध लागे ।

जङ्गबहादुरका जेठा छोरा जगतजङ्ग (७ वर्ष) र राजा सुरेन्द्रकी जेठी छोरी शाहजादी टीका राज्यलक्ष्मी (६ वर्ष) बीच लगनगाँठो कसियो । विवाहमा ७० वटा हात्ती काठमाडौं ल्याइएका रहेछन् । जनताबाट रु.६ लाख ७१ हजार ७७५ दाइजो उठेको रहेछ ।

१९०५ वैशाखमा राजा सुरेन्द्रले जङ्गबहादुरका वंशज भारत चित्तौरगढका राजपूत राणा रहेको प्रमाण भएकाले जङ्गबहादुर र उनका वंशलाई ‘राणाजी’ भन्नू भन्ने लालमोहर लगाएछन् ।

त्यसपछि जङ्गबहादुरका खलक राणाजी भएछन् । यस्तै, १९१३ साउनमा जङ्गबहादुरले सन्तान दरसन्तानसम्मले पाउने गरी कास्की र लमजुङको श्री ३ महाराजको ओहोदा पाए । राजाले लालमोहर लगाउँदै जङ्गबहादुर कुँवरलाई न्याय निसाफ गर्दा मृत्युदण्ड दिनसक्ने सम्मका अधिकार दिएछन् ।

भातभान्सा नचल्ने

राणा शासकहरूका विवाहित पत्नी र विवाह नगरी ल्याइएका स्त्री धेरै हुन्थे । प्रधानमन्त्री छँदै जङ्गबहादुरले सिद्धि राजेन्द्र लक्ष्मीलाई ल्याएर काहिंली महारानी बनाएका थिए ।

जङ्गका भाइ धीरशमशेरले पनि जोहर ज्यान नामकी मुसलमान युवतीलाई लखनऊबाट गुप्त ढङ्गले काठमाडौं ल्याएका थिए । धीरले यसैगरी ल्याएकी अर्की थिइन्, नन्दकुमारी । राणा शासनमा जातभात कट्टर थियो ।

राणा परिवारमा समेत ‘ल्याइते’ हरूको भातभान्सा चल्दैनथ्यो । धीरशमशेरलाई भने नन्दकुमारीको भात चलाउन मन लागेछ र भाउजू हिरण्यगर्भा देवीसँग बिन्ती गरेछन् ।

हिरण्यगर्भाले भोलिपल्ट थापाथली दरबारमा पठाइदिन भनिछन् । नन्दकुमारी पुगेपछि भान्सामा राखियो । श्री ३ जङ्ग भोजनका लागि बसे । भान्सामा ब्राह्मणीको सट्टा भाइबुहारी देखेपछि उनी अक्क न बक्क परेछन् । तब हिरण्यगर्भाले ‘के नजर भएको ? भुजा ज्यूनार गरिबक्सियोस् न’ भनेपछि जङ्गले खाए रे ! त्यसपछि नन्दकुमारीको भात स्वतः चल्यो रे !

राणाहरू ‘ठ्या’ र मठ्या’ दुईथरी थिए । विवाहिता स्त्रीतर्फका सन्तान ‘ठ्या’, अविवाहिता ल्याइतेतर्फका ‘मठ्या’ । जङ्गबहादुरका छोरा–नातिहरूलाई उत्तराधिकारीको रोलक्रममा अगाडि बढाउन राणाहरूलाई तीन श्रेणीमा विभाजन गरी मठ्यातर्फका श्री ३ हुन नपाउने नियम बनाइयो । पछि तिनै हटाइएकाहरू राणा शासन विरुद्ध लागे ।

प्रतिकृया दिनुहोस