रिपोर्ट शनिबार, मंसिर २१, २०७६

किबीले कमाल

कमल रिमाल

किबीले कमाल
किबी टिप्दै गङ्गाबहादुर बिष्ट । तस्वीर: कमल रिमाल

एउटा बोटमा ५० किलोसम्म फल्ने किबी पहाडी जिल्लाका भिरालो र पारिलो जग्गामा एक रोपनीमा १० बोटका दरले लगाउन सकिन्छ। गत वर्ष प्रतिकेजी रु. २०० का दरले इलाममा मात्रै करीब रु. ४० करोड बराबरको किबी बिक्री भयो।

इलाम–१ नेपालटारका गङ्गाबहादुर बिष्ट (३४) लाई किबी बिक्री गर्ने चटारो छ । बिष्टले गएको वर्ष ५५ क्वीन्टल किबी बेचेर रु.११ लाख आम्दानी गरे । यो वर्ष आम्दानी रु.१३ लाख हुने आशा छ ।

वैदेशिक रोजगारीमा दुबई गएका उनलाई २०६५ सालमा बाबुले फोन गरेर किबी खेती गर्न लागेको जानकारी दिएपछि बिरुवा किन्न उतैबाट पैसा पठाइदिए । उनका बाबुले प्रतिगोटा रु.५०० का दरले रु.१ लाखमा २०० बिरुवा लगाए ।

२० रोपनीमा लगाइएको किबीका लागि सिमेन्टको पोल र फलामे डण्डीको थाँक्रा लगाउन थप रु.१० लाख खर्च भयो । तिनै बिरुवा स्याहार्न उनी दुबईबाट फर्किए ।

ती बिरुवाले तीन वर्षमा उत्पादन दिन थालेका थिए । यो वर्ष १५० बिरुवा थपेर ४०० बोट पुर्‍याउने उनको योजना छ ।

किबी फल्नका लागि भाले र पोथी दुवै जातको बोट हुनुपर्छ । एउटा बोटमा करीब ५० किलो किबी फल्छ । उनी इलाममा सबैभन्दा बढी किबी उत्पादन गर्ने किसान हुन् ।

बिष्ट किबी र एभोकाडो खेतीका प्रशिक्षक पनि बनिसकेका छन् । प्रशिक्षण दिन पूर्वी पहाडका विभिन्न ठाउँ पुग्छन् । उनको सफलताले गाउँमा किबी खेती हुन थालेपछि उनी आफैं रोप्ने र स्याहार गर्ने विधि सिकाउँछन् ।

किबीको कमाइ

किबी खेतीबाटै कृषक बनेका बिष्टले यसकै कमाइबाट २० रोपनी जमीन खरीद गरे । साझेदारीमा गाउँमै चिया उद्योग स्थापना गरिएको छ । काठमाडौं र इलामका दुई वटा निजी विद्यालयमा लगानी गरेका छन् । किबीबाट वाइन उत्पादन गर्ने उद्योग स्थापनाको सोच रहेको उनी बताउँछन् ।

उनी भन्छन्, “एक पटक रोपेपछि ४० वर्षसम्म फल्ने किबीमा लगानी कम फाइदा बढी छ ।” बिष्टको बगैंचामा हेवार्ड, एलिशन, ग्रिन, रेड, मल्टी, बु्रनो र एबोट जातका किबी छन् । हेवार्ड जातको किबी बढी मीठो हुने भएकाले यसको बजार राम्रो छ ।

मंसीरदेखि माघसम्म किबी टिप्ने सिजन हो । “मंसीर अगाडि नै टिपेको किबी अमिलो हुन्छ, जसले गर्दा नेपाली किबी अमिलो हुने भ्रम फैलिएको छ, वास्तवमा संसारभर पाइने किबीको स्वाद एउटै हो”, उनी भन्छन् । तर, रेड किबी भने भदौमै टिप्ने वेला हुन्छ । बेमौसमी फल भएकाले उनी रेड किबीबाट बढी आम्दानी गर्छन् ।

कृषिमा अनुभव बढ्दै गएकाले खाली रहने डाँडापाखामा उनले खेती विस्तार गरेका छन् । ४० रोपनीमा किबी लगाएका उनको कुल खेती २५० रोपनीमा छ ।

किबी खेतीका लागि पानी नजम्ने केही भिरालो र घाम लाग्ने जमीन चाहिन्छ । सुक्खायाम फागुन र चैतमा १५ दिनको अन्तरमा सिंचाइ गर्नुपर्छ । अरू महीना भने सिंचाइको आवश्यकता नपर्ने बिष्ट बताउँछन् ।

इलाममा रु.४० करोडको उत्पादन

इलाममा अहिले करीब चार हजार कृषकले किबी खेती गर्न थालेका छन् । किबी फ्रुट एशोसिएसन इलामका संयोजक महानन्द ओझाका अनुसार, खेती गर्नेको संख्या बढी भए पनि उत्पादन बिक्री गर्ने भने एक हजार किसान मात्र छन् । तीमध्ये ५०० कृषकले किबीबाटै परिवार चलाउँछन् । करीब दुई वर्षमा यो संख्या दोब्बर हुने उनको अनुमान छ ।

इलाममा किबी रोप्ने सबै किसानले बिरुवा उत्पादन गर्छन् । ती बिरुवा काठमाडौं, काभ्रे, रामेछाप, मकवानपुर लगायत जिल्ला पठाइन्छ ।

अहिले किबीको उत्पादन बढी हुने सन्दकपुर गाउँपालिकाका र इलाम नगरपालिकाका वडा नं. १ देखि ४ सम्मलाई ‘किबी जोन’ घोषणा गरिएको छ । किबी खेती गर्ने किसानको सहयोगका लागि सन्दकपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ समेत स्थापना गरिएको छ ।

ओझाका अनुसार जिल्लामा गएको वर्ष झण्डै २० हजार क्वीन्टल उत्पादित किबी प्रतिकिलो रु.२०० का दरले रु.४० करोडको बिक्री भयो । इलामको किबी झापा, काठमाडौं र पोखरासम्म पुग्छ ।

एशोसिएसनले इलामको किबी हङकङ पनि पठाउने तयारी गर्दैछ । किबी हङकङ पठाउन राम्रा दाना चाहिने र रु.३०० प्रतिकिलोमा बिक्री हुने ओझाले बताए । “हङकङबाट एकपटकमा ४० क्वीन्टलको माग आएकाले इलामका कृषकले मात्र दिन नसक्ने अवस्था छ, अन्य ठाउँको उत्पादन पनि पठाउन समन्वय गर्छौं”, संयोजक ओझाले भने ।

भारतको चेन्नईका व्यापारीले पनि इलामको किबी माग गरेका छन् । तर, भारत निकासी गर्न समस्या रहेको उनी बताउँछन् । ओझा आफैंले गत वर्ष एक क्वीन्टल किबी भारतको सिलिगुडी लैजाँदा नाकामा भारतीय प्रहरीले रोकेर खरीद गरेको बिल खोजेका थिए ।

“उनले भने, “किसानकै उत्पादन भनेपछि पनि चार किलो किबी नै घूस लिएर मात्र छाडे, भारतीय बजारमा प्रतिकिलो भारु २०० ले बिक्री भयो ।”

नेपालको भन्सारमा पनि क्वारेन्टाइन प्रक्रिया झन्झटिलाे भएकाले अर्को देशमा किबी पठाउन समस्या हुने उनको भनाइ छ ।

क्वारेन्टाइन पासका लागि किबी प्याकेजिङ गरेको हुनुपर्छ । त्यसमा टिपेको र उपभोग गर्ने मिति पनि उल्लेख हुनुपर्छ । कीरा लागेको र सानो दाना निर्यात गर्न पाइँदैन ।

फागुनमा बिक्री गर्दा किबीको अझ् बढी मूल्य पाउन सकिने हुनाले सरकारले शीतभण्डार बनाउन सहयोग गर्नुपर्ने उद्योग वाणिज्य संघ इलामका सचिव श्रीबहादुर बिष्टले बताए । शीतभण्डार बनाइदिन कृषकले सरकारसँग माग पनि गरेका छन् ।

प्रदेश–१ मा कति किसानले किबी उत्पादन गरिरहेका छन् भन्ने तथ्याङ्क प्रदेश सरकारसँग छैन । कृषि विकास निर्देशनालय विराटनगरका वरिष्ठ कृषि प्रसार अधिकृत प्रकाशकुमार डाँगी प्रदेश सरकार स्थापना हुनुअघिको कृषि कार्यालयसँग नै तथ्याङ्क नभएकाले सङ्कलनको तयारी भइरहेको बताए ।

“स्थानीय तहहरूबाट सूचना माग गर्दैछौं । कुन जिल्लामा कति किबी उत्पादक छन् भन्ने तथ्याङ्क आउन समय लाग्छ”, उनले भने। 

प्रतिकृया दिनुहोस