समाचार विहीबार, मंसिर १९, २०७६

स्वर्णले बिर्साएको बमबारुदको विगत

नुनुता राई

स्वर्णले बिर्साएको बमबारुदको विगत

तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल २० वर्ष पुरानो कीर्तिमान तोड्दै अगाडि बढेको छ । बिहीबार साँझसम्म ३६ स्वर्ण जितिसकेको नेपालले सन् १९९९ को आठौं सागमा ३१ स्वर्ण जितेको थियो ।

यसपटक स्वर्ण संख्या बढ्दै जाँदा स्वर्ण बिजेताहरुको पृष्ठभूमि समेत सोधीखोजी हुन थालेको छ । सोधीखोजीमा पर्ने धेरै मध्ये एक हुन्, कराँतेका स्वर्ण विजेता– अनुपमा मगर ।

अनुपमाले एसियन गेम्सकै काँस्य पदक विजेता पाकिस्तानकी नर्गिसलाई बुधबार ६–३ अंकले पराजित गरेकीले पनि अरु भन्दा बढी चर्चा भयो ।

...

माओवादीले चलाएको हिंसात्मक आन्दोलनमा सामेल उदयपुर लेखानीकी अनुपमाको स्वर्ण सफलता भने पारिवारिक जिम्मेवारी बोधबाट अगाडि बढ्यो । अनुपमा भन्छिन्, “भाइबहिनीको जिम्मेवारीले यतातिर तानिएँ र निरन्तरको संघर्षले स्वर्णले दिलायो ।”

१४ वर्ष हुँदा उनी माओवादी आन्दोलनमा होमिएकी थिइन् । उनको काम एउटा ठाउँबाट अर्को ठाउँसम्म बमबारुद पुर्या‍उने थियो । शान्ति सम्झौतापछि अनुपमा सिन्धुली शिविरमा परिन् ।

शिविरमै रहँदा अनुपमाको आमाको निधन भयो । आमा निधनपछि भाइबहिनीको जिम्मेवारी उनको काँधमा आइलाग्यो ।

केही महीनापछि सिन्धुली शिविरमा त उनी फर्किइन् । तर, त्यहाँ बस्न मनले मानेन ।

काठमाडौंमा फर्चिनरको काम गर्ने दाईसँग सल्लाह भयो । भाइबहिनीका लागि केही गर्नुपर्छ भन्ने उद्देश्यले अनुपमा काठमाडौं आइन् । “काठमाडौं त आएँ, तर के गर्ने कुनै मेसो पाइनँ”, उनी भन्छिन् ।

पुरानो चिनजानका माध्यमबाट किराँते गुरु ध्रुब मल्लको सम्पर्कमा अनुपमा पुगिन् । “ध्रुब गुरुसँग कराँते सिकेँ र स्कूलमा प्रशिक्षकको जागिर शुरु गरेँ”, अनुपमा विगत सम्झिन्छिन् ।

उनी कराँते सिक्दै र वनस्थली स्कूलमा प्रशिक्षकको जागिर खान थालिन् । सिक्ने र सिकाउने क्रम नौ वर्ष बितिसकेको छ।

यो अवधिमा अनुपमाका लागि कराँते जागिर मात्रै रहेन । उनले थुप्रै प्रतियोगितामा भाग लिइन् र पदक पनि जितिन् ।
अनुपमाले पाँचौं राष्ट्रिय खेलकुद–२०६५ मा काँस्य, सातौंमा रजत र आठौंमा स्वर्ण जितेकी थिइन् । सन् २०१४ मा एसियाली खेलकुदमा भने सहभागी मात्रै भइन् । पहिलो चरणबाट बाहिरिन् ।

अनुपमा भन्छिन्, “परिवारपछि समाज र देशको दायित्व आइलाग्यो । तर, निरन्तरको संघर्षले जिम्मेवारी पूरा गर्ने प्रयास गर्नेछु ।”

 

प्रतिकृया दिनुहोस