रिपोर्ट विहीबार, मंसिर १९, २०७६

काठमाडाैंमा ‘सिलिकन भ्याली’

सोनिया अवाले

काठमाडाैंमा ‘सिलिकन भ्याली’
तस्वीरहरु: माेनिका देउपाला\साेनिया अवाले

अरूको र अन्तैको जस्तो लाग्ने आर्टिफिसियल इन्टेलिजेन्स नेपाल भित्रिइसक्यो, अब हामीसँग यो प्रविधिसँग जतिसक्दो चाँडो अभ्यस्त हुने विकल्प मात्र छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अर्थात् ‘यान्त्रिक बौद्धिकता’ प्रयोग गर्न नेपाल अझै विकसित भइनसकेको सोच्नेहरू आजको दिनमा धेरै होलान् । फर्केर हेर्दा, सन् १९९० को दशकमा कम्प्युटर र मोबाइल फोनबारे पनि उनीहरू यस्तै कुरा गर्थे । नेपालमा एआई पसिसकेको मात्र होइन, यसबाट थुप्रै काम नै हुन थालिसकेको छ ।

एआईले मेशिन लर्निङ अल्गोरिदम्सको प्रयोगबाट सफ्टवेयरको विकास हुन थालेको छ । यति मात्र होइन, विश्व प्रतिस्पर्धामा अब्बल इन्जिनियरहरू पनि उत्पादन गरिरहेको छ । यसको एक उदाहरण हो, फ्युजमशिन्स नेपाल ।

यो कम्पनीले औद्योगिक क्षेत्रका जटिल समस्याको उत्कृष्ट समाधान निकाल्ने गरी विद्यार्थीलाई एआईको तालिम दिइरहेको छ ।

फ्युजमशिन्सका संस्थापक डा. समिर मास्के देशमा उत्कृष्ट एआई शिक्षा भित्र्याएर योगदान गर्ने चाहना अनुसार कम्पनी स्थापना गरेको बताउँछन् । अमेरिकाको कोलम्बिया विश्वविद्यालयका प्राध्यापक समेत रहेका उनी भन्छन्, “मलाई उत्कृष्ट एआई शिक्षा भित्र्याएर नेपाललाई एआईका प्रतिभा उत्पादन स्थल बनाउने मन थियो ।”

यो ‘निगरानी पूँजीवाद’ युग हो, जहाँ अल्गोरिदम्सले चुनावको नतिजा निर्क्याेल गर्छन्, हामी के चाहन्छौं भनेर एप्पलको सिरिलाई पहिले नै थाहा हुन्छ, शरीर बाहिरै लगाएका उपकरणले मुटुको अवस्था बताउँछन् र फेसबूकले साथीहरू चिन्दछ ।

एआईले डाटाको ढाँचा चिनेर मानवीय विचारको नक्कल गर्छ, जसले गर्दा दैनिक दोहोरिने काम मेशिनले समयसँगै सिक्दै गर्न सक्छ ।

फ्युजमेशिन्स नेपालको कमलादीस्थित कार्यालयमा संस्थाकी ग्लोबल अपरेसन्स एवं रणनीति प्रमुख सुमना श्रेष्ठ (बीचमा), इन्जिनियर राजेश शिख्राकार र कर्मचारी सनिज श्रेष्ठका साथ ।

नेपालले आफूसँग भएको प्राकृतिक स्रोतको प्रशोधन, उद्योगधन्दा र सूचनाप्रविधिमा फड्को मार्ने अवसर गुमाइसकेको छ । तर, विज्ञहरू ठूलो संख्यामा इन्जिनियरहरूलाई एआईको तालिम दिने हो भने देशको अर्थतन्त्र उँभो लाग्ने बताउँछन् ।

फ्युजमशिन्सका प्राज्ञिक मामिला निर्देशक ब्यूँले उयानिकरका अनुसार, नेपाल एआई एप प्रयोगका लागि तयार भइसकेको छ ।

एआईलाई अब रोक्न नसकिने बताउँदै उनी भन्छन्, “नेपालमा ८५ लाख फेसबूक प्रयोगकर्ता रहेको तथ्यले यहाँ एआईका लागि अनुकूल वातावरण छ भन्ने देखाउँछ ।”

नेपालमा एआईको संभावना छ भन्ने अर्को प्रमाण यहाँ थपिइरहेका सफ्टवेयर कम्पनीहरू हुन्, जसले अमेरिका र युरोपमा रहेका ग्राहकहरूलाई सफ्टवेयरसँगै एप निर्माण र डाटा व्यवस्थापनको सेवा दिइरहेका छन् । तर, यी कम्पनीमा भएका अधिकांश इन्जिनियरहरू भर्खरै पढेर आएका नयाँ भएकाले एआईको थप तालिम आवश्यक पर्छ ।

अबको पाँच वर्षमा अमेरिकालाई मात्रै दुई लाख जना डाटा वैज्ञानिकको खाँचो पर्नेछ र यीमध्ये धेरैजसो बेलायत, फिनल्यान्ड, क्यानाडा, सिङ्गापुर, चीन र भारतले आपूर्ति गर्नेछन् ।

यही संभावना देखेर पनि फ्युजमशिन्स नेपालले एआई शिक्षामा जोड दिइरहेको छ । “एकदिने शिविरबाट एआई सिक्न सकिंदैन, यसका लागि गणितमा तीक्ष्ण हुनुपर्छ । एआई जान्ने इन्जिनियरहरूको माग र पूर्तिमा सबैतिर ठूलो खाडल छ”, फ्युजमशिन्सकी ग्लोबल अपरेसन एवं रणनीति प्रमुख सुमना श्रेष्ठ भन्छिन् ।

सूचनाप्रविधिबाट एआईतर्फको कदमले नेपालमा रोजगारी मात्र सिर्जना गर्दैन, कार्यस्थलमा उत्पादकत्व र दक्षता बढाउन पनि मद्दत गर्छ । ग्रामीण भेगका अस्पतालका सामान्य स्वास्थ्यकर्मीले समेत बिरामीको समस्या छिटो पत्ता लगाउन सक्छन् ।

कम्प्युटर भिजन (कम्प्युटरले मान्छेले जस्तै गरी देख्ने र प्रतिक्रिया जनाउने) ले कुहिएको फलफूल छिटो चिन्न सघाउँछ, जसबाट आवश्यक परिमाणमा मात्र विषादी प्रयोग गर्न सकिन्छ ।

फ्युजमशिन्स नेपालका इन्जिनियरहरू यतिवेला मुलुकको पहिलो अप्टिकल क्यारेक्टर रिकग्निसन (ओसीआर) प्रणालीको विकासमा लागेका छन्, जसबाट नेपालीमा लेखिएका फारम डिजिटाइज गरेर अङ्ग्रेजीमा अनुवाद गर्न सकिन्छ ।

राइड–सेयरिङ संस्था टुटल प्रा.लि.का सह–संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टका भनाइमा नेपाल एआई एप्लिकेसनहरूका लागि उर्वर भूमि हो ।

“हाम्रो प्रयास अब यस्तो संसार तयार पार्ने हो, जसमा मेशिनले सीपमूलक काम गर्नेछन्, मानिसले भने सिर्जनात्मकता र सहानुभूतिका क्षेत्रमा आफ्नो भूमिका बढाउनेछन् । तर त्योभन्दा पहिले सरकारले एआई विकासको नीति लिनुपर्छ”, उनी भन्छन् ।

फ्युजमशिन्सकी सुमनाका अनुसार, जबसम्म तल्लो तहमा काम गर्ने कर्मचारीको तलब थोरै हुन्छ, एआई फैलिने सम्भावना त्यति नै कम हुन्छ । उनी भन्छिन्, “सस्तो श्रमका कारण कम्पनीहरूले दोहोर्‍याएर गरिने काम गर्न मान्छेलाई रोजगारी दिनेछन् । तर ढिलो या चाँडो, एआई आउने भएकाले सबै तयार रहनुपर्छ ।”

न्यू योर्क मुख्यालय रहेको फ्युजमशिन्सले बेलायत, क्यानाडा, डोमिनिक रिपब्लिक जस्ता देशहरूमा शाखा खोलिसकेको छ । नेपालमा भने फ्युजमशिन्सका १०० भन्दा बढी सफ्टवेयर इन्जिनियर कार्यरत छन् । कम्पनीले संसारभरका व्यापारिक ब्राण्ड, संस्थाहरूलाई सेवा दिने गर्छ ।

कम्पनीका आफ्नै एआई स्कूलहरू पनि छन्, जो सबैका लागि खुला छ । यस्तै, प्लस टु उत्तीर्ण विद्यार्थीका लागि फाउन्डेसन कोर्स प्रदान गर्छ भने एकवर्षे माइक्रो डिग्री पनि सञ्चालन गर्छ ।

प्रतिकृया दिनुहोस