समाचार मंगलबार, मंसिर १७, २०७६

अपाङ्गताको अनुभूति गराउन मन्त्रीलाई 'ह्वीलचियर'

कमल रिमाल

अपाङ्गताको अनुभूति गराउन मन्त्रीलाई 'ह्वीलचियर'
तस्वीरहरु: कमल रिमाल

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गताको महशुस गर्न ह्वीलचियरमा बसेर नगर परिक्रमा गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएका छन् ।

विराटनगरमा मंगलबार अपाङ्ग महासंघले दिवसका अवसरमा निकालेको प्रभातफेरीमा मन्त्री घिमिरे परिक्रमा अवधिभर ह्वीलचियरमा बसेर सभास्थल पुगेका थिए । “अपाङ्गता भएका मानिसले कस्तो अनुभूति गर्छन् भनेर यसो गरिएको हो,” मन्त्री घिमिरेले भने, “अपाङ्गता भएकालाई सहयोग र सहानुभूतिको पनि आवश्यकता छ ।”

उनलाई सामाजिक कार्यकर्ता र मन्त्रीपत्नी विमला घिमिरेले ह्वील चियरमा डोर्‍याएका थिए । यसअघि मन्त्री घिमिरेको आँखामा पट्टी बाँधेर ह्वील चियरमा घुमाई आँखा नदेख्नेको पनि अनुभूति गराइने कार्यक्रम तय गरिएको थियो ।

केही सामाजिक कार्यकर्ता र कर्मचारीले भने आँखामा पट्टी बाँधेर सेतो लौरो टेक्दै परिक्रमा गरेका थिए ।

प्रभातफेरीमा सहभागी मन्त्री लगायत

मूल आयोजक समारोह समितिका संयोजक समेत रहेका मन्त्री घिमिरे तोकेको समय भन्दा ७० मिनेट ढिलो कार्यक्रमस्थल पुगेका थिए।

त्यस बेलासम्म अपाङ्गता भएका व्यक्तिहरू मन्त्रालय अगाडिको सडकमा मन्त्रीलाई कुरेर बसे । उनले प्रदेश १ बाट अपाङ्गता उन्मूलनको प्रयास थालिएको जानकारी दिए ।

प्रदेशका २७ वटै स्थानीय तहबाट एकैसाथ कार्यक्रम सुचारुको तयारी भएको बताउँदै उनले चार वर्षभित्र सबै तहमा पु¥याइने दाबी गरे । गैरसरकारी संस्था र स्थानीय तहहरूको सहयोगमा अपाङ्गता उन्मूलन अभियान संचालन गरिने जानकारी दिंदै मन्त्री घिमिरेले अपाङ्गताको जन्मदर नै नियन्त्रण गरिने बताए ।

प्रदेश भित्रका अपाङ्गता भएका व्यक्तिहरूलाई विभिन्न तालिम दिने बताउँदै उनले भने, “तालिमपछि रोजगारी र काम अनुसारको दाम दिलाइने छ ।” अपाङ्गता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोणमा सुधार आउन नसकेको मन्त्री घिमिरे बताउँछन् । दिवसका अवसरमा सबैखाले अपाङ्गता भएका व्यक्तिहरू प्रभातफेरीमा सहभागी थिए ।

 

प्रतिकृया दिनुहोस