खेलकुद शनिबार, मंसिर १४, २०७६

१३ औं साग: नेपालका लागि साख जोगाउने मौका

निरञ्जन राजवंशी

१३ औं साग: नेपालका लागि साख जोगाउने मौका

खेलाडी र पदाधिकारी गरी सात हजारको उपस्थिति हुने दक्षिणएशियाको खेल महोत्सव १३‍औं साग नेपालमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको अहिलेसम्मकै ठूलो भेला हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले १५ मंसीरमा काठमाडौंस्थित दशरथ रङ्गशालाबाट दक्षिण एशियाली खेलकुद (साग) को १३औं संस्करण शुरु भएको घोषणा गर्दा नेपाली खेलकुदले नयाँ इतिहास रच्नेछ । नेपालबाटै शुभारम्भ भएको यो खेल महोत्सव ३५ वर्षमा तेस्रोपटक काठमाडौंमा हुन लागेको हो । दक्षिणएशियाका सात हजारभन्दा बढी खेलाडी र पदाधिकारीको उपस्थिति नेपालमा हुन लागेको अन्तर्राष्ट्रियस्तरको अहिलेसम्मकै ठूलो भेला हो ।

अबको १० दिन सात देशका करीब तीन हजार खेलाडीले ३१७ स्वर्ण र त्यति नै रजत सहित ११०० भन्दा बढी पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । सबै खेलमा महिला र पुरुष विधामा प्रतिस्पर्धा राख्नुपर्ने अनिवार्य प्रावधान छ । प्रतियोगितामा नेपालबाट सबैभन्दा बढी ५९४ खेलाडीले भाग लिंदैछन् ।

भारतमा भएको १२औं सागमा २३ खेल समावेश थिए । यसपटक भने २६ खेलमा प्रतिस्पर्धा गर्न तीन शहर काठमाडौं, पोखरा र जनकपुरमा २९ खेलस्थल तोकिएका छन् । १३औं साग प्राविधिक समितिका संयोजक गङ्गाबहादुर थापाका अनुसार प्रतिबन्धमा परेका केही अन्तर्राष्ट्रिय खेलाडी बाहेक सात देशका उत्कृष्ट खेलाडीहरूले प्रतियोगितामा भाग लिएका छन् ।

आयोजनाको सकस
समयमै पूर्वाधार निर्माण नहुँदा नेपालले यसअघि दुईपटकसम्म प्रतियोगिता सार्नु परेको थियो । भूकम्पका कारण मुख्य खेलस्थल दशरथ रङ्गशाला भत्किएकोले छोटो अवधिमा पुनर्निर्माण सक्न र सातदोबाटोमा नयाँ पौडी पोखरी बनाउन ठूलो चुनौती थियो । अरु २७ खेलस्थल र उति नै संख्यामा अभ्यासस्थल तयार पार्न पनि सकस परेको हो । सातदोबाटोको ‘हीटिङ’ पौडी पोखरी निर्माण अझै पूर्ण रुपमा सकिएको छैन । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका खेल पूर्वाधार नभएको र भएका केहीको पनि संरक्षण नहुँदा नेपालका लागि साग आयोजना ठूलै चुनौती बनेको हो ।

राज्य संयन्त्रको ढिलासुस्तीका कारण पूर्वाधार नै नबन्ने आशड्ढा पनि थियो । मिति नजिकिइसकेपछि मात्र निर्माण तीव्र बनाउँदा साग र पूर्वाधार निर्माण दुवैको ‘काउन्ट डाउन’ सँगै चलिरहे जस्तो पनि देखियो । त्यसले प्राविधिक र तयारीका अन्य पाटोलाई छायाँमा पारिदियो ।

सकारात्मक पक्ष चाहिं १३औं सागको बहानामा नेपालले खेलकुदको ठोस पूर्वाधार पाएको छ । भूकम्पले भत्किएको दशरथ र पोखरा रङ्गशालाको मुहार फेरिएको छ । नयाँ न्यानो पौडी पोखरी बनेपछि जाडोयाममा प्रशिक्षण बन्द गर्नुपर्ने बाध्यता हट्नेछ । कराते र तेक्वान्दोको आफ्नै कभर्ड हल बनेको छ ।

नेपाली महिला भलिबल टीम ।

साग आयोजनाको उद्देश्य क्षेत्रीय भाइचारा मात्र नभएर हरेक देशले आफ्नो समृद्धिको परिचय दिने पनि हो । आयोजनास्थलमा मात्र ध्यान दिनु पर्दा विदेशी खेलाडीहरूलाई नेपाल प्रचारको सद्भावना दूत बनाउने जस्ता धेरै महत्वपूर्ण विषय छुटेका छन् । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजना गरिएको दक्षिणएशियाको खेलकुद मेलालाई प्रचार मञ्चको रुपमा सदुपयोग गर्न पहल नै भएको छैन ।

१३औं साग मूल आयोजक समितिका सदस्य सचिव रमेशकुमार सिलवाल साग आयोजनालाई भव्य बनाउन कसर बाँकी नराख्ने बताउँछन् । उनी भन्छन्, “साग गर्न नसक्ने भन्ने अयोग्य राष्ट्रको बिल्ला भिर्ने वा सफल आयोजक बन्ने भन्ने चुनौती हामीसँग थियो, यो चुनौतीलाई हामी सफलतामा परिणत गर्नेछौं ।” साग आयोजना गर्ने मात्र नभई पदक तालिकामा पनि आठौं सागको साखलाई अझ माथि पु¥याउने उनको दाबी छ ।

लक्ष्य ५० स्वर्ण
नेपालले १३औं सागका लागि छानिएका खेलाडीलाई चार महीना बन्द प्रशिक्षणमा राख्यो । २१ खेलका खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पनि पठायो । नेपालमा मात्र प्रशिक्षण दिइएका खेलका लागि पनि विदेशी प्रशिक्षक ल्याइएकाले सबै खेलको तयारी सन्तोषजनक भएको राष्ट्रिय टीम तयारी समितिका संयोजक रिमबहादुर रानाभाट बताउँछन् ।

आयोजक राष्ट्रको नाताले नेपाललाई आफ्नै भूमिमा बढीभन्दा बढी पदक जित्ने दबाब र अवसर दुवै छ । सन् १९८४ मा पहिलोपटक साग आयोजक हुँदा नेपालले चार स्वर्ण पदक जितेको थियो । त्यतिवेला प्रतियोगितामा पाँच खेल मात्र समावेश थिए । सन् १९९९ मा नेपालमै भएको आठौं सागमा भने ३१ स्वर्ण जित्दै पदक तालिकाको दोस्रो स्थानमा थियो । त्यतिवेला आयोजक राष्ट्रले दुई खेल आफैंले छान्न पाउने सुविधा थियो । पहिलोपटक समावेश भएको तेक्वान्दो र करातेबाट नेपालले १४÷१४ स्वर्ण जित्यो ।

जारी सागमा भने आयोजकले समावेश गर्न पाउने खेल छनोटमा नेपाल चुकेको छ । नेपालले छानेका दुई खेलमध्ये पाराग्लाइडिङमा सहभागी राष्ट्रको संख्या नपुगेकोले हटाउनुपर्‌‌याे । प्रतियोगिता गराउन कम्तीमा चार देशले भाग लिनुपर्ने नियम छ । पहिलो पटक समावेश अर्को खेल क्रिकेटमा पनि नेपालले स्वर्ण जित्ने सम्भावना निकै कम छ । भारत र पाकिस्तानले भाग नलिए पनि स्वर्णका लागि श्रीलड्ढा र बाङ्लादेश प्रमुख दाबेदार हुन् । यद्यपि यसपटक ५० भन्दा बढी स्वर्ण जित्ने लक्ष्य राष्ट्रिय खेलकुद परिषद्को छ । ल

प्रतिकृया दिनुहोस