व्यक्तित्व शुक्रबार, मंसिर १३, २०७६

स्मृतिशेषमा यी कर्मशील

केदार शर्मा

स्मृतिशेषमा यी कर्मशील

यस पटक म आफूले जानेका, मानेका तीन व्यक्तित्वको निधनालेख लेख्ने परिबन्दमा परेको छु । यदि कुनै व्यक्ति पेशेवर ‘निधनालेख लेखक’ (अबिच्युरी राइटर) होइन भने एकै पटक तीनवटा निधनालेख लेख्नुपर्ने अवस्था दुर्भाग्य बाहेक केही होइन ।

केदार शर्मा

पत्रकार विनय गुरुवाचार्य (८२), पर्यटन प्रवर्द्धक ताकाशी मियाहारा (८५) तथा सूचनाकर्मी एवं लेखक विनयकुमार कसजू (७२) को क्रमशः ६, ८ र १० मंसीरका पाँच दिनभित्रमै निधन भयो । संयोग, कालक्रममा उहाँहरू तीनै जनासित म कुनै न कुनै रूपमा आबद्ध हुन पुगेको थिएँ ।

पेशा पुस्तान्तरणको सामर्थ्य

पत्रकार विनय गुरुवाचार्यले दलीय राजनीति कहिल्यै गर्नुभएन तर केही समय उहाँ हाम्रा नेता हुनुहुन्थ्यो । उहाँको अध्यक्षताको नेपाल वातावरण पत्रकार समूह (नेवापस) को कार्यसमितिमा म पनि थिएँ । कसैलाई मन पर्छ वा पर्दैन भन्ने ख्याल नगरी देखेको र लागेको कुरा भन्ने भएकाले उहाँ ’संस्थाभित्रको राजनीति’ (जुन हरेक संस्थामा हुन्छ) मा पनि कहिल्यै सक्रिय हुनुभएन ।

विनयजीले अन्तर्राष्ट्रिय समाचार समिति एशोसिएटेड प्रेस (एपी) को काठमाडौंस्थित प्रतिनिधिका रूपमा ३८ वर्ष काम गर्नुभयो ।

जापानको ‘माइनिची सिम्बुन’ दैनिकका लागि पनि नियमित लेख्नुहुन्थ्यो । त्यसवेलाको पत्रकारिता समाजमा उहाँ र उहाँ जस्ता विदेशमा समाचार पठाउने पत्रकारहरूको कमाइको अनुमान गर्ने काम भने भइरहन्थ्यो तर ती संस्थामा प्रवेश पाउन र टिक्नका लागि चाहिने अध्यवसायबारे भने खास चर्चा हुँदैनथ्यो । विनयजीको पेशागत उत्कृष्टताको प्रमाण उहाँको काम नै थियो ।

नेवापसको कार्यालयबाट नजिकै बस्नुहुने भएकाले पनि हामी कहिलेकाहीं उहाँको घरमा भेला हुन्थ्यौं । हेमबहादुर विष्टको अगुवाइमा विनयजीको घरमा गरिएको एउटा निर्णयमा हामीले नेवापसको भवन निर्माण कोष स्थापना गरेका थियौं, जसमा उहाँ अगुवा दाता हुनुहुन्थ्यो ।

वयोज्येष्ठ पत्रकार भैरव रिसाललाई विनय गुरुवाचार्य भन्ने वित्तिकै शिक्षित र शालीन पत्रकारको सम्झना आउँछ । “उहाँले ठूलो स्वरले बोलेको वा आक्रामक प्रश्न गरेको मैले कहिल्यै देखिनँ”, रिसाल भन्नुहुन्छ । गुरुवाचार्य रिसाल अध्यक्ष भएको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो ।

विनय गुरुवाचार्य (वि.सं. १९९३– २०७६)

विनय गुरुवाचार्य थोरै यस्ता पत्रकारमध्येका हुनुहुन्छ, जसले आफ्ना सन्तानलाई पनि यस पेशाको गरिमा र सम्भावना बारे बुझाउनुभयो, विदेशी विश्वविद्यालयमा आफ्नै खर्चमा पत्रकारिता पढाउनुभयो र आफ्नो काम जिम्मा लगाउनुभयो ।

एपी जस्तो संस्थाले विनयजीको छोरो भएका कारण मात्र विनाजलाई सो कामको जिम्मा दिएको होइन । तर त्यसमा उहाँको पेशागत उत्कृष्टता र छोरामा हस्तान्तरण गरेका सीप र संस्कारको भूमिका निश्चय नै छ । म उहाँलाई पत्रकारिताप्रति साँचो विश्वास, लगन र क्षमता भएका शालीन अग्रजका रूपमा सधैं सम्झिरहनेछु ।

पर्यटनका प्रवर्द्धक

२०३३ साल फागुनमा लाहानमा भएको ‘माध्यमिक विद्यालयस्तरीय क्षेत्रीय हाजिरीजवाफ प्रतियोगिता’ मा एउटा निर्णायक प्रश्नले इलामको हाम्रो विद्यालयलाई जिताएको थियो । त्यो प्रश्न थियो– संसारको सबभन्दा अग्लो ठाउँमा रहेको होटलको नाम के हो ?

तीस वर्षपछि म त्यही ‘होटल एभरेष्ट भ्यू’ बनाउने व्यक्ति ताकाशी मियाहाराको घरमा डेरा बस्न पुगें । उहाँ अङ्गीकृत नेपाली नागरिकता लिएका, यतै बिहेबारी र घरजम गरेका जापानी हुनुहुन्थ्यो । अनि थाहा भयो, २०३५ सालमा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा भर्ना भएपछि क्याम्पसबाट देखेको होटल हिमालयको निर्माण पनि उहाँले नै गराउनुभएको रहेछ ।

त्यसवेला हामी विद्यार्थीबीच चर्चाको विषय थियो, “यो होटल जापानीको अरे ! स्ट्यान्डर्ड पुगेन भनेर आधा बनिसकेको बिल्डिङ भत्काएको अरे ∕”

मियाहारा बारे शुरूमा मलाई त्यस्तै कुरा मात्र थाहा थिए । तर तिनको पनि महत्व कम थिएन । एउटा विश्वप्रसिद्ध काम गरेको रेकर्ड थियो र अर्को मापदण्ड पुर्‍याउनका लागि घाटा भए पनि सहनुपर्छ भन्ने मान्यताको प्रमाण । उहाँकै घरमा बस्न थालेपछि अरू चाखलाग्दा र प्रेरक कुरा थाहा हुँदै गए ।

चिन्न सजिलो हुने भएकाले मान्छेले ‘ताकाशी मियाहाराको घर’ भने पनि हामीले घरबेटी ज्ञानु दिज्यू (नीना राणा मियाहारा) लाई मात्र चिनेका थियौं । तर केही महीना भित्रैमा घरबेटी र डेरावालाको बीचको सम्बन्ध मात्र रहेन । म ज्ञानु दिज्यूको भाइ भएँ, मेरी श्रीमती बुहारी । अनि ताकाशी मियाहारा भिनाजु ∕

उसो त मियाहारा कमै मात्र घरमा भेटिनुहुन्थ्यो । कहिले जापान, कहिले स्याङबोचे, कहिले पोखरा । हाम्रो झ्यालबाट उहाँको कौसी देखिन्थ्यो र उहाँ घरमा भएका वेला एकाबिहानै एकोर्डियन बज्न थाल्थ्यो ।

घर बस्दा तुना भएको मेखलो जस्तो जापानी परिधान लगाएर उहाँले एकोर्डियन बजाएको हेर्न मलाई रमाइलो लाग्थ्यो । उहाँको तन्मयता हेर्दा बाजा बजाएको होइन, ध्यान गरेजस्तो लाग्थ्यो ।

मेरो पेशागत पृष्ठभूमि र चाख थाहा पाएपछि हामीबीच कुरा हुन थाल्यो । बहाना हुन्थ्यो, डिनर । “ए बाबु, आज माथि डिनर गरौं है ∕ भिनाजुले बाबुहरूलाई बोलाउन मर्जी भा’छ ∕” दिज्यूको आग्रह हुन्थ्यो ।

अनि हामी आस्वादन गर्थ्याैं जापानी र ‘राणाजी भान्सा’ को सन्तुलित स्वाद, अनि सँगै सुन्थ्यौं मियाहाराले दक्षिण ध्रुव, उत्तरध्रुव पुगेका कथा, नेपाल र यहाँको विकास बारे उहाँका आदर्शवादी विचार । क्रमशः खानेकुराको आदानप्रदान दोहोरो हुनथाल्यो । त्यसले आपसी सम्बन्ध बढायो । कुनै पनि खानेकुरा प्रेमपूर्वक खाने र मुक्त कण्ठले प्रशंसा गर्ने उहाँको बानी अनुकरणीय थियो ।

ताकाशी मियाहारा (सन् १९३४–२०१९)

दोस्रो विश्वयुद्धमा हिरोशिमा र नागाशाकीमा अणुबम हानिंदा उहाँ १० वर्ष पुग्दै मात्र हुनुहुन्थ्यो, जापान पुनर्निर्माणको एक किशोर ।

तर, पहिलो पटक एउटा साहसी यात्रीका रूपमा नेपाल आएपछि उहाँलाई नेपाल सम्भावना नै सम्भावनाको मुलुक हो भन्ने लाग्यो । र, अर्कोपटक यहीं बस्ने र व्यवसाय गर्ने नै सोचका साथ आउनुभयो । तर नेपालमा उहाँले कमाइ खाने व्यापार मात्र गर्नुभएन, पर्यटनको प्रवर्द्धनका लागि ज्यादै महत्वपूर्ण कामहरू गर्नुभयो ।

मियाहारासित काम गरेका शब्द–चित्रकार राजेश केसी लेख्छन्, “नेपालमा ट्रेकिङ एजेन्सीका शुरूआतकर्तामध्येका मियाहाराले धेरै पर्यटन उद्यमी जन्माए । यती एअरलाइन्सका आङ छिरिङ शेर्पा पनि यिनैको ट्रेकिङ कम्पनीमा सहयोगी थिए ।

हिमालयन जर्निजका ओगुवारा, टेकचन्द्र पोखरेल, माउन्टेन ट्राभल्सका तानाका, मल्ल ट्रेक्सका स्टान, सूर्य ट्राभल्सका मोतिधर आदि सबैका गुरु मियाहारा नै हुन् । नेपालमा कारोबार या बसोबास गर्ने एक हजारभन्दा बढी जापानीमध्ये कतिपयलाई यिनैले बसालेका छन् ।”

मियाहारा आफ्नो ६ दशक लामो पर्यटन प्रवद्र्धनको प्रतिबद्धता अमेरिका र युरोपका नामी विश्वविद्यालयहरूमा उच्च अध्ययन गरेर फर्केकी छोरी सोनिया मियाहाराका काँधमा हालिदिएर दिवङ्गत हुनुभएको छ । आशा छ, दोस्रो पुस्तामा पनि त्यो सुनाम कायमै रहनेछ ।

हाम्रा दुई परिवारबीच खाने–खुवाउने सम्बन्ध अहिले पनि यथावत् छ । तर त्यो कौसीमा एकोर्डियन बज्न छाडेको छ । र आँखा चिम्लेर, पूरा ध्यान दिएर, प्रतिक्रिया दिन हतार नगरी अर्काका कुरा सुनेर नेपाल बुझ्ने मियाहारा अब हुनुहुन्न ।

विनयी सूचनाप्रेमी

विनयकुमार कसजू (वि.सं. २००४–२०७६)

धेरैको आफ्नो नाम अनुसारको स्वभाव हुँदैन । तर विनय कसजू भने विनयशीलताका जीवित प्रतिमूर्ति हुनुहुन्थ्यो ।

२०७५ असार ३० गते फेसबूक मार्फत उहाँले मसमेत भएको र उहाँको घरमा खिचिएको दुईवटा फोटा पठाएर सोध्नुभएको रहेछ—
यी फोटा कुन वेला र सन्दर्भका हुन् ? मद्दत गर्न सक्नुहुन्थ्यो कि ? मैले जवाफ दिएको रहेछु— पहिलो, २०४७ असारमा, म क्यानेडियन फिल्ममेकरहरूसित तपाईंको बजारको घरमा आएका वेला खिचेको र दोस्रो, वल्र्डभ्यू नेपालको टीमसित तपाईंको गोलघर अगाडि । सम्भवतः त्यो फोटो २०५४ सालमा खिचिएको हो ।

उहाँको थप टिप्पणी रहेछ— धेरै कुरा बिर्सिएछ । फोटा देख्दा के होला भनेर छटपटी लाग्छ । अनि मैले ती सन्दर्भहरूका बारे बताएको रहेछु । त्यसपछि भने हाम्रो कुराकानी भएको रहेनछ ।

२०४७ साल असार । म सीबीसी रेडियो क्यानाडाका डकुमेन्ट्री निर्माता झँ क्लोद मेरियोंको अनुसन्धान सहायक र दोभाषेका रूपमा काम गर्दै थिएँ । हामी पोखराबाट नेपालगञ्ज जाने क्रममा थियौं । यसबीचमा ‘तानसेनमा विनय कसजूलाई भेटेर जानुहोला है’ भन्ने सुझाव मैले गुरु पत्रकार भारतदत्त कोइरालाबाट पाएको थिएँ ।

आफूले मानेका व्यक्तिले ‘स्थानीय विषयवस्तुलाई समाचारको विषय बनाउने र सरल किसिमले प्रस्तुत गर्ने विनयजीको सीप र लगनशीलता गजब छ । उहाँकहाँ जानुहोला । तपाईंका प्रोड्युसरले पनि एकजना असल मान्छे भेट्नेछन्’ भनेपछि नजाने कुरै भएन ।

हामी कसजूको घरमा गयौं । त्यसवेला उहाँ ‘सत्य’ साप्ताहिक निकाल्नुहुन्थ्यो । भर्खरै ‘पाल्पा एज यु लाइक इट’ अंग्रेजी किताब पनि निकाल्नुभएको थियो । हामीले उहाँहरू (उहाँ र उहाँकी धर्मपत्नी गङ्गा कसजू) बाट धेरै जानकारी पायौं । मेरा पाहुना पनि निकै प्रभावित भए ।

पछि भारतदत्त कोइरालाकै अग्रसरता र सहयोगमा कसजूले गाउँले पत्रिका देउराली निकाल्नुभयो । स्वास्थ्यका कारण काठमाडौं बस्न थालेपछि आफ्नो ‘सूचनाप्रतिको प्रेम’ र प्रतिबद्धताकै कारण उहाँ राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त समेत बन्नुभयो ।

विनयजीको निधनपछिका समाचारहरूमा उहाँलाई मूलतः पत्रकार नै भनेर लेखिएको पाइयो । स्वयंले भने फेसबूकमा आफूलाई यसरी चिनाउनुभएको रहेछ– सूचना, सञ्चार र साहित्यका माध्यमबाट संसारलाई अझ राम्रो बनाउन क्रियाशील, लेखक र साहित्यकार ।

विनयजी आदर्शवादी हुनुहुन्थ्यो र आफूले ठाने–मानेको आदर्शको प्राप्तिका लागि सधैं उत्सुक, सृजनशील र क्रियाशील रहनुभयो ।

२०५० को दशकको प्रारम्भतिरै मुटुको शल्यक्रिया गराउन थाइल्याण्ड गएर आउँदा पाएसम्मको अत्याधुनिक ल्यापटप बोकेर आउने, युनिकोडको विकास नहुँदै ‘नेपालीमा इमेल पठाउने’ प्रयास गर्ने, आफ्ना सबै सामग्री इन्टरनेटमा राख्ने जस्ता उहाँका प्रविधिप्रेमी व्यवहारबाट पनि म सधैं प्रभावित छु ।

 

प्रतिकृया दिनुहोस