रिपोर्ट शुक्रबार, पुस ६, २०७५

तिलगंगा आँखा प्रतिष्ठान- विशिष्ट उपचार, अध्ययनमा अब्बल

रामु सापकोटा

तिलगंगा आँखा प्रतिष्ठान नेत्र रोगको उपचारसँगै विशिष्ट तहको पढाइमा अब्बल हुँदै विदेशी डाक्टरहरूका लागि समेत आकर्षण बनेको छ।

तिलगंगा आँखा प्रतिष्ठानको अक्युलोप्लाष्टी क्लिनिकमार्फत क्याम्बोडियाकी नागरिक डा. से्रपाव क्रिन (बायाँ) भारतबाट आएका देवनारायण साहनीको उपचारमा सघाउँदै ।

२५ मंसीर बिहान ९ बजे तिलगंगा आँखा प्रतिष्ठानको अक्युलोप्लाष्टी क्लिनिक पुग्दा कम्बोडियाकी डा. से्रपाव क्रिन (३३) नेपालका अक्युलोप्लाष्टी विशेषज्ञ डा. बेन लिम्बूसँग मिलेर बिरामी जाँचिरहेकी थिइन्। क्रिन भारतको विहार मोतिहारीबाट आएका देवनारायण साहनी (६५) को आँखाको ढकनीमा आएको खटिराको उपचारमा व्यस्त थिइन्। डा. क्रिनले विशिष्ट तहको अध्ययन पूरा गरेका चिकित्सकको निगरानीमा आँखा रोगका बिरामी जाँच्दै अक्युलोप्लाष्टीको उपचारबारे सिकिरहेकी छन्।

अगष्ट २०१८ देखि ‘तिलगंगा इन्स्टिच्यूट अफ अफ्थामोलोजी’ मा पढाइ (अक्युलोप्लाष्टीमा फेलोशिप) शुरू गरेकी हुन्। “सन् २०१९ भित्र पढाइ सकिएपछि यहाँ सिकेको ज्ञानको आधारमा कम्बोडिया फर्केर अनुसन्धान गर्ने सोच बनाएकी छु,” उनी भन्छिन्।

विदेशीको आकर्षण
तिलगंगा आँखा प्रतिष्ठानले आँखाको नानी, ढकनी, जलविन्दु, बालबालिकाको आँखा रोगलगायत ९ विषयमा एक वर्ष र ६ महीनाको विशिष्ट तहको ‘फेलोशिप कार्यक्रम’ सञ्चालन गरिरहेको छ। प्रतिष्ठानका तालिम अधिकृत कृष्णगोपाल श्रेष्ठ फेलोशिपअन्तर्गत अध्ययन गर्नेहरूले बहिरंग विभागदेखि शल्यक्रिया कक्षमा सिनियर चिकित्सकको मातहत रहेर अध्ययनसँगै काम गर्नुपर्ने बताउँछन्।

एमबीबीएस गरेर आँखा रोगमा विशेषज्ञ तहको पढाइ पूरा गरी एक वर्ष काम गरेका चिकित्सकहरूले विशिष्टीकृत (सुपर स्पेसियालिटी) क्षमताको विकास गर्न फेलोशिप कार्यक्रममा सहभागी हुन सक्छन्।

कम्बोडियाको प्रिया आङ डोङ अस्पतालमा आँखा रोगको विशेषज्ञ चिकित्सक रहेकी डा. क्रिनले यसअघि दक्षिण कोरिया गएर ६ महीनासम्म अक्युलोप्लाष्टी विषयमा अध्ययन गरेकी थिइन्। तर, आफ्नो देशमा फर्केर बिरामी जाँच्ने क्रममा उनले त्यहाँ सिकेका कुरा लागू गर्न सकिनन्। “कोरिया र कम्बोडियाका आँखाका बिरामीको उमेरसमूह र बिरामीको किसिम फरक थियो, त्यसैले त्यहाँ पढेका कुरा लागू भएन,” उनी सुनाउँछिन्।

त्यसपछि उनी नेपाल आइन्। नेपालमा आँखा रोगका सबै उमेर समूहका बिरामी भएको, आँखा रोगबारे उपचार गर्ने पूर्वाधार भएको र रोगबारे अनुसन्धान तथा उपचार हुने भएकाले यहाँ आएको उनी बताउँछिन्।

प्रतिष्ठानको एकवर्षे फेलोशिप कार्यक्रममा सन् २०११ यता ४९ जना चिकित्सक सहभागी भएका छन्। यीमध्ये ३६ जनाले आँखा रोगमा विशिष्ट तहको पढाइ पूरा गरिसकेका छन् भने १३ जना अध्ययनरत छन्। सन् २०११ मा प्रतिष्ठानले रेटिना विषयको एकवर्षे विशिष्ट तहको अध्ययन शुरू गरेको थियो। त्यस बेला एक मात्र विद्यार्थी थिए, भूटानका डा. भीमबहादुर राई। एकवर्षे फेलोशिपमा अहिलेसम्म सहभागी ४९ चिकित्सकमध्ये भूटान, कम्बोडिया, म्यान्मारलगायत देशका गरी पाँच जना विदेशी छन्।

सन् २००७ देखि शुरू गरिएको ६ महीनाको फेलोशिप कार्यक्रममा भने अहिलेसम्म ९३ जना सहभागी भइसकेका छन्, जसमध्ये ६३ जना विदेशी छन्। प्रतिष्ठानका तालिम अधिकृत श्रेष्ठका अनुसार प्रतिष्ठानमा बिरामीको चाप बढी हुनु, गुणस्तरीय अध्ययन तथा उपचार सेवा, दक्ष फ्याकल्टीलगायतका कारण आँखामा विशिष्ट तहको पढाइमा विदेशी डाक्टरको आकर्षण बढेको हो।

फेलोशिप कार्यक्रमबाट बढीजसो नेपाली डाक्टरले नै फाइदा लिएका छन्। तीमध्येका एक हुन्, झापा दमकका डा. होमबहादुर गुरुङ। गएको जनवरीदेखि प्रतिष्ठानमा अध्ययन गरिरहेका गुरुङले आँखाको डिल तथा नसासम्बन्धी समस्या र आँखाको क्यान्सरबारे अध्ययन गर्न र सिनियर डाक्टर मातहत रहेर बिरामी जाँच्न पाएका छन्। काम गर्दै अध्ययन गर्न पाइने भएकाले यो कार्यक्रमले क्षमता विकासमा सहयोग पुर्‍याएको उनको अनुभव छ।

यसकारण विशिष्ट तहको पढाइ
आँखा स्वास्थ्यको विषयमा गहिरो अध्ययन गर्न र बिरामीलाई उत्कृष्ट सेवा दिन विशिष्ट तहको पढाइ आवश्यक भएको विज्ञहरू बताउँछन्। जस्तैः आँखाका विशेषज्ञ डाक्टरसँग भन्दा आँखाको नानीसम्बन्धी विशिष्ट तहको अध्ययन गरेका चिकित्सकसँग दक्षतापूर्वक नानी फेर्न सक्ने क्षमता हुन्छ। त्यसैले आँखामा विशिष्ट तहको पढाइको महत्व रहेको बताउँदै डा. गुरुङ भन्छन्, “पहिले देशमा विशिष्टीकृत सेवाका जनशक्ति नहुँदा नेपालीहरू आँखाको नानी फेर्न विदेश जानुपर्थ्यो। तर, अहिले विदेशीहरू नै नेपाल आउन थालेका छन्।” प्रतिष्ठानले आँखाको नानीसम्बन्धी विशिष्ट तहको अध्ययन शुरू गरेका कारण धेरै बिरामीले उपचार पनि पाएको उनी बताउँछन्।

प्रतिष्ठानका तालिम अधिकृत कृष्णगोपाल श्रेष्ठ देशमा आँखा रोगका अस्पतालको विस्तार भएसँगै विशिष्टीकृत सेवाको समेत माग हुन थालेपछि फेलोशिप कार्यक्रम शुरू गरिएको बताउँछन्। उनका अनुसार दुई दशकअघिदेखि आँखाका अस्पतालहरूमा अन्धोपनको प्रमुख कारण मोतिविन्दुको शल्यक्रिया गर्न आउने बिरामीको चाप बढ्दै गयो। त्यो समयमा मोतिविन्दुको शल्यक्रिया गर्न भारतलगायत मुलुक जानुपर्ने बाध्यता थियो। यही बाध्यता हटाउने उद्देश्यले देशभित्रै विशिष्टीकृत जनशक्ति उत्पादन गर्न विशिष्ट तहको पढाइ शुरू गर्नुपरेको श्रेष्ठ बताउँछन्।

पढाउनका लागि आवश्यक पर्ने फ्याकल्टी जुटाउन प्रतिष्ठान नै अग्रसर भयो। प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रिता गुरुङ भन्छिन्, “फ्याकल्टी बनाउन नेपाली डाक्टरहरू विदेश गएर विशिष्ट तहको अध्ययन पूरा गरेर आए।” सन् १९९८ देखि २००२ सम्म प्रतिष्ठानबाट डा. सन्दुक रुइत, डा. रिता गुरुङ, डा. गोविन्द पौडेल, डा. रोहित सैंजु, डा. सुमन थापा र डा. अनु मानन्धरले विभिन्न देशमा आँखा रोगमा विशिष्ट तह पढेर आएपछि उनीहरूले नै तिलगंगामार्फत फेलोशिप कार्यक्रम शुरू गरेका थिए।

अध्ययन क्षेत्र विस्तार गर्दै
तिलगंगा आँखा प्रतिष्ठानले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सँगको सहकार्यमा आँखाको विशिष्ट तहको अध्ययन शुरू गर्नेबारे छलफल चलाइरहेको छ। “यसले जनशक्तिको उत्पादन बढाउने र आँखा रोगको विशिष्ट सेवा विस्तार गर्न मद्दत पुर्‍याउँछ,” प्रतिष्ठानका कार्यकारी निर्देशक डा. गुरुङ भन्छिन्।

त्यसो त, प्रतिष्ठानमार्फत पढाइ पूरा गरिसकेका फ्याकल्टीहरूबाट देशका विभिन्न आँखा अस्पतालमार्फत फेलोशिप कार्यक्रम शुरू भइसकेको छ। फेलोशिप कार्यक्रम सञ्चालन भएकाहरूमा नेपाल अाँखा अस्पताल त्रिपुरेश्वर, विराटनगर आँखा अस्पताल, लुम्बिनी आई इन्ष्टिच्यूट र भरतपुर आँखा अस्पताल पर्छन्। यसले काठमाडौं उपत्यका बाहिरका बिरामीले आँखाको उपचार गर्न तिलगंगा आउनुपर्ने बाध्यता हटाएको प्रतिष्ठानका तालिम अधिकृत श्रेष्ठ बताउँछन्।

प्रतिकृया दिनुहोस