थुप्रै तस्वीर सङ्कलित ‘सार्वजनिक जीवनमा महिला’ पुस्तक महिलावादी स्मृतिको अभियानमा एउटा महत्त्वपूर्ण दस्तावेज बन्न पुगेको छ।
सेवा भट्टराई
नारीवादी लेखनमा एउटै उच्चारण हुने तीन शब्द ‘Site’, ‘Sight’, and ‘Cite’ (स्थान, दृश्य र उल्लेख) को चर्चा गरिन्छ। अभिलेखहरूमा महिलाको उल्लेख कम किन हुन्छ र इतिहासमा महिलाको गणना कम किन हुन्छ भन्ने प्रश्नको उत्तर यी तीन शब्दमा पाइन्छ।
हुन त महिलाहरू प्रायः हरेक स्थानमा हुन्छन् नै, तर उनीहरूलाई देखिंदैन (Sight गरिंदैन)। देख्दै नदेखेपछि उल्लेख गर्ने (Cite गर्ने) त कुरै भएन। यी तीनै वटा ‘साइट’ हरू गर्दै गएमा अभिलेखमा महिलाको उपस्थिति बढाउन सकिन्छ भन्ने अनुमान गरिन्छ। यही प्रयास नेपाल पिक्चर लाइब्रेरीको पुस्तक सार्वजनिक जीवनमा महिला ले गरेको छ।
उदाहरणका लागि यो फोटो पुस्तकको पहिलो खण्डको पहिलो तस्वीर लिऊँ, जसको उल्लेख अन्त्यमा प्रबन्धकहरूले पनि गरेका छन्। यो तस्वीरमा राणाशासन विरुद्धको आन्दोलनमा संलग्न संस्था ‘नेपाल महिला संघ’ का सदस्य रहेका छन्। तस्वीरबाट राणाशासन विरुद्ध महिलाले संगठन बनाएर औपचारिक रूपमा नै भाग लिएको थाहा हुन्छ । तर, राणाविरोधी आन्दोलनका अधिकांश अभिलेख र विशेषगरी सार्वजनिक स्मृतिमा पुरूष नेताहरूकै नाम पाइन्छ।
त्यस्तै, राजा त्रिभुवन विमानस्थलमा ओर्लेर हात हल्लाएको दृश्य प्रसिद्ध छ। महिला आन्दोलनकारीको दृश्य भने खोज्नैपर्ने हुन्छ। सार्वजनिक स्मृतिमा महिलाको उपस्थितिको यस्तै कमीलाई पूरा गर्ने प्रयास यो पुस्तकले गरेको छ।
यस्ता थुप्रै तस्वीर सङ्कलन गरेको यो पुस्तक महिलावादी स्मृतिको अभियानमा एउटा महत्त्वपूर्ण दस्तावेज बन्न पुगेको छ। विभिन्न ऐतिहासिक क्षणमा महिलाको सार्वजनिक उपस्थितिलाई यो पुस्तकले अभिलेखीकरण गरेको छ।
पुस्तक पाँच खण्डमा विभाजित छ- जनताका माझ महिला, टुकीको उज्यालोमा पढ्दै, महिलाका रचना, महिलाका लागि महिला र संसार डुल्दा। यी खण्डमा राजनीति, शिक्षा, साहित्य, सामाजिक कार्य र यात्रामा महिलाको सार्वजनिक उपस्थिति देखिन्छ।
उदाहरणका लागि आज हामीलाई सामान्य लाग्ने महिला हक र समानताका कानून निर्माण गर्न गत पुस्ताका महिलाहरू कसरी लडेका थिए? बलात्कार जस्ता महिला उत्पीडनको सार्वजनिक विरोध कसरी शुरू भयो? गर्भपतन जस्ता विषयमा कस्ता अभियान सञ्चालन गर्नुपरेको थियो? औपचारिक शिक्षा पाउने पहिलो पुस्ताका महिला कसरी विद्यालय र कलेज जान्थे? सञ्चारमाध्यममा आफ्ना रचना प्रकाशित गर्ने वा पुस्तक प्रकाशित गर्ने पहिलो पुस्ताका महिला कसरी संगठित थिए? इतिहासका यस्ता क्षणहरूको तस्वीर यो पुस्तकमा सङ्कलित छन्।
“सार्वजनिक जीवनमा महिलाले कथित रूपमा इतिहास बन्दै गरेको वेला महिलाहरू त्यही समयमा त्यही स्थानमा उपस्थित थिए भन्ने वकालत गर्न तस्वीर (हरूको त्यो क्षमता)लाई उपयोग गर्छ। उक्त प्रदर्शनीले धेरै पटक नेपालका इतिहासका विशिष्ट अवस्थितिमाझ महिलालाई स्थापना गर्न सम्भव बनायो- धेरै पटक औंला उठे, उद्घोष आयो, ‘देख्यौ! म त्यहीं थिएँ!’ ‘यिनलाई त म पनि चिन्छु!’ ‘हामी सबै त्यहाँ सँगै थियौं,’ इत्यादि,” पुस्तकका एक प्रबन्धक दिवसराजा केसी भन्छन्।
५०० भन्दा बढी पृष्ठ रहेको पुस्तकमा अधिकांश तस्वीर नै समाविष्ट छन्। पुस्तकका पानाहरू काला छन् र अधिकांश तस्वीर श्यामश्वेत छन्, जसले गर्दा कुनै पुरानो शैलीको फोटो एल्बम पल्टाए झैं लाग्छ।
नेपाल पिक्चर लाइब्रेरीको फेमिनिस्ट मेमोरी प्रोजेक्ट अर्थात् महिलावादी स्मृति अभियान अन्तर्गत यी तस्वीरहरू सङ्कलन गरिएका हुन्। यी तस्वीरहरू योभन्दा अगाडि सार्वजनिक प्रदर्शनीमा पनि राखिएका थिए। तिनैबाट छानिएका केही तस्वीर र सँगै रहेका जानकारी यो पुस्तकमा समेटिएका छन्।
प्रायजसो तस्वीरहरू व्यक्तिगत सङ्कलनबाट लिइएका छन् किनकि अक्सर, महिलाका अभिलेखहरू सार्वजनिक वा औपचारिक अभिलेखालयमा पाइँदैनन्। तर, इतिहासमा त्यसरी बेवास्ता गरिएका महिला पनि शायद अभिलेखमा गनिन चाहन्छन्, देखिन चाहन्छन्।
‘यी तस्वीर हेर्दै गर्दा मानिसहरूमा एक आन्तरिक तरङ्ग उत्पन्न हुँदो रहेछ। एक्कासि उनीहरू आफ्नै आमाहरू, दिदीबहिनी, बोजुबज्यैबारे कथा भन्न थाल्छन्। हामीले जति पटक यो सङ्कलन प्रदर्शन गरेका छौं, त्यति नै धेरै अभिलेखालयमा सङ्कलनका लागि तस्वीर पाइएका छन् किनभने उनीहरू आफ्ना इतिहास पनि यसरी गणनामा अटेको देख्न चाहन्थे,’ प्रबन्धक नयनतारा गुरुङ कक्षपति पुस्तकमा भन्छिन्।
नयनताराले भने जस्तै म पनि यी तस्वीर हेरिरहँदा आफ्नै आमा र हजुरआमालाई सम्झिँदै थिएँ। सन् १९७० को दशकमा कलेज पढ्न गएका महिला देखेर म आफ्नै आमालाई र स्काउट ट्रेनिङ लिने महिला देख्दा हजुरआमालाई खोज्दै थिएँ। इतिहासका पानामा ‘मेन इन सुट्स’ अर्थात् औपचारिक पोशाक लगाएका पुरुषहरूकै तस्वीरको बाहुल्य देखिन्छ। तर, इतिहास त सारी लगाउने महिलाले पनि बनाइरहेकै रहेछन् भन्ने तथ्य यो पुस्तकले सम्झाइरहेको छ।
यी सामान्य महिलाका ससाना कदमले समाजमा ल्याएको विशाल परिवर्तन र महिला आफैंमा आएको परिवर्तन पनि यो पुस्तकमा भेटिन्छ। अन्ततः समाजको परिवर्तन इतिहासमा गनिएका केही विशेष क्षणको तस्वीरबाट मात्र होइन, सामान्य जीवनको तस्वीरमा पनि देखिने रहेछ।
यीमध्ये केही तस्वीर देख्दा लाग्छ, समाज फेरिएछ। भानुभक्तले ‘हाँस्ने नारी वेश्या हुन्छन्’ भनेको प्रतिक्रियामा मञ्जु काँचुलीले एउटा पत्रिकाका लागि हाँसेर खिचाएको तस्वीर देख्दा लाग्छ- अब त समाज फेरिएछ, हाँस्नलाई मात्रै त यत्रो बन्देज छैन अब महिलालाई। खुलेर हाँस्ने स्वतन्त्रतालाई आज हामी सामान्य मान्छौं, तर यी अग्रज महिलाले सार्वजनिक रूपमा यी साना कदम चालिदिएकाले मात्र यी स्वतन्त्रता सामान्य हुन पुगेका हुन् भन्ने सत्य यो पुस्तकले सम्झाएको छ।
कुनै कुनै तस्वीर हेर्दा लाग्छ- समाज जहाँको तहीं छ। नारीवादी पत्रिका अस्मिता ले गर्भपतन (त्यति वेला गर्भपात शब्द प्रचलित रहेछ) विरुद्धको कडा कानूनको विरोध गर्दै निकालेको सचित्र जानकारी देख्दा लाग्छ- नेपालमा कानून फेरिए पनि समाज अझै गर्भपतनको नैतिकता र महिलाको शरीरमाथिको नियन्त्रणका विषयमा बहस गरी नै रहेको छ।
राजनीति, शिक्षा, साहित्य र सामाजिक कार्यहरूमा अग्रज महिलाहरूको उपस्थिति देख्दा उनीहरूको सराहना गर्न मन लाग्छ। साथै कतिपय तस्वीर मूलधारको सञ्चारमाध्यममा किन यति कम देखिन्छन् वा देखिंदै देखिंदैनन् भन्ने प्रश्न सोध्न मन लाग्छ।
“तस्वीरहरू प्रसारित हुन्छन् र तिनको आफ्नै जीवनी हुन्छन्। उनीहरू सञ्जाल र सम्बन्धबीच रहेका हुन्छन् र तिनले आफ्नो सेरोफेरोमा कथाहरू बुन्छन्। तस्वीर बनाउने कार्य तथा तिनमा अन्तर्निहित अर्थमा केन्द्रित रहने सघन प्रवृत्ति रहन्छ। तर, प्रायः सबैभन्दा ज्ञानप्रद चाहिं तस्वीरको आफ्नो जीवन हुन्छ। तस्वीरले के ‘देखाउँछन्’ वा प्रमाण दिन्छन् भन्ने प्रश्नबाट यो विचार कति पर उभिएको छ,” पुस्तकका प्रबन्धक केसी भन्छन्।
यो प्रश्न पनि कुनै पनि जानकारी ‘साइट’ (Cite) गर्ने प्रश्नसँग सम्बन्धित छ। महिलाका तस्वीर महिलावादी वृत्तमा पुनरुत्पादन गरिए पनि मूलधारमा तुलनात्मक रूपमा कमै देखिन्छन्। आज पर्यन्त मुख्य समाचारमा ‘मेन इन सुट्स’ को तस्वीर राख्ने र मास्टहेडमा ‘ग्ल्यामर’ का लागि महिला अभिनेत्री वा गायिकाका तस्वीर छाप्ने प्रचलन व्याप्त नै छ, जसले तस्वीरमा महिलाको उपस्थिति त बढाउँछ, तर महिलाका विविध भूमिकालाई बेवास्ता गर्दै सीमित छवि बनाउँछ। यस्तो परिस्थितिमा यो पुस्तकमा सम्मलित वा त्यस्ता किसिमका महिलाका विविध भूमिका देखिने तस्वीरहरू अझ बढी प्रसार गर्नु आवश्यक छ।
“यो कृति व्यापक प्रसारमा जानेछ र यसले अभिलेखालयको झनै सघन पठन र पुनर्पठनका अवसर दिनेछ भन्नेबारे म उत्साहित छु,” प्रबन्धक कक्षपति भन्छिन्।
पुस्तकको अन्तिम खण्डमा यात्रा गर्ने महिलाका तस्वीर छन्। सरकारले ४० वर्षमुनिका महिलाले यात्रा गर्न अनुमति लिनुपर्ने जस्ता किसिमका नियमको प्रस्ताव गरेको वेलामा यी तस्वीरले बाध्यताले होस् वा रहरले महिलाले सधैं यात्रा गरेकै छन् भन्ने देखाउँछ। सजिलो भए पनि गाह्रो भए पनि जस्तोसुकै कठिनाइ पनि सामना गर्दै महिला विगत र वर्तमानमा संसार हेर्न निस्केकै छन्।
यसै पनि सीमित महिला स्वतन्त्रतालाई अझ खुम्च्याउने प्रस्ताव गर्नुभन्दा महिलाका यी इतिहासलाई एक पटक नियालेर हेर्नुपर्ने हुन्छ।