लेखक भिक्टर प्रधानले विडुडव र कपिलवस्तुको पतनलाई ऐतिहासिक उपन्यास भनेका छन्। यसलाई औपन्यासिकताको कसीमा राखेर पनि विमर्श गर्न सकिन्छ, त्यो बेग्लै विषय हो।
वसन्त महर्जन
भिक्टर प्रधान लिखित विडुडव र कपिलवस्तुको पतन पढ्दै गर्दा मायादेवी, प्रजापति गौतमी र यशोधरालाई सम्झँदै थिएँ। यी तीन पात्रको पुस्तकसँग खासै सम्बन्ध नभए पनि उनीहरूलाई महिला आयोगले २०६९ सालमा प्रकाशन गरेको प्रथम तथा अग्रज नेपाली महिला पुस्तकमा समावेश गर्नका लागि गरेको मिहिनेतका कारण सम्झिएको थिएँ।
गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्नुको अर्थ उनी नेपाली हुन् भनी स्वीकार्नु हो। तर‚ गौतम बुद्ध नेपाली भएपछि उनीसँग सम्बन्धित व्यक्तिहरू स्वतः नेपाली हुन्छन् भन्ने कुरा हामी बिर्सन्छौं।
नेपालको इतिहासबारे जति शब्द खर्च गरे पनि नेपाली इतिहासकारहरू प्राचीन शाक्य गणराज्य कपिलवस्तुका सम्बन्धमा शब्द खर्चन कन्जुस्याइँ गर्छन्। यसै परिणाम हो‚ नेपालीलाई कपिलवस्तुबारे थोरै मात्र ज्ञान हुनु। यही ज्ञानको अभावलाई पूरा गर्ने काम लेखक प्रधानबाट भएको छ।
वर्तमान भारतको राजनीतिक भूगोल गौतम बुद्ध (इपू ५६३–४८३) अघि १६ महाजनपद र अन्य थुप्रै जनपदहरूमा विभक्त थियो। अंग, बंग, मगध, आन्ध्र, कम्बोज, काशी, कोशल, बज्जि, अवन्ति, वत्स, कुरु, कैकय लगायत महाजनपदहरू ठूला र शक्तिशाली थिए। तिनीहरूबीच प्रतिस्पर्धा भइरहन्थ्यो। कसैको राज्य व्यवस्था राजतन्त्रात्मक त कसैको गणतन्त्रात्मक थियो। कतिपय जनपदहरू एक महाजनपदको छायाँमा त कतिपय जनपदहरू स्वतन्त्र थिए।
तत्कालीन शाक्य गणराज्यको राजधानी कपिलवस्तु थियो। यही कपिलवस्तुमा गौतम बुद्धको जन्म भएको थियो। शाक्य गणराज्य कोशल महाजनपदको अधीनमा थियो।
गौतम बुद्ध र उनका बुबा शुद्धोदनको बारेमा जतिसुकै वैभवपूर्ण वर्णन गरिए पनि ऐतिहासिक रूपमा पुष्टि हुँदैन। त्यति वेला धनीमानीहरू आफ्ना सन्तानको शिक्षादीक्षाका लागि तक्षशिलामा पठाउँथे र यसलाई आफ्नो गौरवका रूपमा लिन्थे। तर‚ छोरालाई त्यस्तो शिक्षाको व्यवस्था गर्न शुद्धोदन सक्षम थिएनन्। शुद्धोदनलाई राजतन्त्र अन्तर्गतको महाराजा र गौतम बुद्धलाई राजकुमार तथा राजगद्दीको उत्तराधिकारीका रूपमा चित्रण गर्ने काइदा पनि ऐतिहासिक रूपमा गलत रहेको कुरा नाम नै ‘शाक्य गणराज्य’ रहेबाट पुष्टि हुन्छ। यस गणराज्यको राजनीतिक बागडोर शाक्य कुलको अधीनमा थियो र गणपरिषद्मा शाक्यहरू नै सदस्य हुन्थे।
तत्कालीन शाक्य गणराज्यको राजधानी कपिलवस्तु थियो। यही कपिलवस्तुमा गौतम बुद्धको जन्म भएको थियो। शाक्य गणराज्य कोशल महाजनपदको अधीनमा थियो।
परिषद्मा सदस्य रहेका पार्षद्हरू (सभापद्)लाई औपचारिक रूपमा सम्बोधन गर्दा राजा र राजाहरूले निर्वाचन पद्धतिबाट निश्चित समयका लागि चुनेका गणप्रमुखलाई ‘महाराजा’ भनिन्थ्यो। यही राजा र महाराजाको पृष्ठभूमि खुट्याउन नसक्दा पछिल्ला लेखकहरू राजतन्त्र अनुसारको शासन व्यवस्था भनी झुक्किएको बुझिन्छ।
त्रिपिटकमा लिच्छवि राजाहरू, मल्ल देशका राजाहरू, कपिलवस्तुका राजाहरू भन्ने शब्द बरोबर उल्लेख भएबाट पनि ती देशहरूमा थुप्रै राजा हुन्थे भनी बुझ्नुपर्छ। यस अनुसार‚ गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नुअघि गृहस्थ जीवनमा राजा पनि भएका थिए र राज्य व्यवस्थासँग चित्त नबुझेर कपिलवस्तु छाडेर हिंडेको सुत्तनिपाट ग्रन्थबाट थाहा पाउन सक्छौं। गौतम बुद्ध नगर घुम्न जाँदा रोगी, वृद्ध, शव र सन्न्यासी देखेको र त्यसबाट विरक्त भएर महाभिनिष्क्रमण (गृहत्याग) गरेको भन्ने कथन छ। तर‚ त्यो तार्किक छैन। यो वर्णन ‘त्रिपिटक’ मा भेटिंदैन।
५७ वर्षको उमेरमा पुत्रलाभ गरेका शुद्धोदन छोरा २९ वर्षको हुँदा ८६ वर्षका भइसकेका थिए। एउटै महलमा बस्ने र बरोबर भेटिरहने बुबाको वृद्ध काय छोराले देखेका थिएनन् भन्नु जत्तिको हास्यास्पद के होला र? गौतम बुद्धले आयुर्वेदको शिक्षा पनि लिएका थिए। आयुर्वेदको शिक्षा पाएका व्यक्तिलाई रोग र रोगी हुन्छन् भन्ने कुरा थाहा थिएन भनेर अड्डी कसेर बस्नु प्रश्न गर्न धक मान्नु वा नजान्नु हो।
अर्को कुरा, धेरैले बुझ्ने गरे जस्तो गौतम बुद्ध मध्यरातमा सुटुक्क भागेका थिएनन्। यशोधरा लगायत घरपरिवारका सबैलाई जानकारी थियो भन्ने कुरा थेरीगाथा लगायतका ग्रन्थबाट कुरा खुल्छ।
३५ वर्षको उमेरमा बुद्धत्व लाभ गरेपछि गौतम बुद्धको प्रख्याति चारैतिर फैलियो। उनी शाक्य कुलका थिए र शाक्य कुलको पनि स्वतः उज्ज्वल भयो। बुद्धको आदरसम्मान सबैले गर्ने भएका कारण बुद्धप्रतिको श्रद्धाले कोशलाधिपति प्रसेनजितलाई शाक्य कन्यासँग विवाह गर्ने र त्यसबाट पाउने छोरालाई कोशल महाजनपदको उत्तराधिकारी बनाउने सोच आयो। यही सोच अनुसार शाक्यहरूसँग वैवाहिक सम्बन्ध पनि स्थापना भयो। तर‚ शाक्य कन्या नै नभएर झुक्याएर दासीपुत्री वासभखतियासँग विवाह गरिदिए। यो कुरा थाहा पाउँदा दासीपुत्रीबाट जन्मिएका विडुडव नामका राजकुमार किशोरवयमा पुगिसकेका थिए। शाक्यहरूले आफ्नो जात्याभिमानले आफ्नो अपमान गरेको विडुडवले बुझिसकेका थिए। यही तुसमा उनले शाक्यहरूको विनाश गर्ने अठोट गर्छन्। यही अठोट अनुसार कपिलवस्तुमाथि आक्रमण गर्छन्। अन्ततः कपिलवस्तुको पतन हुन्छ। विडुडव र कपिलवस्तुको पतन को विषयवस्तु यही हो।
परिषद्का पार्षद्हरूलाई राजा र राजाहरूले निश्चित समयका लागि चुनेका गणप्रमुखलाई ‘महाराजा’ भनिन्थ्यो। यही राजा र महाराजाको पृष्ठभूमि खुट्याउन नसक्दा पछिल्ला लेखकहरू राजतन्त्र अनुसारको शासन व्यवस्था भनी झुक्किएको बुझिन्छ।
लेखक प्रधानले विडुडव र कपिलवस्तुको पतन लाई ऐतिहासिक उपन्यास भनेका छन्। यसलाई औपन्यासिकताको कसीमा राखेर पनि विमर्श गर्न सकिन्छ, त्यो बेग्लै विषय हो। तर‚ प्रस्तुति हेर्दा यसलाई उपन्यास भन्नुभन्दा बुद्धकालीन इतिहासको वर्णन भन्नु उपयुक्त देखिन्छ। ऐतिहासिक घटनाको आधारमा लेखकले आफ्नो कल्पना तथा भावनालाई छुट्टै गरिएको प्रस्तुतिलाई सामान्यतः ऐतिहासिक उपन्यास भन्ने चलन छ। तर‚ विडुडव र कपिलवस्तुको पतन मा लेखकले कल्पनाको उडान भर्ने तथा आफ्नो आग्रह थोपर्नेभन्दा त्रिपिटकमा वर्णित बुद्धकालीन घटना विवरणलाई आफ्नो शैलीमा प्रस्तुत गरेको पाइन्छ।
भारतको प्राचीन इतिहास जैन र बौद्ध साहित्यबाट खुल्छ। यो भनेको इसापूर्व छैटौं शताब्दी हो। यो समय मानव सभ्यताको एउटा उत्कृष्ट काल थियो। यातायातको सञ्जाल चारैतिर पुगेको र व्यापार व्यवसाय फैलिएको हुँदा समाज समृद्ध थियो। राजनीति र सैन्य संरचना मात्रै सुदृढ थिएन, कला, साहित्य, सङ्गीत लगायतका क्षेत्रले पनि एउटा उचाइ कायम गरिरहेको थियो। यो वेलाको एउटा उल्लेखनीय पक्ष धर्मदर्शनको क्षेत्रमा वैचारिक ऊहापोह पनि भइरहेको थियो। हिजोआज भन्ने गरिए जस्तो यो भूगोलमा वैदिक ब्राह्मणहरूको मात्रै वर्चस्व नभई विभिन्न धर्मदर्शनको अभ्यास स्वतन्त्र रूपमा हुन्थ्यो। गौतम बुद्धकै पारिवारिक पृष्ठभूमि पनि वैदिक धर्मदर्शन थिएन।
त्यो वेला ब्राह्मण र श्रमण दुई विपरीत विचारधारा बोक्ने समुदाय थिए। गौतम बुद्धको पृष्ठभूमि श्रमण परम्परामा थियो। त्यसैले पनि उनलाई ‘महाश्रमण’ भनिएको हो। कपिलवस्तुबाट महाभिनिष्क्रमण गरेका उनी सोझै दक्षिण–पूर्वी दिशास्थित मगध महाजनपदमा किन लागे भन्ने प्रश्न रोचक छ। विडुडव र कपिलवस्तुको पतन मा लेखकले यस सन्दर्भमा ‘तर किन हो’ भन्दै बुद्धका गतिविधिहरूको वर्णन गरेका छन्। तर‚ यसको वास्तविक जवाफ मगध त्यति वेला धर्मदर्शनको केन्द्र पनि भएकाले हो। त्यहाँ वैचारिक स्वतन्त्रता यथेष्ट मात्रामा थियो। बुद्धले यहाँ बुद्धत्व प्राप्त मात्रै गरेनन्, सारनाथ पुगेका उनी धर्म प्रचारका लागि पुनः मगधको राजधानी राजगृहतिर नै लागे।
विडुडव र कपिलवस्तुको पतन मा लेखकले कल्पनाको उडान भर्ने तथा आफ्नो आग्रह थोपर्नेभन्दा त्रिपिटकमा वर्णित बुद्धकालीन घटना विवरणलाई आफ्नो शैलीमा प्रस्तुत गरेको पाइन्छ।
षड्दर्शनमा एउटा साङ्ख्य हो। भनिन्छ, यसका संस्थापक कपिलमुनि हुन्। उनी गौतम बुद्धभन्दा पुराना हुन्। यही दर्शनको जगमा बुद्धले बौद्ध दर्शनको विकास गरेको मान्यता राख्नेहरू पनि छन्। तर‚ दार्शनिक दृष्टिबाट यी दुवैको अनुशीलन गर्दा उक्त दाबीमा दम पाइँदैन। कपिलमुनिबारे त्यति धेरै जानकारी पाइँदैन पनि। कपिलवस्तु नगरको स्थापनामा कपिलमुनिको नाम उल्लेख त हुन्छ, तर उनी साङ्ख्य दर्शनकै कपिलमुनि हुन् भन्ने कुरा कतैबाट खुल्दैन। हिजोआज साङ्ख्य दर्शनका कपिलमुनि नै कपिलवस्तुका कपिलमुनि हुन् भन्ने भाष्य निर्माणमा एउटा जमात लागिपरेको पाइन्छ। यो प्रयास सम्भवतः गौतम बुद्धले कुनै नयाँ कुरा दिएका छैनन्, वैदिक परम्पराकै निरन्तरता हो र यो हिन्दू धर्मकै शाखा हो भन्ने मान्यता स्थापना गर्नका लागि हो। यो विवादमा विडुडव र कपिलवस्तुको पतन का लेखक प्रधानको रुचि भए जस्तो त लाग्दैन, तर पुस्तकमा दुवै कपिलमुनि एकै हुन् भन्ने वर्णन परेको छ।
सरल र सहज भाषामा लेख्नु झट्ट हेर्दा सजिलो काम हो। तर‚ लेखन क्षेत्रमा यही सबैभन्दा ठूलो चुनौती हुन्छ। समय, भाषा, शैली लगायतमा प्राचीन लेखन अहिलेको भन्दा अलि दुरुह हुने गर्दछ। यसमा त्रिपिटक पनि अछुतो छैन। यसलाई सरल र सहज भाषाशैलीमा पनि ल्याउनु पर्दछ। यो अभावपूर्ति केही हदसम्म विडुडव र कपिलवस्तुको पतन ले गरेको छ। युवा पाठकहरूलाई लक्षित गरेर लेखिएको भनिएको यस पुस्तकको भाषाशैली सरल र सहज छ। यसले बुद्ध र बौद्ध धर्मबारे सामान्य जानकारी त दिन्छ नै साथसाथै यी विषयवस्तुसँग जोडिएर आउने कुराहरूको पनि जानकारी दिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा त, ती तमाम कुराको उल्लेख गर्दै प्राचीन शाक्य गणराज्यको उत्थानदेखि पतनसम्मको इतिहास पस्कने प्रयास गरिएको छ।
प्राचीन शाक्य गणराज्य भन्नु सिङ्गो नेपाली इतिहासको एउटा महत्त्वपूर्ण अध्याय हो जसलाई छुटाउन मिल्दैन। भलै बुद्धको शिक्षालाई अवलम्बन गर्न नसकिएला, तर बुद्धले २९ वर्षसम्म गृहस्थ जीवन बिताएको मात्रै नभएर बुद्धत्व प्राप्त गरेर जीवनको अन्तिम समयसम्म कुनै न कुनै रूपमा सम्बन्ध राख्ने गरेको शाक्य गणराज्यको इतिहासलाई उपेक्षा गर्नु हदैसम्मको लापरवाही हुन्छ। गौतम बुद्ध, उनका नातागोता, समाज र समयलाई उपेक्षा गरेर नेपालको प्राचीन इतिहासको अध्ययन पनि हुन सक्दैन। विडुडव र कपिलवस्तुको पतन मा त्यो इतिहास लेखन भएको मान्नुपर्छ।