पोखरा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक फेवातालपछि अर्को रमणीय गन्तव्य सराङकोटमा रम्न थालेका छन्।
प्रायः आन्तरिक तथा बाह्य पर्यटकले दोहोर्याएर पनि आउने पर्यटकीय गन्तव्य हो, पोखरा। अझ फेवातालले सबैलाई आकर्षित गर्छ। पछिल्लो समय भने फेवातालको दृश्यावलोकन गर्न सराङकोट पुग्ने गरेका छन्। अझ आँखै अगाडि हिमशृङ्खला उभिएको दृश्यले त प्रफुल्ल बनाउँछ नै।
समुद्री सतहबाट एक हजार ४५० मिटर उचाइमा रहेको सराङकोट सूर्योदय, पाराग्लाइडिङ र अवलोकनका हिसाबले महत्त्वपूर्ण छ। सराङकोट मुख्य आकर्षण पाराग्लाइडिङ त युवा-तन्नेरी सबैमाझ चर्चित छ।

सराङकोटबाट एक सय मिटर उचाइको तोरीपानीले झन् रमाइलो थप्छ। यहाँबाट पोखराको भौगोलिक बनावट, फेवाताल, माछापुच्छ्रे हिमालले छ्याङ्गै देखिन्छन्।
सराङकोट पर्यटकको रोजाइमा पर्नुको प्रमुख कारण बनेको छ, केबलकार। लेकसाइडबाट गाडीमा एक घण्टा लाग्ने सराङकोट अहिले पोखरा महानगपालिका-२६ स्थित सेदीमा अन्नपूर्ण केबलकार बनेसँगै १० मिनेटमै पुगिन्छ। केबलकारले पोखराका लेकसाइड र सराङकोटको दूरी मात्रै घटाएको छैन, पर्यटकका लागि सजिलो पनि बनाएको छ।
लेकसाइडबाट पाँच मिनेटमा सेदी केबलकार पुग्न सकिन्छ। त्यहाँबाट केबलकारमा सराङकोट पुग्ने पर्यटक सूर्योदय हेरेर फर्किने गरेका छन्। पोखरामा बास बस्ने गरी आउने पर्यटक लेकसाइड छोडेर सराङकोट नै रोज्न थालेका छन्।

नवलपुरबाट पोखरा आएका विमल राई सूर्योदय हेर्न बिहानै सराङकोट हुइँकिए, केबलकारमा। “सामाजिक सञ्जालबाट केबलकारबारे थाहा थियो, सूर्योदय हेर्न पाइन्छ भन्ने कुरा पोखरा पुगेपछि थाहा भयो,” उनी भन्छन्, “केबलकारमा बिहानै सराङकोट पुगेर सूर्योदय हेर्यौं। केबलकारमा फर्किदा फेवाताल र लेकसाइड अझ सुन्दर देखिंदो रहेछ।”
केबलकार बनेसँगै सूर्योदय हेर्न सराङकोट पुग्ने पर्यटक बढ्दै गएको पर्यटन व्यवसायी सोमबहादुर भट्टराई बताउँछन्। “सूर्योदय हेर्नेहरू बिहानै आउँछन्, अन्य गतिविधिमा रमाउनेहरू १० बजेपछि आउँछन्,” भट्टराई भन्छन्।
.png)
सराङकोट पुगेपछि पर्यटक झुम्मिने साधन बनेका छन्, जिपलाइन, हवाई साइक्लिङ र पिङ। यी तीनै गतिविधि 'एड्भेन्चर' मन पराउनेका लागि रोजाइमा परेका हुन्छन् नै, घोडा सवारीले थप आकर्षण थपेको छ।
तनहुँबाट केबलकार चढ्नकै लागि आएका ग्रेसी श्रेष्ठ, बेली श्रेष्ठ र शान्ति श्रेष्ठले पोखरा बजार, लेकसाइड, फेवाताल झन् मनमोहक लागेको बताए। ग्रेसी भन्छिन्, "ओहो! फेवाताल यसरी देखिन्छ भन्ने सोचेकै थिइनँ। लेकसाइड, पामे लगायतको पूरै दृश्य हेर्दा त फेरि चढौं जस्तो लाग्यो।”
अझ उनीहरूलाई मज्जा दियो, पिङले। पिङ हुइँकिदै हिमालको दृश्यावलोकन गर्दा मनै प्रफुल्ल भएको उनीहरू बताउँछन्।
.jpg)
हुन पनि सराङकोटबाट धौलागिरि, अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रो, हिमचुली, माछापुच्छ्रे, लमजुङ र मनास्लुलाई लहरै देख्छ सकिन्छ। यस्तोमा पर्यटक टिकटक बनाउँदै रमाइरहेका देखिन्छन्।
पर्वतकी दुर्गा विश्वकर्मा र रोजी गुरुङ टिकटक बनाइरहेका थिए। माछापुच्छ्रेलाई पृष्ठभूमिमा राखेर तीजको गीत ‘छन् त मै राम्रो छैन, भन त मन पर्छ पर्दैन’ मा आलोपालो गरी नाचिरहेका थिए। “सबैले टिकटक बनाएर हालेको देखें। हामी पनि रमाइलो लागेर आयौं,” दुर्गा बोलिन्।
.jpg)
केबलकारबाट मात्र अहिले दैनिक चार सयको हाराहारीमा पर्यटक सराङकोट पुग्ने गरेको अन्नपूर्ण केबलकारका अप्रेशन मेन्टिनेन्स सिनियर म्यानेजर डीएन कायस्थले बताए। छोटो समयमै केबलकार पर्यटकको रोजाइमा परेको बताउँदै उनी भन्छन्, “केबलकारबाटै जाने बित्तिकै स्वीङ, स्काई साइकलिङ, जिपलाइनमा रमाउन सकिन्छ। अझ सराङकोटबाट ३६० डिग्रीमा सुन्दरता हेर्न सकिन्छ।” त्यसैले पनि पर्यटक अझै बढ्ने उनको भनाइ छ।
सराङकोटमा बासको पनि राम्रो व्यवस्था छ। साना-ठूला गरी ४० जति होटल छन्। पोखराभन्दा सराङकोटमै रात बिताउने पर्यटकको संख्या बढ्दै गएको होटल व्यवसायी विमल पौडेल बताउँछन्। “कोरोना महामारीको प्रकोप छँदै छ, तैपनि पर्यटकको संख्या बढिरहेको छ,” उनी भन्छन्।
.jpg)
यी सँगसँगै साहसी पर्यटकको रोजाइमा पाराग्लाइडिङ त छँदै छ। लेकसाइडबाट १० मिनेटको यात्रामै पाराग्लाइडिङ गर्न सकिने भएकाले पनि पर्यटक आकर्षित भएका छन्। अझ यसमा केबलकारबाट आउने पर्यटकका लागि छूटको व्यवस्था गरिएको छ।
यसले पोखराकै बासिन्दालाई पनि आकर्षित गरेको छ। सराङकोटबाट पोखराको आकाशमा एक फन्को लगाएर आएका स्थानीय राजेश गुरुङ पाराग्लाइडिङ यात्राले चकित परेको बताउँछन्। “अहिलेसम्म मैले कुनै पनि एड्भेन्चर गरेको थिइनँ। एक पटक पाराग्लाइडिङ गरी हेर्छु भनेर आटेँ,” राजेश भन्छन्, “पोखरामै हुर्के-बढेको मैले आकाशबाट नयाँ दृश्य देखें। फेवाताल, लेकसाइड लगायतको पोखरा हेर्दा अनौठो लाग्यो, रमाइलो पनि भयो।”
.jpg)