बागमतीको नीति तथा कार्यक्रम १६ जेठमा आउने
बागमती प्रदेश सरकारले आगामी आर्थिक २०७९/८० का लागि जेठ १६ गते नीति तथा कार्यक्रम ल्याउने भएको छ।
शनिबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले सांसदका प्रश्नको जवाफ दिएका छन्। यससँगै ‘प्रि-बजेट’ माथिको छलफल सकिएको छ।
अब प्रदेश सभाको जेठ १६ गते दिउँसो २ बजे बस्ने बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ। शुक्रबारदेखि शुरू भएको प्रदेश सभाको दशौं अधिवेशन अन्तर्गत शनिबारको बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकता माथि छलफल भएको थियो।
छलफलमा उठेका प्रश्नको जवाफ दिंदै मन्त्री जम्मकट्टेलले सरकारले जनतालाई लक्षित गरेर कार्यान्वयन हुने प्रकृतिको नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी आफ्नो सिद्धान्त र प्राथमिकता तयार पारेको बताए। उनले सोही अनुसार सरकारको बजेटले जनतालाई सम्बोधन गर्ने र कार्यान्वयन हुने प्रकृतिको नीति तथा कार्यक्रम ल्याउन सरकार सक्रिय रहेको बताए।
उनले भने, “केही रचनात्मक सुझावहरू पनि प्राप्त भएका छन्। केही असन्तुष्टिहरू पनि व्यक्त भएका छन्। समग्रमा सबैको मतको सम्मान गर्दै प्राप्त सुझावलाई नीति तथा कार्यक्रममा समावेश गरेर अघि बढ्छौं।’ उनले वर्तमान सरकारले मन्त्रालय थप गरी प्रशासनिक खर्च बढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नु स्वाभाविक भएको बताए।