नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई विना कारण जेलमा राखेको बताएका छन्।
कैलालीको बौनियामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले निलम्बित सांसद चौधरीलाई जेल हाल्नुपर्ने कुनै कारण नभएको जिकिर गरेका हुन्।
“यो कैलालीमा टीकापुर घटना भयो। यो घटनाले गर्दा यहाँका थारू नेताहरू अहिले पनि जेलमा छन्,” एमाले अध्यक्ष ओलीले भने, “रेशम चौधरी र थारू नेताहरूलाई जेल हाल्नुपर्ने कुनै कारण छैन। हजार मान्छे मारिए, उनीहरूले जेलमा हुनुपरेन, तर थारू नेताहरूमाथि सरकारले हुँदै नभएको मुद्दा लगाएर थुनेर राखेको छ।”
टीकापुर घटनाको अभियोगमा उच्च अदालत, दिपायलले चौधरीलाई जेल सजाय सुनाएको छ। उनी २०७४ को चुनावमा कैलाली-१ बाट निर्वाचित भएका हुन्।
आफ्नो सरकार नढलेको भए त्यही वेला यो समस्या समाधान गर्ने तयारी गरेको बताए। थारू कल्याणकारिणी सभासँग ६ बुँदे सहमति समेत गरेको बताउँदै त्यति वेला गृह मन्त्री रामबहादुर थापा थारूहरूले धर्ना दिएकै ठाउँमा माग पूरा गर्न पलेटी कसेर समर्थन जनाएका उल्लेख गरे।
उनले सत्तारूढ पाँच दलीय गठबन्धनको आलोचना गरे। “यो गठबन्धन कुनै विकास गर्नका लागि होइन, सत्तामा पुगेपछि आफ्ना नातागोताको उद्धार गर्ने र बाँडीचुँडी खानलाई बनेको हो,” ओलीले भने।
उनी चुनावी प्रचारका क्रममा कैलाली पुगेका हुन्। उनले कैलाली र कञ्चनपुरका विभिन्न आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।