नेकपा (एमाले) मा प्रवेश गर्न लागेपछि नेकपा (माआवादी केन्द्र) ले कर्णाली संसदीय दलका सचेतक ठम्मरबहादुर विष्टलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।
माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले प्रेस नोट जारी गरी विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको जनाएका छन्। ३ चैतमा बसेको माओवादी प्रदेश सभा संसदीय दलको बैठकले सांसदबाट दिएको राजीनामा फिर्ता लिएर नियमित काममा क्रियाशील हुन निर्देशन दिएको थियो। तर, उनले त्यसको पालना गरेका थिएनन्।
पार्टीले दिएको निर्देशनको अवज्ञा गरेकाले उनलाई दलको सदस्यबाट निलम्बन गरिएको शाहीले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
सांसदबाट दिएको राजीनामा फिर्ता लिनका लागि दिएको तीन दिनको समयसम्म पार्टीमा नफर्किएपछि विष्टलाई निलम्बन गरिएको माओवादी सांसद सीता नेपालीले जानकारी दिइन्। “उहाँलाई हामीले तीन दिनको समय दिएर राजीनामा फिर्ता लिनुस् भनेका थियौं, तर उहाँले मान्नुभएन,” नेपालीले हिमालखबरसँग भनिन्, “उहाँले अर्को पार्टी प्रवेशको तयारी गरिसकेकाले निलम्बन गरेका हौं।”
सुर्खेत-१ ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित विष्ट कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतक थिए। उनले केही दिनअघि सांसदबाट पनि राजीनामा दिएका थिए।
उनी आज एमालेमा प्रवेश गर्न लागेका छन्। आज दिउँसो वीरेन्द्रनगरको सिटी हलमा आयोजना हुने बृहत् भेला कार्यक्रममा उनलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेका सांसद गुलाबजंग शाहले जानकारी दिए। “आज हाम्रो सुर्खेतमा बृहत् कार्यक्रम रहेको छ,” उनले भने, “सांसद ठम्मर विष्टलाई पार्टी प्रवेश गराउने कार्यक्रम छ।”
उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पार्टी प्रवेश गराउने कार्यक्रम रहेको शाहले जानकारी दिए। विष्टले २७ फागुनमा इमेल मार्फत प्रदेश सभा सचिवालयलाई राजीनामापत्र पठाएका थिए।