नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाले कोरोना संक्रमितलाई यी चार वटा अवस्थामा अनिवार्य अस्पताल जान वा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने सुझाव दिएका छन्।
डा. कोइरालाका सुझाव उनकै शब्दमा :
कोरोनाभाइरस (कोभिड–१९) पोजेटिभ भयो भन्दैमा धेरै आत्तिनु जरुरी छैन। ८० प्रतिशतभन्दा बढी संक्रमित आफै निको हुन्छन्।
केही प्रतिशतलाई सामान्यदेखि मध्यम लक्षण देखिन सक्छ। थोरै प्रतिशतलाई मात्रै गम्भिर लक्षण देखिन्छ र उनीहरू उपचारका लागि अस्पतालमा जानुपर्ने हुन्छ।
याद गरौं, कोभिड–१९ पोजेटिभ भएका सबैलाई अक्सिजन चाहिँदैन र अस्पताल पनि जानु पर्दैन। निम्न अवस्थामा स्वास्थ्यकर्मीको सल्लाह लिनु पर्छ र अस्पताल जानुपर्छ :
१) कोरोना पोजेटिभ छ र लगातार ज्वरो आइरहेको छ। पाँच दिनभन्दा बढी १००.४ डिग्रीभन्दा बढी ज्वरो आयो र सिटामोल खाएर पनि घटेन भने,
२) श्वास फेर्न गाह्रो भएको छ भने,
३) अक्सिमिटरले नाप्दा अक्सिजन ‘स्याचुरेसन’ ९२ भन्दा कम देखाउँछ भने, अथवा
४) असाध्यै गाह्रो भयो भने पनि स्वास्थ्यकर्मीलाई सम्पर्क गर्नुपर्छ वा अस्पताल जानुपर्छ।
स्वास्थ्यकर्मीको सल्लाहबिना घरमै अक्सिजन वा औषधि लिनु उपर्युक्त हुँदैन। त्यसैले पछि चाहिएला भनेर अक्सिजन जोहो गर्नु पनि बुद्धिमानीपूर्ण काम नहोला। आवश्यक परेमा अस्पतालमै उपचार गर्न जानु बुद्धिमानी हुन्छ।
बिभिन्न ओषधिहरू पनि स्वास्थ्यकर्मीकै सल्लाह अनुसार लिनु उपर्युक्त हुन्छ, सिटामोल जस्ता सामान्य औषधि बाहेक। घरमा बस्दा अरुलाई कोरोना सर्न नदिन सतर्क हुनुपर्दछ।