बन्दुक
यदि उनीहरूले बन्दुकको आविष्कार गरेका थिएनन् भने
कति धेरै मानिस 
टाढैदेखि मारिनबाट जोगिन्थे
कैयौँ चिज सरल हुन्थ्यो
उनीहरूलाई मजदूरहरूको तागत महसूस गराउन पनि
कति हो कति सजिलो हुन्थ्यो ।
किम्बु
के तिमीले कहिल्यै किम्बु देखेका छौ ?
जहाँ झर्छ, त्यसभरिको जमीनमा
त्यसको रातो धब्बा बस्छ
झर्नुभन्दा पीडादायी अर्थोक केही छैन
मैले कति धेरै मजदूर देखेको छु-
ठूल्ठूला भवनबाट झरिरहेका,
झरेर किम्बु बनेका ।
राजनीति
ठूला-ठूला परिवर्तन पनि
कति सजिलै गरिन्छ यहाँ
हात खियाउने मजदूरहरूलाई 
राजनीतिक कार्यकर्तामा बदल्न पनि 
कति सजिलो छ, है ?
क्रेनहरूले यो बदलावलाई उठाउँछन्
र शूलीसम्म पुर्याइदिन्छन्।
पेशाको छनोट
म कहिल्यै ब्यांकको साधारण कर्मचारी बन्न सक्दैनथेँ
खाने-पिउने सामानको सेल्सम्यान पनि हैन
कुनै पार्टीको नेता पनि हैन
न ट्याक्सी चालक
न त प्रचारमा हिँड्ने मार्केटर
म त बस् यति चाहन्थेँ
शहरको सबैभन्दा अग्लो ठाउँमा उभिएर
तलको घना बस्तीको माझमा त्यो महिलाको घर देख्न सकूँ
जसलाई म प्रेम गर्छु
यसैले म निर्माण मजदूर बनेँ।
मित्रता
म (ईश्वर) को मित्र हैन
यसको एक मात्र कारण छ
जसको जरा निकै पुरानो अतीतसँग जोडिएको छ:
जतिबेला हाम्रो ६ जनाको परिवार
एउटा साँघुरो कोठामा बस्थ्यो 
र (ईश्वर) सँग भव्य घर थियो
जसमा ऊ एक्लै बस्थ्यो ।
मृत्युको डर
जिन्दगीभर मैले यो कुरामा विश्वास गरेँ-
झूट बोल्नु गलत हो
गलत हो कसैलाई सताउनु
जिन्दगीभर यो कुरा स्वीकारेँ-
मृत्यु पनि जिन्दगीकै एक हिस्सा हो
यति हुँदाहुँदै पनि डर लाग्छ मृत्युदेखि
डर लाग्छ, मृत्युपछि अर्को दुनियाँमा पनि मजदूर नै बनिरहनुपर्ने कुराले ।
(गीत चतुर्वेदीले हिन्दीमा गरेको अनुवादबाट अनूदित ।)
 सबीर हका इरानका श्रमिक-कवि हुन्। उनको जन्म सन् १९८६ मा इरानको करमानशाहमा भएको थियो। राजधानी तेहरानमा बस्ने उनी भवन निर्माण स्थलमा मजदूरी गर्छन्। जीवन भोगाइका सामान्य र आम व्यथा लेख्ने उनका कवितामा मजदूरको विवशता, संघर्ष र शक्तिको बयान पाइन्छ। उनका दुई कवितासंग्रह प्रकाशित छन्। उनले इरान श्रमिक कविता स्पर्धामा प्रथम पुरस्कार पाइसकेका छन्।
सबीर हका इरानका श्रमिक-कवि हुन्। उनको जन्म सन् १९८६ मा इरानको करमानशाहमा भएको थियो। राजधानी तेहरानमा बस्ने उनी भवन निर्माण स्थलमा मजदूरी गर्छन्। जीवन भोगाइका सामान्य र आम व्यथा लेख्ने उनका कवितामा मजदूरको विवशता, संघर्ष र शक्तिको बयान पाइन्छ। उनका दुई कवितासंग्रह प्रकाशित छन्। उनले इरान श्रमिक कविता स्पर्धामा प्रथम पुरस्कार पाइसकेका छन्। 
एक अन्तर्वार्तामा सबीरले भनेका थिए, "म थाकेको छु, धेरै थाकेको छु। म जन्मिनु अगाडिदेखि नै थाकेको छु। मेरी आमा मलाई गर्भमा हुर्काउँदै मजदूरी गर्थिन्, म त्यसै बेलादेखि एक मजदूर हुँ। म आफ्नी आमाको थकान महसूस गर्न सक्छु। उनको थकान अहिले पनि मेरो शरीरमा छ।"
सबीरका अनुसार, तेहरानमा उनीसँग सुत्ने ठाउँ छैन। सडकमा भौँतारिँदै उनले कैयौँ रात काटेका छन्। यसै कारण एक दशकदेखि उनले आफ्नो उपन्यासको काम सक्ने गरी विश्राम पाएका छैनन्। इरानमा कविता, लेखहरूमा सरकारले सेन्सरसिप लागू गरेको छ। कवि-लेखहरूका शब्द सरकारले सेन्सर गरेर डिलिट गरिदिन्छ, तब ती अपूरा वाक्य जस्ता बन्छन्। माथि प्रस्तुत कवितामा जुन शब्दलाई कोष्ठकमा राखिएको छ, मूल फारसी भाषामा इरान सरकारले त्यस शब्दलाई सेन्सर गरिदिएको थियो।
सबीरका कविताहरूमा बाँकी विश्वको ध्यान पछिल्ला वर्षहरूमा बल्ल जान थालेको हो। उनका कविताहरूलाई कवितासम्बन्धी चर्चित पत्रिका 'मोडर्न पोयट्री इन ट्रान्सलेसन' (एमपीटी) ले २०१५ को जनवरी अंकमा स्थान दिएको थियो। यी कविताहरूलाई फारसीबाट नसरीन परवाज र ह्युबर्ट मुरले अंग्रेजीमा र अंग्रेजीबाट गीत चतुर्वेदीले हिन्दीमा अनुवाद गरेका हुन्।