टिप्पणी सोमबार, जेठ १९, २०७७

'म रत्नशम्शेर थापा, र अहिले म ज्युँदै छु !'

शेखर खरेल

'म रत्नशम्शेर थापा, र अहिले म ज्युँदै छु !'

स्वाभिमानी र सिर्जनशील जीवन बिताएका कवि एवं गीतकार रत्नशम्शेर थापा नेपाली सुगम संगीतको आकाशमा चम्किलो रत्नसरि रहनेछन्।

पत्रकारितामा व्यावसायिक प्रवेश गरेको केही समय मात्र भएको थियो, एउटा अप्रत्याशित फोनको आवाजले म खङ्ग्रङ्ग भएँ। नेपाल पर्यटन बोर्डको प्रबन्धकको स्थायी जागिर छाडेर कान्तिपुर पब्लिकेसनको 'नेपाल' पाक्षिक (अहिले साप्ताहिक) बाट पूर्णकालीन पत्रकारिता शुरु गरेको थिएँ।

२०५९ सालको दशैं विदापछि कार्यालय भर्खर मात्र खुलेको थियो, रिसेप्सनिस्टले 'सर, फोन छ' भन्दै फोनको रिसिभर दिएका मात्र के थिए, एउटा रुखो आवाज सुनियो।

"म रत्नशम्शेर थापा, र अहिले म ज्युँदै छु", आवाज पाको र टाठो थियो।

यो कस्तो परिचय अनि कस्तो अजीव आवाज ! मैले केही भेउ पाउन सकिनँ। मैले 'हजूर नमस्कार' भन्न मात्र के भ्याएको थिएँ, त्यो आवाज झनै कर्कश सुनिन थाल्यो।

"तपाईंहरूले ज्युँदो मान्छेको नाम अगाडि किन स्वर्गीय लेखेको, के उद्देश्य हो हँ?"

मैले 'के भयो र हजूर' भनेर सोधेपछि त्यो आवाज विस्तार गर्नतिर लाग्यो, "खोइ, तपाईंको पत्रिकाको यति पृष्ठ (पृष्ठ तोकेर) पल्टाउनुस् त!"

मैले त्यसै अनुसार रिसेप्सन टेबलमा रहेको पत्रिका पल्टाएँ। त्यहाँ गीतकार रत्नशम्शेर थापा उपरको सानो समाचार थियो। त्यो समाचारको एउटा प्यारामा रत्नशम्शेर थापाका अगाडि जुन शब्द देखें, मेरो होश हवास उड्यो। त्यस यशस्वी नाम अगाडि स्वर्गीयको छोटकरी 'स्व.' लेखिएको थियो।

त्यसबारे म पूर्ण बेखबर थिएँ। पत्रिकाको कला-मनोरञ्जन खण्डका संयोजक रमण दाइ (घिमिरे) हुनुहुन्थ्यो। पृष्ठ संयोजनका साथै उहाँ पूरै पत्रिकाको अन्तिम 'प्रूफ' पनि हेर्नुहुन्थ्यो।

अब मसँग बोल्ने वा स्पष्टीकरण दिने कुनै शब्द थिएन। चीलको छायाँमा परेको सर्प झैं म लल्याकलुलुक परिसकेको थिएँ। उहाँको नामसँग परिचित भए पनि व्यक्तिगत चिनाजानी भइसकेको थिएन। मैले माफीको अनुनय गरें, भूलवश यस्तो भएको भन्दै आगामी अङ्कमा क्षमायाचनासहित सच्याउने कबूल गरें। अब सवाल-जवाफ गरिरहनुपर्ने कुनै कारण नरहेपछि त्यो आवाज शान्त भयो।

त्यो घटनालाई रत्नशम्शेर थापाले धेरै पछिसम्म सम्झिरहनुभएको रमण दाइ बताउनुहुन्थ्यो। खासमा 'स्व.' प्रकरण उहाँलाई लामो समयसम्म 'कन्स्पिरिटोरी थ्योरी' लागेछ। उहाँ भन्नुहुन्थ्यो रे, "पक्कै त्यहाँ कुनै मेरो शत्रु हुनुपर्छ, र तपाईंहरूले थाहा नपाउने गरी त्यो शब्द घुसाएको हुनुपर्छ।"

कसरी 'स्व.' शब्द त्यहाँ घुस्न पुग्यो, हामीले खोजतलास गर्‍यौं। त्यो वेला म जस्तै रमण दाइ पनि कम्प्युटर टाइपमा अभ्यस्त भइसक्नुभएको थिएन। उहाँको हस्तलिखित समाचार सामग्री हेर्‍यौं। त्यहाँ रत्नशम्शेर थापाका अगाडि केरमेट भएको रहेछ, तर 'स्व.' भन्ने शब्द थिएन। दशैं अङ्कको चटारोबीच टाइपिस्टले केरमेटलाई 'स्व.' देखेछन् र 'प्रूफ' का वेला समेत त्यसमा आँखा पुगेनछ।

त्यो हाम्रो तर्फबाट अक्षम्य भूल थियो। र, लगत्तैको अङ्कमा क्षमायाचना गर्‍यौं।

त्यो घटनालाई रत्नशम्शेर थापाले धेरै पछिसम्म सम्झिरहनुभएको रमण दाइ बताउनुहुन्थ्यो। खासमा 'स्व.' प्रकरण उहाँलाई लामो समयसम्म 'कन्स्पिरिटोरी थ्योरी' लागेछ। उहाँ भन्नुहुन्थ्यो रे, "पक्कै त्यहाँ कुनै मेरो शत्रु हुनुपर्छ, र तपाईंहरूले थाहा नपाउने गरी त्यो शब्द घुसाएको हुनुपर्छ।"

त्यस घटनापछि भने उहाँसँग विभिन्न अवसरमा भेट हुन थाल्यो। न मैले त्यो प्रकरण उप्काएँ, न त उहाँले गुनासो गर्नुभयो।

२०६० सालमा मैले मेरा गुरू प्राध्यापक अभि सुवेदीको काठमाडौं शहरको काव्यिक महायात्राबारे 'काठमाण्डू ओडिसी' शीर्षकमा वृत्तचित्र निर्माण गरें। वृत्तचित्रको प्रिमियरको सूची बनाइँदै गर्दा अभि सरले 'कार्यक्रममा कसै गरी पनि रत्न दाइ नछुटाउनू' भन्नुभयो।

मैले रत्नशम्शेर थापालाई फोन मार्फत आमन्त्रण गरें। गीतकार थापा अभि सरका काव्यिक महायात्राको एक 'स्टेकहोल्डर' रहेको तथ्य वृत्तचित्र प्रदर्शनपछिको अनौपचारिक कुराकानीबाट बोध भयो। गीत र मुक्तक लेख्ने अनि अंग्रेजी साहित्यमा रूचि भएका थापालाई हिप्पी उत्कर्षकालमा अभि सरले हिप्पीहरूद्वारा सम्पादित 'फ्लो म्यागेजिन' सम्म पुर्‍याउनुभएको रहेछ।

सन् ६० को दशकमा काठमाडौं आगमनसँगै अभि सुवेदी स्थापित गीतकार रत्नशम्शेर थापाको सान्निध्यमा पुग्नुभएको रहेछ। त्रि-चन्द्र कलेजमा स्नातकपछि थापा अंग्रेजी साहित्यमा स्नातकोत्तरका निम्ति त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुर भर्ना हुनुभएछ।

थापाको विद्यार्थीकाल कम्ता रोचक छैन। स्नातक सकिएको लामो समयसम्म थापाले औपचारिक शिक्षाबारे सोच्नुभएन। किनकि, उहाँलाई पढेर वा डिग्री लिएर नोकरी गर्नु नै थिएन। धेरै पछि मात्र उहाँ स्नातकोत्तरमा भर्ना हुनुभयो।

"रत्न दाइभन्दा म धेरै कान्छो", प्राध्यापक सुवेदी सुनाउनुहुन्छ, "मैले त्रिविवाट मास्टर्स गरेको केही पछि उहाँ भर्ना हुनुभएको हो। शायद पिटर (पिटर जे कार्थक), रमेश श्रेष्ठहरूको ब्याचको हो कि जस्तो लाग्छ।"

धेरैले थापालाई अंग्रेजीमा मास्टर्स गरेको भन्ने गरे पनि खासमा उहाँले बीचमै पढाइ छाड्नुभएको रहेछ। जसको कारण सुवेदी यसरी खुलाउनुहुन्छ, "अंग्रेजी संकाय प्रमुख एलेन डेभिस (ब्रिटिस काउन्सिलबाट खटाइएका) सँग रत्न दाइको कहिल्यै तालमेल मिलेन।" डेभिस 'असाइनमेन्ट' र अनुशासनमा कडा, तर रत्न दाइ मनमौजी भएकाले दुईबीच तालमेल नमिलेको रहेछ।

"कतिसम्म भने डेभिससँग दाइको नराम्रै परेछ", अभि सर सम्झनुहुन्छ, "यसमाथि ब्रिटिस काउन्सिलमा उजूरी नै हाल्छु भनेर रत्न दाइ कुर्लनुभएको थियो। हामीले धेरै सम्झाएपछि उहाँ शान्त हुनुभयो र पढाइ पनि बीचमै छाड्नुभयो।"

अभि सुवेदीसँग रत्नशम्शेर थापासँग जोडिएका बग्रेल्ती सम्झना र किस्सा छन्। सीमित मान्छेबीच सहज थापासँग सुवेदीको जीवनपर्यन्त आत्मीय सम्बन्ध रह्यो।

तीन महीनाअघि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ढाडको शल्यक्रियापछि घरमै आराम गरिरहनुभएका थापासँग सुवेदीले बन्दाबन्दीको तीन दिनअघि मात्र भेट गर्नुभएको रहेछ। "उहाँलाई भेट्न कमलपोखरी निवासमा गीतकार चेतन कार्की, अर्थविद् तथा गीतकार विश्वम्भर प्याकुर्‍याल र नारायण ओली सहितको टोली गएका थियौं", सुवेदी त्यो अन्तिम भेट सम्झँदै भावुक बन्नुहुन्छ, "हामीले पुराना दिन सम्झियौं, नारायण (ओली) ले उहाँका गीतहरू पनि गाए।"

स्वर्णिम घुम्ती

त्रि-चन्द्र क्याम्पसको विद्यार्थीकाल रत्नशमशेर थापाको 'टर्निङ् प्वाइन्ट' हो। २०१७ सालतिर आईएससी पढ्दै गरेका थापाले आफ्नै कक्षाकोठाभित्र एक सहपाठी पाए, नारायणगोपाल गुरूवाचार्य। प्रसिद्ध सितारवादक आशागोपालका छोरा नारायणगोपाल गायनमा रुचि राख्थे। 'बागीना' (नारायणगोपाल स्मृति अङ्क, २०४९) मा थापाद्वारा लिखित 'उसले कसैका अगाडि टाउको झुकाउन चाहेन' स्मृतिशेषका अनुसार कलेजमा कुनै पिरियड खाली भएको वेला नारायणगोपाल डेस्कलाई तबला जस्तै बजाउँदै गीत सुनाउँथे।

थापाले कविता लेख्ने गरेकोबारे जानकार नारायणगोपालले एक दिन गीत मागेछन्। थापाले दिएका गीत 'गाजलु आँखा, मोहनी रूप हँसिलो मुहार' नारायणगोपालले आफ्नै संगीतमा रेडियो नेपालमा 'लाइभ' गाए। त्यसपछि 'मधुमास यो दिल' पनि गाए, जसको राम्रो प्रशंसा भयो।

त्यतिन्जेल रेडियोमा गीत 'लाइभ' गाइन्थ्यो, रेकर्डिङ्को सुविधा थिएन। रेडियोमा 'बालवाटिका' कार्यक्रम सञ्चालन गर्दै आएका यादव खरेल पनि त्रि-चन्द्रमा थापा र नारायणका दौंतरी बन्न आइपुगे त्रिचन्द्रमा। "रत्न र नारायण आईएससी पढ्थे, मचाहिं आईएतिर थिएँ", खरेल सम्झनुहुन्छ, "कक्षाकोठा भिन्दै भए पनि पढ्ने ठाउँ अगलबगलमा हुँदा नियमित भेट भइरहन्थ्यो।"

त्यसै बखत थापा रचित 'स्वर्गकी रानी मायाकी खानी' नारायणगोपालले कलेजको वार्षिक कार्यक्रममा गाएको सम्झना खरेलसँग छ। गीतसँगै मुक्तक पनि लेख्ने थापा चाहिं कार्यक्रमहरूमा चर्को स्वरमा मुक्तक वाचन गर्ने खरेल सम्झनुहुन्छ।

रेडियोमा 'लाइभ' गाउँदै आएका नारायणगोपालले केही पछि ६ वटा गीत कलकत्तामा रेकर्ड गर्ने मौका पाए। संयोगवश ती ६ वटै गीत 'स्वर्गकी रानी मायाकी खानी', 'ए कान्छा ठट्टैमा यो बैंस', 'कुञ्जमा गुञ्जियो', 'आँखाको भाका', 'भो भो नसोध' र 'मधुमास' थापा रचित थिए।

नारायणगोपालसँग थापाको सान्निध्य र सहकार्य नारायण संगीत सिक्न भारतको वरोडा जानुअघिको कालखण्ड हो। वरोडामा संगीत प्रशिक्षणपछिको नेपाल फिर्ती र त्यस लगत्तै उनको दार्जिलिङ् यात्रा, त्यहाँ गोपाल योञ्जन र नगेन्द्र थापासँगको मितेरी अनि दौंतरी र पेमला लामासँगको प्रेमविवाह नारायणगोपालका जीवनका छुट्टै अध्याय हुन्। जसका कारण, थापाकै शब्दमा उनी 'दार्जिलिङे संगत' मा छिरे र यता थापासँगको सहकार्यबाट टाढिंदै गए।

रत्नशम्शेर थापा नारायणगोपालका मात्र होइन, प्रेमध्वज प्रधान र माणिकरत्नका पनि प्रारम्भिक दिनका गीतकार हुन्। नारायणगोपालसँगै यी दुई मूर्धन्य गायकलाई स्थापित गर्ने श्रेय थापालाई जान्छ। थापा रचित 'घुम्तीमा नआऊ है' र 'गोरेटो त्यो गाउँको' गीतले नारायणगोपाल अगाडि नै प्रेमध्वजलाई स्थापित गरिसकेको थियो भने 'यो खोलाको सङ्लो पानी खाई जाउँ' ले माणिकलाई पनि क्षमतावान् गायकको रूपमा चिनाएको थियो।

'शब्दका चित्रकार'

रत्नशम्शेर थापाको पारस्परिक आकर्षण र जुगलबन्दी नेपाली संगीताकाशका नक्षत्र अम्बर गुरुङसँग रह्यो। धुनमा शब्द भर्न सक्ने विलक्षण क्षमताका कारण गुरुङ थापालाई शब्दका चित्रकार भन्ने गर्थे। गुरूङका धुनका कैयन् कम्पोजिसनदेखि नेपालको पहिलो क्वायरका शब्द रचयिता थापा नै रहनुभएको थियो।

"अम्बरजी ताराहरू भन्ने शब्दमा धुन कम्पोज गर्दै हुनुहुन्थ्यो, 'हरू' शब्द अलि मिलेनछ, अनि उहाँले 'हरू' को ठाउँमा ताराहरू नै बुझाउने तर कुनै बहुवचन राख्न सुझाउनुभयो", थापाले प्रसन्नताका साथ पुराना कुरा सुनाउँदै भन्नुभएको थियो, "मैले केही बेर सोचें र 'हरू' को ठाउँमा 'ती' शब्द राखे। 'ताराहरू' अब 'तारा ती' भए, अम्बरजी तीन छक पर्नुभयो।"

'अम्बरजीलाई खोला शब्द मन परेछ, मैले खोला राखेर गीत लेखिदिएँ', संगीतज्ञ गुरुङसँगका कैयन् प्रसंग थापा अनौपचारिक भेटमा सुनाउनुहुन्थ्यो। गीत त याद रहेन, तर एउटा रोचक किस्सा उहाँले एउटा विवाह भोजका बेला सुनाउनुभएको सम्झन्छु।

"अम्बरजी ताराहरू भन्ने शब्दमा धुन कम्पोज गर्दै हुनुहुन्थ्यो, 'हरू' शब्द अलि मिलेनछ, अनि उहाँले 'हरू' को ठाउँमा ताराहरू नै बुझाउने तर कुनै बहुवचन राख्न सुझाउनुभयो", थापाले प्रसन्नताका साथ पुराना कुरा सुनाउँदै भन्नुभएको थियो, "मैले केही बेर सोचें र 'हरू' को ठाउँमा 'ती' शब्द राखे। 'ताराहरू' अब 'तारा ती' भए, अम्बरजी तीन छक पर्नुभयो।"

जिन्दगीभर कहिल्यै जागिर नखाएका र कसैको खटनमा नबसेका थापाका लवज स्वाभिमान र अभिमान मिश्रित हुन्थे। आफ्ना 'प्रशस्ती' उहाँ बिल्कुलै धक नमानी सुनाउनुहुन्थ्यो। "तीन मिनेटको गीतमा ६ मिनेट त फर्माइश नै हुन्थ्यो रेडियोमा", गीतको सफलता मापन गर्ने आफ्नै खाले छडी हुन्थ्यो उहाँसँग।

थापा स्वयंले सुनाएर होस् वा हामी स्वयंले महसुस गरेर, रत्नशम्शेर थापा रचित गीत नेपाली सुगम संगीतका मानक हुन्। यदि नारायणगोपाल, प्रेमध्वज र माणिकरत्नले आफ्ना प्रारम्भिक जीवनमा थापाको आडभरोसा पाउँदैनथे त उनीहरूले संगीत यात्राको राजमार्गसम्म जोड्ने गोरेटो सायद पाउने थिएनन्। र, सबैभन्दा महत्वपूर्ण चाहिँ, नेपाली श्रोता हिन्दी संगीतकै प्रभावमा रुमल्लिइरहेका हुन्थे।

प्रणयका हुन् वा देशप्रेमका, थापाका गीत नेपाली संगीतका अजम्बरी सिर्जना हुन्। १९९४ सालमा काठमाडौंमा जन्मेर ८२ वर्ष लामो स्वाभिमानी र सिर्जनशील जीवन बिताउँदै गत जेठ १५ मा दिवंगत रत्नशम्शेर थापा नेपाली सुगम संगीतको आकाशमा चम्किलो रत्नसरि चम्किरहनेछन्।

प्रतिकृया दिनुहोस