रिपोर्ट बुधबार, चैत २६, २०७६

मोबाइलबाट इन्टरनेटबिनै भुक्तानी गर्न सकिने प्रविधि भित्र्याउँदै टेलिकम, गोजीमा पैसा बोक्नु पर्दैन

राजु बास्कोटा

मोबाइलबाट इन्टरनेटबिनै भुक्तानी गर्न सकिने प्रविधि भित्र्याउँदै टेलिकम, गोजीमा पैसा बोक्नु पर्दैन

नेपाल टेलिकमले इन्टरनेट र इन्टरनेटरहित दुवै माध्यमबाट मोवाइल वालेटको सेवा दिने गरी तयारी गरिरहेको छ। इन्टरनेटका प्रयोगबाट एप चलाएर र मोवाइल नम्बरमा सिधै एसएमएस गरेर पनि कारोबार गर्न सकिने छ। एउटा मोबाइल नम्बरबाटै अर्को नम्बरमा पैसाको कारोबार हुनेछ।

टेलिकमले राष्ट्रिय वाणिज्य ब्यांकसँगको सहकार्यमा ‘डिजिटल पेमेन्ट गेटवे’ अर्थात ‘मोबाइल मनी’ सञ्चालनको तयारी गरेको छ। टेलिकमले आवश्यक तयारी पूरा गरेर नेपाल राष्ट्र ब्यांकसँग कात्तिक २०७६ मै अनुमति मागेको थियो। अनुमति पाएपछि तुरुन्तै सेवा सञ्चालन गर्न सक्ने गरी टेलिकम तयारी अवस्थामा छ।

हालसम्म दुई करोड २१ लाख ३८ हजार ८७० वटा सिमकार्ड बाँडेको टेलिकमकमसँग करीब ८० प्रतिशत सक्रिय प्रयोगकर्ता छन्। एकै पटक स्मार्टदेखि फिचर फोनसम्मका र सहरदेखि गाउँसम्मका सबैले वालेट प्रयोग गर्न सक्ने गरी नयाँ प्रविधि भित्र्याउन लागेको टेलिकमका महाप्रवन्धक डिल्ली अधिकारी बताउँछन् ।

विस्तारै ‘डिजिटल मनी’ को प्रयोग बढ्ने र नगदरहित कारोबारतर्फ जानुपर्ने भएकाले पनि मोवाइल वालेट सञ्चालनको तयारी गरेको उनको भनाइ छ। अहिले प्रयोगमा आएका मोबाइल वालेट इन्टरनेटको माध्यमबाट प्रयोग गरेरे एपमार्फत सञ्चालन हुन्छ। टेलिकमले भने योभन्दा फरक प्रविधिमा वालेट सञ्चालन गर्दैै छ। टेलिकमले मोबाइल नम्बरलाई नै वालेट मानेर कारोबार गर्न सकिने गरी अनुमति माग गरेको छ।

महाप्रबन्धक अधिकारीका अनुुसार विभिन्न देशमा यो सेवा चल्तीमा छ। उनी भन्छन्, “हाम्रो देशमा पनि यो प्रविधिको प्रयोग अगाडि नै सुरु भइसकेको भए अहिल बन्दाबन्दीमा सहज हुने थियो। भुक्तानीका लागि इन्टरनेट चाहिने वा नगद नै बोक्नुपर्ने जरुरी थिएन।”

नगदको तुलामा डिजिटल कारोबार सुरक्षित, पारदर्शी सहज र सरल हुन्छ। कारोबारपछि विवरण लिन र दिन सहज हुन्छ। पारदर्शी हुन्छ र जुनसुकै वेला रेकर्ड लिन सकिन्छ।

अचेल डिजिटल पेमेन्ट अर्थात मोबाइल खाताबाट मोबाइल रिचार्ज, बत्ति, पानी, बिजुली, टेलिफोन, इन्टरेनट, टीभी, हवाई टिकट, सिनेमा घरको टिकटको शूल्क भुक्तानी गर्न सामान्य भइसकेको छ। यी सुविधाबाहेक हरेक मोबाइल वालेटले थप भुक्तानीको सुविधा पनि दिइरहेका छन्।

जस्तो, विद्यालय, रेस्टुरेन्ट, होटल, पेट्रोल पम्प, ट्याक्सी, शेयर राइडिङ, लामो दूरीका सार्वजनिक वस, बैंक तथा वीमाको पनि भुक्तानी दिन सकिन्छ। सहज भुक्तानीले वस्तु तथा सेवामा सेवाग्राहीको पहुँच पनि बढाएको छ।

२२ संस्थाबाट हुन्छ डिजिटल भुक्तानी सेवा

नेपाल राष्ट्र ब्यांकले ६ असार २०७४ मा एकैपटक आईएमइ पे, प्रभु टेक्नोलोजी र इसेवा फोन पेलाई मोबाइल वालेटको कारोबार अनुमति दिएको थियो। अहिले यस्तो कारोबार गर्ने संस्था २२ वटा पुगेका छन्। जसमध्ये नौ वटा भुक्तानी प्रणाली सञ्चालक र १३ वटा भुक्तानी सेवा दिने संस्था रहको नेपाल राष्ट्र ब्यांकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिए।

राष्ट्र ब्यांकले भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ ले दिएको अधिकार प्रयोग गरी डिजिटल पेमेन्टको अनुमति दिएको हो। यस्तो अनुमति लिएपछि दूरसञ्चार सञ्जालको माध्यमबाट डिजिटल वालेट (ग्राहक र सेवाप्रदायकको बीचमा मध्यस्तता गरी भुक्तानी गरिदिने तथा स्वदेशमा मनि ट्रान्स्फर) को काम गर्न सक्छन्।

राष्ट्र ब्यांकले आगामी असारसम्म कुनै पनि विद्युतीय कारोबारमा शुल्क नलाग्ने गरी सेवा दएको छ। बन्दाबन्दी सुरु भएपछि मोबाइलबाटै दैनिक रु.१ लाख र महिनामा रु.१० लाखको कारोबार सुबिधा दिइएको छ। नगदरहित कारोबारलाई प्रोत्साहन गर्नकै लागि मोबाइल ब्यांकिङको कारोबार सीमा बढाएको प्रवक्ता भट्ट बताउँछन्।

नगद कारोबारमा कोरोनाभाइरस संक्रमणको जोखिम बढेकोले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न कारोबार सीमा बढाइएको जनाइएको छ। यस अघि प्रतिदिन रु.५० हजार र महीनामा रु.२ लाखसम्मको मात्रै डिजिटलमा कारोबार सीमा तोकिएको थियो।

प्रयोगकर्ता आकर्षित गर्ने उपयुक्त अवसर

भुक्तानी प्रणाली सञ्चालकले एक संस्थाबाट अर्कोमा पेमेन्ट सेवा दिन्छन्। भुक्तानी सेवा प्रदायक भने आफैंले रकम जम्मा गरेर त्यो रकम बराबरको सेवा दिन्छन्। भुक्तानी सेवा प्रदायकलाई राष्ट्र ब्यांकले ‘वालेट एप्स’ को रूपमा अनुमति दिएको छ। यो सेवा दिने आइएमई पेले वालेटमा रहेको रकमलाई व्याजसमेत दिने गरी अनुमति पाएको छ।

आइएमई पेका निर्देशक सुमन पोखरले मोबाइल वालेट प्रयोगकर्तालाई आकर्षित गर्ने बन्दाबन्दी उपयुक्त अवसर भएको बताउँछन्। बन्दाबन्दीमा प्रयोगकर्ता बढेको पनि पोखरेल बताउँछन् । घरबाहिर निस्कदा पनि जहाँ पुग्यो त्यहिँ नगदरहित कारोबार गर्ने गरी आइएमईले सेवाका दायरा फराकिलो बनाउँदै गएको छ।

आइएमई पेबाट २०० वटाभन्दा बढी पेट्रोल पम्पमा डिजिटल कारोबार गर्न सकिन्छ। अब भुक्तानी गर्नुपर्ने सबै ठाउँमा सेवा दिने रणनीति बनिरहेको पोखरेल बताउँछन्। उनी भन्छन्, “आठ लाखभन्दा बढी प्रयोगकर्ता छन्। प्रयोगकर्ता अझै बढाउन वालेटमा रु.१ हजारभन्दा बढी रकम जम्मा गर्ने प्रयोगकर्तालाई चार प्रतिशत व्याज दिन थालिएको छ।” वालेटको पैसामा व्याज दिन अनुमति पाउने र सेवा सुरु गर्ने आइएमई पे पहिलो भएको पोखरेल बताउँछन्।

अनलाइन सपिङलाई जति धेरै बढाउन सकियो डिजिटल पेमेन्टको प्रयोग उति नै बढी हुन्छ। बन्दाबन्दी सुरु भएपछि डिजिटल पेमेन्टको प्रयोग बढेको र राष्ट्र ब्यांकले पनि कारोबार सिमा बढाइदिएको कारण नगदरहित कारोबार बढाउने उपयुक्त मौका भएको ‘प्रभु पे’ की निर्देशक कुसुम लामा बताउँछिन्। प्रभु पेले पनि बढी ग्राहकसम्म पुग्न विभिन्न ‘अफर’ ल्याएको उनी बताउँछिन्।

प्रभु पेले बन्दाबन्दीमा स्वास्थ्य परामर्श सहज बनाउन ‘मेडीको एप’ सँगको सहकार्यमा २४ घण्टा सातै दिन प्रभु पेको एपबाटै डाक्टरसँग परामर्श लिन सक्ने सुविधा दिएको छ। यसले प्रभ्रु समूहबाट सञ्चालित प्रभु टीभीको रिचार्जमा एक महीना निःशुल्क पनि गरेको छ। मोवाइलमा कार्डमा रिचार्ज गरेजस्तै प्रभु टीभीको रिचार्ज कार्डबाट प्रभुपे को वालेटमा पैसा जम्मा गर्न सकिने सुविधा दिने तयारी रहेको लामा बताउँछिन्।

प्रभुका पाँच लाख भन्दा बढी प्रयोगकर्ता छन्। सेवाग्राहीलाई सहज र सरल तरिकाबाट सेवा दिन विभिन्न व्यांकसँग सहकार्य भइरहेको लामा बताउँछिन्। प्रभु पे वालेटमा इबैंकिङ, एसटीसी, भिजा कार्डको प्रयोगबाट रकम जम्मा गर्न सक्ने सुविधा पनि छ।

मोबाइल वालेटमा पैसा जम्मा नगरी सीधै ‘पेमेन्ट सर्भिस’ दिएको ‘सेल पेले’ ले एउटा संस्थाबाट अर्कोमा पैसा पठाउँछ। सेल पेले वालेटमा पैसा राख्दैन, ग्राहकलाई जतिबेला आवश्यक पर्छ उतिबेला एउटा अकाउन्टबाट अर्कोमा पठाउँछ। सेलपेका प्रवन्ध निर्देशक पवन प्रधान भन्छन्, “हामी वालेटमा पैसा रोकेर राख्दैनौ, जसले गर्दा ग्राहकको पैसामा कुनै जोखिम हुँदैन।”

सेलपेले ‘सस्तो डिल’ नामक अनलाइनसँग सहकार्य गरेर काम सुरु गरेको छ। सस्तो डिलबाट सामान किन्ने र सेलपेबाट भुक्तानी गर्ने ग्राहकलाई डेलिभरीको सुविधासँगै १० थान माक्स पनि दिन थालिएको छ। अहिलेको आवश्यकता माक्स देखेर यसलाई अफरमा समावेश गरेको प्रधान बताउँछन्।

प्रतिकृया दिनुहोस