रिपोर्ट बुधबार, चैत २६, २०७६

‘आइकोनिक’ तस्वीरको कथा

मुकेश पोखरेल

‘आइकोनिक’ तस्वीरको कथा
जनआन्दोलन-आईकोनः प्रजातन्त्रप्राप्तिपछिको पहिलो आमसभामा जीतको खुशी मनाइरहेका सहभागीको भीडमा युवती (दुर्गा कार्की) । सबै तस्बीरः मीनरत्न बज्राचार्य
मीनरत्न बज्राचार्य, फाेटाे पत्रकार । तस्वीर: नवीन बराल

२७ चैत २०४६ । बिहानैदेखि काठमाडौंका भित्रि चोक, गल्ली र सडकमा मानिसको भिडभाड थियो । अबिर जात्रा सहित मानिस जिन्दावाद र मूर्दावादको नारा लगाउन शुरु गरिसकेका थिए । तत्कालिन राजा वीरेन्द्रले प्रजातन्त्रका लागि आन्दोलनरत् दलहरुसँग वार्ता गरेर अघिल्लो रात बहुदलिय व्यवस्था घोषणा गरेको खुसियालीमा जनता यसरी सडकमा आएका थिए ।

१ पुस २०१७ मा तत्कालिन राजा महेन्द्रले बहुदलिय व्यवस्थाको अन्त्य गरी निर्दलिय पञ्चायती व्यवस्था लागु गरेपछि प्रतिबन्धित र भूमिगत अवस्थामा रहेका राजनीतिक दलहरु– नेपाली काँग्रेस र नेकपा (माले) लगायतका बामपन्थी दलहरुले ७ फागुनदेखि राजतन्त्रविरुद्ध निर्णायक आन्दोलन सुरु गरेका थिए ।

राजनीतिक दलका नेता, कार्यकर्ता तत्कालिन व्यवस्थाको विरोधका लागि सडकमा हुन्थे । र, आन्दोलनलाई उतारचढाव नियालिरहेका हुन्थे, मीनरत्न बज्राचार्य– आफ्ना क्यामेराका लेन्समार्फत । अनि आफूले खिचेका तस्वीर बिभिन्न पत्रपत्रिकालाई उपलब्ध गराउँथे ।

“१७/१८ वर्षको ठिटो, बेग्लै उत्साह र जाँगर थियो, आन्दोलनकारीका हरेक गतिबिधिमा पुग्थें,” मीन सम्झन्छन् ।

हुन पनि फोटो पत्रकारको परिचय बनाउँदै गरेका मिनका लेन्सले देखेका त्यतिबेलाका दृश्य, सन्दर्भका रुपमा भलै आज इतिहास बनिसकेका हुन्, तर तस्बीरमा देखिने देखिने आमजनको आशा, विश्वास र उल्लासले आजको पुस्तालाई धेरै सन्देश दिइरहेको छ ।

...

२७ चैत बिहान वीर अस्पतालबाट हिरासतमुक्त हुँदै जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंह र नेता मनमोहन अधिकारी ।

प्रजातन्त्रप्राप्तिको खुसियालीमा जनता सडकमा विजय उत्सव मनाउन थालेपछि मिन पनि उनीहरुसँगै सँगसँगै निस्किए । इन्द्रचोकस्थित उनको घरबाट वीर अस्पताल नजिकै थियो । हिंडेरै त्यहाँ पुगेका मीनको उद्देश्य गणेशमान सिहंको तस्बीर कैद गर्नु थियो ।

२०४६ सालको जन–आन्दोलनका कमाण्डर गणेशमान सिंह अस्पताल भर्ना भएका थिए । सानैदेखि गणेशमानका परिचित मीन उनका लागि विश्वासिला पनि थिए ।

सडकमा आन्दोलनकारीका तस्बीर खिचेर अस्पताल पुग्दा गणेशमानलाई भेट्ने पत्रकार र दलका नेताहरुको भिडभाड थियो । अस्पतालमा गणेशमान र मनमोहन अधिकारीका तस्वीर खिचेपछि मीन हान्निए, ललितपुरको बखुण्डोलतिर ।

आन्दोलनकारीका अर्का शीर्ष नेता कृष्णप्रसाद भट्टराईको बसाई बखुण्डोलमा थियो । भट्टराईको निवासका सम्पूर्ण गतिबिधि कैद गरी बाहिर निस्कदा काठमाडौंका सडक मानिसले भरिसकेका थिए ।

कमिलाका लस्कर जस्ता मानिसका ताँति खुला मञ्चतिर सोझिएका थिए । मीनले सकेसम्मका जुलुसका तस्बीर खिँचे । साँझ ४ बजेदेखि खुलामञ्चमा दलहरुको विजय सभा शुरु भयो । खुलामञ्चमा नेताहरुले उभिएर भाषण गर्ने अघिल्तिरै उभिएर मीनले तस्वीर खिच्न थाले ।

मञ्चबाट कृष्णप्रसाद भटटराईले सम्बोधन गर्दै थिए । मीनको लेन्स कुनै बेला मञ्चमा रहेका नेताहरु त कुनै बेला विशाल जनसागरतर्फ सोझिन्थ्यो । सभाको विशाल उपस्थिती देखाउन उनले १०५ एमएमको लेन्सबाट ‘खण्ड–खण्ड’मा तस्वीर खिचिरहेका थिए ।

त्यत्तिकैमा भिडबाट एकाएक माथि एक युवती (दुर्गा कार्की)ले उफ्रिएर ‘प्रजातन्त्र जिन्दावाद !’ भन्दै नारा लगाइन् । उक्त दृश्यलाई मीनले भटाभट कैद गरे ।  

“मैले २–३ क्लिक गर्न पाए । अरुले पनि खिचे होलान् । तर, अरुले त्यो फोटोको शक्तिलाई मैले जसरी उतार्न सकेनन्” मीन भन्छन् ।

आमसभा सकियो, मानिस आ–आफ्नो गन्तव्यमा लागे । मीन न्यूरोडस्थित फोटो स्टुडियोमा पुगेर दिउँसोका सबै फोटो धुलाई गरे ।

त्यतिबेला सरकारी र विदेशीबाहेक अन्य सञ्चारमाध्यमका लागि तस्बीरका प्रमुख स्रोत थिए, मीन । पत्रकार हरिहर विरहीले दिउँसोका केही तस्बीर मागेर लिएर गए । “वामपन्थीहरु मनमोहनजीको फोटो लान्थे, प्रजातान्त्रिकहरु किसुनजी र गणेशमानजीको,” उनी भन्छन्, “त्यो फोटोलाई कसैले चिन्नै सकेनन् । मिसन पत्रकारिता थियो, जनभावनाको पत्रकारिता थिएन ।” २०४८ सालपछि निजी लगानीमा व्यवसायिक पत्रपत्रिका प्रशासन हुन थाले ।

जनआन्दोलनको समर्थनमा चैतको दोस्रो साता पाटनका महिलाले निकालेको जुलुस ।

२०४७ सालको एक दिन जर्मनीको एक सञ्चारमाध्यमका सम्पादक थम्सन डङ्गस् मीनको घरमा आइपुगे । ह्युमन राइट्स प्रोटेक्सन फोरमले प्रकाशन गर्न लागेको ‘डन अफ डेमोक्रेसी’ भन्ने पुस्तकका लागि आवश्यक तस्वीर लिन उनी आएका थिए ।

मानिसको भिडबीच नारा लगाउँदै उफ्रिएकी यही युवतीको तस्बीर थम्सन्को रोजाईमा प¥यो । “मलाई पनि पहिल्यैदेखि मन परेको तस्बीर थियो, तर कसैलाई त्यो तस्बीर छाप्नुस् भन्न सकिन्, देखेकाहरुले पनि फोटो चिन्नै सकेनन्,” मीन भन्छन् ।

‘डन अफ डेमोक्रेसी’ पुस्तकमा कभर फोटोका रुपमा छापिएपछि भने मीनको उक्त तस्बीरले चर्चा पाउन थाल्यो । त्यसपछि त पत्रपत्रिकाले उक्त पुस्तकको कभरको फोटो समेत स्क्यान गरेर छापे ।

त्यही तस्बीर २०४६ सालको राजनीतिक परिवर्तन अभिव्यक्तिका लागि ‘आइकोनिक’ बन्न पुग्यो ।

मीनलाई यो चित्त बुझेन । कति सम्पादकहरुलाई त फोन गरेरै आफ्नो क्रेडिट नदिएकोमा आपत्ति जनाए । “कपीपेष्ट गर्दा न फोटो राम्रो देखियो न नाम नै” मीन भन्छन् “करोडौं रुपैंयाँ लगानी गरेर पत्रिका चलाउनेसँग म जस्तो सामान्य मान्छेले बौद्धिक अधिकारका नाममा कति पत्रिकालाई मुद्दा हाल्दै हिंड्नु ।”

प्रजातन्त्रप्राप्तिको खुशीयालीमा २७ चैत २०४६ को इन्द्रचोकमा निस्किएको जुलुस ।

तर, पुस्तकमा तस्बीर छापे वापत फोरमले पनि मीनलाई कुनै पारिश्रमिक दिएन । उनले पैसाको सट्टा केही प्रति पुस्तक नै मागे र इष्टमित्र, बिभिन्न संघसंस्थालाई वितरण गरे ।  मीनले उक्त तस्वीरबाट पैसाभन्दा बढी नाम कमाए ।

हिमाल खबरपत्रिका मा फोटो पत्रकारका रुपमा काम गर्न सुरु गरेपछि सन् २००२ मा उनी साउथ एशियन फोटो जर्नालिष्ट फोरममा सहभागी हुन बाङ्लादेश गए । फोरमले उनको तस्बीर पुस्तकालयमा बिक्रीमा राख्यो । त्यसवापत् उनले केही रकम पाए । नेपाल साप्ताहिकमा तत्कालिन सम्पादक विजयकुमारले उक्त तस्बीर कभरमा छापेवापत रु.२५०० पारिश्रमिक दिए ।

“मैले यो तस्वीरबाट धेरै नाम कमाए, त्यो पुस्तक बिमोचनमा पनि गणेशमानजीले मेरो धेरै प्रशंसा गर्नुभयो,” मीन भन्छन् ।

त्यही तस्वीरका कारण मीनको त्यो लेन्ससँगको माया टुटेको छैन । अहिले पनि उनले त्यो लेन्स जोगाएर राखेका छन् । “त्यो लेन्स किन्न धेरैले मागे। तर, बिक्री गरिन्”, मीन भन्छन् ।

झस्काउँने त्यो रात
७ फागुन २०४६ देखि सुरु भएको आन्दोलन चैतको अन्तिम हप्तामा पुग्दा उत्कर्षमा थियो । आन्दोलनमा मानिसको सहभागिता झन् बढ्न थाल्यो ।
तत्कालिन सरकार कडा रुपमा प्रस्तुत भयो । २४ चैतदेखि काठमाडौंसहित देशका प्रमुख सहरमा कफ्र्यू लगाइयो । कफ्र्यू तोडेर पनि आन्दोलनकारीले भित्रि गल्लीमा सरकारविरुद्धको प्रदर्शन जारी राखे । त्यहाँ पनि मीन पुगेकै हुन्थे ।

तर, २६ चैत २०४६ को राति आन्दोलनकारीमाथि भएको सरकारी दमनले उनलाई अहिले पनि झस्काउँछ ।

आन्दोलन चर्किदैं गएपछि २६ गते साँझ आन्दोलनरत् दललाई दरबारले वार्ताका लागि बोलायो । वार्तामा दलका माग सम्बोधन गर्न राजा तयार भए।
राजाको सम्बोधन टेलिभिजनमा सुनेपछि खुसियालीमा जनताहरु स्वतस्फूर्त रुपमा सडकमा ओर्लिए । तर, सरकारले समयमै यो कुरा मातहतका सुरक्षाकर्मीमा खबर नगर्दा सुरक्षाकर्मीले आन्दोलनकारीमाथि गोली हान्न थाले । धेरै आन्दोलनकारीको ज्यान गयो ।

इन्द्रचोक, असनलगायतका ठाउँमा प्रहरीको त्यो गोली मीन अहिले पनि ती सम्झन्छन् । “त्यतिबेला अनाहकमा धेरै मानिस मरे । २६ चैतमा त्यही एउटा घटनाले भने मलाई पिरोलिरहन्छ,” मीन सुनाउँछन् ।

 

 

प्रतिकृया दिनुहोस