रिपोर्ट मंगलबार, चैत २५, २०७६

संक्रमितको उपचार गर्न भेन्टिलेटर र आईसीयू अपर्याप्त

रामु सापकोटा

संक्रमितको उपचार गर्न भेन्टिलेटर र आईसीयू अपर्याप्त

कोरोना भाइरसका संक्रमितको उपचार गर्न भेन्टिलेटर र सघन उपचार कक्ष अनिवार्य चाहिने भए पनि संभावित जोखिमलाई ध्यान दिएर ती पूर्वाधारको पर्याप्त व्यवस्था गरिएको छैन।

कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीको उपचारमा भेन्टिलेटर र आईसीयू (सघन उपचार कक्ष) निकै महत्वपूर्ण हुन्छ। संक्रमित सिकिस्त भएर सास फेर्न गाह्रो भएमा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्छ।

संक्रमणपछि निमोनिया भएर सास फेर्न गाह्रो भएका बिरामीलाई कृत्रिम रुपमा सास फेर्न दिइने प्रविधि नै भेन्टिलेटर हो। भाइरस संक्रमणका कारण सिकिस्त भएका बिरामीलाई १४ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गर्दा बिरामीको ज्यान जोगिने संभावना बढी हुने चिकित्सकहरू बताउँछन्। यस्तै, बिरामीको अवस्था संवेदनशील भएमा विशेष सुविधा भएको आईसीयूमा राखेर उपचार गर्नुपर्छ।

नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढिरहँदा हाम्रा स्वास्थ्य संस्थाहरूमा यी पूर्वाधार कत्तिको पर्याप्त छन् त ? हिमालखबरलाई प्राप्त विभिन्न अस्पतालहरुको तथ्यांक अनुसार भेन्टिलेटर र आईसीयूसहितको पूर्वाधार अत्यन्त न्यून छ।

सघन स्वास्थ्य उपचार सेवाका लागि चाहिने पूर्वाधार पहिलेदेखि नै पर्याप्त थिएन। तर, कोरोना भाइरसको महामारी विश्वव्यापी फैलिरहेको वेला संभावित जोखिम आकलन गर्दै आवश्यक उपकरण र पूर्वाधार पर्याप्त मात्रामा राख्नेतर्फ ध्यान दिइएन। यसले विश्वव्यापी महामारीको संकट विरुद्ध जुध्न पनि पूर्वतयारी नगर्ने राज्य संयन्त्रको उदासीनता र मुलुकको कमजोर स्वास्थ्य प्रणालीको प्रष्ट चित्र देखाएको छ।

स्वास्थ्य मन्त्रालयको २५ चैतसम्मको तथ्यांक अनुसार देशभर करीब ६०० को हाराहारीमा भेन्टिलेटर र ११ सय आईसीयू बेड छन्। यसबारे तथ्याङ्क सङ्कलन भइरहेकाले पूर्ण विवरण आइनसकेको मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले बताए। अहिले भएका पूर्वाधार पर्याप्त होइनन्। संक्रमण फैलिएर अनियन्त्रित भए हालको पूर्वाधारले नधान्ने भएकाले क्षमता बढाउनुपर्ने जानकारहरू बताउँछन्।

काठमाडौं महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका आईसीयू विभाग प्रमुख डा. सुवास आचार्य कोभिड–१९ का एक लाख संक्रमित भए कम्तीमा २५ हजार जनालाई आईसीयूसहितको सेवा चाहिने बताउँछन्। “त्यस्तो अवस्थामा अहिलेको स्वास्थ्य संरचनाले हामी केही पनि गर्नसक्ने छैनौं”, उनी भन्छन्। डा. आचार्य यसअघि २०७२ सालको भूकम्पका वेलामा पनि अहिले जस्तै आईसीयूको अभाव र खाँचो देखिएको र त्यस वेला जेनतेन घाइतेहरूको उपचार गरेको सम्झन्छन्। “त्यत्रोे विपत्तिपछि स्वास्थ्य मन्त्रालयलाई अस्पतालहरुको क्षमता बढाउन पटक–पटक भन्यौं, तर हाम्रो कुरा सुनेनन्”, उनी भन्छन्।

अष्ट्रेलियाको युनिभर्सिटी अफ क्विन्सल्याण्डमा महामारीजन्य रोगबारे अध्ययन गरिरहेका शिवराज मिश्र सरकारले कोभिड–१९ का सिकिस्त बिरामीको उपचारका लागि भेन्टिलेटर र आईसीयूसहितको पूर्वाधार बढाउनुपर्ने बताउँछन् । “सरकारले ढिला नगरी भेन्टिलेटर र आईसीयूको क्षमता बढाउनुपर्छ, यसो नगरे इटालीको जस्तो समस्या निम्तिन सक्छ”,

इटालीमा कोभिड–१९ का गम्भीर बिरामीको उपचारमा भेन्टिलेटरसहितको सेवा नहुँदा धेरैले ज्यान गुमाएका छन्। इटालीले तत्कालको अभाव टार्न होेटलहरुमा समेत आईसीयूसहितको बेड राखेर उपचार गर्ने व्यवस्था मिलाएको छ। त्यहाँ कोरोना भाइरस संक्रमितको संख्या मंगलबारसम्म १ लाख ३२ हजार ५ सय नाघेकोमा १६ हजार ५ सयभन्दा बढीको मृत्यु भइसकेको छ।

कहाँ कति भेन्टिलेटर र आईसीयू ?

नेपाल मेडिकल काउन्सिलका अनुसार, देशभरका कुल निजी तथा सरकारी मेडिकल कलेजहरुका २६ अस्पतालमा ११ हजार ८ सय बेड छन्। मुलुकभर सरकारी र निजीसहित साना–ठूला गरी ६ हजार ९३४ स्वास्थ्य संस्था रहेको स्वास्थ्य सेवा विभागको तथ्यांक छ। प्रदेश–१ मा ९ सय ५२, प्रदेश–२ मा ९ सय ९१, बागमती प्रदेशमा मा दुई हजार ३ सय २०, गण्डकी प्रदेशमा ७ सय ३६, प्रदेश–५ मा ९१५, कर्णाली प्रदेशमा ४ सय ६४ र सुदूरपश्चिम प्रदेशमा ५ सय ५६ स्वास्थ्य संस्था छन्।

यति धेरै स्वास्थ्य संस्था भए पनि सिकिस्त बिरामीको उपचार गर्ने भेन्टिलेटर र आईसीयूसहितको पूर्वाधार थोरै देखिन्छ।

नेप्लिज् सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनका अनुुसार, काठमाडौंका अस्पतालहरूमा २ सय ८६ वटा भेन्टिलेटर र ५ सय १७ वटा आईसीयू बेड छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भने वीर अस्पतालसहित उपत्यकाका १६ अस्पतालमा कुल एक हजार ९ सय ३६ बेड रहेकोमा ५६ भेन्टिलेटर र ८६ आईसीयू बेडको सुविधा छ (हे.इन्फो)

महाराजगञ्जको त्रिवि शिक्षण अस्पतालमा १५ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० बेडको आईसीयू छ। बागमती प्रदेशको काभ्रेस्थित धुलिखेल अस्पतालमा पाँच आईसीयू बेड र पाँच भेन्टिलेटरको सुविधा छ।

कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० वटा आईसीयू बेड र पाँच भेन्टिलेटर छन्। त्यस बाहेक प्रदेश अस्पतालमा चार आईसीयू र दुई भेन्टिलेटरको व्यवस्था छ। यस्तै, दैलेखका अस्पतालमा तीन वटा आईसीयू बेड छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका पाँच भेन्टिलेटर नै नशा, हाडजोर्नी र मेडिसिनका बिरामीले भरिएको प्रतिष्ठानका निर्देशक डा.मंगल रावल बताउँछन्। “कोभिड–१९ संक्रमित एक जना मात्र बिरामी आए पनि भेन्टिलेटरमा राख्न सक्ने अवस्था छैन”, उनी भन्छन्।

नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशको दार्चुलामा दुई भेन्टिलेटरको सुविधा छ भने डडेल्धुरा र कञ्चनपुरमा एक–एक भेन्टिलेटर छन्। यो प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा क्रमशः चार र पाँच वटा आईसीयू बेड बाहेक अन्यत्र छैन। स्वास्थ्य सुविधाका हिसाबले पछाडि रहेको सुदूरपश्चिम क्षेत्रमै कोभिड–१९ का नयाँ संक्रमित थपिंदा जोखिम र चुनौती बढेको छ।

आईसीयूको पूर्वाधार बनाएर मात्र पनि हुँदैन, त्यो चलाउने जान्ने चिकित्सकसहितका जनशक्ति चाहिन्छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकाका आईसीयू विभाग प्रमुख डा. आचार्यका अनुसार, अहिले मुलुकमा सघन उपचार कक्षमा काम गर्न सक्ने करीब १५ जना चिकित्सक छन्। उनी भेन्टिलेटरमा उपचार गर्न सक्ने दक्ष जनशक्ति पनि सरकारले तयार पारेर राख्नुपर्ने बताउँछन्।

“तर अहिले आईसीयू थप्ने र त्यसका लागि चाहिने सामान खरीद गर्ने भन्दा पनि कसरी संक्रमण अन्य समुदायमा फैलिन नदिने भन्नेतर्फ सरकार लगायत सबै केन्द्रित हुनुपर्छ”, डा. आचार्य सुझाव दिन्छन्।


‘स्वास्थ्यका पूर्वाधार बनाउन कहिल्यै प्राथमिकता दिइएन’

डा.सुवास आचार्य

प्रमुख,आईसीयू विभाग, त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज

मुलुकभित्र आईसीयू र भेन्टिलेटरसहितको पूर्वाधार पहिलेदेखि नै पर्याप्त थिएन। अहिलेको कोभिड–१९ महामारीले यहाँ इटाली र अमेरिकाको जस्तै रुप लिए हाम्रा अस्पतालहरुका पूर्वाधारले धान्न सक्दैन।

अहिले मात्र होइन, २०७२ सालको भूकम्पका वेलामा पनि आईसीयूको अभाव थियो। त्यसबेला जसोतसो गरेर बिरामीको उपचार गर्‍यौं। त्यत्रोे विपत्तिपछि स्वास्थ्य मन्त्रालयलाई अस्पतालहरुको क्षमता बढाउन पटक–पटक भन्यौं। तर मन्त्रालयका पदाधिकारीले हाम्रो कुरा सुनेनन्।

स्वास्थ्य सेवा बलियो बनाउन चाहिने पूर्वाधार विकास गर्ने विषयलाई मन्त्रालयको नेतृत्वले प्राथमिकतामै राखेको छैन। सामान्य अवस्थामा स्वास्थ्यका पूर्वाधार बनाउन ध्यान नदिने प्रवृत्ति देखियो।

महामारीका वेला मात्र पूर्वाधार बनाउन तातेर हुँदैन। पूर्वाधार नहुँदा संभावित जोखिमबाट समस्या भोग्नुको विकल्प हुँदैन। यदि पाँच सय जनालाई कोभिड–१९ को संक्रमण देखिए उनीहरुलाई कहाँ राखेर कसरी उपचार गर्ने भन्नेमा ध्यान दिनुपर्छ। उनीहरुको उपचारमा खट्ने स्वास्थ्सयकर्मीलाई कसरी परिचालन गर्ने भन्ने विषय पनि उत्तिकै सोचनीय छ।

अहिले आईसीयु थप्ने र त्यसका लागि आवश्यक सामान खरीद गर्ने भन्दा पनि कसरी संक्रमण अन्य समुदायमा फैलिन नदिने भन्नेमा सरकार केन्द्रित हुनुपर्छ। बन्दाबन्दी (लकडाउन) गरेर मात्र समस्या समाधान हुँदैन। संक्रमित तीव्र गतिमा खोज्ने र शंकास्पद सबैको परीक्षण गर्नुपर्छ।

आईसीयूबाट भेन्टिलेटरमा गएकामध्ये २० प्रतिशत मात्र बाँच्ने सम्भावना रहन्छ। त्यसैले अहिले रोगको रोकथाममा नै बढी ध्यान दिनुपर्छ।

प्रतिकृया दिनुहोस